RSS

मातृका पोखरेल

मातृका पोखरेल

जन्म मिति : ९ असार २०२३
:  23 June 1966
पिता : नन्दलाल पोखरेल
माता : सीतादेवी पोखरेल
जन्मस्थान : ठानागाउँ गाविस–४, थामखर्क, उदयपुर
शिक्षा : एम.ए. (नेपाली), त्रिभुवन विश्वविद्यालय

संलग्नता
प्राज्ञ परिषद सदस्य : नेपाल प्रज्ञा-प्रतिष्ठान
अध्यक्ष: प्रगतिशील लेखक सङ्घ, नेपाल
उपाध्यक्ष: नेपाल साहित्यिक पत्रकार सङ्घ
कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र
कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान
कार्यसमिति सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान
कार्यसमिति सदस्य : घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान
कार्यसमिति सदस्य : निर्मल लामा स्मृति प्रतिष्ठान
कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान
सल्लाहकार : प्रतिभा प्रवाह
सल्लाहकार: किराँत एकेडेमी नेपाल
सल्लाहकार: वेदना साहित्यिक त्रैमासिक
सल्लाहकार: स्रस्टा साहित्यिक त्रैमासिक
सल्लाहकार: चन्द्रागिरी साहित्यिक त्रैमासिक
सल्लाहकार : सुनाखरी सन्देश, द्वैमासिक साहित्यिक पत्रिका
सल्लाहकार : ज्योति साहित्यिक त्रैमासिक
अन्य संस्थागत अनुभव

अध्यक्ष: नेपाल बाल साहित्य समाज  (वि.सं-२०६९ चैत्र – २०७० जेठ)

संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ ( २०६९साउन २०७३ बैशाख )
का.वा. अध्यक्ष: एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६९असार-२०६९साउन)

उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६६चैत-२०६९ असार)
सह-संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६५ माघ-२०६६चैत)
उपाध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं – २०६९ चैत देखि २०७२ चैत सम्म)
उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६६चैत-२०६९ असार)
महासचिव : प्रगतिशील सांस्कृतिक संगठन (वि.सं – २०६३ मङ्सिर – २०६५ माघ )
सचिव : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं – २०६३ देखि २०६६ सम्म)
सदस्य-सचिव : पारिजात स्मृति केन्द्र (वि.सं – २०६६ देखि २०७१ सालसम्म)
कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल (वि.सं – २०६५ देखि २०७२ सालसम्म)
कोषाध्यक्ष: प्रगतिशील लेखक संघ, नेपाल (वि.सं – २०५९ देखि २०६३ सम्म)
कोषाध्यक्ष: इन्द्रेणी सांस्कृतिक समाज (वि.सं – २०५४ देखि २०५९ जेठ सम्म)
संस्थापक सचिव : लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, नेपाल (वि.सं – २०६१)
संस्थापक सदस्य : नेपाल साहित्यिक पत्रकार सङ्घ (वि.सं – २०६३)
संस्थापक सदस्य: घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान (वि.सं – २०६९)
संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान (वि.सं – २०६९)
सम्पादन 
प्रधान सम्पादक : “समकालीन साहित्य”, त्रैमासिक ( नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
प्रधान सम्पादक : “प्रलेस” ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक : “विकल स्मारिका” (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक : “रुपाटार स्मारिका – २०६९”
सम्पादक मण्डल संयोजक : प्रज्ञा आधुनिक नेपाली कथा, भाग-३ (नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
कार्यकारी सम्पादक : “ज्योति” साहित्यिक त्रैमासिक
सम्पादक : “वेदना” साहित्यिक त्रैमासिक
सम्पादक : “आलेखन” ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )
सम्पादक : “स्मृतिमा रूद्र खरेल” (स्मृति ग्रन्थ- २०७१ )
सम्पादक : “विजय शव्दविम्ब”
सम्पादक : “नेपाली डायस्पोराका कविता” (नेपाल प्रज्ञा-प्रतिष्ठान
र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं -२०७२ मा प्रकाशित )
अतिथि सम्पादक : “नागार्जुन” त्रैमासिक (गणतन्त्र विशेषांक)
अतिथि सम्पादक : “जनमत” साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांक
प्रकाशित कृति
सेतो दरवारको छेउबाट  ( कवितासङ्ग्रह), २०५७
यात्राको एउटा दृश्य  ( कवितासङ्ग्रह), २०६०
सन्त्रस्त आँखाहरु  ( कथासङ्ग्रह), २०६१
अनुहारहरु  ( कवितासङ्ग्रह), २०६४
घाम झुल्किनुअघि ( कथासङ्ग्रह), २०६७

– सम्मान / पुरस्कार– धौलागिरी साहित्य प्रतिष्ठानद्वारा अनुहारहरु (कवितासङ्ग्रह) का लागि पाण्डुलिपि पुरस्कार – २०६४
– सिम्पल आर्ट्स सम्मान – २०६९

सम्पर्क नं. : ९८४१२८१७०५ (मोबाईल)
इमेल : matrikapokharel@gmail.com

 

घाम झुल्किनुअघि (कथासङ्ग्रह)

घाम झुल्किनुअघि
कथासङ्ग्रह

मातृका पोखरेल

यहाँसम्म आइपुग्दाको कथा


समाजमा नङ्याउनु पर्ने मानिसहरु अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भ¥याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रुपान्तरणका निम्ति भिन्न भिन्न क्षेत्रबाट क्रियाशील हामी सवैका लागि यो ठूलो चुनौतिको विषय हो । यही चुनौतिलाई सामना गर्ने प्रयत्न स्वरुप आजभन्दा डेढ दशक अघि मैले कथा विधामा हात हालेको थिएँ । सत्य, न्याय र परिवर्तनको पक्षमा बहस गर्न कथा अत्यन्त प्रभावकारी विधा हो भन्ने कुरामा म विश्वस्त छु ।
यो कथासङ्ग्रह “घाम झुल्किनुअघि” २०६१ सालमा प्रकाशित “सन्त्रस्त आँखाहरु” पछिको मेरो दोस्रो कथा सङ्ग्रह हो । कविता लेखनमा लागेको एक दशकपछि मात्रै मैले कथा लेखनमा हात हालें । त्यसपछि केही मित्र र पाठकहरुको नियमित सुझावका कारण मैले कथा लेखनलाई कछुवा गतिमै भएपनि निरन्तरता दिएको छु । बेला बेलामा अग्रज कवि मित्रलाल पंज्ञानीले मलाई भनिरहनुहुन्छ – “तपाईं कवितामा स्थापित बन्नुभयो तर कथालाई प्राथमिकताबाट बाहीर नपार्नु होला ।” भेट भएको बेलामा मात्र होइन बेला बेलामा मोबाइलमा सन्देश पठाएरसम्म झक्झक्याईरहने बरिष्ठ साहित्यकारद्वय जगदीश घिमिरे र विष्णुविभू घिमिरेको प्रेरणाले मेरो कथा लेखनमा अझ गति थप्ने काम गरेको महशूस गरेको छु । एक दुई वर्षअघि बरिष्ठ साहित्यकार एवं मूल्याङ्कन मासिकका प्रधान सम्पादक हरिगोविन्द लुइटेलको सुझावमा नवयुवा मासिकमा आठ दसवटा कथाहरु लेखें । संगठन लगायतका कामहरुको शिलशिलामा त्यसलाई निरन्तरता दिन मलाई पटक्कै सम्भव भएन । नवयुवाका पाठकहरुले इमेल र पाठक प्रतिक्रिया मार्फत् मलाई निकै हौस्याए । कथा मार्फत् युवाहरुसँगको त्यो सम्वाद मेरा लागि धेरै अर्थमा प्रेरणादायी रह्यो ।
मलाई के लाग्छ भने, सचेत ढङ्गले सुरु गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखनहरुको मूल अभिष्ट भनेको समाजलाई रुपान्तरण गर्नु हो । केही कमीकमजोरीहरु रहे पनि विगतको बाह्र वर्षको जनयुद्ध नेपाली समाजको रुपान्तरणका लागि एउटा कोसेढुङ्गो थियो । सतहमा अहिले देखिएको गुणात्मक रुपान्तरणको मूलकारण पनि त्यहीनै थियो । जनयुद्धको यो प्राप्तीलाई कमजोर बनाउन अनावश्यक बहस गर्न खोज्नेहरु आफैंप्रति पनि इमान्दार छैनन् भन्ने मलाई बारम्बार लागिरहन्छ । विशेषतः नेपाली युवाहरुले प्रस्तुत गरेको त्याग बलिदान र सौर्यका ती घटनाहरु मेरा लागि निकै प्रेरणादायी रहेकाछन् ।
कथामा काल्पनिक जीवनको रोमाञ्चपूर्ण विवरणमा मलाई कतै पनि रुचि छैन । मैले लेखेका कथाहरुले मानिसहरुलाई एउटा उद्देश्य तर्फ प्रेरित गर्न सकून भन्ने मेरो चाहना हो । म कथा लेख्न बस्दा यो पाटो तर्फ विशेष ध्यान पु¥याउने प्रयत्न गर्छु । प्रत्येक लेखन पाठक र समाजप्रति समर्पित हुन सक्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसतर्फ म विशेष सचेत छु ।
मेरा मित्र कथाकार आत्माराम शर्माले बारम्बार नझक्झक्याएको भए यसलाई सङ्ग्रहको रुपमा संकलन गर्न अझै लामो समय लाग्न सक्थ्यो । त्यसका लागि उहाँ विशेष धन्यवादका पात्र हुनुहुन्छ । मेरा कथाहरु पढ्ने सबै पाठकहरुलाई धन्यवाद दिन चाहन्छु । अझ मुरीमुरी धन्यवाद ती पाठकहरुलाई, जसले मेरा कथाहरु पढेर सुझावहरु समेत दिनुभएकोछ । प्रकाशनको भार उठाइदिने साझा प्रकाशनलाई मैले विर्सनै हुँदैन ।

मातृका पोखरेल
ठानागाउँ–४, थामखर्क, उदयपुर

कथाक्रम

कमरेड पाताल
धुवाँ
घाम झुल्किनुअघि
मौन संकेत
अँध्यारो गाउँ
निधो
मुक्ति
खाली ठाउँ
घोडाको गन्ध
बाध्यता
सपनाहरुको खोजी
देवीदत्तको चिन्ता
कालो चश्मा
भत्किएको घरनेर
खाडल

कमरेड पाताल

शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड–खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन ? हिजोआज आफैंलाई यो प्रश्न सोध्छु ।
फेरि आफूले आफैंलाई उत्तर दिन्छु– ‘अरुको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।’
मनलाई बलियो बनाएर घरिघरि यसैगरी सोच्छु । नकारात्मक कुरालाई धूरीमा राखेर नसोचौंभन्दा पनि मलाई बेलाबेलामा यसले झम्टिरहन्छ ।
आज कमरेड पातालको हेराइ मप्रति पहिलेको भन्दा धेरै फरक थियो । हुन त, केही समयदेखि नै उनको हेराइ मप्रति अत्यन्तै अस्वाभाविक भएको मैले महशूस गर्न थालेको छु । मैले राखेका कार्ययोजना र तर्कहरुमा उनको नकारात्मक धारणाले ठाउँ पाउन थालेको थियो । हिजोआजका केही बैठक र भेटघाटहरुबाट म यो निश्कर्षमा पुगेको थिएँ ।
म विगतका केही घटनाहरुको जति साक्षी हुँदैआएको छु, मलाई भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको बोध भइरहेको छ ।
हुन त पोहोरको एउटा घटनाबाट पनि मैले उनी मसँग अलिक टाढिएको महशूस गरेको छु । त्यस दिन उनको निम्ताबिना नै म उनको घर थानकोट पुगेको थिएँ । घरमा पुगेर म सिधै उनको बैठक कोठामा गएँ । कमरेड पाताल म पुग्दा त्यहाँ थिएनन् । उनको बैठक कोठामा खाइलाग्दा मान्छेहरुको एउटा जमात बसिरहेको थियो । अरुतिर बस्ने ठाउँ नभएकोले अप्ठ्यारो मान्दै म पनि बैठकको एउटा कुनामा गएर थचक्क बसें ।
एकछिनपछि कमरेड शान्ता चिया लिएर टुप्लुक्क भित्र पसिन् । म अचम्मित भएको थिएँ, त्यसबेला । तडक–भडकपूर्ण जिन्दगीको विरोध गर्ने मान्छेलाई त्यो अवस्थामा देख्दा म एक प्रकारले छाँगाबाटै खसेको थिएँ । त्यस दिनको उनको ओठको लिपिष्टिक र अनुहारको लाली, पाउडर मैले कल्पनासम्म गर्न सकेको विषय थिएन । धेरै बैठक र भेलाहरुमा कमरेड शान्ताका ‘शादा जीवन र उच्च विचार’का धारणाहरुबाट म पटक–पटक प्रभावित भएको छु । त्यस दिन कमरेड शान्ता पनि मेरो उपस्थितिबाट अत्यन्त क्रोधित भएको मैले अनुमान गरेको थिएँ । मसँग त्यति राम्रो व्यवहार प्रस्तुत गर्ने मान्छे, त्यस दिन उनी मसँग बोल्दै बोलिनन् । उनले त्यस दिन लगाएका अनेकौं सुनका गहनाहरु देखेर म दङ्गदास भएको थिएँ । केही छिनपछि कमरेड पाताल त्यही बैठक कक्षमा पसेका थिए । मेरो उपस्थितिले उनी पनि चकित भए । मेरो उपस्थिति त्यहाँ ‘कवाफभित्रको हड्डी’ बनिरहेको कुरामा म प्रष्ट थिएँ ।
‘तपाईं सूचना नगरी किन आउनुभयो ?’ आँखा रातो पार्दै कमरेड पातालले मसँग भनेका थिए ।
हो, म अर्कै कामले त्यो क्षेत्रतिर पुगेको थिएँ । बाटोमा परेकाले मात्र म त्यहाँ पुगेको थिएँ ।
उनलाई मैले त्यही कुरा भनें ।
‘सूचना नगरी आएको मलाई राम्रौ लाग्दैन ।’ कमरेड पातालले फेरि आफ्नो आक्रोशपूर्ण निर्णय सुनाए र श्रीमतीसँग खुसुक्क कुरा गर्ने निहुँमा बाहिर निस्किए ।
उनीहरु बाहिर निस्किएको मौका छोपेर म पनि त्यहाँबाट कुलेलम ठोकेको थिएँ ।
त्यस दिन कमरेड पातालको घरबाट बाहिर निस्किएपछि मैले पार्टीको भविष्यमा एउटा अँध्यारो छायाँ देखेको थिएँ । पार्टीमा उनी चानचुने नेता थिएनन् । एक जना प्रभावकारी नेता ।
त्यसका धेरै दिनहरुसम्म मेरो मष्तिष्कमा जाँतो जस्तो एउटा चिज घुमिरह्यो । राति निद्रालाई समेत प्रभावित पारेको थियो त्यो घटनाले । त्यसपछि मलाई आफैं सामेल भएका जुलुसहरुसँग पनि आफैंलाई अविश्वास पैदा हुन थालेको थियो । आफ्नो यात्रा नै गहुङ्गोजस्तो लाग्न थालेको थियो ।
त्यसपछिका दिनहरुमा कमरेड पातालले मलाई हेर्ने आँखामा आतंकको बादल घुमिरहेको देख्न थालेको थिएँ ।
‘व्यक्तिगत सम्पत्तिका बारेमा चिन्ता लिने मान्छेले क्रान्तिकारी आन्दोलनलाई कसरी सहयोग पु¥याउन सक्छ ?’ भरखर आन्दोलनमा आएका सामान्य कार्यकर्ताहरुलाई यसो भन्दै उनी क्रान्तिकारी शब्दहरूका साथ झम्टिने गर्थे ।
तर पोहोरको त्यस घटनापछि भने म उपस्थित भएका छलफलहरुमा पहिले–पहिले गर्ने ठूल्ठूला क्रान्तिकारी कुराहरुमा उनी सचेत देखिनथाले । अलि हच्किन थाले ।
कमरेड पातालको तर्कशैलीले उत्साहित र ऊर्जाशील मान्छेहरुलाई धेरै प्रेरणा पनि दिन्थ्यो तर केही सामान्य मानिसहरु भने कडा कुरा सुनेर आन्दोलनको मैदान छाडेर भाग्थे । उनको आक्रामक र ओजिलो शैलीको प्रभावमा परेर धेरै कमरेडहरुले आफ्नो छोराको नामसमेत ‘पाताल’ राख्न थालेका थिए ।
आन्दोलनमा उनको नियमित लगावले परारैको त्यो घटनालाई मैले विस्तारै–विस्तारै बिर्सिदै जानथालेको थिएँ ।
  
अकस्मात अस्तिको घटनाले म फेरि एक पटक नराम्ररी झस्किएँ ।
त्यस दिन हामी केही साथीहरु सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका थियौं । जुलूस कार्यक्रमको लागि मानिसहरु जुटाउने, रुट तय गर्नेदेखि लिएर सम्पूर्ण कार्य त्यही बैठकबाट गर्नेसमेत तय भएको थियो । त्यो निर्णयको जानकारीसमेत हामीलाई कमरेड पातालले नै गराएका थिए । त्यो कार्यक्रमको नेतृत्व पनि कमरेड पातालले नै गरेका थिए । बिहानै बोलाइएको भए पनि धेरै साथीहरु ढिलो आइपुगेका थिए कार्यस्थलमा । त्यसै गरेर कमरेड पाताल पनि त्यहाँ ढीलै गरेर आइपुगे ।
‘पार्टीको काममा धेरै व्यस्त रहियो, राति सुत्न पनि पाइएको छैन ।’ आउनेबित्तिकै कमरेड पातालले आफू अत्यन्तै थकित भएको कुरा बताए ।
उनी जहिले र जहाँ भेट्दा पनि आफूलाई पार्टी कामको ज्यादै बोझ भएको र अत्यन्तै व्यस्त रहने कुरा बताउने गर्थे । तर अब उनको कुराप्रति म शंकालु बन्न थालेको थिएँ, त्यस कुराको संकेत उनले पनि पाइसकेको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो । त्यसै कारणले पनि मेरा अधिल्तिर उनी अत्यन्तै सचेत भएर कुरा गर्ने कोशीस गर्थे । म नभएको मौका छोपेर भने उनी उग्र–क्रान्तिकारी गफ लगाउन पछि पर्दैनथे भन्ने कुरा मैले बाहिरका ढोका र चोटाहरुबाट धेरै पटक सुनेको थिएँ ।
पहिले–पहिलेझैं त्यस दिन पनि उनले उपस्थित भएका सबै साथीहरुसमक्ष आफूलाई त्यसैगरी प्रस्तुत गरे ।
कमरेड पातालको क्रान्तिकारी लगावसँग सदाझैं फेरि पनि साथीहरु द्रवीभूत भए । मसँगका पुराना घटनाहरु बिर्सिएझैं गरेर त्यस दिन उनले मेरै अघिल्तिर फेरि आफ्नै शैलीमा कुरा शुरु गरे ।
“नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण नै भएन !” कमरेड पाताल बोल्दाबोल्दै गम्भीर भए ।
“अघिल्लो पुस्ताका नेताहरुको व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन ।” कमरेड पातालले चिन्तित मुद्रामा फेरि थपे ।
म यतिबेला उनीसँगको त्यो अतीततिर फर्किरहेको थिएँ । उनको कुराले मभित्र अर्को चिन्ता थपिरहेको थियो ।
  
हामी सबै काममा जुटिसकेका थियौं र कमरेड पाताल पनि कार्यक्रममा सहभागिता गराउन कार्यकर्ताहरुलाई टेलिफोनबाट निर्देशन दिइरहेका थिए । दिउसोको बाह्र बजिसकेको थियो । बिहानै आउनु परेका कारण हामीले केही खाएका थिएनौं । हामी सबैलाई भोक लाग्न थालेको थियो । हामीले कमरेड पाताललाई पनि यो कुरा भन्यौं ।
“क्रान्तिका लागि भोक सामान्य कुरा हो !” कमरेड पातालले फेरि सहज जवाफ फाले ।
“क्रान्तिका लागि दिनु परे त ठीकै हो । तर अहिले नै बलिदान दिनुपर्ने आवश्यकता छैन ।” कमरेड विशाखाले प्रत्युत्तर थपिन् ।
“तपाईंले सर्वहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न गरिरहनु भएको छैन ।” कमरेड पातालले उही बनिबनाऊ तर्कको फेरि झटारो हाने ।
“म ग्याष्ट्रिकको विरामी हुँ ! मैले केही नखाई हुँदैन ।” ट्रेड युनियनमा काम गर्ने मजदूर साथी कमरेड जसबहादुरले आफ्नो बाध्यता राखे ।
“भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन ।” कमरेड पातालले आफ्नो कुरालाई जाँतोझैं फेरि घुमाए ।
“खै ! नेपालको कम्युनिष्ट आन्दोलन !” कमरेड पातालले फेरि निराश बनेझैं गरेर आफ्नो मुखाकृति बिगारे ।
“मैले कमरेड हिमालबाट पातालमार्फत् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ ।” कमरेड विशाखाले मेरो कानमा आएर खुसुक्क भनिन् ।
तर उता कमरेड पाताल आफूसँग पैसा नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका थिए ।
म कमरेड पातालसँगका सम्बन्धलाई लिएर केही समयदेखि सतर्क रहँदै आएको छु । तसर्थ पनि उनको बारेमा कुनै टिप्पणी भइहालेमा सचेत भएर प्रत्युत्तर दिन्छु । अझ, कसैले मेरो अघिल्तिर उनको प्रंशसा ग¥यो भने म धेरैबेरसम्म पीडाले छट्पटिन्छु ।
“म एकछिन बाहिर पुगेर आइहाल्छु ।” कमरेड पाताल यसोभन्दै बाहिरिए ।
“भोकले पेटै दुख्नथाल्यो ।” कत्लेटी परेका ओठहरुबाट कमरेड सौरभ अलिकति हाँसे ।
क. सौरभतिर फर्किएर हामी सबै एकपटक हाँस्यौं ।
“मसँग तीन रुपियाँ छ । अरुसँग जति छ, सबै निकालौं र पाउरोटी किनेर ल्याऊँ । क. सौरभले सबैतिर हेरेर मलिनो स्वरमा एउटा प्रस्ताव फ्याँके ।
कसैले गोजी छाम्न थाले । कसैले फोन डायरीका पाना पल्टाएर पैसा खोजे । केही कमरेडहरुसँग पैसा थिएन । सबैबाट जोडजोड गर्दा तीस रुपियाँ जम्मा भयो ।
‘पाउरोटी किनेर ल्याऊँ, मैले फेरि प्रस्तावलाई अघि बढाएँ ।
“सबैभन्दा सस्तो र राम्रो त्यही हुन्छ ।” कमरेड सौरभको भोक ब्यग्र भएर बोल्यो ।
“तपाईं र म किनेर आऊँ । अरु साथीहरु काम गर्दै गर्नुहुन्छ ।” कमरेड जसबहादुरले मलाई संकेत गरेर जुरुक्क उठे ।
हामी दुईजना इन्द्रचोकको बहाल हुँदै पश्चिमतिरको गल्ली छि¥यांै । हामी पाउरोटी पाइने पसलको खोजिमा थियौं । गल्लीतिर सोझिनेबित्तिकै छेउमा एउटा रेष्टुरेन्ट थियो । रेष्टुरेन्टको अघिल्लो भागमा आकर्षक र पारदर्शी सिसा लगाइएको थियो; जसबाट रेष्टुरेन्टभित्रको दृश्यलाई राम्ररी देख्न सकिन्थ्यो । रेष्टुरेन्टलाई नाघेर केही पाइलामात्र अघि बढेपछि क. जसबहादुरले मेरो कुमनेरको सर्टको भागलाई ताने । म एकाएक अचम्मित भएँ ।
“यता पछाडि फर्किनुस् त !” कमरेड जसबहादुरले दबेको स्वरमा मेरो कानमा आएर फुसफुसाए ।
“किन ? के भयो ?” म पनि उनको कुरा बुझ्न हतारिएँ ।
कमरेड जसबहादुरले मलाई विस्तारै दुई कदम पछि ताने र चोर आंैलाले पारदर्शी सिसाबाट रेष्टुरेन्टभित्र देखाए । उनले औंला देखाएको ठाउँमा कमरेड पाताल काँटा र चम्चाले पिजा टुक्राउँदै खाइरहेका थिए । उनको अघि कोकाकोलाको बोतल पनि थियो । कमरेड जसबहादुरलाई अघिल्तिर तान्न खोजें । उनी कमरेड पाताललाई अझै हेर्ने कोशिस गर्दैथिए । मैले रेष्टुरेन्टको पारदर्शी सिसाबाट भित्रतिर फेरि हेरें । अनायास कमरेड पातालका आँखाहरुसँग हाम्रा आँखाहरु जुधे । त्यसपछि कमरेड पातालले पिजा राखिएको प्लेटलाई आफ्नो शरीरले एक पटक छेक्न खोजे । तर त्यो छेकिएन । उनी त्यसपछि अर्कैतिर फर्किए ।
“यस्ता फटाहाहरुलाई पनि नेता मानेर हिंड्नुपर्ने ?!” कमरेड जसबहादुरले तुरुन्तै प्रतिक्रिया दिए ।
“हेर न, उही कस्ता–कस्ता सांस्कृतिक कुराहरु गर्छ !” मैले पनि अलिकति प्रतिक्रिया नदिई बस्न सकिँन ।
कमरेड जसबहादुर पनि केहीबेर निरासजस्तै देखिए । पाउरोटी किनेर साथीहरु भएको ठाउँमा नपुगुन्जेल उनी पनि चुप रहे । म पनि चुप रहें ।
“त्यो फटाहाको हामी सबैले भण्डाफोर गर्न सक्नुपर्छ ।” कमरेड जसबहादुरले आक्रोशित भएर सबै साथीहरुसँग आफ्नो धारणा राखे ।
“यस्तो नेतृत्व भएपछि कसरी समाज र देशको परिवर्तन होला ?” बहसमा कमैमात्र उत्रने स्वभाव भएका कमरेड जसबहादुरले कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न खोजे ।
“नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरुको सांस्कृतिक पक्षलाई मूल्यांकनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाले ।” कमरेड सौरभले पनि आफ्नो तर्क अघि सारे ।
कमरेड पातालका बारेमा सबै साथीहरु केही समय चिन्तित भएर बहसमा उत्रिए । त्यस दिन कमरेड पाताल हामी भएको ठाउँमा फर्किएनन् ।
  
चिसो हुस्सूले काठमाडौंलाई पुरै छोपेको छ । मलाई लाग्छ– म काठमाडौंमा आएपछि यति धेरै जाडोको महशूस कहिले पनि गरेको थिइनँ । आज बिहान एउटा मिटिङ्ग थियो । मिटिङको समय भने हुन लागिसक्यो । म सिरकभित्रै छु । आजको मिटिङमा पनि केन्द्रबाट कमरेड पाताल नै इन्चार्ज बनेर आउँदैछन् ।
म विस्तारै ओछ्यानबाट उठें । यति साह्रो अल्छी योभन्दा पहिले कहिल्यै पनि लागेको थिएन ।

नवयुवा, वर्ष ११, पूर्णाङ्क ११३, २०६३ फागुन

धुवाँ

‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो ।
‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो ।
यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ ।
कसैको घरमा गएर ऊ त्यसै खाँदैन । त्यहाँका केही काम गरिदिन्छ । उसले जीवनको लामो खण्ड राजनीतिमा वितायो । त्यसबेला पनि ऊ इमान्दार व्यक्तिको रुपमा परिचित भयो । उसले आफ्ना क्रियाकलापहरुमा परिवर्तन गर्दै जान थाल्यो । त्यसपछि ऊ शशीराज थापाबाट ‘फ्रष्टेड बौलाहा’ बन्यो । अविवाहित थियो र अहिलेसम्म पनि अविवाहित नै छ । यो बजार वरिपरि मात्र होइन, टाढा–टाढाका गाउँ–वस्तीहरुमा समेत ऊ परिचित छ ।
हिजोआज यो बौलाहा स्थानीय पार्टी नेताहरुको आँखामा कसिंगर बनिरहेको थियो । तर ऊ नयाँ पुस्ताका युवाहरुको मन जित्न पनि उत्तिकै सफल भएको थियो । ऊ सत्ता नजिकका मानिसहरुको कसिंगर बन्नेक्रम निकै लामो छ । निरंकुश पंचायतकै समयमा प्रधानपञ्चमा चुनाव उठ्ने निहुँ गरेर उसले पंचायती व्यवस्थाको खिल्ली उडायो । पंचायती सरकारको आँखामा ऊ खतरनाक शत्रु बनेको थियो त्यसबेला । संसदीय राजनीतिको बाह्र वर्षमा पनि ऊ एमाले, कांग्रेस र राप्रपाजस्ता पार्टीहरुको आँखामा बिझाइरह्यो । शाही शासनकालको समय उसका लागि धेरै कष्टपूर्ण रह्यो । जनस्तरबाट ठूलो आवाज नउठेको हो भने माओवादीको आरोपमा ऊ मारिने अवस्थामा पुगेको थियो । तर ऊ बौलाहा भनिएर मात्र बाँच्न सफल भयो ।
बजारको बीचमा एउटा सानो चोक छ । चोकको बीचमा वरिपरि पर्खाल लगाएर घेरिएको एउटा सानो पार्क पनि छ । तर त्यो पार्क केही महिनादेखि अलपत्र र लथालिङ्ग अवस्थामा छ । निर्माण गर्दागर्दै स्थानीय युवा विद्यार्थीहरुले पार्कको बीचमा पंचायतकालमा मारिएका एकजना सहिदको सालिक राख्ने प्रस्ताव राखे । त्यो प्रस्तावका कारण त्यहाँ निकै ठूलो राजनीतिक हल्लीखल्ली मच्चियो । विद्यार्थीहरुको प्रस्तावमा फ्रष्टेड बौलाहाले समर्थन मात्र जनाएन, अरुको सहयोग जुटाउने अभियान नै पनि थाल्यो ।
अचेल यो महत्वपूर्ण विवादलाई लिएर फ्रष्टेड बौलाहाले नयाँ पुस्ताको चेतना र चिन्तनलाई बोकेर नेतृत्व नै लिएको छ ।
“सहिदको नाममा यहाँ कम्युनिष्टको सालिक राख्न दिनुहुन्न । बरु सालिक राख्ने नै हो भने हाम्रा पार्टीका नेताको राख्नुपर्छ ।” पंचायतकालका यही गाउँ पंचायतका प्रधानपञ्च र बहुदलकालका गा.वि.स. अध्यक्ष भइसकेको जनता पार्टीका नेता रंगध्वजले युवा विद्यार्थीहरुको प्रस्तावको बिरुद्धमा एउटा मोर्चा नै खडा ग¥यो ।
युवा विद्यार्थीहरुको प्रस्तावमा दिनहुँ जनसमर्थन बढ्दै गयो ।
“एउटा सभा गरेर हामीले जनसमर्थन बटुल्नुपर्छ ।” एक दिनको कोठे भेलामा रंगध्वजले आफ्ना सहयोगीहरुसँग यस्तो प्रस्ताव राख्यो ।
रंगध्वज र उसका सहयोगीहरुले सभा गर्ने दिन त तोके, तर युवा र विद्यार्थीहरुको पक्षमा दिन दुईगुना रात चौगुनाको दरले समर्थन बढिरहेको थियो । पार्कभित्र राख्ने सालिकका बारेमा विवाद बढ्दै गएपछि अलिकति आकार लिन थालेको पार्क पनि क्रमशः भत्कदै र विद्रुप बन्दै गइरहेको थियो ।
“हाम्रो पार्टीको आदरणीय नेताको सालिक नराख्ने हो भने यहाँ हामी कसैको पनि सालिक राख्न दिँदैनौं ।” रंगध्वजले सभामा चुनौति र धम्कीका शब्दहरु वर्षाए । सभामा मानिसहरुको उपस्थिति अत्यन्तै कम थियो । उसले सभाको यो हालतको कल्पनासम्म पनि गरेको थिएन । सभामा रंगध्वजले औंला सोझ्याएर मान्छेहरुको गिन्ती ग¥यो । एक.. दुई…, चौध…. पन्ध्र । फेरि ग¥यो । उही पन्ध्रजना ।
“पन्ध्र जनाको सभा त साह्रै लाजलाग्दो भयो ।” एकजना सहयोगीले रंगध्वजकै अघिल्तिर निरास सुस्केरा छाड्यो ।
यो कुरालाई रंगध्वजले नसुनेझैं गरेर एकपटक आफ्नो अतीततिर फर्कियो । ऊसँग त्यस्ता दिनहरु पनि थिए, जुन दिन यी सभामा जम्मा भएका मानिसहरु सदादिन उसकै अघिपछि भइरहन्थे । सभामा मानिसहरुको उपस्थिति देखेर ऊ ज्वालामुखी फुट्न लागेको पहाडझैं क्रोधित भइरहेको थियो ।
रंगध्वजको सभा कोणसभाझैं क्षणभरमैं सकियो । सभालाई अन्त गरेर उसले पाइला मात्र के अघि बढाएको थियो, बजारको तल्लो चोकतिरबाट एउटा ठूलो जुलुस आफैं भएतिर आउँदै गरेको आवाज सुन्यो । उसले जुलुसका मान्छेहरुको आवाजलाई ठम्याउने कोशिस ग¥यो । आवाजले बुझिन्थ्यो– जुलुस निकै ठूलो थियो ।
‘ओहो जुलुस त ठूलो रहेछ !’ उसकै सहयोगी रघुवीरले ठूलो स्वरले प्रतिक्रिया दियो । रंगध्वजलाई रघुवीरसँग भित्रभित्रै रिस उठ्यो ।
जुलुस आएको बाटोबाट अलिकति पछि फर्किएर रंगध्वज एउटा गल्लीतिर पस्यो । केही सहयोगीहरुलाई लिएर रंगध्वज भाग्दै पूर्वतिरको मूलबाटो निस्कियो । मुलबाटोमा निस्किएपछि उसलाई झन् डर लाग्यो । ऊ फेरि अर्को गल्लीतिर पर वेग बढिरहेको श्वासलाई रोकेर ऊ एकपटक पछिल्तिर फर्कियो । जुलुसबाट चर्को नारा गुन्जिरहेको थियो । नारामा आफ्नो नाम मिसिएको पनि सुन्यो उसले । उनी आफ्ना भयग्रस्त जीवनका अतीततिर फर्कियो । पंचायत ढलेर बहुदल आउँदा पनि उसको जीवन कम त्रासपूर्ण थिएन । तर विस्तारै उनले एउटा पार्टी समातेर गा.वि.स. अध्यक्षसम्म भयो ।
उनको आँखामा यस ठाउँमा शासन गरेका आफ्ना स्वर्गीय दिनहरु नाच्न थाले ।
“तर समय अब मेरो मुठ्ठीबाट टाढा पुगिसक्यो !” उसले फेरि वर्तमानतिर फर्केर सोच्यो ।
“सहिदहरुलाई बिर्सेर यहाँ भ्रष्टहरुको सालिक राखिन्छ भने अब यस ठाउँमा मानिसहरु नबसेर मुर्दामात्र बसे हुन्छ ।” माइकबाट ठूलो स्वरले फ्रस्टेड बौलाहा कराइरहेको थियो ।
“केटाहरु अब हामीले ठण्डा भएर सोच्नुपर्छ ।” रंगध्वजको अनुहार पानी पर्नुभन्दा अघिको वातावरण शान्त भएझैं देखियो ।
“यो सबै भाँड्ने काम त्यही बौलाहाको हो । त्यसले यो सबै गाउँ टोललाई नै उचालेको छ ।” हुल्लड–बाजको रुपमा कुख्याती कमाएको उसको सहयोगी नरेन्द्रले परिस्थितिको विश्लेषण गर्न खोज्यो ।
“अब यहाँ त्यो एउटा बौलाहा मात्र छैन । सयौं बौलाहाहरु जन्मिसकेका छन् । ती सबै बौलाहाहरु सदाचार, नैतिकता र जीवन मूल्यको कुरा गर्छन् ।” रंगध्वजले परिस्थितिको गम्भीर आंकलन ग¥यो ।
“अब हामीले नयाँ ढंगले चल्न सक्नुपर्छ ।” अर्को सहयोगीले रंगध्वजलाई आफ्नो रणनीति परिवर्तन गर्ने सल्लाह दियो ।
उसले रंगध्वजको कानमा सुटुक्क केही कुरा फुस्फुसायो । एकछिन अघिल्तिर अँध्यारो पोतिएको रंगध्वजको अनुहारमा फेरि उज्यालोको किरण पोखियो ।
रंगध्वज टाउको हल्लाउँदै विस्तारै उठ्यो । र सहयोगीहरुलाई लिएर फेरि गल्लीको अर्को दिशातिर अलप भयो ।
  
“आज राति फ्रस्टेड बौलाहा मरेछ !” रेडियोले प्रसारण गरेको समाचारझैं यो खबर छिनभरमैं चारैतिर फैलियो । विहानै नुहाउन नदी किनारतिर जाने कोही मान्छेले उसको मृत्युको खबर एकांकानु मैदान हुँदै सारा बजार र वस्तीभरि फैलियो ।
विहान उज्यालो हुनेबित्तिकै फ्रस्टेड बौलाहाको मृत्यु बजारवासीहरुका लागि असामान्य समाचार बन्यो । धेरैले ‘होइन होला’ भनेर शंका व्यक्त गरे । बजारका प्रायः सबै मानिसहरुको अनुहारमा चिन्ताका धर्साहरु देखिए । रंगध्वज र उसका केही सहयोगीहरु भने केही हतास भएजस्ता देखिन्थे । बौलाहाको मृत्युको जनचासोले झन् उनीहरुको हतासपन बढ्दै गयो । यी दुवै प्रतिक्रियाहरु त्यहाँ प्रष्टै देखिन्थे र बुझिन्थे ।
फ्रस्टेड बौलाहाले आफूलाई फ्रष्टेड राजनीतिक कार्यकर्ता भनेर परिचय दिन्थ्यो । त्यसैले उसको नाम नै फ्रष्टेड बौलाहा भनेर परिचित बन्यो ।
“मलाई फ्रस्टेड बौलाहा भने केही फरक पर्दैन !” सबैसँग ऊ हाँसेरै यसो भन्थ्यो ।
सबैले बौलाहा भनिदिएर मात्र ऊ बौलाहा भयो । ऊ एक्लो थियो । राजनीति ग¥यो, अविवाहित बस्यो । छयालीस सालको आन्दोलनपछि उसले आफ्नो बाटो भत्कियो भन्न थाल्यो । आफ्ना साथीहरुको सत्तामोहपछि उसले पार्टी छाडिदियो । केही समयपछि आफ्नो सम्पत्ति आफ्नै परिश्रमले खोलेको गाउँको विद्यालयलाई दियो र त्यही विद्यालयमा निःशुल्क पढाउन थाल्यो । त्यसपछि सबैले उसलाई बौलाहा भनिदिए । उसले मानिसहरुको भनाइलाई अस्वीकार गर्दै हिँडेन । वास्तवमा ऊ बौलाहा थियो कि थिएन, उसको मृत्युपश्चात्सम्म पनि रहस्यकै विषय बन्यो ।
उसको तर्क गर्ने शैली बडो अचम्मको थियो ।
सत्य र न्यायको पक्षमा डटेर लाग्थ्यो । अन्यायी र शोषकहरुको ऊ हुर्मत लिन्थ्यो । बजारका जाली–फटाहाहरु ऊसँग त्राहीमाम हुन्थे । उनीहरु ऊसँग छलिएर हिँड्थे र अघि पर्ने साहसै गर्दैनथे ।
विहान सबेरै बजार र टोलका मानिसहरु बौलाहाको लास हेर्न सुनकोशी बगरतिर दौडिए ।
“यो मृत्यु स्वभाविक होइन !” उसको लासलाई हेर्नेबित्तिकै एकजनाले अर्कोको कानमा फुसफुसायो ।
“स्वभाविक नभएको भनेको के ?” अर्कोले सोध्यो ।
“हत्या !” अर्कोले थप्यो ।
“पक्कै हो !” त्यो मान्छे कन्भिन्स भयो ।
“घाँटीमा डोरीले कसिएको निलडाम छ ।” भीड अघिल्तिरबाट एउटा आवाज आयो ।
त्यसपछि भीडमा फेरि मानिसको ठेलमठेल शुरु भयो ।
“हत्या नै हो !” सबैको यही ठहर भयो ।
“कसले, किन मा¥यो ?” भीडमा कसैले अर्को प्रश्न उठायो ।
“यो पनि बुझ्न अप्ठ्यारो छ र !” एकजना विद्यार्थीको आक्रोश सुनियो ।
“यहाँ ठूलो षडयन्त्र छ !” अर्को विद्यार्थीको स्वर चर्को भयो ।
“यी बौलाहा हाम्रो समाजका मणि हुन् । सम्मानका साथ यिनको अन्त्येष्टि गर्नुपर्छ ।” शिक्षक रामानन्दले विद्यार्थीहरुतिर फर्केर समर्थनको आग्रह गरे ।
“पहिले पोष्टमार्टम गर्नुपर्छ ।” फेरि अर्को मत सुनियो ।
मानिसहरुको एउटा ठूलो समूह लास लिएर अस्पतालतिर गयो । अस्पताल वरिपरि मानिसहरुको ठूलो भीड लाग्यो । पोष्टमार्टममा षडयन्त्र हुनसक्ने त्रासले मानिसहरु खबरदारी गरिरहेका थिए ।
अस्पतालमा भीड बढ्दै गएपछि केही मान्छेहरु बजार चोकको चियापसलमा झुम्मिए ।
“त्यो मान्छे बौलाहा थिएन ।” शिक्षक दिनानाथले चिन्तित मुद्रामा आफ्नो भनाइ राखे ।
“बौलाहा थिएन भने उसको जीवन किन अस्वाभाविक थियो ?” चियापसले एकाएक जिज्ञासु भयो ।
“उसले आफ्नो आस्था र विचारलाई क्रियान्वयन गर्न सजिलो बनाउन त्यसो गरेको हुनसक्छ ।” शिक्षक दिनानाथ फेरि गम्भीर देखिए ।
“मलाई पनि यस्तै लागेको हो ।” अघिसम्म शंका व्यक्त गर्ने पसले पनि आफ्नो विचारलाई परिवर्तन गर्दै थियो ।
“बौलाएजस्तो नगरेको भए के हुुन्थ्यो ?” अर्का कर्मचारी फेरि जिज्ञासु देखिए ।
“बौलाहाजस्तो अभिनय नगरेको भए उनी यति लामो समयसम्म बाँच्न पाउँदैनथे । माओवादीको आरोपमा उनलाई गिरफ्तार गर्दा उनलाई त्यतिबेला हत्या गर्न लागेको चर्चा चलेको थियो । बौलाहा भनिएर मात्र उनी त्यतिबेला बाँच्न सफल भए ।” दिनानाथले स्पष्टीकरण दिए ।
“आखिर बौलाएर पनि त बाँच्न पाएन नि !” कर्मचारीले नि आफ्नो जिज्ञासालाई खोतल्दै गयो ।
“ऊ केका लागि बौलायो ?” अर्को जिज्ञासा भीडमा फेरि कतैबाट आयो ।
“सत्य र न्यायको कार्यान्वयन गर्न !” अर्को जवाफ भीडबाटै आयो ।
“ऊ सत्य र न्यायको बिरुद्धमा कतै लाग्यो त ?” चिया पसल्नी रुँलाजस्तो गरी ।
“बौलाहा मरेकोमा यसलाई ठूलो चिन्ता परेजस्तो छ ।” चियापसलेले आफ्नी स्वास्नीतिर फर्केर खिसिट्यूरी ग¥यो ।
“त्यो बौलाहा नभएको भए तिमी मलाई यसरी बस्न दिन्थ्यौं र ? सम्झ त पुराना कुराहरु !” स्वास्नीले उसलाई वाल्ल पारी ।
“त्यो बौलाहाले तँलाई के न्याय ग¥यो ?” पसलेले अँध्यारो मुख पार्दै प्रतिवाद गर्न खोज्यो ।
“दाइजो नल्याएको निहुँमा तिमीले मलाई घरबाट निकाल्न खोजेको कुरो बिस्र्यौ ?” पसलेलाई स्वास्नीले अतीतको घाउ देखाई ।
“त्यसो भए त्यो बौलाहा तेरो भाग्य विधाता थियो होइन त ?” पसले निधार खुम्च्याएर फेरि हाँस्यो ।
“मलाई मात्र होइन, धेरै मानिसहरुलाई त्यसले न्याय दिलायो ।” पसलेकी स्वास्नी फेरि संवेदित देखिई ।
“मलाई न्याय चाहियो । म बौलाहा खोज्दै हिँडेकी !” एउटी वृद्ध महिला चोकमा आएर सबैको मुखतिर हेर्दै चिच्याइन् ।
सबैले एकपटक मुखामुख गरे ।
अस्पतालबाट शवयात्रा गर्दै विशाल जुलुस यही चोकतिर आयो । सबैका आँखा जुलुसतिर टाँसिएका थिए ।
घरमा आगो लागे छ । आगोको मुस्लो र धुँवाले आकासै छुन लाग्यो !” पसल्नीले सबैको ध्यान अर्कोतिर आकर्षित गरी ।
“रंगध्वजको घरमा जुलुसले आगो लगाएजस्तो छ ।” शिक्षक दिनानाथले परिस्थितिको अनुमान लगाए ।
“त्यसको घरमा त आगो झोस्नै पथ्र्यो ।” पसल्नीको प्रतिक्रिया झरिहाल्यो ।
जुलुस त्यही चोकमा आएर रोकियो ।
“यस ठाउँमा यतिका मान्छे मैले अहिलेसम्मै देखेकी थिइन् ।” पसलेले अचम्म मानेर मानिसहरुको भीडतिर आँखा दौडायो ।
“अब यस ठाउँमा फ्रस्टेड बौलाहा र शहीदको शालिक स्थापना गरिने छ ।” चोकमा बनाइएको मंचमा चढेर उद्घोषक बोलिरहेको थियो ।
“शवयात्रा अब फेरि शुरु हुन्छ ।” मंचबाट कसैले अर्को जानकारी गरायो ।
रंगध्वजको घर सल्किएर धुँवाको लप्का आकाशमा थेग्ला–थेग्लामा विभाजित भएर विलाइरहेको थियो ।
“घर बलेको धुँवा त अरु धुँवाभन्दा बेग्लै हुँदो रहेछ ।” मलामीहरु आकाशतिर फर्केर प्रतिक्रिया जनाइरहेका थिए ।


रचना द्वैमासिक, वर्ष ४८ पूर्णाङ्क ९९ कार्तिक–मंसीर २०६५

घाम झुल्किनुअघि

मिर्मिरे उज्यालो भुइँमा खस्न अझै केही समय बाँकी नै थियो । रातको अन्तिम प्रहरको हुस्सूले अँधेरो अझै बाक्लो देखिन्थ्यो । महाभारतको डाँडामा आधा रातदेखि चल्न थालेको सिरेटो बतास निरन्तर र एकनाशले चलिरहेको छ । मुटु नै बन्द होलाजस्तो चिसो छ । अब दुई–तीन घण्टापछि कटारीबाट हिंडेका बसहरु चिया खान यसै ठाउँमा आइपुग्छन् । राउतखर्क र पाल्सिङतिरबाट दूध लिएर आउने मान्छेहरु पनि आइपुगेका छैनन् । आजको जाडोले उनीहरुलाई काम गर्न कठीन भएको हुनसक्छ ।
सिरेटो एकनाससँग जोडले चलिरहेको छ । तल गैह्राबाट एउटा आवाज आयो । यो आवाज दूध लिएर आउनेहरुको होइन ।
उसले अझै ठम्याएर सुनी– ‘अहँ, यो आवाज चिनेका मान्छेको पनि होइन ।’
को आउँदैछ यतिबेला ? घुर्मीबाट आउने गाडीहरु आउने बेलै भएको छैन । कटारीबाट आउने गाडीहरु आइपुग्न पनि अझै धेरै समय बाँकी छ । गाडी पर्खिने मान्छेहरु पनि यति चाँडै आउनुको कुनै अर्थ छैन ।
आवाजलाई उसले अझै ध्यान दिएर सुनी । नितान्त नौलो आवाज थियो । मनको कतै कुनामा डर पसेको बोध भयो उसलाई । आकाशतिर फर्केर हेरी । उज्यालो हुनै लागेजस्तो लाग्यो ।
ऊ अर्थात् माइली । उसको नाम नै यही हो । अर्थात्, माइली मगर । बाबु–आमाकी माइली छोरी थिई ऊ । तर पछि नाम नै माइली भयो । परारै गाईघाट गएर नागरिकता प्रमाण–पत्र बनाउँदा पनि उसको नाम त्यही रह्यो । माइलीलाई पनि त्यो नामबाहेक आफ्नो अर्को नाम भएको थाहै छैन । ऊ यहाँ होटल चलाएर बस्न थालेको पनि
छ–सात वर्ष भइसक्यो । होटल चलाउनुअघि माइली मयङखु गाउँकी एक सिधासाधा केटी थिई ।
एक दशकअघि कटारी–ओखलढुंगा सडक खण्डको निर्माण कार्य शाही सेनाले जिम्मा लिएपछि माइलीजस्ता धेरै ग्रामीण युवतीहरु सेनाका वैध या अबैध पत्नी बन्न पुगे ।
अरु कैयौं युवतीजस्तै माइली पनि त्यही अभागी युवती थिई ।
उसलाई पनि लोग्नेले बच्चा जन्मनुभन्दा अघि नै छाडेर अन्यत्र सरुवा भएर गएको थियो । कटारीदेखि ओखलढुंगासम्म सडकको आसपास माइलीजस्ता प्रशस्तै युवतीहरु छन् र बाबु नचिनिएका बच्चाहरुसमेत
छन् । माइलीको लोग्ने पनि डढेल्धुरातिरको हो रे ! तर उसलाई डढेल्धुरा कति टाढा छ, थाहै छैन । पसलमा आउने धेरै मान्छेहरुको मुखबाट उसले सुन्दै आएकी हो– डढेल्धुरा यहाँदेखि धेरै टाढा पर्छ ।
बच्चा जन्मेपछि माइलीलाई घर र समाजमा बस्न सजिलो भएन । ऊ त छँदै थिई, खाने पेट अर्को पनि बढ्यो । दुई जनाका लागि छाक जुटाउनु चानचुने कुरा थिएन । दया–माया गर्ने मान्छेहरुले दिएको सल्लाह पच्छ्याउँदै ऊ बेतिनीमा चिया पसल गर्न आइपुगी ।
  
अँध्यारोलाई छिचोल्दै आवाज नजीक–नजीक आउन थाल्यो । आवाजहरु फरक–फरक थिए । माइलीले मनमनै विचार गरी– मानिसहरु पनि धेरै छन्जस्तो छ ।
अगेनामा आगो कमै हुँदैगयो । उसले दाउराहरु थपी र अगेनाको नजिकै सरेर जाडो मार्न खोजी ।
‘दूध पनि धेरै बाँकी छैनजस्तो छ !’ एक्लै बर्बराई र पछिल्तिर फर्केर खाटमाथि राखेको कराहीतिर हेरी ।
‘एक मानुजति मात्रै छ’ –माइलीले आवाजहरुको संख्यासंग कराहीको दूधको मात्रालाई दाँजी ।
‘चियालाई पुग्दैनजस्तो छ’ –फेरि मनमनै विचार गरी ।
आवाजहरुको चर्को स्वर बढ्दै गयो ।
‘विवाहको जन्ती त होइन होला ?’ उसले फेरि तर्कना गरी ।
माइलीले सानो छोरालाई उठाई । अलि–अलि डर पनि महशूस भयो उसलाई । छोरो ओच्छ्यानबाट उठेर आँखा मिच्दै अगेनाको छेउमा आएर टुक्रक्क बस्यो ।
‘सुन् त, केको आवाज हो ?’ उसले सानो स्वरमा छोरालाई सोधी ।
‘कति धेरै मान्छे बोलेका छन् !’ छोराको कुराले उसको अनुमानमा झनै बल पुग्यो ।
माइलीले अगेनामा दाउराहरु थपी ता कि उज्यालो पर–परसम्म पुगोस् ।
‘भाले त अघि नै बासेको थियो । कति बज्यो होला खै ? उज्यालो पनि हुँदैन ।’ सात वर्षको छोरालाई सोधेझैं गरी माइलीले एकान्तपन मेट्न खोजी ।
शाही सैनिकहरुको एउटा ठूलो जत्था गैह्राबाट टर्चको लाइट देखाउँदै माइलीको पसलनेरै आइपुग्यो । धेरैवटा टर्चको प्रकाश उसको अनुहारमा परेपछि ऊ बेस्सरी झस्की ।
‘कस्ता बदमासहरु ! अरुको अनुहारमा यसरी टर्च बाल्नुहुन्छ ?’ उनीहरुले नसुन्ने गरी माइलीले एउटा आक्रोश पोखी ।
शाही सेना भन्नेबित्तिकै उसको मनमा घृणाको एउटा विशाल पोखरी निर्माण भएको छ । शाही सैनिककै रुपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश ग¥यो र उसको व्यक्तिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एटम बमलेझैं पलभरमै खण्डहर बनाइदियो । उसको मात्र होइन, उसका कैयौं केटी साथीहरुको जीवनलाई पनि उनीहरुले खेलौंनामा परिणत गरिदिए । सैनिकहरुको हूल देख्नेबित्तिकै उसको भित्री मन एकपटक फेरि काँप्यो ।
‘यो पसलमा चिया पाइन्छ ?’ एउटा कुनै सैनिकले सोधेको थियो ।
‘चिया मात्र होइन, धेरै कुरा पाइन्छजस्तो छ !’ माइलीसँग जिस्कने आसयले अर्को सैनिकले पछिल्तिरबाट सानो स्वरमा बोलेको सुनियो ।
‘पाइँदैन !’ यी दुष्टहरुको जमातलाई ख्वाउनुभन्दा छैन भनेरै टारिदिन्छु । उसले मनमनै सोचेर यस्तो उत्तर दिई ।
‘यहाँ दूध छ त ! किन चिया छैन भनिस् ?’ अर्को एउटा चटपटे सैनिक कुल्र्यो ।
‘यति धेरै मानिसलाई त्यति दूधले कसरी पुग्छ ?’ ओठमा झुण्डिरहेझैं उसले जवाफ फर्काई ।
‘त्यही दूधमा पानी थपेर बनाए भइहाल्छ नि !’ अगाडि उभिएको सैनिकले आदेशको शैलीमा बोल्यो ।
‘हामीलाई तेईस कप चिया चाहियो ।’ कमाण्डरजस्तो लाग्ने अर्को सैनिक फेरि बोल्यो ।
सैनिकहरुले माइलीको अगेनालाई मौरीले गोलोलाई घेरेझैं घेरिरहेका थिए । ओठ कमाउने चिसो सिरेटो अझै चलिरहेको थियो ।
चिया पाक्दा नपाक्दै सबै मानिसहरुलाई देखिने गरेर उज्यालो भुइँमा खसिसकेको थियो । माइलीले पछिसम्मै आँखा फालेर हेरी– ‘हत्कडी लगाइएको एउटा मान्छे सैनिकहरुको बीचमा जाडोले कामिरहेको थियो ।’ जुत्ता–चप्पल नलगाएको खाली खुट्टा, सेतो नैनसुतको मैलो कमिज र छोटो कछाड लगाएको त्यो मान्छे माइलीलाई आपूmले बेलाबेलामा देखिरहेको अनुहारझैं लाग्यो । उसले मनमनै चिन्न खोजी ‘यतै बड्डाँडा, पाल्सिङ्गतिरकै मान्छे हुनुपर्छ ।’
त्यो नीरिह मानिस र सैनिकहरुको बीचको एउटा छोटो सम्वाद पनि सुनी उसले ।
‘म त माओवादी हुँदै होइन हजूर !’
‘तेरो भाइ भएपछि तँ पनि माओवादी नै होस् ।’
‘भाइसँग मेरो एक वर्षदेखि भेटै भएको छैन ।’
‘तैले खोजिस् भने भेट्न सक्छस् !’
‘छाड्दिनूस् हजूर म माओवादी होइन ।’
‘एक वर्षअघि तेरो घरमा आएर ऊ बास बसेको प्रमाण छ हामीसँग ।’
‘ऊ आएर बसेको त हो हजूर !’
‘आतंककारीलाई सहयोग गर्ने पनि आतंककारी नै हुन्छ ।’ चियाका लागि माइलीले सबैलाई एकाएक गन्दै गर्दा यस्तै सम्वाद सुनेकी थिई ।
‘तपाईंहरु चौवीसजना हुनुहुन्छ, चियाचाहिँ किन तेईस कप ?’ माइलीले मानिसहरु गनिसकेपछि भनी ।
‘तैंले आतङ्ककारीलाई पनि गनिस् ?’ छुच्चोजस्तो लाग्ने अर्को सैनिक फेरि कड्कियो ।
माइलीले त्यो मान्छेलाई फेरि हेरी– ‘त्यो मान्छे स्यालको जमातमा एउटा टिठलाग्दो पाठोले जीवनको भीख मागिरहेको झैं देखिन्छ ।’
माइलीले देखिरहेझैं लाग्ने त्यो मान्छेलाई अझै चिन्न खोजी– ‘फेरि पनि धेरै पटक देखिरहेको अनुहार, चिनिरहेको अनुहारझैं लाग्यो ।’
  
‘अब एकैछिनपछि महाभारतमा घामको किरण पर्ने छ र त्यसपछि यो अनाथको कामिरहेको शरीरमा न्यानो हुनेछ ।’ माइलीले मनमनै आकाशतिर हेरेर प्रार्थना गरी ।
उता सैनिकहरुद्वारा चिया खाइसकेपछि त्यो एक्लो र निरिह मान्छेमाथि अमानवीय र त्रासद यातनाको क्रम शुरु भयो ।
‘पुलिस र सेनाको जातै कस्तो हँ ?’ माइलीले सैनिकसँगको विगत र आफ्नो जीवनलाई एकपटक कोट्याएर सोची ।
माइली हेर्दै थिई– एउटा सैनिकले त्यो एक्लो मान्छेमाथि एक लात्ती हान्यो र ऊ अर्कोतिर पुगेर लड्नमात्र के लागेको थियो; अर्कोतिरबाट अर्को सैनिकले फेरि अर्को लात्ती वर्षायो । मान्छेलाई फुटबल बनाएर खेलिएको यो दृश्यलाई माइलीले हेर्न नचाहँदै पनि हेरी ।
माइलीले हाट भर्न जाँदा कटारीको चौरमा कहिलेकाहीं यसैगरी मान्छेहरुले फुटबल खेलेको देखेकी थिई । माइलीले उसको बन्द मुखबाट रगत बाहिर बगिरहेको देखी ।
माइलीको सानो छोरो त्यो दृश्यलाई हेर्दै भित्र भाग्यो । सँगसँगै माइली पनि भित्र गई ।
‘आमू ! त्यो मान्छेलाई सेनाले किन पिटेको ?’ छोराले कानमा सुटुक्क सोध्यो ।
‘चुप लाग् !’ माइलीले छोरासँग त्रासद स्थितिको संकेत गरी र मजेत्रोले आँसु पुछी ।
यातनाका प्रत्येक लात्ती र लठ्ठीहरु त्यो नीरिह र एक्लो मान्छेको शरीरमा बज्रँदा ऊ माइलीको अनुहारतिर एक पटक हेर्ने कोशिस गथ्र्यो । त्यसबेला माइली झन् मर्माहत हुन्थ्यी ।
बाहिर आँगन फेरि एकछिन मौन भयो । माइली फेरि बाहिर आई । उसको छोरो पनि फेरि उसलाई पच्छ्याउँदै बाहिरियो ।
बर्दिवालहरुको बीचमा त्यो निरिह मान्छे टुक्रुक्क बसिरहेको थियो । चिसो सिरेटो भरखरै रोकिएको छ । घाम नझुल्किएकोले महाभारतको चिसो भुईंमा उसको बसाइ जडवत मूर्तिजस्तै देखिन्थ्यो । सैनिकहरु वरपर जाँदै एकापसमा कानेखुसी गरिरहेका थिए ।
माइलीले सानैमा देखेको एउटा घटना सम्झी– ‘एक दिन विरालोले घरको मझेरीमा एउटा मुसो मारेछ । मुसोलाई हिंड्न र चल्न नसक्ने बनाएपछि विरालोले खानुभन्दा पहिले छोड्दै… हिंड्दै केही टाढा जाँदै, आउँदै गथ्र्यो ।’ यो घटना उसलाई त्यस्तै लाग्यो ।
“तँ यहाँबाट भाग् ! तँलाई हामी छाडिदिन्छौं ।” एकजना सैनिकले सबैको मुखमा हेरेर हाँस्दै भन्यो ।
“हँ !” ऊ झस्क्यो ।
“हो ! हो ! भाग् !” सैनिकहरु खित्खिताउँदै हाँसे ।
“होइन होला ।”रगतको फालसाले रंगिएको दाँत र ओठ देखाउँदै उसले अलिकति मुख खोलेर हाँसेको अभिनय ग¥यो ।
“मान्छेको जात त बलियो हुँदोरहेछ, त्यति गर्दा पनि मरेको छैन । बाँच्न पाइन्छ कि भनेर अझै हाँस्दैछ !” अर्को सैनिक साथीको काननेर गएर फुस्फुसायो ।
“भागिहाल्, तँलाई हामी छोडिदिन्छौं ।” कमाण्डरजस्तो देखिने अर्को सैनिकले फेरि गम्भीरजस्तो भएर भन्यो ।
“साँच्चै ?” उसले कमाण्डरको मुखतिर हे¥यो ।
“हो, भाग् !” कमाण्डरले फेरि विश्वास दिलाउन खोज्यो ।
उसले एक हात जमीनमा टेक्यो र उठ्न खोज्यो । तर सकेन । फेरि दुई हात भुइँमा टेक्यो र नजिकैको भित्तामा समातेर बल्ल–तल्ल उठ्यो । एकपटक फेरि वरिपरि फर्केर हे¥यो ।
उसलाई भागेर बाँच्छु भन्ने कुरामा शंकाको ठूलो पर्खाल अघिल्तिर उभियो । फेरि वरिपरि हे¥यो र स्थिति बुझ्ने प्रयत्न ग¥यो । मौन भएर उभिएकी माइलीलाई हे¥यो । माइलीको अनुहारबाट पनि उसले केही बुझेन ।
“ढिलो नगर् ! चाँडो भागिहाल् !” फेरि कमाण्डर कड्कियो । उसले हातले भित्तालाई छोड्यो र अलिकति हिंड्न खोज्यो । जीउ थर्थर काँपेजस्तो लाग्यो । तर पनि ऊ लड्नबाट सम्हालियो र विस्तारै पूर्वतर्फको बाटो अघि बढ्यो । माइली पनि छक्क परेर हेरिरही ।
नजिकैको दोबाटोनेर पुगेर फेरि उसले अविश्वासका साथ पछिल्तिर फर्केर हे¥यो ।
उसले हेरेकोमा सैनिकहरु गलल्ल हाँसे ।
फेरि दुई पाइला अघि बढ्यो र पछिल्तिर फर्केर हे¥यो । सैनिकहरु फेरि खित्का छोडेर हाँसे ।
मोटर बाटो छोडेर ऊ महाभारतको डाँडाबाट उत्तरतिरको बाटो मोडियो ।
“ड्याङ्ग ! ड्याङ्ग !! ड्याङ्ग !!!” महाभारत पर्वत नै भत्किने गरेर आएको तीनवटा आवाजले माइलीको छोरो कहालिंदै रोयो ।
“मारे अपराधीहरुले !” माइलीले पूर्वतिर फर्कंदै भनी ।
तुषारोले खाएका पाखाका विरुवाहरुको झाडीलाई लाछ्दै उसको शरीर खोल्सातिर झ¥यो । बाटामाथि धुवाँका पातला धर्साहरु अलि अलि देखिँदै देखिँदै बिलाए ।
महाभारत डाँडामा घामको झुल्को आइपुग्न अझै केही समय बाँकी नै थियो ।

कौशिकी मासिक, वर्ष ८ अङ्क ६, पूर्णाङ्क ८५, २०६५ असोज

मौन सङ्केत

भित्तामा फिल्मी दुनियाँका पोस्टरहरु टाँसिएका छन् । पल्लो कोठाको उज्यालोको प्रकाश पत्रिकाका कापहरु छिचोलेर उनीहरुको कोठैलाई पनि उज्यालो बनाइदिन्थ्यो । वल्लो छउ र पल्लो छृ दुई ठाउँमा तल र माथि दुईतिर दुई फिट जति एकसरो इँटको गारो उठाएर तीन तीन वटा फल्याकहरु जोडेपछि भीमबहादुरको जस्तै गणेशको पनि आजदेखि एउटा पलङ तयार भयो । बनाइसकेपछि साह्रै खुसी भयो ऊ । च्यादरको छानोबाट राति सुत्दा मुखमा र अझ कति त कानमै शीतको थोपा खसेर साह्रै दुःख दिन्थ्यो । राति नै त्यसमाथि पत्रिकाहरु टाँस्यो र कामले थाकेर लखतरान भएपछि आउने आज रातिको मीठो निद्राको कामना ग¥यो । ढोकामा पनि डोरी झुण््याएर भित्रैबाट बन्द गर्न मिल्ने बनायो । गएको महिनाको ज्यालाबाट बचाएर हिजै मात्र उसले डेढ सय रुपैयाँमा एउटा सानो चाइनिज रेडियो किन्यो । राती सुतेपछि त्यो रेडियोबाट आधा रातसम्म नेपाली गीतहरु सुन्ने चाहना पाल्यो उसले ।

भीमबहादुर पनि उसको कामबाट प्रभावित भयो । निकै दिन भयो भीमबहादुरलाई ज्वरो आइरहेको छ । भीमबहादुर बिरामी भएपछि गणेश पनि निराश देखियो । ज्वरो आएको एक हप्ताभन्दा बढी भयो, तर कुनै औषधिले छोएन । अस्पताल लान पनि साहुले चासो देखाएन । घरबाट काठमाण्डौ आएपछि साँच्चै राम्रो अभिभावक भेट्टाएको थियो गणेशले भीमबहादुरलाई । आफ्नै तानमा राखेर काम सिकायो । उसको मात्र होइन यो गलैंचा कारखानामा काम गर्ने धेरै कामदारहरुको भीमबहादुर असल अभिभावक थियो । सबैले उसलाई भीमबहादुर दाइ भनेर सम्बोधन गर्थे । परिवारको सदस्य भएर मात्रै पनि मान्ते यति माया लाग्दो हुँदैन । तर उसलाई अहिलेसम्म थाहा थिएन, भीमबहादुर कहाँको मान्छे थियो ।
राति दस बजेपछि ज्वरो अलिकति ओर्लिए जस्तो मात्र भयो । उठेर गणेशले भीमबहादुरको निधार छाम्यो, ज्वरो नाम मात्रै ओर्लिए जस्तो छ । गणेशले भीमबहादुरको छेउमै बसेर उसको विगत र परिवारका बारेमा सोध्यो ।
‘काठमाण्डौ खाल्डोमा पसेपछि मेरो यहाँबाट बाहिर जाने सपना सपना मात्रै भयो । काठमाण्डौभित्र पस्दा मेरो उमेर पन्ध्र वर्षको थियो । हजुरबा हजुरआमासँगै मेरा बाबु पनि पहाडबाट मधेस झरेका थिए रे ! पहाडबाट एक हल गोरु बाहेक केही सम्पत्ति नलिई उनी बूढा हजुरबा र हजुरआमालाई लिएर आएको कुरा बाबुकै मुखबाट हामीले सुनेका थियौं । मधेस झरेको एक वर्ष नपग्दै औलोले गर्दा हजुरबा बितेछन् । हजुरबा बितेको केही महिनामै हजुरआमा पनि गइछन् । उमेर सानै भएकोले धेरै ठूलो दुःख पाएछन् बाउले । गरिबको जीवन, दुःद त सँगसँगै आएकै थियो । त्यसमाथि सानै उमेरमा बाबुआमासँगको बिछोड । अनि बाँकी के रह्यो र ! नयाँ बस्तीका मान्छेहरुकहाँ नोकर बसेर काम गर्दा गर्दै बाबुको बाल्यकाल बितेछ । उमेर छिप्पिदै गएपछि पहाडतिरबाट झरेका मान्छेहरुसँग मिलेर जङ्गल फाँड्न थालेछन् । छत्तीस सालको जनमतसङ्ग्रहका पञ्चायती नेताहरुले पञ्चायतको पक्षमा लागे जङ्गल फँडानी गरेको जमीन दर्ता गराइदिनेछौं भनेर आश्वासन दिएछन् । पछि पञ्चायतले जितेपछि कहाँ जग्गा दिनु, उल्टै हाम्रो बस्तीमा हात्तीद्वारा घर भत्काएर आगो लगाई दिएछन् । प्रशासनसँग ठूलो संघर्ष भएछ । मेरा बाबु त्यो संघर्षको अगुवा हुनुहुन्थ्यो । झोडा बासीहरुलाई सरकारले ठूलो दमन र अत्याचार ग¥यो । मेरो बुबालाई पक्रेर लामो समयसम्म बेपत्ता पा¥यो । करेन्ट लगाउने, महिनौंसम्म चिसो भुइँमा लडाइराख्ने, नङका कापहरुमा सियोले घोच्ने, प्रत्येक दिन मुर्छा नहुन्जेलसम्म डिट्ने जस्ता यातनाका कारण थुनाबाट छुटेर आएपछि बाबु विरामी भइरहन थाले । झोडाका सबै सुकुम्बासीहरुको नराम्ररी हार भयो । उनीहरु सबै नयाँ बस्तीबाट विस्थापित भए । पछि सुन्नमा आयो — कोही आसामतिर पसे, कोही भुटानतिर गए त कोही नागाल्याण्डतिर । हाम्रा बाबुहरुले दुःखका साथ फाँडको जग्गा पञ्चायती नेताहरुले आफ्ना नाममा दर्ता गरेर पछि बेचेछन् ।

बाबुको बिरामी निको हुनुको सट्टा बढ्दै बढ्दै गयो । म दस वर्षको छँदा मेरा बाबु मरे । उनलाई खै के रोग थियो, थाहा भएन । तर मर्ने बेलामा रगत छादेर मेर । बाबुको मरेको वर्ष नपुग्दै आमा पनि पोइन गइन् । सानी बहिनी पनि थिई, आमासँगसँगै पच्छ््याएर गई । उनीहरु कसरी बसिरहेका छन्, मलाई केही पनि थाहा छैन । कहिलेकाहीं उनीहरुको मलाई साह्रै सम्झना आउँछ । अझ चाडबाडको बेलामा उनीहरुको सम्झनाले मन भित्रैदेखि चिमोटिन्छ । तर के गर्ने ? उनीहरु कहाँ छन् त्यस क्षेत्रतिरबाट गलैंचा कारखानामा आउने मान्छेहरुसँग आमा र बहिनीको बारेमा सोध्ने गर्छु, तर कसैले पनि चिनेका कुरा गर्दैनन् ।
काठमाण्डौ आइसकेपछि मोरङ्ग झोडाबाट बिस्थापित भएर आउने मान्छेहरुसँग लागेर मैले पनि गलैंचा कारखानामा काम गर्न थालें । गलैंचा कारखानामा पनि म अरु साथीहरुभन्दा छिटो काम गर्थें । मेरो काम देखेर साहुहरु पनि प्रभावित हुन्थे । अहिलेको साहुले मेरै आडले कारखाना टिकाएको हो । नत्र उसको हिम्मतै थिएन । काम गर्ने राम्रा राम्रा मान्छेहरु पनि मैले नै खोजेर राखिदिएको हुँ । नत्र उसले कारखाना छोडेरै हिँड्न लागेको थियो । अचेल म बिरामी हुँदा अस्पताल लैजान पनि ऊ आनाकानी गरिरहेको छ । यसको कारखानामा काम गर्न थालेको पनि दस बर्षभन्दा बढी भयो । तिमी भरखर आएको मान्छे, तिमीले देखिहाल्यौ, कामदारहरुलाई त्यसले कति तल्लो व्यवहार गर्छ । तिमी जस्तो नवयुवकले पनि यस ठाउँमा लामो समय बस्न उपयुक्त हुँदैन । हामी कामदार र मालिकहरुको बीचमा कहिल्यै पनि मानवीय सम्बन्ध स्थापित हुन्ै नसक्ने रहेछ । बिरामीबाट उठेपछि यसको कारखानामा काम गर्न मलाई पटक्कै मन छैन ।
अँ, पूर्वतिर जाने बाटो अहिले त राम्रो छ रे होइन ? म काठमाण्डौ आउँदा बाइरोडको मात्र बाटो थियो । लोड गरेको ट्रकमाथि बसेर सर्प झैं घुमेको बाटो हेर्दै आउँदा कस्तो रमाइलो लागेको थियो । अहिले त हाम्रो झोडा पनि सहर जस्तै भइसक्यो रे ! गाउँगाउँमै मोटर जान्छ रे ! एकै पटक पनि हेर्न नपाई मरिने हो कि के हो ?
गणेशले फिलिमको कथा सुने जस्तो गरी भीमबहादुरका कुराहरु चाख मानेर सुनिरह्यो । मध्यरातदेखि भीमबहादुरको ज्वरो झनै बढ्यो । पानीपट्टी लाउँदा पनि ज्वरो एक सय चारभन्दा तल झरेन । सिटामोलले पनि हिजोसँझदेखि कुनै काम गर्न सकेको देखिएन । हिजो दिउँसोदेखि खोकी पनि सदाभन्दा बढ्दै हुन थाल्यो । थुकको मात्रामा रगत देखिन थालेपछि कारखानामा काम गर्ने उसका सहकर्मीहरु हिजोदेखि निकै आत्तिए ।
गलैंचा कारखानभित्रै थिए कामदार बस्ने टहराहरु । मालिक बस्ने घर कारखानाभन्दा अलिक टाढै थियो । कामदारहरुको समूहले साहुलाई गुहार्न जाने निश्चय ग¥यो ।
‘साहु त बिहान दस बजे मात्रै उठ्छन् ।’ एक जना कामदारले समस्या बतायो ।
‘उज्यालो हुनुभन्दा अगाडि नै अस्पताल पु¥याइसक्नुपर्छ ।’ एक जना पाको कामदारले स्थितिको संवेदनशीलतालाई औंल्याए ।
‘अस्पताल लैजान किन साहुलाई पर्खिने, हाम्रै खल्तीको जम्मा पारेर लैजाऊँ ।’ भर्खरै दोलखातिरबाट आएर कारखानामा काम गर्न थालेका एक जना नवयुवाले समाधान खोजे ।
कारखानाभित्र काम गर्ने तीस जना कामदारहरुसँग उठाइएको रकम जोडदा अस्पताल पु¥याउने खर्च जुट्न सकेन । उनीहरुले दुई तीन महिनादेखि काम गरेको ज्याला लिन नै बाँकी थियो । कसै गर्दा पनि अस्पताल लाने पैसा जुट्नै सकेन । सबैका सामुन्ने अब उजयालो नहुँदै साहुकहाँ जानुभन्दा अर्को विकल्प बाँकी पनि थिएन । कामदारहरुको समूहले साहुसँग गएर कुरा गर्नका लागि तीन जना साथीहरुलाई जिम्मा दिएपछि हर्कबहादुरसहित तीन जना जोरपाटीबाट साहुको घर चावेलतिर बटो लागे ।

रात उज्यालोलाई निम्ता गर्न ओरालो लाग्दै गरेको भान हुन्थ्यो । हिउँदको काठमाण्डौ, चिसोले सडकमा भुस्याहा कुकुरहरु पनि छिँडी र कुना खोज्दै भौंतारिइरहेका थिए । रातको निरवतालाई चिर्दै आइरहेका मानिसहरु देखेर पनि कुकुरहरु सडकमा निस्कन साहस गर्दैनथे र फोहोर फाल्ने कन्टेनरको आडमै सुतेर भुक्थे । साँखु र सुन्दरीजलतिरबाट तरकारी बोकेर रत्नपार्क पुग्ने मोटरहरु निस्कने बेला भएकै थिएन । बेलुका ढिलो सुत्ने बानी परेको काठमाण्डौ उठ्ने बेला हुन धेरै समय बाँकी थियो । सडक शून्य थियो ।
साहुको घर पुग्न उनीहरुलाई कुनै बेर लागेन । गेटको बाहिरी भित्तामा पित्तलको पहेँलो प्लेटमा लेखेर टाँसिएको थियो — ‘नामगेल शेर्पा निवास ।’ उनीहरुले दोहो¥याएर त्यो नाम पढे र निश्चिन्त भए — साहुको घर यही हो । रातको सन्नाटामा साहुको घरको बडेमाको फलामे गेटले उनीहरुको त्रासलाई भित्रभित्रै बढाइदियो ।
तीनै जना ढोकाअगाडि मूर्तिवत् उभिए । कसले ढोका ढकढक्याउने ? तीनै जनाले एक आपसमा मौन प्रश्न गरे । यो प्रश्न नबुझ्ने त्यहाँ कोही थिएन । शिवराम र गणेशले हर्कबहादुरतिर इसारा गरे । हर्कबहादुरले नाइनास्ति गर्न सकेन, किनकि तीन जनामध्ये ऊ अलिक पाको र अनुभवी गनिन्थ्यो ।

‘ड्याङ ! ड्याङ ! ड्याङ !’ हर्कबहादुरले ढोकामा सानो आवाज दियो । ढोकाको आवाजपछि वरिपरिका कुकुरहरुको भुकाइले रातको सन्नाटालाई एक्कासि चि¥यो । साहुको घरभित्रको कुकुर खोर चर्काउँदै उफ्रियो । डरले छाती हप्प फुलेझैं लाग्यो उनीहरुलाई । कुकुर भुकेको आवाज भुइँमा नझर्दै एक जना पाले कामदार गेटमा हाजिर भयो र उसले टर्च बालेर एक पटक सबैको अनुहार हे¥यो ।

‘यो राति के खोज्न आ’को ?’ आगन्तुहरुको कमजोर व्यक्तित्वको अध्ययन गरेपछि पालेले निद्राको रिस पोख्दै भन्यो ।
‘कारखानामा भीमबहादुर साह्रै बिरामी छ । साहुलाई अस्पताल लैजान भन्दिनु प¥यो ।’ हर्कबहादुरले मलिन स्वरमा समस्या राख्यो ।
‘यतिबेला साहुलाई उठाउन मिल्दैन । तपाईंहरु भित्र बसिरहनुस् । साहु उठेपछि मात्र कुरा गर्नुस् ।’ पालेले ढोका खोलेर बरण्डाका कुर्सीहरु देखाइदिदै भन्यो ।
उनीहरु एक घण्टापछि भित्र पसे अर्थात् साहुको घरको कम्पाउपण्डभित्र । बाहिर उभिनु परेको पीडाले गर्दा यसलाई पनि उनीहरुले एउटा सानो सफलता नै ठाने । उनीहरु कम्पाउपण्डभित्र पसेपछि पालेले फलामको ढोका फेरि लगायो र उही यामानको ताल्चा ठोकिदियो ।

कुनै कुनै बेला चिसोले सासै लैजाला जस्तो हुन्थ्यो । अँध्यारो बरण्डामा बसेको करिब एक—डेढ घण्टापछि सहरका घरहरु छिचोल्दै आएका भालेका स्वरहरु सुने उनीहरुले । ‘उज्यालो हुने बेला भएछ दाजु !’ गणेशले हर्कबहादुरतिर फर्केर जाडोले काम्दै गरेको स्वर ओकल्यो ।
‘तर भीमबहादुरको स्थिति राम्रो छैन । चाँडै अस्पताल पु¥याउन सकिएन भने हामीले उसलाई नभेट्टाउन पनि सक्छौं ।’ खुला आकाशमा मधुरो हुँदै गएका ताराहरुतिर हेर्दै हर्कबहादृुरले लामो सास फे¥यो ।

त्यसपछि चिसोले कठ्याङ्ग्रिएको वातावरणमा डरको अर्को सिरेटो पस्यो । त्यसपछि वातावरणमा फेरि मुर्दाशान्ति छायो । एक छिनपछि नजिकै गाडीको आवाज सुनियो । उनीहरुले नजिकै मुख जोडेर खस्याकखुसुक सल्लाह गरे, ‘अब उज्यालो हुँदैछ ।’

सडकमा आ—आफ्ना कामले हिँड्ने मान्छेहरुको भीड बढ्न थाल्यो । चाबेल चोकतिरबाट आएको मानिसहरुको हल्ला पनि घरिघरि सुनिन्थ्यो । तरकारी र दूध बेच्ने र किन्ने मानिसहरु हतारहतारमा हिँडिरहेका थिए । तर बिहानै लागेको काठमाण्डौ हुस्सुले सडकमा हिँडिरहेका मान्छेहरुको आकृति मात्र देखिन्थ्यो । साहुको घरबाट पनि एक जना कामदार फुत्त निस्कियो र उनीहरुलाई हेर्दै बाहिर गयो । एक छिनपछि ऊ प्लास्टिकको एक झोला दूध बोकेर भित्र पस्यो ।

हर्कबहादुर विस्तारै उठेर गेटमा पुग्यो । ऊ गएको देखेपछि पाले पनि बाहिर निस्क्यो । उसले फेरि स्थितिको गम्भीरतालाई बुझिदिन आग्रह ग¥यो । ‘भीमबहादुरको अवस्था अत्यन्तै ननाजुक छ, साहुलाई बोलाइदिनुभए जाती हुन्थ्यो ।’

‘यति बेलै निद्रा बिथोल्यो भनेर साहुले हामीलाई अहिले खेद्छन् ।’ पालेले फनक्क आफ्नो कोठातिर फर्कदै अस्वीकृति जनायो । हुस्सु बिस्तारै फाट्दै गयो । घरका छतहरुमा घामको प्रकाश देखिन थाल्यो । घरअगाडिको सडकमा कार्यालय जाने मानिसहरुको आवतजावत बढ्न थालेको थियो । घरबाट साहुका बच्चाहरु पनि स्कूलतिर गए । उनीहरुले साहुका परिवारका सदस्यहरुलाई पनि गुहारे, तर पनि साहु उठेर आएन ।

‘मान्छेको ज्यानभन्दा पनि उसको निद्रा ठूलो’ गणेशले हर्कबहादुरसँग विस्तारै आक्रोश पोख्यो ।

‘यो मान्छे होइन जनावर हो,’ शिवरामले अलिक ठूलो स्वर ग¥यो । हर्कबहादुरले गणेश र शिवरामलाई हातको इसाराले चुप रहन संकेत ग¥यो । उनीहरुले वरिपरिको वातावरणबाट बुझे, खाना खाने बेला पनि टरिसक्यो ।

‘कामै गर्न छाडेर किन हूलै कसेर आ’को ?’ निद्राबाट भर्खर उठेको मुखाकृति बोकेर साहुले बाहिर एकाएक उनीहरुलाई झम्ट्यो ।

‘भिमबहादुर साह्रै बिरामी छ । अस्पताल लैजान हजुरलाई बिन्ती गर्न आ’को,’ हर्कबहादुरले अलिकति झुकेर भन्यो ।

‘बिरामी हुनेवित्तिकै अस्पताल लगिहाल्नु पर्दैन । तिमीहरु कारखानमा जाँदै गर, म एक छिनपछि आउँछु ।’ साहुले हर्कबहादुरको कुरालाई गम्भीरतापूर्वक लिएन ।

‘नमस्कार मालिक ! हामी विदा हुन्छौं,’ कोठाभित्र पस्न लागेको साहुलाई ठूलो स्वरले कराउँदै हर्कबहादुर जुरुक्क उठ्यो । अघि हिँड्दा हिँड्दै साहुले टाउको हल्लाएर विदा दिएजस्तो लाग्यो उसलाई । तर साहुले टाउको हल्लाएर विदा दिएको हो कि होइन राम्ररी भेउ पाउन उसले सकेन ।

‘हर्कबहादुर दाइ ! चाँडै जाऊँ,’ गणेश र शिवरामले हर्कबहादुरको हात ताने । बरण्डाको माथि भित्तामा झुण्ड््ययाइएको घडीको घण्टीले एघार बजेको सूचना दियो ।

‘धेरै अबेर भयो,’ हर्कबहादुरले मध्य घामतिर फर्केर हे¥यो ।

उनीहरु विस्तारै गेटबाट बाहिर निस्के र पूर्वको सडक समातेर जोरपाटीतिर लागे । सबैको अनुहारमा प्रस्ट पढ्न सकिने एउटा खिन्नता थियो ।

‘यस्ता कुकुरहरुको विश्वास गर्ने हामी बेकुफहरु हौं !’ शिवराम रिसले मुर्मुरियो ।

गणेशले टाउको हल्लाएर सहमति जनायो । परैबाट उनीहरुले देखे, कारखानामा मानिसहरुको भीड लागेको छ । उनीहरुको मनमा चिसो पस्यो । उनीहरुले आफ्ना पाइलाहरुको गति अझै बढाए । ‘बेलैमा अस्पता लागुपथ्र्यो,’ छिमेकी महिलाले भनेको कुरा बतासले उनीहरुको कानसम्मै ल्याइपु¥यायो ।

भीमबहादुृरको लास कारखानाको आँगनको बीचमा राखिएको थियो । भीमबहादुरले लाउने गरेको उही पातलो र मैलो लुङ्गीले उसको लास छोपिएको थियो ।

‘कति बेला ?’ साथीहरुतिर फर्केर गणेशले सोध्यो ।

‘भर्खरै हो, कात्रो किन्न गएकाहरु फर्केकै छैनन् ।’ कामदारहरुको स्वरमा आक्रोश थियो ।

मौरीहरुले रानोलाई घेरेझैं कामदारहरु भीमबहादुरको लासलाई घेरिरहेका थिए । सबैको अनुहारमा एउटा संकेत थियो । तर संकेत मौन थियो र सजिलै पढ्न सकिन्थ्यो । आँधी आउनुभन्दा अघिको वातावरण जस्तै । गणेश र शिवरामले त्यो संकेत सजिलै बुझे र गएर त्यही समूहमा मिसिए । हर्कबहादुर पनि उनीहरुसँग पछिपछि गयो ।

 समकालीन साहित्य, पूर्णाङ्क ५६÷२०६१, चैत्र

अँध्यारो गाऊँ

हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा! तपाईं भरखर आउनुभएको छ । हतारहतार आउने वित्तिकै यस्तो कुरा ग¥यो भन्नुहोला । तर तपाईंलाई हामी सबै यही कुरा सोध्ने भनेर व्यग्रतापूर्वक प्रतिक्षामा बसेका थियौं । पोहोर देखि समाजका मान्छेहरूले तपाईलाई हेर्ने आँखानै बेग्लै भएको छ । हाम्रो घरलाई हेर्ने आँखा पहिलेको जस्तो छैन । तपाई पहिले पहिले घर आँउदा गाउँका मानिसहरू कति खुसी हुन्थे । अब भोलि बिहान उज्यालो मात्रै होस, अनि थाहा पाउनु होला । तपाईलाई देखेर मान्छेहरू अर्कै बाटोबाट हिंड्नेछन् । मानिसहरूले तपाईलाई थुक्न सक्नेछन् । गाउँमा बुभ्mने र पढेका मान्छेहरू कोही छैनन् र मात्रै हो । उनीहरू भएको भए तपाईलाई के के गर्ने थिए । हो, तपाईलाई पक्कै वाँच्न सजिलो थिएन । तपाई यहाँ आएको कसैले थाहा पाएका छन् भने तपाईले भोलीको उज्यालो देख्न पनि पाउनु हुन्न । अझै पनि तपाई यो घरमा लुकरै भए पनि केही दिन बस्नु भयो भने तपाई यहाँबाट पक्कै पनि आफनो जागिरमा बाँचेर फर्कन सक्नुहुन्न । अव गाउँ कहाँ तपाईले सोचे जस्तो छ र । तर यतिबेला तल्ला गाउँ, माथ्ला गाउँमा कोही दाइहरू पनि घरमा छैनन् । हामी जस्तै साना केटाकेटीहरू, बुढा हजुरवाहरू र आमैहरू मात्र छन् । उनीहरूले पनि तपाईलाई साह्रै खराब मान्छेका रूपमा चिनेका छन् ।
बाबा ! जागिर त परिवार आफन्तहरू र समाजलाई सहयोग गर्नका लागि खानु पर्ने होइन र तर तपाईको जागिरले सबैलाई बर्बाद पा¥यो । पुलिसको जागिर खाएर तपाई त उठ्नै नसक्ने गरि बर्वाद हुनु भयो । हाम्रै गाउँमा पनि पुलिसको जागिर खाने अरू पनि त छन् । सामाजिक प्रतिष्ठा प्रति उनीहरू सचेतै छन् । समाज र आफन्तहरूको आँखामा तपाई त दुष्ट र अपराधी मान्छेका रूपमा चिनिनु भयो भयो तर हामीलाई पनि किन किन मानिसहरूले राम्रो आँखाले हेरिदिदैनन् । बाबा ! तपाईको दोषका कारण हामीले किन सजाय पाउने ? यो त हामी माथिको अन्याय हो नि होइन ? हामीले त सबैलाई त्यसै भन्ने गरेका छौं । बाबाले गरेका अपराधका कारण हामीलाई नराम्रो व्यवहार नगरिदिनुस भनेर अनुनय–विनय गरेका छौ र यो समाजमा बस्न पाएका छौं ।
आमा एकदिन पँधेराबाट रूँदै आउनु भएको थियो । पँधेरामा आमाले अरू मानिसहरूलाई बोलाउँदा पनि बोलेनन् रे ! उहाँलाई देख्ने वित्तिकै मानिसहरू परपर जान्छन रे ! मास्टर्नी काकी त आमाको नजिकै पर्न चाहनुहुन्न रे ! बाबा ! तपाईले किन यस्तो महाअपराध गर्नुभयो ?
बाबा ! मास्टर काकासँग झगडा गरेर तपाई भोलिपल्ट बिहानै हिड्नु भयो । झगडा गर्दा मास्टर काकालाई तपाईले भोलि राती नै सिध्याइ दिन्छु भन्नुभएको रहेछ । पर्सीको उज्यालो देख्न पाउदैनस् भनेर भन्नुभएको रहेछ । तपाईले यसो भन्नु भएको कुरा गाउँका सबै मान्छेले सुनेका रहेछन् । तपाईले यति निच काम गर्नुृहुन्छ भनेर हामीले त कल्पनै गरेका थिएनौं ।
बाबा ! मास्टर काका जस्तो असल मान्छे त यो गाउँमै थिएनन् । ‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’ भन्दै मास्टर काकालाई मारे पछि यहाँका कैयौं मान्छेहरू धेरै दिनसम्म रोइरहे । हो, बाबा हामीलाई पनि तपाईहरूले मास्टर काकालाई मारेपछि यो गाउँको मणि नै हराए जस्तो लाग्यो ।
मेरो कुरा सुनेर तपाईलाई साह्रै रिस उठ्यो होला । तपाई रिसाउनु अब हाम्रा लागि महत्वपूर्ण कुरा होइन । अनुहार पनि तपाईको कति साहै विग्रेको । तपाईलाई यति वेला ठूलो पश्चाताप भएको होला तर अब के गर्ने ? एक पटक मरिसकेपछि कसैको जीवन फेरि फर्केर आएको छैन । यहि कुरा तपाईले पहिले नै सोचिदिनुभएको भए कति राम्रो हुने थियो ।
भोलिपल्ट राति उस्तै उस्तै लुगा लगाएर आउने मान्छेहरूको एक हुलले मास्टर काकालाई कति क्रुरतापूर्वक मारे, त्यो तपाईलाई मैले भनिरहनै पर्दैन । त्यो त तपाईलाई थाहै छ । मास्टर काकाको छोरा नरेश भाईले एकदिन म सँग खुसुक्क भनेको थियो, त्यहाँ तपाई पनि हुनुहुन्थ्यो अरे । तर तपाईले अनुहारलाई खै ! किन हो एउटा रूमाल बाँधेर मुख छोप्नु भएको थियो रे ! बन्दुकको कुन्दाले मास्टरकाकाको टाउकै टाउकोमा हान्दा नरेशले तपाईसँग ठुलो बुवा बाबालाई नमारी दिनुस्, हामी जे भनेपनि मान्छौ भनेको थियो रे तपाईसँग । नरेशले यो कुरा स्कूलमा मेरो कानमा खुसुक्क भनेको थियो । उसले मलाई बाबालाई मार्न ठुलो बुवा पनि आउनु भएको थियो भन्थ्यो । जति छोप्न खोजे पनि बाबा ! तपाईलाई त सबैले चिनेछन । मास्टर्नी काकीले तपाईलाई चिनेपछि तपाई भित्तामा छेलिनु भयो रे ! होईन ? मास्टर काकालाई तल देविथानको रूखतिर मार्न लैजादा तपाईले मास्टर काकालाई गाली गर्दे लगेको तपाईको स्वर त, गाउँका सबैले चिनेछन् नि ! मास्टर काकालाई गोली हान्ने बेलामा पनि तपाईंले तँ माओवादी नै होस् भनेर जथाभावी गाली गर्नु भयो रे ! होइन ? घरबाट तल देविथान सम्म पु¥याउँदा मास्टर काकालाई बन्दुकको कुन्दाले जथाभावी घोच्दै लानु भयो रे ! होइन ?
गाउँका मान्छेसँग हामी पनि भोलि पल्ट विहानै तल देविथानमा मास्टर काकाको लास हेर्न गयौं । काकाको जिउभरि प्वालैप्वाल थिए । डोरीले बाँधेको त्यति एकजना मान्छेलाई मार्न पनि तपाईंहरूले किन त्यति धेरै गोली हान्नु परेको ? हतियार नभएको मान्छे मास्टर काकासँग तपाईंहरूलाई कति धेरै डर रहेछ ।
मास्टर काकाको लास हेर्न जाँदा त गाउँका धेरै मान्छेहरू मुर्छा भएर लडे नि ! मास्टर्नी काकीलाई त तीन दिनसम्म होस आएन । नरेशले त कति दिनसम्म भातै खाएन नि बाबा ! उसलाई त त्यसपछि कस्तो कस्तो रोग लाग्यो । टोलाएर बस्न थाल्यो । मान्छेहरूसँग पनि डराउन थाल्यो । हाम्रो कक्षामा त त्यो भन्दा पहिले प्रथम हुन्थ्यो नि बाबा ! त्यसपछिको परिक्षामा ऊ फेलै भयो । नरेश त अव पहिले पहिले जस्तो छैन । साथीहरू सँग पनि बस्न रूचाउँदैन । एक्लैएक्लै बसेर समय बिताउन मन पराउँछ । स्कूलमा साथीहरू उसलाई सा¥है मन पराउँछन् । पहिले कसैसँगपनि झगडा गर्दैनथ्यो । अहिले त साथीहरू सँग पनि सानो कुरामा झड¨ रिसाउँछ । साथीहरूसँग नजिक हुनै चाहँदैन । स्कूलबाट आउदा म उसैसँग घर फर्कन चाहन्थे तर ऊ एक्लै आउँछ । तपाईहरूले उसको बाबालाई मारेपछि उसको स्वभावमा कति फरक भयो, भयो ।
तपाईको अनुहार देख्दा मलाई अहिले मास्टर काकाको सम्झना भइरहेको छ । हामी केटाकेटीका लागि उहाँ कति असल मान्छे हुनुहुन्थ्यो । माओवादीले गरेका गलत कामलाई उहाँ गलतै भन्नुहुन्थ्यो । माओवादीले गरेका राम्रा कामको उहाँ प्रशंसा गर्नुहुन्थ्यो । के राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु गलत हो र ! तपाईहरूले त्यस्तो मान्छेलाई पनि देख्न सक्नु भएन । तपाईहरू आफैले सूरक्ष्ाँ गर्नु पर्ने कानूनलाई आपैmले कुल्चनु भयो । एकपटक उहाँलाई मन पराउने समाज, मास्टर्नी काकी र नरेशको अनुहार सम्झनुस् त ! के तपाईलाई कतै दुखेन ?
हामीलाई पनि तपाईको अनुहार हेर्न मन छैन । तपाईको अनुहार सम्झँदा पनि घिन लाग्छ । तर यो कुरा तपाईलाई भन्ने जरूरी थियो । हामी तपाईलाई भेटेर यो कुरा भन्न चाहन्थ्यौं ।
तपाईलाई जति शान्ती हुन्छ, रातमै शान्ती हुन्छ । यो गाउँमा, यो समाजमा तपाईका लागि उज्यालो कति पीडादायक हुनेछ, हेर्दै जानुुस । बरू कामना गर्नुस कहिल्यै उज्यालो नहोस् भनेर । भोली उज्यालोमा तपाईले यो गाउँलाई नहेर्नुस् । तपाई राती आउनुभयो, ठिकै गर्नुभयो । तपाईलाई घरमा आउँदा लुकेर बस्नु पर्ने छ भनेर हामीले एउटा कोठा बनाइदिएको छौं । त्यहाँकतैबाट उज्यालो छिर्दैन । तपाई यहाँ बसुन्जेल त्यही अँध्यारो कोठामा बस्नुस् ।
यो गाऊँमा तपाई आएको बाटामा कसैले देखेका रहेछन् भने तपाई यहाँबाट बाँचेर फर्कन पक्कै पनि सक्नुहुन्न । अब गाउँ तपाईहरूले पहिले सोचेजस्तो कहाँँ छ र !

स्रष्टा, पूर्णाङ्क २, २०६२ साउन

निधो

पश्चिमपट्टिबाट बाजा बजेजस्तो, गीत गाएजस्तो एउटा मधुरो आवाज धानचामर हालिसकेको हिउँदे मकैबारीलाई छिचोल्दै दनुवार टोलसम्मै आइपुग्यो ।
‘जन्तीहरु ब्गरमा आएर बसिसकेका छन् । अब साँझ पर्नेबित्तिकै आइपुग्छ ।’ यसो भन्दै केटाकेटीहरुको ठूलो जत्था जन्ती हेर्न बगरतिर दौडियो ।
“सबै तयार भएर बस्नुपर्छ” रबुवा दनुवारले ठूलो आवाज निकालेर सबैलाई सचेत बनायो । उसको आदेशपछि मानिसहरुको भीडमा एउटा तरङ्ग उत्पन्न भयो । भीड पोखरीको पानीमा बतासले पारेको हलचलजस्तै देखियो । काम गरेर लखतरान भएर थाकेका मान्छेहरु पनि नयाँ जाँगर बोकेजस्तो गरेर सलबलाए ।
दनुवार टोलमा छोरोलाई विद्यालय पठाउने चलन यही घरबाट सुरु भएको थियो । छोराहरुमा सात वर्षअघि मात्र पकनाले एस.एल.सी. पास ग¥यो । ऊ एस.एल.सी. पास भएपछि गाउँका दनुवारहरुले आपूmहरु प्नि केही शिक्षित भएजस्तो सम्झे । पकनाले एस.एल.सी. पास गरेको हल्ला ठूलो घटना घटेझैं टाढाटाढाका दनुवार बस्तीरित छोटो समयमै पैmलियो । त्यही बर्षदेखि साना—साना भन्ट्याङभुन्टुङदेखि यौवनवस्थामा टेकिसकेका तर विद्यालयको वातावरण नै नदेखेकाहरु प्नि कालोपाटी बोकेर दौडिन थाले । तर अरुले नपठाए पनि त्यही बर्षदेखि रबुवाले छोरीलाई स्कुल पठायो । टोलका धेरैजसो आफन्तहरुले रबुवाको खिसिट्युरी गरेर धेरै साँझहरुलाई गफमा उडाए । गाउँले आफन्तहरुका कुरा रबुवाले पट््रक्कै नसुनेको भनेचाहिं होइन । आप्mनै परिवारबाट पनि आफन्तका कुराहरु प्रशस्त सुन्यो । छोरीलाई किन पढाउँनुपर्छ ? ऊ तर्क गर्न त सक्दैनथ्यो । मात्र यति भन्थ्यो — ‘अचेलका मान्छेहरुले छोरा र छोरीलाई फरक गर्नु हुँदैन भन्छन् । मलाई पनि त्यो कुरा ठीकै लागेको छ ।’ यिनै कुराहरु गरेर ऊ बहसबाट पन्छिन्थ्यो । कुरा काट्नेहरुका धेरै कुरालाई रबुवा मौन रहेरै उडाइदिन्थ्यो । बिस्तारै—बिस्तारै आफन्तहरु पनि आपैंm थाक्दै जान थाले ।
रामवतीले पोहोर सात कक्षा पास गरी । पोहोरमात्र त्यो एउटा सानो घटना देखेपछि रबुवा छोरीलाई स्कुल पठाउन हच्कियो ।
कटारीमा शुक्रवार ठूलो बजार लाग्छ । सानो बजार भएर पनि कटारी अरु दिन पनि प्रायः व्यस्त नै हुने गर्छ । सगरमाथाको द्वार मानिने कटारीमा सिन्धुली, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका जिल्लाबाट सामान ओसारपसार गर्ने मानिसहरु त आउने नै गर्छन्, स्थानीय मानिसहरुले पनि मौसमअनुसारका फलफुलहरु बेचेर यही बजारबाट आप्mनो जीविका चलाउँछन् ।
शुक्रवारको दिन । विद्यालय चाँडै बिदा हुने दिन थियो । फुल्कना रबुवाले बिक्रीका लागि बजारमा लिएर आएको तरकारी चाँडै विक्री भयो । फुल्कना दनुवारले आज रबुवासँग एउटा प्रस्ताव ग¥यो — “आज हामीले ल्याएको सामान राम्रो मूल्यमा विक्री भएको छ, होटेलमा गएर केही चिया—नास्ता गरुँ ।”
रबुवाले तुरुन्तै फुल्कनाको प्रस्तावमा सहमति जनायो । आज रबुवाको चीजबीजले पनि राम्रै मूल्य पाएको थियो ।
रबुवा एक्कासि झस्क्यो र फुल्कनातिर हे¥यो । फुल्कना मधेसीसँग कुरा गर्न व्यस्त थियो । उसलाई अलिकति ढुक्क महसुु भयो । फुल्कनाले आप्mनी छोरी रामवतीलाई यसरी नचिनेको केटासँग हात समातेर हिंडेको देखेको भए आज टोलमा सबैले उसलाई गाली गर्थे । एक मनले रामलाई पनि सा¥है रिस उठ्यो । यत्रो बजारमा चिनेकाहरु कैयौंले उसलाई यसरी हिंडेको देखे होलान् । आज रबुवाले आप्mनो इज्जतमा ठूलो चोट परेको महसुस ग¥यो ।
रबुवाले फुल्कनाको आँखा छलेर अगाडिको बाटोतिर त्रासमिश्रित आँखाले हे¥यो । उसकी छोरी रामवती अर्को केटासँग हात समातेर पल्लो बाटोको कुइनेटोबाट अघि बढ्दै रबुवाको आँखाबाट ओझेल भई । यो घटना फुल्कनाले नदेखेकोमा रबुवाले आप्mनो मनलाई अलिकति शान्त बनायो । नत्र आज टोलमा बसिसक्नु हुँदैनथ्यो । रबुवाले छोरीलाई पढाउन स्कुल पठाएकोमा फुल्कना पनि सहमत थिएन ।
मन नहुँदानहुँदै पनि रबुवाले मगाएका कुरा खायो । फुल्कनाले मीठो मानेर मिठाइहरु थपेर खायो । उनीहरुले होटलमा पसेर कहिल्यै पनि यसरी खानेकुरा खाएका थिएनन् । अरुले खाएको मात्र देखेका थिए ।
“रबुवा, तँ बिरामी भइस् कि के हो ? त्यतिका खाने मान्छे आज त केही खाइनस् ।” रबुवा भित्रको चिन्ताप्रति उसले भेउ पाउनै सकेन र उसको अस्वाभिक अवस्थाप्रति जिज्ञासा पोख्यो ।
“अलिकति टाउको दुखिराखेको छ ।” रबुवाले परिस्थितिको गोप्यता कायम राख्ने प्रयत्न ग¥यो । घरफर्केपछि रबुवाले एकाएक पुराना अडानहरुमा परिवर्तन ल्याउन थाल्यो । परीक्षा आइहाल्न लागेको बेलामा छोरीलाई विद्यालय छोडाउने निर्णय ग¥यो ।
“रामवतीको तुरुन्त विवाह गर्नुपर्छ ।” घर आउनेवित्तिकै उसले स्वास्नीलाई भनेको थियो । “घरमा अन्नको नाममा एउटा दानो छैन, केले बिहा गर्ने ?” स्वास्नीले उसलाई सचेत बनाएकी थिई ।
धेरै पढाउनुपर्छ, बिहा गर्न हतारिनु हुँदैन भन्ने मान्छेले किन अचेल यस्तो कुरा गर्छ ? उसकी स्वास्नीको धारणा पनि छोरीलाई नपढाउने नै थियो । रबुवाको हिजोआजको भनाइप्रति उसकी स्वास्नी खुसी देखिएकी थिई । त्यही दिनदेखि छोरीको विवाहका लागि आप्mनो माइत कमलाखोंचतिर खबर पठाएकी थिई उसले । विवाह कसरी गर्ने ? केले गर्ने ? यो प्रश्नको उत्तर भने उनीहरुसँग कतै पनि थिएन ।
  
रामवतीले पढ्न जान्छु भनेर अलिक दिनसम्म अड्डी लिए पनि आखिर उसको केही जोर चलेन । रबुवाले खरो शैलीमा निर्णय सुनाएकै दिनदेखि ऊ विद्यालय जान छाडी ।
एक दिन गाई चराउन जाँदा जामुनले रामवतीलाई भनेको थियो — “मलाई अचेल तिमीलाई नदेख्दा कस्तो—कस्तो लाग्छ ।” जामुनको कुरा सुनेर रामवतीले केही बुझेजस्तो गरेर उसलाई हेरी । लाजले जामुन अर्कातिर फर्कियो ।
दुई दिनदेखि काम छ भनेर घर बाहिर गएको रबुवाले एक साँझ रामवतीका लागि सिथौलीबाट केटो खोजेर आएको र दुई महिनापछि विवाह गर्ने कुरा छ भन्ने खबर लिएर आयो । “बिहे त गर्छौ तर के ले गर्छौ ।” स्वास्नीको कुराले रबुवा गम्भीर भयो ।
“रामवती, तैंले बिहा गर्नुपर्ने केटो त्यही हो ।” टाढाबाटै आमाले रामवतीलाई देखाई । हरिया पातहरु झरेर शिरपाखो जङ्गल उजाड भइसकेको थियो ।
“अब केही दिनपछि यो गफ छोडेर जाँदैछु रे म । नयाँ गफ, नयाँ ठाउँ कस्तो होला त्यो । त्यहाँ शिखरपाखो छैन । त्यहाँ तीनतलेको बगर छैन । त्यहाँ जामुन छैन । अब त मेरो बिहा हुन पनि धेरै दिन बाँकी छैन । तर बाबुले मेरो विवाह कसरी गर्छन् । घरमा त केही छैन । सबैको ऋण छ ।” केही दिनदेखि प्रत्येक दिन बिहानै उठेर सोचेजस्तै आज पनि त्यही कुरा सोची । रामवतीको मन फेरि कटक्क काटियो ।
“अब तिमी र म सँगसगै गाईवस्तु चराउने दिन पनि सकिएजस्तो छ । मेरो सिधौलीको केटासँग विवाह हुने कुरा छ ।” रामवतीले जामुनलाई आज पहिलो पटक आप्mनो बारेमा सुनाई । “किन तिम्रो मुख त अँध्यारो भयो ?” रामवतीले जामुनलाई अलिक बुभ्mन खोजी र अलिकति कोट्ययाएर सोधी ।
जामुन अँध्यारो मुख लगाएर खिसिक्क हाँस्यो । “गाईवस्तु चाँडै बाँधेर तिमी जसरी भए पनि मेरो बिहामा आऊ है”, रामवतीले विशेष निम्ता गरी । “मेरो कुराले आज जामुनको अनुहार अँध्यारो भयो ।” राति घरको काम सिध्याएपछि रामवतीले खुसुक्क आमासँग भनी ।
“लाटी ! उसले तँलाई मन पराएको कुरा बुझिस् ।” आमाको कुराले रामवती लजाई ।
  
आज दिउँसो सिर्थौलीबाट एक जना मानिस आएर रबुवालाई भेटेर गयो । छोरीको बिहाले चिन्तित भइरहेको ऊ आज दिनभर पहेंले लागेको खसीझैं झोक्राई मात्र रह््यो । घरको काम पनि गर्न सकेन । “बिहा मात्रै हो र ! केटालाई सामान पनि दिनुपर्छ रे !” बेलुका साँझमा आँगनको खटियामा बसेका आफन्तहरुका अगाडि रबुवाले लामो सुस्केरा हाल्दै भन्यो ।
“तिमीले के भन्यौ त !” उसको नयाँ कुराले स्वास्नी पनि छक्क परी । “चालिस—पचास जना मानिसलाई ख्वाउनुपर्छ । त्यो तँ कसरी गर्लास् । त्यसमाथि सामान दिने कुरा कसरी हुन्छ ?” फुल्कनाले रबुवाको भनाइहरुलाई साथ दियो ।
“घरमा खान छैन, कसरी यस्तो बिहा गर्ने कुरा हुन्छ ?” रामवती बाबुको कानमा फुसफुसाई । रामवतीको भनाइले रबुवाले ठूलो आड—भरोसा पाएको महसुस ग¥यो ।
“भन्न आउने मान्छेलाई के समाचार पठायौ त ?” रबुवाको स्वास्नीले अताल्लिएर सोधी ।
“म सक्दिन भनेको छु , उसले उनीहरुसँग कुरा मिलाउनु भनेको छ ।” रबुवाले स्वास्नीतिर फर्केर उत्तर दियो ।
  
रामवतीले बाँसको भाटाले बारेको कटेरोमाथिको कोठाको प्वालबाट च्याएर पश्चिमतर्फ हेरी — तावा खोलातिरको पाखोलाई ओझेल पारेर घाम कटारीतिरको पाखोमा बसाई सरिसकेको थियो । पश्चिमतिरको सिमलको बूढो रुखमा चराहरु आउँदै कराउँदै फेरि जङ्गलतिर गइरहेका थिए । आजै मात्र एकझर पानी परेर रहेपछि हिजोअस्ती मात्रै जोतेको बारीबाट छिचिमिराहरु उडिरहेका थिए । भिजेको जमिनबाट तातो बाफसँगै माटोको गन्ध आइरहेको थियो । उसले एक पटक शिखर पाखारित हेरी—किन किन आज त्यो जङ्गलको उसलाई असाध्य माया लाग्यो ।
“खुसी देखिन्छेस् रे रामवती ।” पल्टू काकाकी छोरी दैया उसलाई जिस्क्याउँदै पल्लाघरतिर पसी । काकाहरु विजुली (डाडा बोकेर गाउनेसँग सहयोग उठाउन प्रथा) माग्दै गाउँ घुम्न थाले । कति खुसी छन् गाउँका मान्छेहरु । अरु खुसी भएको देख्दा उसको गरिबी पीड नराम्रोसँग कुँडियो ।
“हाम्रो पालामा त केटो तरबार लिएर आउँथ्यो । अहिले त त्यस्तो चलन नै हरायो ।” पल्लाघरे ठूलो बुबाकी छोरी फुलन दिदीले आँगनमा अति बेफुर्सदजस्तो देखिंदै ठूलो स्वरमा असन्तुष्टि ओकलिन् । धुवाँको मुस्लो उठेझैं शिखरपाखाबाट भुइँ कुहिरोले आकाश ताकिरहेको थियो । पहेंलो भएर भर्खरै पोखिएको घामलाई भुइँकुहिरोले एकैछिनमा छोप्यो । ऊ सूर्यलाई हेर्र्थी । भुइँकुहिरोले कटारी डाँडालाई छोडेपछि सूर्य तलै झरेको देखियो । सूर्यको डुब्ने क्रमसँगै उसको मनभित्र कौतूहलताको आँधी बेजोडले चल्न थाल्यो ।
कोठाबाट आँगनतिर च्याएर हेरी जामनु काठको बारमा अडेस लागिरहेको छ । सायद उसले उसैलाई खोजीरहेको होला । विचरो ! बाबुआमा ऊ सानै छँदा मरे रे । अर्काको घरघरमा चहारेर हिंड्छ जामुनलाई मनमनै उसले माया गरी ।
कटारीतिरबाट बाजा बजेको आवाजजस्तो फेरि सुनियो । उनीहरु बाजा बजाएर आउँदै छन् भन्ने उसले सुनेकी हो । त्यो बाजाले उसले आफ्नो गरिबीलाई गिज्याएको महशुस गरी उसले ।
“जन्तीहरु बगरमा आएर बसीसकेका छन्, अब साँझ पर्ने वित्तिकै आइपुग्छन् ।” रबुवाको ठूलो स्वरले भीडमा एउटा हलचल ल्यायो । भाटाले बारेको चेपबाट रामवतीले च्याएर तल आँगनतिर हेरी—दुई जना मान्छेहरु आएर बुबासँग कुरा गरिरहेका छन् । उनीहरु केटापक्षका मान्छेहरु हुुनपर्छ—उसले लख काटी ।
उनीहरु फर्केपछि रबुवाले बाहुलाले आँसु पुछ्दै गरेको देखी रामवतीले । किन यस्तो भयो, रामवती जिल्ल परी । फुल्कना र बगुवालाई छेउमा बोलाएर रबुवाले केही कुरा ग¥यो । “तिनीहरुले हामीलाई धोका दिए ।” फुल्कना जन्तीहरुतिर बसेको ठाउँतिर फर्केर चिच्यायो । बगुवाले पनि ठूलो स्वर निकालेर बगरतिर फर्केर गाली ग¥यो ।
“बेहुलालाई सम्पत्ति पनि चाहियो रे” रामवतीलाई आमाले आएर सुनाई र भनी — “नत्र उनीहरु फर्किने रे ।” आँगनमा जम्मा भएका मान्छेहरु नयाँ कुराले अचम्मित भए । कोही रिसाउँदै गरेका देखिन्थे । कोही खासखुस खासखुस गर्दै थिए । “फर्किन भन्नुस् म त्यो केटासँग विवाह गर्दिन” रामवती फटाफट भुइँमा झरी रबुवालाई भनी ।
“समाजले हामीलाई के भन्छ ।” रबुवाले रामवतीलाई सम्झाउन खोज्यो । “समाजले हामी गरिब भएको बुझेको छैन र ?” रामवतीले फुल्कना र रबुवातिर हेर्दै सहमति खोजी । “हो हो, उनीहरु फर्कुन् ।” रामवतीको कुरामा बगुवाले सहमति जनायो । गाउँका युवाहरु पकनाको पछिल्तिर लागेर कराए — “हो ! हो ! रामवतीको कुरा ठीक हो ।”
समाजको समान धारणा देखेर रबुवा पनि मनमनै खुसी भयो । जन्तीहरु फर्किउन भन्ने कुरा सुनाइदिन पकनालाई अ¥हायो । पकनाको पछिल्तिर लागेर युवाहरुको एउटा जत्था जन्तीहरु आएर बसेको ठाउँ बगरतिर दौडियो ।
पकनाको जत्था पुगेपछि जन्तीसँग निकै झगडा भयो । जन्तीभन्दा गाउँका मान्छे बढी भए । तर पकनाले उनीहरुलाई गाउँका मान्छेहरुबाट कुटपिट हुन दिएन । अन्ततः लज्जित भएर जन्ती फर्के ।
जामुनसँग रामवतीले आँपको फेदमा केही कुरा गरी । “ तिम्रो इच्छा भए म खुसी छु ।” जामुनले सानो स्वरले जवाफ दियो ।” “यही ठाउँमा म आजै जामुनसँग विहा गर्छु ।” रामवतीले उसका आमाबाबुलाई सुनाई ।
“कोही नभएको एउटा टुहुरो मान्छेसँग ।” रबुवाले शंका व्यक्त ग¥यो । “उसको कोही नभएकाले के फरक पर्छ र ।” उसले अविचलित निर्णय सुनाई । रबुवाले स्वास्नीसँग सहमतिको संकेत माग्दै उसको अनुहारतिर हे¥यो । उसकी स्वास्नी पनि रबुवाको मुखतिर फर्केर हाँसी ।
“टुहुरो भएर के भो र ! मान्छे बुभ्mझकी छ ।” फुल्कनाले सही थप्यो । नयाँ खुलदुलीहरुकै बीचमा विवाहको कार्यक्रम अघि बढ्यो ।

वनिता, बर्ष –९, पूर्णाङ्क –२९, २०६४ वैशाख—असार

मुक्ति

‘किन आएन राति यति अबेर भइसक्यो ।’ झ्यालबाट बाहिरको अँध्यारो संसारतिर हेरेपछि कश्यपको मनभित्र शंकाको सानो पर्खाल उठ्यो ।
मनको अन्तरमा उसले उसको जीवनमा आनन्दरामको उपस्थितिबाट मुक्ति खोजिरहेको कुरा सोच्यो । फेरि सोच्यो– अब ऊ मेरो कोठामा नफर्किए पनि हुन्थ्यो ।
आनन्दराम काठमाडाँै आएको दुई महिना पुगिसकेको थियो । उसको बाल्यकाल सम्पन्नतामा बित्यो । उसले सानोमा कुनै दुःखको अनुभव गर्नु परेन । बाबुको एक्लो छोरो । सुख–सयलको जीवनका कारण पछि दुर्दशामा बदलियो । जाँड, रक्सी, जुवा र तासको कुलतमा लागेकाहरूको संगतले सानैमा गाँज्यो । पढ्ने र लेख्ने कार्य उसको जीवनकोे तालिकाबाट पहिले नै हराइसकेको थियो ।
आनन्दरामलाई धेरै मान्छेले मन पराउँदैनथे । त्यसैले काठमाडौँमा ऊ अरूको कोठामा पुगिहाले पनि बस्दैनथ्यो । ऊ कसैले मन पराइहाल्नुपर्ने मान्छे पनि थिएन । अरूलाई खिसिट्यूरी गरेर कुरा गथ्र्यो । अरूको कुरा सुन्नुभन्दा आफ्नो कुरा बढी भन्थ्यो । लिएको पैसा तिर्दैनथ्यो । गरिबीको खिल्ली उडाउँथ्यो । आफ्ना बाबुबाजेको पालाको सम्पतिको गफ लडाएर समय नास गथ्र्यो । चिन्ने जान्ने अधिंकाश मानिसको आँखामा ऊ साह«ै अप्रिय मान्छेका रुपमा परिचित थियो ।
कश्यपका लागि पनि आनन्दरामको जरुरी थिएन । उसको अपाङ्गताको आनन्दराम ठाउँ–कुठाउँ खिल्ली उडाउँथ्यो । सानैदेखिको साथी हो ऊ । गाउँमा सँगसँगै हुर्केर बढेका । गाउँमा कश्यप गरिबको छोरो थियो । सानैमा घाँस काट्न जाँदा ऊ पहिरोबाट लड्यो । खुट्टा भाँचिएको रहेछ । घरको अस्पताल पु¥याउने सामथ्र्य थिएन । धेरै महिनासम्म ओछ्यान परेपछि कश्यप अपाङ्ग भएर उठ्यो । धेरैपछि गाउँका आफन्तहरूसँग लागेर काठमाडौँ आयो । गाउँका सबै मान्छेहरू गलैँचा कारखानामा काम गर्न थालेपछि उसको अपाङ्ग शरीर त्यहाँ बिक्री भएन ।
कश्यपले पुरानो बसपार्कमा बेलुका नगर प्रहरीहरूसँग लुकामारी खेल्दै फुटपाथे व्यापारबाट आफ्नो जीविकोपार्जन गर्न थालेको पनि पाँच वर्ष भइसक्यो । काम कष्टकर भए पनि गाउँको जस्तो भरे के खाउँ भनेर पिरोलिनु पर्ने अवस्था चाहिँ भएन । सुरुका केही महिना भने दुःख र सास्तीको कुनै सिमाना रहेन । व्यापार हुने ठाउँ थाहा नहुने, कुन सामानको बजार छ भन्ने ज्ञान नहुने, नगर प्रहरीहरूले कसरी दुःख दिन्छन् भन्ने थाहा नहुने आदि कारणले सुरुका दिनहरू कश्यपका लागि अत्यन्तै त्रासद सावित भए ।
विस्तारै विस्तारै व्यापारका प्वालहरू उसले थाहा पाउँदै गयो । फुटपाथ व्यापारी भए पनि कश्यप अचेल राम्रैसँग जीविकोपार्जन गर्ने ठाउँसम्म आइपुग्यो ।
दुई महिनाअघि साँझमा ग्रँहक कुर्दाकुर्दै पुरानो बसपार्कमा कश्यपले आनन्दरामलाई देख्यो । उसले आनन्दरामलाई नभटेको धेरै वर्ष भइसकेको थियो । अधिकांश मानिसहरू गाउँबाट सहर आएपछि लगाउने कुराहरूमा आफूलाई केही परिवर्तन गर्छन् । कश्यपले भेट्दा आनन्दराम हिजोको गाउँको आनन्दरामभन्दा सबै अर्थमा कमजोर थियो । एक मनले त आनन्दराम होइन कि जस्तो लाग्यो उसलाई । फुच्चे आनन्दरामको खाइलाग्दो शरीरको केही भाग मात्र बाँकी थियो । त्यसबेलाको रहरलाग्दो उसको लवाई भने कतै पनि बाँकी थिएन । मैलो र टालेको पाइन्ट, थेग्ला–थेग्ला भएर कालो दाग लागेको हाप सेतो सर्टमा ऊ धेरै दयनीय मान्छे जस्तो देखिन्थ्यो । भीडबाट छलिने बेलामा उसले आनन्दरामलाई कराएर बोलायो ।
काठमाडौँ सहरमा अनाथ जस्तो भएर हिँडिरहेको बेलामा कसैको आवाजले आनन्दराम एक्कासी झस्किएर पछिल्तिर हे¥यो । हाँसिरहेको कश्यपलाई देखेपछि आशा नगरेको शिकार भेटेको शिकारीले झैँ आनन्दरामले कश्यपलाई अँगालो हाल्यो ।
“तँ, यहाँ छस्” आनन्दरामले आश्चर्य मान्यो ।
‘बाँचिरहे त धेरै थोक देख्न पाइन्छ । गाउँमा यसले हामीसँग बोल्दा पनि जात जान्छ कि झंँै गथ्र्यो । सहरमा यो कति निरिह जस्तो देखिन्छ ।’ आनन्दरामलाई भेट्ने बित्तिकै कश्यप आफ्नो अतीततिर फर्कियो ।
“तँलाई भेट्न भनेर म बौद्धका धेरै गलैँचा कारखानातिर पुगेँ । गाउँका दुई चार जनालाई भेट्टाएँ पनि । तर कसैले पनि तेरो बारेमा बताएनन् ।’ आनन्दरामले उसलाई भेटेकोमा ठूलो उपलब्धि भएको ठान्यो ।
“त कहिले आइस् त काठमाण्डू” आनन्दरामले नैराश्यतालाई नबुझेझैँ गरी उसले सोध्यो ।
“म आएको एक हप्ता भइसक्यो । तँलाई भेट्दा मलाई देउता भेटेजस्तै लाग्यो ।’ आनन्दरामले रुन्चे स्वरमा भन्यो ।
गाउँबाट सहर आएका मान्छेहरूसँग काठमाडौँले कस्तो व्यवहार गर्छ भन्ने कुरामा कश्यप राम्रैसँग जानकार थियो ।
“हिजो स्वर्गीय आनन्दमा बसेको मान्छेको यस्तो हाल ! हिजो उसको सान नै बेग्लै थियो । आज ऊ यो हालतमा आइपुग्छ भनेर कसले कल्पना गर्न सक्थ्यो । हामी जस्ता गरिब मान्छेहरूले उनीहरूसँगको नियमित सानिध्यता गर्न पनि सजिलो थिएन ।” कश्यप आनन्दरामको अतीततिर फर्कियो ।
“एक हप्तासम्म कताकता घुमिस् त ! ” आनन्दरामले काठमाडौँमा पाएको कष्टलाई कश्यपले खोतल्न खोज्यो ।
“अहिले भनेर भ्याइन्न । पछि कुरा गरौँला ।” आनन्दरामले कुरालाई अघि बढाउन चाहेन ।
आनन्दरामले आफूलाई अब पछ्याउँदै छ भन्ने कुरा बुझेपछि कश्ययको मनभित्र द्वन्द्वको एउटा सानो तरङ्ग उठ्यो । ‘यसलाई लिएर कोठा जाउँ, यसको अव्यावहारिक र उच्छृङ्खल जीवनशैलीका कारण आफैँलाई अफ्ठ्यारो हुन के बेर ? यसलाई कोठा नलैजान पनि कसरी । गाउँबाट आएको मान्छे । यसको यहाँ कोही छैन । फेरि कति दिन बस्ने हो, त्यो पनि ठेगान छैन ।’ यिनै द्वन्द्वहरूमा पर्दापर्दै त्यस दिन कश्यपले आनन्दरामलाई आफ्नो डेरा बागबजार लिएर गयो ।
निरस र एक्लो जीवन बिताइरहेको कश्ययका लागि आनन्दरामको उपस्थिति सुरुसुृरुमा रमाइलै लाग्यो । आफ्नो गाउँ, आफूले खेल्ने गरेका वनडाँडाहरू, चौरहरू, साथीहरूको चर्चा गरेर उनीहरू राति अबेरसम्म कुराकानी गरिरहन्थे ।
“तँ पनि केही काम गर । यसरी रक्सी पिएर हिँडेर मात्रै कसरी जीवन चल्छ । काम गरेर खान सिक ?” केही दिनदेखि त्यतिकै घुमेर रक्सी खाएर घर आउन थालेपछि कश्यपले आनन्दरामलाई भन्यो ।
“के म यहाँ बसेको तँलाई अफ्ठ्यारो लागेको छ । मैले खाएको हिसाब गरेर राख न ? म तिरीहाल्छु नि ?” आनन्दरामले रक्सीको धङधङीसँगै उत्तर फर्काएको थियो ।
केही दिनपछिको कुरा हो । एक दिन दिउँसो आनन्दराम केही साथीहरू लिएर कोठा आयो । नेपाल बन्दको दिन भएकोले सडकमा पसल थाप्न जाने कुनै योजना थिएन । आनन्दराम साथीहरू लिएर कोठामा आइपुग्दा कश्यप कोठामा सुतिरहेको थियो । यी मानिसहरूले चोकबजारमा हुल्लडबाज गरेर हिँडेको सोझासाझा मानिसहरूलाई कुटपिट गरेको कश्यपले धेरैपटक देखेको थियो । यी मान्छेहरू लिएर आएपछि कश्यप आनन्दरामको व्यवहारबाट सशंकित र आतङ्कित भयो । अस्ति माथिल्लो तलामा बस्ने मानिसलाई यही समूहले खसी बजारमा हाक्काहाक्की लुट्यो, प्रहरीले पनि केही गर्न सकेन । अर्थात् सकेर पनि गरेन । चुनावमा निर्वाचित हुने मानिसहरूले होइन, यो टोलको शासन यिनीहरूले नै चलाउँछन् । चुनावमा निर्वाचित हुने मान्छेहरूले यिनीहरूलाई साथ लिएर मात्र आफ्नो योजना पूरा गर्छन् । यिनीहरूको गतिविधि देख्दा चुनावबाट जितेका प्रतिनिधिहरू र पुलिसहरूसँग पनि कश्यपलाई भित्रैदेखि घृणा छ । साँझमा पसलको पोको बोकेर फर्कँदा कतिपल्ट यिनीहरूले आपूmलाई घुरेर हेरिरहेको देख्दा ऊ मनमनै आतङ्कित बन्थ्यो ।
यी सबैजना आज उसकै कोठामा । ऊ आज बेसरी आँत्तियो । आज आनन्दरामसँग उसलाई कहिल्यै नउठेको रिस उठ्यो ।
हेर्दाहेर्दै एउटा कुण्डलेले ज्याकेटबाट एउटा सुई र केही सिसीहरू झिक्यो ।
अर्को कुण्डलेले आनन्दरामको पाखुरामा सुई हान्यो ।
आनन्दरामले पनि झ्याप्लेलाई अर्को सुई हानिदियो । यसो गर्दागर्दै सबैले सुई लगाए ।
एउटा कुण्डलेले एउटा सुई झिकेर तँ पनि लगा भन्दै थियो । ऊ म लगाउँदिन भन्दै बाहिर भाग्यो । ऊ भाग्दा आनन्दराम मरिमरि हाँस्यो ।
ऊ कोठामा फर्कँदा सबै निस्किसकेका थिए । आनन्दराम खाटमा पल्टिरहेको थियो । उसलाई देख्नेबित्तिकै आनन्दराम फेरि हाँस्यो । उसको हाँसोसँग कश्यपलार्ई आज धेरै रिस उठ्यो । उसलाई केही भन्न पनि ऊ डरायो । उसको सम्बन्ध यो टोलका ठूलाठूला गुण्डाहरूसँग भएको कुरा पनि आज मात्रै उसले थाहा पायो ।
आज नेपाल बन्दको दिन । ऊ पसल बोकेर बसपार्क र सडकतिर जानु नपर्ने दिन । उसलाई आनन्दरामको अघिल्तिर बस्न पनि घिन लाग्यो ।
काम नभए पनि कश्यप एक्लै पुरानो बसपार्कतिर निस्कियो ।
कश्यप घुमेर कोठा फर्कँदा साँझ झमक्कै परिसकेको थियो । त्यतिबेला आनन्दराम सुतेर भर्खरै ब्युँझेको जस्तो देखिन्थ्यो ।
‘त्यस्तो संगत छोड्, मैले जसरी काम गरेर खा त ! जिन्दगी कति सुखी जस्तो लाग्छ ।’ खाना खाइसकेर सुत्ने बेलामा कश्यपले आनन्दरामसँग त्रासमिश्रित स्वरले सुस्तरी भन्यो ।
‘तँ लङ्गडालाई कुवा पनि ठूलो समुद्रजस्तो लाग्दो हो’ कश्यपको कुरालाई आनन्दरामले हावामा उडाइदियो ।
‘सिरानमा राखेको रुपैयाँ पनि सबै हराएछ ।’ बिहानै उठेर कश्यपले खुइय ग¥यो र लामो श्वास फे¥यो । रिसले ऊ आनन्दरामतिर फर्कियो । आनन्दराम भित्तातिर फर्केर मस्त निदाइरहेको छ । उसले सोच्यो– ‘आनन्दराम ननिदाएको पनि हुनसक्छ ।’
आनन्दराम निदाएको भ्रममा कश्यपले धेरैपटक सिरानमा रुपैयाँहरू राखेको थियो । धेरै समयदेखि रुपैयाँहरू राख्यो मात्र झिकेको थिएन । उसले मनमनै हिसाब गरेको थियो– ‘चालीस हजारजति हुनुपर्छ ।’
‘साले डाकाले सबै सिध्याएछ ।’ सिरानीको सानो प्वालबाट रुवा भित्रभित्र परैसम्म कश्यपले हात घुसा¥यो ।
‘अहँ छैन कतै छैन ।’ फेरि बर्बरायो ।
आनन्दरामसँग झगडा गरौँ, त्यो कश्यपको बुताको कुरै थिएन । टोलका सबै गुण्डाहरूसँग उसको सम्बन्ध छ । अति सामान्य मान्छे ऊ । आनन्दरामसँग कसरी झगडा गर्न सक्छ ? कश्यपभित्र आक्रोशको ज्वाला दन्के पनि आनन्दरामसँग उसले झगडा गर्ने कुरा सोच्नै सकेन ।
कश्यपको सपनाको संसार अमेरिकाको ट्वीनटावर भत्केभैmँ निमेषभरमै भत्कियो । उसले एकपटक आफ्ना सपनाहरू सोच्यो– ‘पहाड जाने, खेतबारी किन्ने, घर बनाउने, विवाह गर्ने यस्तै यस्तै सपनाहरू…’
ऊ भित्र भाउन्न भएर आयो । आँखा खोल्यो, सबैतिर अन्धकारजस्तो लाग्यो र ओछ्यानमा गएर एकछिन पल्टियो ।
आज दिनभर उसलाई काम गर्ने कुनै जाँगर चलेन । आनन्दरामले उठेर बोलायो । उसले पेट दुख्यो भनेर टा¥यो । उठेर खाना पनि पकाएन । आनन्दराम पनि एकछिनपछि भोकै एक वर्षअघि कश्यपले किनेको चश्मा लगाएर बाहिर निस्क्यो । कसरी आनन्दरामबाट मुक्ति लिने भन्दै ओछ्यानमा पल्टेर कश्यपले दिनभरि सोचिरह्यो ।
‘आजको रात कतै बास बस्यो होला ।’ राति सुत्ने बेलामा कश्यपले फेरि एकपटक आनन्दानुभूतिको महसुस ग¥यो । राति एक दुई बजे बाहिर कसैको पदचाप सुनिँदा पनि उसको मनभित्र चिसो पस्थ्यो ।
मिर्मिरे उज्यालो भुइँमा खसेको मात्र के थियो, बाहिर एउटा सानो हल्ला चल्यो । कश्यप त्यो हल्लाले ब्युँझ्यो ।
‘पुरानो बसपार्कमा एउटा केटाको लास लडिरहेको छ’ यो आवाज तरकारी बेच्न आउने हाकुचाको जस्तो थियो ।
कश्यप चाँडोचाँडो ओछ्यानबाट उठ्यो । उसले राति आनन्दराम नआउनु र हाकुचाको हल्लाका बीचको सम्बन्ध खोज्यो ।
‘कतै आनन्दराम त होइन ?’ कश्यपले आफ्नै मनसँग फेरि प्रश्न ग¥यो ।
उसले डङ्रङ्ग चिसो सिमेन्टको भुइँमा पसारिएको आनन्दरामको लास देख्यो । मरिसकेपछि पनि खाइलाग्दा देखिने उसका बलिष्ठ हातका पाखुराहरू देख्दा उसको मनको अन्तरमा कतै सानो लोभ पलायो ।
लासलाई धेरै मान्छेहरूले घेरिरहेका थिए ।
‘ग्याङफाइटमा मारिएको होला’ भीडमा कोही भनिरहेका थिए ।
‘होइन रक्सीले मरेको होला’ अर्काले थप्यो ।
‘लागु औषधिको दुव्र्यसनी हो’ फेरि कोही बोल्यो ।
‘राति चिसोले कठ्याङ्ग्रिएर म¥यो होला’ कसैले दया देखायो ।
‘राति मान्छे कुटिएको आवाज सुनिएको थियो’ नजिकैको होटलवालाले भीडलाई सुनायो ।
‘शरीरभरि डामैडाम छन्’ भीडका धेरै मान्छेहरूले राय राखे ।
आनन्दरामलाई सबैभन्दा बढी चिन्ने कश्यप भने मौन उभिरहेको थियो ।
‘यो यस ठाउँको लागु औषधिको ठूलो दुव्र्यसनी हो । कसैको कुटपिटद्वारा मारिएको होइन ।’ एउटा प्रहरीले हतारहतार निर्णय सुनायो ।
‘दुव्र्यसनी भए पनि मारिएको चाहिँ कुटपिटले नै हो ।’ भीडमा एउटा युवा करायो ।
जे भए पनि आज राति आनन्दराम मरेछ । जसका बारेमा विभिन्न शंकाउपशंकाहरू भीडमा चलिरहेका छन् ।
साँझमा आर्यघाटबाट फर्केपछि कश्यपले आपूm सुख कि दुःख ? कस्तो महसुस गरिरहेको छ, आपैmँसँग एकपटक फेरि प्रश्न ग¥यो ।

बगर, वर्ष २५, पूर्णाङ्क ७६, २०६३, असोज–मंसिर

बाध्यता

आज बिहानैदेखि माइलीको मन बेचैन भइरह्यो । सपना देख्दा पनि नपत्याउने जस्तो घटना उसल आज आप्mनै आँखाले देखी । अभैm सोची कतै यो घटना सपना त होइन ? आपैंmलाई एकपटक फेरी छामी । होइन बिपनै हो । कोठाभरि बुट जुत्ताका पाइलाहरु हेरेर विपनै भएको ठहर गरी । आँगनमा राखेको कोदालो बोकेर गएका सैनिकहरुले लासलाई त्यही खोल्सामा गाडे र उनीहरु कोदालोलाई त्यही बाटोमा फालिदीएर हिडे । कोदालोलाई उठाएर घर ल्याउन पनि उसको मनले मानेन । एक मनले माइलीलाई त्यो कोदालोलाई त्यहीबाट तल खोल्सातिर फालिदिन मन लाग्यो । यो ठाउँमा अब कसरी दिन र रात बिताउने भन्ने चिन्ताले उसको मन नराम्ररी चर्कियो । बिहानै मारिएको मान्छेको अनुहार उसको आँखामा झल्झली आइरह्यो । ‘कहाँको मान्छे होला ऊ ?’ माइलीलाई जाडोमा कामीरहेको त्यही अनाथको सम्झाना आयो । कति निरुपाय र असहाय मान्छे थियो ऊ ।
‘माइली नानी ! आज बिहान एतातिर धेरै पटक बन्दुक पड्किएको हामीले सुनेका थियौं । तिमीले केही थाहा पायौ’ दूध लिएर आएका राउत दाइले दूधको भाँडो भुइँमा नबिसाउँदै सोधे ।
‘अहँ थाहा छैन ।’ उसले नजानिदा नजानिदै रुखो जबाफ फर्काई ।
दूध लिएर आउने मानिसहरुलाई पनि आज उसले एक छिन बसौं भनेर जोड गरिन । पहिले पहिले उनीहरुलाई चिया खाएर जान कर गर्थी ऊ । आज उसलाई उनीहरुसँग राम्ररी कुरा गर्न पनि चाहना भएन । हिंड्ने बेलामा सेनाहरुले भनेको कुरा उसको मानसपटलमा अझै पनि गुन्जिरहेको थियो ।
‘यो घटना कसैलाई भनिस भने तँलाई र तेरो छोरालाई पनि त्यही खाल्डोमा गाडिदिन्छौं ।’ त्यसबेला शाहीसेनाको एउटा मान्छे यसै गरी गर्जेको थियो । त्यसबेला माइलीको मन अत्तालिएर काँपेको थियो ।
कटारीबाट बिहानै हिडेको पहिलो बस सिरिसे भन्ज्याङ्गबाट उँभो लाग्यो । आज उसलाई चिया पठाउने जाँगर पनि छैन । बिहान ल्याएको दूध पनि नतताइकन उसले दराजको कुनामा थन्क्याई । पाँच वर्ष बितिसक्यो बेतिनी भन्ज्याङ्ग रुँगेको । जीवन भोगाइका पीडाहरुको अर्को महाभारत छ ऊसँग । बाँच्नलाई सबैभन्दा ठूलो सफलता मान्नेहरुका लागि ती पीडाहरु फगत पानीका फोकाहरु मात्र हुन् । माइली यस्तै कुराहरु सोच्छे र कहिले काहीं आप्mनो जीवनलाई मूल्यांकन गर्छे । नजिकैका गाउँ र वस्तिबाट गाई चराउन आउने आप्mनै उमेरका छोरी बुहारीहरुका सपनाहरुसँग दाँज्छे । हिउँदको तुषारोले खाएका महाभारत डाँडाका कलिला विरुवाहरुजस्तै छन् उसका रहरहरु । वर्षाको समयमा हलक्क हल्किन्छन् र हिउँदमा कठ्याँग्रिएर मर्छन् । लोग्नेको सम्झना हुन छाडेको पनि बर्षौं भइसक्यो । लोग्नेप्रति पनि तीब्र घृणा छ उसलाई । कटारी ओखलढुङ्गाको बाटो खन्ने काम पूरा नहुँदै ऊ सरुवा भएर अन्यत्र गयो । त्यसपछि माइलीसँग उसको कहिल्यै भेट भएन । केही वर्ष माइलीले सानो छोरो बोकेर धेरैतिर खोज्ने प्रयत्न गरी तर पछि थकित भएर बसी । आप्mनै लोग्नेको कारण माइलीको मनभित्र सैनिकहरुप्रति घृणाको एउटा घर बनेको थियो । आज विहानैको घटनापछि सैनिकहरुप्रति उसको घृणा झनै बढेर गयो ।
माइलीले धेरै पटक आप्mनो विगततिर फर्केर आगतका निम्ति सोची । जति सोचे पनि आज विहानको घटनापछि बेतिनीमा बाँकी दिनहरु काट्न गाह्रो भएको महशूस भयो उसलाई ।
बसबाट मानिसहरु ओर्लिए ।
‘चिया खाउँ न, चिया पाइँदैन’ धेरै जनाका यस्ता प्रश्नबाट माइली एकपटक झस्की । आपूmले चिया नपकाएर गल्ती गरेजस्तो बोध भयो उसलाई । चिया नपकाएर के खाने ? आपूmले गरिबीसँग जुधेका त्रासद दिनहरुतिर फर्की ऊ ।
आज चिया छैन भनेर ग्राहक फर्काउनुपर्दा माइलीले आपूm एकपटक फेरि पराजित भएको महसुस गरी । उसको भविष्यलाई खिसीट्यूरी गर्दै बस फेरि घुर्मीतिर लाग्यो ।
  
घामका झुल्काहरुले उत्तरतिरका पहाडका टाकुराहरु पहेंलै टोपी लगाएर उभिएजस्तै देखिए । बेतिनीमा मानिसहरुको भीड बिस्तारै बढ्न थाल्यो । पहाडबाट मधेसतिर झर्ने मानिसहरु त छँदै थिए, बिहानै पड्किएको बन्दुकको आवाज सुनेर वास्तविकता बुभ्mन आउनेहरु पनि प्रसस्तै थिए ।
‘ए माइली नानी ! आज याँ बन्दुक पड्किएको आवाज सुनियो, तिमीलाई केही थाहा छ ?’ पण्डित भवनाथ घँघरुको लौरो टेकेर छेउमै आएर उभिइरहेका थिए ।
‘बिहान सेनाहरुले मारेको मान्छेको अनुहारसँग पण्डित भवनाथको अनुहार कतै मिलेको त होइन’ माइलीले भवनाथको अनुहारतिर हेरी । मनमा फेरि चिसो पस्यो ।
पण्डित भवनाथको छेउमा दुब्लो जिउ भएकी निन्याउरी एउटी आइमाई पनि थिई । महाभारत डाँडाको ठण्डी र चिसोले निलो ओठ टोकेर उभिइरहेका तीनजना सानासाना बच्चाहरु उसको थोत्रो फरिया समाएर उभिइरहेका थिए । भवनाथले सोधेको प्रश्नको उत्तर पाउन ती महिलाका आँखा माइलीको अनुहारमा एकनासले अडिए ।
‘किन सोध्नुभयो पण्डित बाजे ?’ माइलीले आप्mनो शंकालाई पुष्टि गर्न खोजी । ‘मेरो जेठो छोरालाई शाही सेनाले पक्रेर हिजो राती यही बाटो ल्याएका थिए । बिहानै बन्दुक पड्किएको आवाजले हाम्रो मनमा चिसो पस्यो नानी !’ पण्डित भवनाथ ओठ कमाउँदै बोले ।
‘तीन पटक बन्दुक पड्किएको आवाज त मैले पनि सुकेको थिएँ ।’ राम्चे डाँडाबाट कटारीतिर हिँडेका दलबहादुर सुनुवारले पनि राय राखे । माइलीले तीनवटा साना बच्चाहरु तिर हेरी र एकपटक फर्केर आप्mनो छोरातिर हेरी ।
‘यो आइमाई त्यही आज बिहान मारिने मान्छेकी स्वास्नी रहिछ र यी सानासाना बच्चाबच्चीहरु उसैका छोराछोरी रहेछन् ।’ माइलीले आपूmभित्रको शंकालाई पुष्टि गरी ।
‘अब के भन्ने यिनीहरुलाई !’ माइलीका अघिल्तिर जटिलताको एउटा पहाड उभियो । मानिसहरुको भीड बिस्तारै बिस्तारै बढिरहेको थियो ।
  
बेतिनी भन्ज्याङ्गमा बिहानको घाम पहेंलै भएर पोखियो । विहान चलेको गोलीका बारेमा भीडमा संवाद र बहसले नयाँनयाँ तर्क र अनुमानहरु चल्दै थिए । यो घटनालाई कसरी व्यक्त गर्ने भन्ने कुराले माइलीको मनभित्र द्विविधाको एउटा हुण्डरी चल्यो ।
‘नभन्ने पनि कसरी ?’ अधिर भइरहेको आप्mनै मनसँग माइलीले फेरि तर्क गरी । सैनिक ड्रेस लगाएको अर्को एक हुल परको कुइनेटोबाट यतैतिर सोझियो । माइली फेरि आतंकित् हुन्थे । ‘मावोवादी सेनाहरु आए, संवादमा व्यवस्त एकजना मानिसले भीडलाई सचेत बनायो ।
‘कि शाही सेना हो ।’ अर्को एकजना मान्छेले फेरि त्रास पोख्यो ।
‘बिहान आउनेहरुको भन्दा बेग्लै ड्रेस छ ।’ माइलीले त्यो हुल शाही सेना नभएको लख काटी । र आप्mनो मनलाई अलिक ढुक्क बनाई ।
चौबाटोको कर्मथलो भएकोले माइली साही सेना र माओवादी सेना दुबैलाई राम्रैसँग जान्दथी । ऊ माओवादी सेनाका पनि कुरा र काममा एकदमै तालमेल भेटाएको अनुभव गर्दिनथी ।
‘हामी त बन्दुक बोकेर हिँड्यौ तँ किन बसिराखेकी ?’ सैनिक लश्करको अघिल्तिरबाट आएका दुइटी युवतीको कुराले ऊ झल्यास्स भई ।
‘अप्सरा र ठाइली ?’ माइलीले फेरि एकपटक गौर गरेर हेरी । ‘होइन तिमेरु पनि माओवादी’ माइलीले अचम्म मानेर आँखीभौँ उचाली ।
‘अब तँ मात्र बाँकी छेस्’ अप्सरा खित्खिताउँदै हाँसी ।
अप्सरा र ठाइली उसको सानैदेखि बनजङ्गल गर्दाका साथीहरु थिए । उनीहरुको जीवन दशा पनि माइलीको जस्तै थियो । अर्थात् उनीहरु पनि माइलीभैंm शाही सैनिकहरुको नाटकीय प्रेममा परेर धोका खाएकाहरु थिए । आज यो रुपमा उनीहरुलाई देख्दा माइली अचम्मित भई ।
भीडलाई पन्छाउँदै कमाण्डर जस्तो देखिने एकजना माओवादी सेना माइलीको अघिल्तिर आएर कडा स्वर निकालेर सोध्यो । ‘आज बिहान यतातिर गोली चल्यो, तपाईंलाई केही थाहा छ ?’
माइली एकछिन चुप लागि । ‘तपाईं किन चुप लाग्नुभयो ।’ ऊ अझ करायो । माइलीलाई यो घटना कसैलाई नभनेर लुकाउनु पनि अपराध गर्नु हो भन्ने बोध भइरहेको थियो । अगाडि आउने खतरालाई उसले झल्झली देखिरहेकी थिई । यति हुँदाहुँदै पनि उसले यो घटना सुनाउने आँट गरी ।
‘शाही सेनाका मान्छेहरुले बिहानै एउटा मान्छेलाई लिएर आए र यही ठाउँमा गोली हानेर मारे ।’ माइलीले खोल्सातिर औंलाले देखाउँदै भनी ।
‘मेरो छोरो त माओवादीनै होइन, कसरी मारे ?’ पण्डित भवनाथ चिच्याएर कराए । भवनाथसँगै आउने महिला यो कुरा सुन्ने बित्तिकै भुक्लुक्कै भुइँमा ढलिन ।
‘फेरि यहाँ लास प¥यो’ एकजना मान्छे करायो । ‘होइन ! होइन ! बेहोस भएकी हुन् ।’ अर्को मान्छेको आवाज सुनियो । माइली अत्तालिदै भित्र गई र एउटा गुन्द्री लिएर बाहिर आई । बेहोस भएर भुइमा लडेकी महिलालाई गुन्द्रीमा सारेर राखी । माओवादीका महिला छापामारहरुले माइलीलाई सहयोग गरे । माओवादीका छापामारहरुको ठूलो हिस्सा खोल्सातिर हिँड्यो ।
  
‘माओवादीहरु धेरै राम्रो कुरा गर्छन्, तर कुरा अनुसारको काम गरेका छैनन् ।’ माइलीले छापामारको प्रमुखसित बहस गर्ने शैलीमा कुरा सुरु गरी ।
‘भरखर भरखरै हिंडेका मानिसहरु छन् । धेरैले बुझिसकेका छैनन् । अलिअलि त त्यस्तो भइहाल्छ नि’ छापामार प्रमुखले कुरा बुझाउने तरिकाले भन्न खोज्यो ।
‘माउत्सेतुङ्ग भन्ने मान्छेका अनुसार माओवादीले कामै गरेका छैनन् भन्छनन् धेरै मान्छेहरु । उसले त जनताको चित्त नबुझाई केही पनि लिनु हुँदैन भन्थे रे !’ माइलीले तर्कको अर्को झटारो हानी । ‘हामीले के लुटेर खाएको छ देख्नुभा छ’ पछिल्तिर बसेको छापामार आक्रमक देखियो । ‘जनताले चित्त बुझाएर दिएका छैनन् ।’ माइलीले पनि कडा स्वर पारी ‘माइली दिदी अब झन तिमी यहाँ बस्न गाह्रो हुन्छ ।’ हामीसँग हिँडे हुन्छ । अप्सराले माया गरे जस्तो गर्दै भनि ।
‘अप्सराको कुरा त सत्य हो । अब यहाँ बस्न नपाउनु मेरो बाध्यता हो ।’ अप्सराको कुरा भुइँमा खस्न नपाउँदै माइलीले मनमनै स्वीकृती जनाई । ऊ एकछिन चुप भई ।
माओवादी आन्दोलनमा हिँड्न माइलीले स्वीकृती जनाएको कुरा सबैले बुझे । अप्सरा र ठाइली सबैभन्दा बढी खुसी देखिए र माइलीलाई एकएक गर्दै अँगालो हाले ।
‘के गर्नु हाम्रो त बाध्यता पनि हो नि ।’ माइलीले दुईटैको कानमा खुसुक्क भनी । अप्सरा र ठाइलीको आँखामा खुसीको आँसु डबडबाएको देखियो ।
दिउँसो घुर्मी र कटारीबाट चिया र खाजा खान बेतिनी आइपुगेका बसका यात्रुहरुले माइलीको पसल माथिको छानामा रातो भण्डा फहराइरहेको देखेका थिए ।

मिर्मिरे, बर्ष ३२ ः अंक ः १ पूर्णाङ्क ः २६०, २०६४ वैशाख

खालि ठाउँ

बेलुका साँझमा दाजुले प्रसङ्गवस निकालेको एउटा कुराले मलाई हौसला थप्यो । दाजुबाट मैले स्थानीय विकास मन्त्रालयका सचिव रामकृष्ण दाहालले कुनै समय हाम्रो गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर काम गरेको कुरा सुनें । मैले त्यसपछि ठूलो राहतको महसूश गरें । उनी केही समय हाम्रै घरमा बसेका थिए भन्ने सुनेपछि त अझ म रोमाञ्चित समेत भएको थिएँ । मन्त्रालयको सचिवसँग यति नजीकको सम्पर्क बनाउन सकियो भने अरु के चाहियो र ? उनले थोरैमात्र सहयोग गरे भने मेरो लागि जागिर सामान्य कुरा थियो ।
‘के उनले हामीलाई चिन्छन् त ?’ मैले आशावादी बनेर दाजुसँग यो प्रश्न सोधेको थिएँ ।
‘मलाई त उनले पढाएकै हुन्, तैंले गएर चिनजान गरिस् भने चिन्छन् ।’ दाजुले सम्बन्ध सहज हुनसक्ने कुरा स्वीकारे ।
मैले यो नयाँ कुरा सुनेको थिएँ । मैले कल्पना नै नगरेको कुरा । मैले यस कुराबाट धेरै फाइदा लिनसक्ने अनुमान लगाएँ । काठमाण्डौंमा जागिर खोजेर हिंडेको महिनौं भइसकेको थियो । दाजुको न्यून कमाइमा भर परेर बस्नु परेकोमा म भित्रैदेखि दुःखी थिएँ । दाजु प्राइभेट कम्पनीमा सानोतिनो नोकरी गर्थे । उनको नोकरीले भाउजू र दुईजना बच्चाहरुलाई पाल्न पनि निकै धौ धौ पथ्र्यो । त्यसमाथि डेढदुई महिनादेखि म पनि थपिएको थिएँ । दाजुको कमाइमा भर पर्नुबाहेक मसँग अर्को केही पनि उपाय थिएन ।
अघि साँझको दाजुको कुराले म भित्रभित्रै खुसी भएँ । त्यही खुसीले अहिलेसम्म मलाई राम्रोसँग निद्रा पनि लागेको छैन । म चाँडै यो रात बितोस् भन्ने चाहन्छु । तर अनिन्द्राको बेलामा झन् रात लामो लाग्ने गर्छ ।
मध्य रातसम्म दाजुको सानो छोरो पनि रोइरह्यो । उसलाई ज्वरो आएको छ । मेडिकल पसलमा सल्लाह गरेर औषधि ख्वाइएको हो । तर त्यो औषधिले कत्ति पनि छोएन । सबै छिमेकीहरुले अस्पताल लान सल्लाह दिएका छन् । एउटा मजदूरको कमाइ, अस्पताल भन्न जति सजिलो छ, जान त्यति नै गाह्रो छ । मैले उनीहरुको बाध्यता राम्रोसँग बुझेको छु ।
गाउँबाट काठमाण्डौं आएको पनि डेढ महिना भइसक्यो । जागिर खोज्न आउँदा लिएको ऋणले गाउँमा मुख बाएर बसेको छ । गाउँबाट हिंड्ने बेलामा सबैले भनेका थिए– ‘आइ.ए. पास गरिसकेको मान्छे, जागिर त पाइहाल्छस् नि !’ गाउँका आफन्तहरुले भनेको यो कुरा मलाई यतिबेला व्यंग्यजस्तो लागिरहेको छ । यतिका दिन बितिसक्दा पनि जागिर पाउने कुनै संकेत देखा पर्न सकेको छैन ।
राति अबेरसम्म सोच्दा–सोच्दै मैले कल्पनाको जागिर खाएँ । कल्पनाको जागिर कति मीठो हुँदोरहेछ– मेरो सचेत मनले झल्यास्स भएर सोच्यो । कस्तो सपनाजस्तै कल्पना गरेछु– मैले फेरि आफूलाई सम्हालेर आफ्नै जमीनमा ल्याएँ । उही खडेरीले खाएको उराठलाग्दो जमीन । मैले फेरि आफूलाई सोचेर निराश भएँ ।
“पहिलेजस्तै हुने हो कि ?” मैले फेरि सम्भावित भविष्यलाई अविश्वास गरें । कतै विमलराज शर्माले जस्तै त नगर्लान् । विमलराज शर्मा पनि गाउँमा आफूले र आफ्नो परिवारले चिनेजानेकै मान्छे थिए । म पढेकै विद्यालयबाट उनले पहिलो पटक एस.एल.सी. पास गरेका थिए । उनको पालाका साथीहरु कोही शिक्षक छन्, कोही हलो–कोदालो गर्दैछन् । उनी परार एक पटक गाउँ गएका थिए । म भरखर एस.एल.सी. पास गरेर तत्कालै स्थापना भएको गाउँको कलेजमा आइ.ए. अध्ययन गर्न थालेको थिएँ । हामी विद्यार्थी र गाउँलेहरु मिलेर उनको ठूलो स्वागत–सत्कार ग¥यौं । उनी काठमाण्डौं गएर महाप्रबन्धक भइसकेका मान्छे । त्यही बेला हामीलाई उनले आइ.ए. पास भएपछि जागिर मिलाइदिने आश्वासन दिएका थिए । हामीले त्यो आश्वासनलाई जागिरको नियुक्ति पत्रझैं ठानेका थियौं । आइ.ए.को रिजल्ट आउनेबित्तिकै म उनकै आशले काठमाण्डौ आएको थिएँ । आमाले भन्नुभएको थियो– “ठूला मान्छेकहाँ जाँदा खालि हात जानुहुँदैन ।” त्यसैले मैले फेरि ऋणमाथि ऋण थप्दै एक पाथी घिउ ल्याइदिएको थिएँ ।
काठमाण्डौं आएपछि थाहा भयो, गाउँ गएका बेलामा हुने विमलराज शर्मा र काठमाण्डौंमा हुने विमलराज शर्मामा आकाश र जमीनको अन्तर रहेछ । उनलाई भेटेपछि मलाई गाउँबाट काठमाण्डौं आउने मान्छेहरु अर्कै मान्छे भएर बाँच्दारहेछन् भन्ने लाग्यो ।
काठमाण्डौंमा आएर दुःख पाएका मान्छेहरुले भने आफूलाई परिवर्तन गर्न भ्याएका रहेनछन् । मेरा दाजु काठमाण्डौंमा पनि दुःख पाएर बाँचेको मान्छे । काठमाण्डौमा पनि उनको दुःखमा परिवर्तन आएको थिएन । उही दुःख, उही हैरानी, उही श्रम । तर गाउँबाट काठमाण्डौं आएर आर्थिक हैसियतको भ¥याङ्ग चढेका मानिसहरु चाहिँ फरक र अर्कै लोकको जस्तो लाग्ने । मैले विमलराज शर्माबाहेक अरु कैयौंलाई पनि त्यसैगरी फरक हुँदै गएको देखें ।
“मैले भोलि भेट्न खोजेको मानिस पनि विमलराज शर्माजस्तै त हैनन् ?” म फेरि सोच्दा–सोच्दै चिन्तित हुन्छु । त्यसबेला म काठमाण्डौं आउनेबित्तिकै उनलाई भेट्न गएको थिएँ ।
“भेट्ने समय नलिइकन तिमी किन आयौ ?” उनको घर पुग्नेबित्तिकै मलाई उनले खरो शब्दले झम्टिए ।
“आइ.ए. पास गरेपछि आउनू, म जागिर मिलाइदिन्छु भन्नुभएको थियो, त्यही कारण आएको ।” मैले पुरानो कुरा सम्झाएको थिएँ ।
“के जागिर खल्तीमा हुन्छ र झिकेर दिने ?” उनी पुरानो कुरा पूरै बिर्सिए जसरी मसँग प्रस्तुत भए ।
यति भन्दाभन्दै मूल ढोका बन्द गरेर उनी भित्र पसे । म मेरो सपनाको अन्त्येष्टी त्यहीँ गरेर फर्किएको थिएँ ।
नचाहँदा–नचाहँदै विमलराज शर्मालाई अस्ति भरखर मैले भेट्दाको सम्वादलाई सम्झिन पुगें ।
कतै रामकृष्ण दाहाल पनि विमलराज शर्माजस्तै त छैनन् ? आधारात नाघीसक्दा पनि म कल्पनाको गहिराइमा डुबिरहेको थिएँ ।
  
बिहान भाउजूले बोलाउँदा म अचानक झस्कें । एउटा उत्साह बोकेर ओछ्यानबाट उठें । कल्पनामा डुब्दाडुब्दै निदाउन पुगेछु । रातिकोजस्तै बिहानको दश बजाउने प्रतिक्षा पनि मेरा लागि कष्टकर बन्यो । म कार्यालय खुल्नेबित्तिकै स्थानीय विकास मन्त्रालय पुग्ने छु । र, त्यहाँका सचिवलाई भेट्ने छु ।
“राती निद्रा परेजस्तो छैन नि बाबुलाई ।” भाउजूले मेरो अनुहार हेरेर भन्नुभयो ।
‘होइन, प¥यो !’ भाउजूलाई वास्तविकता बताउन मलाई संकोच लागिरहेको थियो ।
म यतिबेला दश बजेको प्रतिक्षामा व्यग्र भएर बसेको छु । भाउजूलाई तरकारी केलाउनदेखि लिएर भान्सामा पानी ल्याइदिन सहयोग गर्छु ।
“हाम्रो गाउँको विद्यालय छाडेर हिँडेपछि उनीसँग हाम्रो भेट भएको छैन । धेरै सहयोग गर्लान् भन्ने आश नगर !” दाजुको यस कुराले मेरो कल्पनाको संसार फेरि धमिलो भयो ।
म साढे दश बजे स्थानीय विकास मन्त्रालय पुग्दा उनी कार्यालय आइपुगेका थिएनन् । कल्पनाको स्वर्ग निर्माण गर्दै म उनको निजी सचिवालयमा पर्खिरहेको छु ।
एक जनालाई ब्रिफकेश बोकाएर उनी एकछिनपछि आएर सचिवालयमा बसेका हामी सबैतिर विस्तारित नजर दौडाउँदै आफ्नो कक्षतिर पसे ।
“अहिले सचिवज्यू जरुरी काममा हुनुहुन्छ । तपाईंहरुले तीन बजेपछि मात्र भेट्न पाउनुहुन्छ ।” हामी बाहिर बसेका सबैतिर हेरेर निजी सचिवले सुनाए ।
म समय कटाउन बाहिरतिर निस्किएँ । मसँग अरु पनि निस्किए ।
तीन नबज्दै म फेरि उनको कार्यालयमा पुगेको थिएँ ।
“खालि ठाउँ बुझेर आउनू, म भनिदिउँला ।” सामान्य परिचयपछि सचिवले खालि ठाउँ भएपछि जागिर हुने कुरा बताए ।
“नेपालभरिका कार्यालयहरुमा कतै न कतै त कसो खालि नहोला ?” म पूरै आशावादी बनेर बाहिर निस्किएँ ।
“यो खालि ठाउँ खोज्ने भन्ने कुरा वाहियात कुरा हो । उनले तँलाई अल्मल्याउन यसो भनेजस्तो लाग्छ मलाई ।” दाजु नकारात्मक देखिए ।
मलाई कताकता फेरि दाजुसँगै रिस उठ्यो ।
  
खालि ठाउँ खोज्दै काठमाण्डौका कुन चाहिँ कार्यालय पुगिनँ म ।
“भाइ ! खालि ठाउँ खोज्न पठाएर तपाईंलाई उल्लू बनाए । त्यो कुराको पछि नलाग्नुस् । यहाँ खालि ठाउँ छ भनेर तपाईंलाई कसैले भन्दैन ।” भोलिपल्टै एउटा कार्यालयका एकजना मानिसले सम्झाएका थिए मलाई ।
खालि ठाउँ खोज्दै हिँड्ने क्रममा दुई चार ठाउँमा मेरो सोधाइ सुनेर गलल्ल हाँसेका थिए मान्छेहरु ।
“यहाँको खालि ठाउँ लोकसेवा आयोगले पूरा गर्छ । खालि भए पनि तपाईंलाई काम लाग्दैन ।” एक दिन एउटा कार्यालयको हाकिमले मलाई च्याँट्टिएर जवाफ दियो ।
दशपन्ध्र दिनसम्म उत्साहका साथ कार्यालयहरु घुमें म, दुई चार दिनपछि विस्तारै–विस्तारै उत्साह पनि घट्दै जान थाल्यो ।
एक दिन हिँड्दा–हिँड्दै बाटोमा हाम्रो क्षेत्रका सांसदसँग भेट भयो । उनलाई पनि संवोधन गरेर परिचय गरें र आफ्नो समस्या राखें । उनले पनि खालि ठाउँ भेट्नुभयो भने म पनि भनिदिन्छु भने । उनको कुरा सुनेर मलाई एकपटक फेरि भाउन्न छुटेर आयो । उठेको रिसलाई नियन्त्रणमा लिएर म उनीसँग विदा भएँ ।
खालि ठाउँ खोज्दैजाँदा मजस्तै थुप्रै साथीहरु भेट्टाएँ मैले । मजस्तै ठगिएकाहरुको ठूलो जमात भेटियो ।
“म यी फटाहाहरुको चंगुलमा फस्दिँन ।” यसो भन्दै धेरै युवाहरु भोलिदेखि सम्पर्कविहीन भइरहेका थिए ।
मैले काठमाण्डौंमा आएर बस्ने चिनेका सबै मानिसहरुसँग ऋण सापटी गरिसकेको छु । गाउँको ऋणबाट पार पाउन सजिलो थिएन । अझ यो ऋण थपिएको सोचेपछि म नमीठो पीडामा छट्पटिन पुग्छु ।
“धेरै ठूलो महत्वाकांक्षा नपाल, केही सामान्य काम गर्दै पढ्ने योजना बनाए राम्रो हुन्छ ।” काठमाण्डौं आउनेबित्तिकै दाजुले दिएको सल्लाह यस्तो थियो । त्यसबेला यो सल्लाहलाई महत्व दिन मैले जरुरी ठानिँन ।
“केही सानोतिनो काम गर्दैै पढ् र त्यसपछि अरु सम्भावनाहरु खोज्।” दाजुले केही दिनपछि दिएको सल्लाह थियो यो ।
यी सुझावहरुले मभित्र कुनै प्रभाव पार्नसक्ने कुरै थिएन त्यसबेला । भरखर गाउँबाट आइ.ए. पास गरेर आएको मेरो महत्वाकांक्षाको पहाड निकै अग्लो थियो ।
“खालि ठाउँ भेटिस् त ?” दाजु व्यंग्यमिश्रित प्रश्न गर्दै भित्र कोठामा पसे । उनको व्यंग्यले म झन् हतप्रभ भएँ ।
ओछ्यानबाट ग¥हुङ्गो शरीर बोकेर उठेँ म । खालि ठाउँ सोधेर हिंड्ने विश्वास निकै दिन अघि टुटिसकेको थियो ।
“यो खालि ठाउँ खोज्ने कुरा उनीहरुको हामीलाई अल्मल्याउने राम्रो जुक्ति रहेछ ।” दाजुका अगाडि पराजित मानसिकता ओकल्न बाध्य भएँ म ।
“मैले तँलाई पहिले नै भनेकै हो ।” दाजु यसो भन्दै ढोकाबाट बाहिर निस्के ।

– नवयुवा, वर्ष १२, पूर्णाङ्क ११५, २०६४ वैशाख

घोडाको गन्ध

चारैतिरबाट ठूलाठूला चौडा डगरहरु त्यस बजारमा आएर ठोकिन्छन् । बर्षामा यो बजारको चहलपहल स्वाट्टै घट्छ । बर्षामा हिलो र पानीले यो बजार दुर्गमजस्तो लाग्छ । हिउँदमा भने यो बजारको चहलपहल एक्कासि बढ्छ । सोमबारचाहिँ यहाँ ठूलै बजार लाग्छ । यो यस क्षेत्रको ठूलो पशुबजार हो । सोमबार यहाँ पशुबजार मात्र लाग्दैन, तरकारीदेखि दैनिक उपभोगका सामान किन्ने र बेचनेको यहाँ निकै ठूलो भीड लाग्छ । यहाँको जनघनत्वमा केही वर्षदेखि निकै बृद्धि भयो । केही बर्षदेखि पहाडतिरबाट बसाइ सरेर आउनेहरुको चाप यो क्षेत्रमा निकै बढेर गयो । बजारको वरिपरि सयौं विघा जमिनका मालिकहरु छन् । काठमाण्डौका राणापरिवारदेखि मन्त्री र सचिवहरुका यस क्षेत्रमा ठूलाठूला मौजाहरु छन् । प्रायः उनीहरु हिउँदे धानको आम्दानी लिन र पुसमाघको काठमाण्डौको जाडो छल्नका लागि यहाँ आउँछन् ।
बजारनजिकै बस्ने गाउँका बुज्रुकहरु विहानै चिया पिउने निहुँमा यो बजारमा भेला हुने गर्छन् । गाउँबाट दूधदही बेच्न आउनेदेखि लिएर तरकारी बेच्न आउनेसमेत यो पसलमा निस्किएर एक कप चिया खाएर जान बानी परिसकेका छन् । बजारपरिपरिका गाउँमा घटेको घटना सबैभन्दा पहिले यहाँ सुनिन्छ र गाउँका सानासाना तिलजस्ता समाचाहरु यहाँबाट पहाड बनेर फैलन्छन् ।
यसको क्षेत्रमा भएका मौजाहरुमध्ये रवीन्द्रशमशेरको सबैभन्दा ठूलो मौजा हो । उनले धेरै जग्गा विक्री गरे पनि अझै पनि उनीसँग सयौं विघा जग्गा बाँकी नै छ । माओवादीको सहयोगमा भूमिहीन किसानहरुले उनको केही जग्गा कब्जा गरे पनि देशका अरु भागमा जस्तो यस क्षेत्रमा माओवादीहरुको उल्लेख्य उपस्थिति छैन । त्यसैले पनि मौजावालहरु अन्य क्षेत्रमा भन्दा यहाँ अलिक बढी चलखेल गर्छन् । रवीन्द्रशमशेर बृद्ध पनि हुँदै गएका र माओवादीसँगको डरका कारणले उनी अचेल राजधानी छाडेर बाहिर निस्कँदैनन् । रवीन्द्रशमशेरले मधेसतर्पmको सम्पूर्ण हेरचाहको जिम्मा आप्mनै फुपूका छोरा सरोजप्रतापलाई दिएका छन् । धेरै वर्षदेखि सरोजप्रताप मात्र नियमित यहाँ आइरहेका छन् ।
हामी सानै छँदा कोसीटप्पूतिरको ठूलो जङ्गल थियो । त्यहाँका जङ्गली जनावरहरु हाम्रो बस्तीतिर पनि आउँथे र अन्नवाली बिगार्थे । हामी केटाकेटीहरु एक्लैदोक्लै हिँड्नसमेत डराउँथ्यौं । पञ्चायती राजको समय थियो त्यस बेला । रवीन्द्रशमशेर आप्mनो परिवारसहित आउँथै र यतै बस्थे । उनीहरु यहाँ आएपछि हाम्रो वस्तीका धेरै मानिसले उनको परिवारको सेवाशुश्रूषा गर्नुपथ्र्यो । धेरै घरबाट एकएक जना जन पालो गरेर नोकर बन्नुपथ्र्यो । उनी यहाँ बसुन्जेल दलबलसहित दिनहुँ सिकार खेल्न कोसीटप्पूतिर जान्थे । उनको बसाइभरि यहाँको न्यायकानुन उनकै हातमा हुन्थ्यो । यहाँका माननीय, सभापतिहरु पनि दिनहुँ उनकै चाकडीमा लिप्त रहन्थे । उनको कुदृष्टि परेका कैयौं अभागीहरुले कुनै कसुरबिना थातबास छाडेर हिँड्नुपथ्र्यो । उनकै दयामायाले मन्त्री र सचिवहरुले राजधानीमै बसेर पनि बनजङ्गल फँडानी गरेर भर्खर आवादी गरिएका मौजाहरु हात पारेका थिए ।
रविन्द्रशमशेर यहाँ नआएको पनि अब त धेरै बर्ष भइसकेको थियो । छयालीस सालको राजनैतिक परिवर्तनले उनको हाइदुहाईलाई सानो धक्का दियो । त्यसपछिको माओवादी आन्दोलन उनका लागि अर्को बज्रपात सावित भयो । छयालीस सालको परिवर्तनपछि उनी एक पटक मात्र यहाँ आएको हामीले देख्यौं । त्यस बेला केही दिन बसेर उनी तुरुन्त काठमाण्डौ फर्किए । त्यसपछिका वर्षहरुमा सरोजप्रताप मात्र यहाँ आइरहन्थे ।
सरोजप्रताप यो बजारमा नआएको एक हप्ता भइसक्यो । उनी बजारतिर किन देखा नपरेका हुन्, हामी सबैलाई थाहा छ । हामीलाई उनको अनुहारमा देखिने छायाबारे थाहा छ । वैशाख ७ गते बिहान पनि उनी चियापसलमा आएर राजनैतिक पार्टीहरुलाई एक अध्याय गाली गरेर हिँडेका थिए । त्यस दिन दिउँसो राजनैतिक पार्टीहरुको ठूलो कार्यक्रम भयो यो बजारमा । प्रतिगामीहरुको प्रवक्ता बनेको भनेर सरोजप्रतापलाई कालो मोसो दल्नुपर्ने कुरा गरेका थिए केही नेताहरुले सभामा । त्यस दिनदेखि उनको अवस्था भूमिगत मानिसको भैंm भयो । अस्ति साँझमा मैले उनलाई सुनचरीको भट्टीपसलतिर पस्तै गरेको देखेको थिएँ । मलाई उनले नदेखेझैं गरे र कोल्टे फर्केर हिँडे । भट्टीपसलमा पसे पनि उनले त्यस दिनदेखि हल्ला गर्न छोडे । हामीले पनि अचम्म मान्यौं ।
सरोजप्रतापलाई गाउँमा सबैले ‘काजीसाहेब’ भनेर सम्बोधन गर्छन् । पहिलेदेखि काठमाण्डौबाट उनी यहाँ आउने खबरले नै यो ठाउँमा ठूलो हल्ला चल्थ्यो । अचेल उनी यहाँ कसरी गुमनाम भएर बस्न सकेका होलान् ! हामी युवाहरु रोमाञ्चित बनेका थियौं । त्यो बेला उनी यहाँ आउँदा हामीलाई भेट्न खुबै रहर गर्थे । हामीसँग गफ गर्दा उनी दङ्ग पर्थे । हामीले भने त्यसै बेला पनि उनका कुरा सुन्न दिक्क मान्न थालेका थियौं । उनका कुरामा नयाँपन केही थिएन — थोत्रा र पुराना कुराहरु । नौलो, नयाँ र आशावादी कहीँ छैन । तर हामी उनका कुरा सुन्न बाध्य थियौं । हाम्रा बाबु, काकाहरु पनि भित्रभित्र र एकान्तमा खुब गाली गर्थे तर अघि पर्दा उनलाई आदर गरेको अभिनय गर्थे । त्यसैकारणले पनि उनी हामी युवाहरुलाई ह्याकुलाले मिचेझैं गरेर कुरा गर्थे ।
काजीसाहेबकै लागि भनेर हरदम यहाँ एउटा घोडा पालिएको हुन्छ । हामीले सानैदेखि देखेको घोडा उनको कामतमा अझै छँदै छ । अब त त्यो घोडा पनि बूढो भइसक्यो । बर्ष दिनमा एकदुई महिना उनी यहाँ आएर बस्छन् । अहिलेसम्म रवीन्द्रशमशेरपछाडि यो घोडामा चढेको काजीसाहेबले बाहेक हामीले अरु कसैलाई देखेका छैनौं । त्यही बूढो घोडा लिएर उनी आउँछन् र चोकको चौतारोमा बाँद्छन् । पहिले उनी यस ठाउँमा आउँदा यो चौतारोमा उनको घोडा हिनहिनाएपछि यो सानो बजार एकतमासले थर्किन्थ्यो मानौं एउटा भूकम्पै गएजस्तो लाग्थ्यो । उनको घोडाको टापको आवाजसँगसँगै यो बजार भयभीत बन्थ्यो । अब त त्यो घोडा पनि बूढो भइसकेको छ र ऊ पहिलेको जस्तो फुर्तिलो देखिँदैन ।
  
‘काजीसाहेबले तिमीलाई राम्रा आँखाले हेरेका छैनन्, अलिक होस गर ।’ चियापसले काकाले भनेपछि म एक पटक जिल्ल परेँ । म उनीसँग भएका विगतका संवादतिर फर्किएर सोच्न थालेँ ।
‘अहिलेको युगमा राजाले शासन गर्नु प्रजातन्त्रवादीहरुले सोच्नै नसक्ने कुरा हो ।’ राजाले माघ १९ गते गरेको घोषणा समयसुहाउँदो छ भनेर उनले सबैका अघि भनिरहँदा मैले थोरै प्रत्युत्तर थपेको थिएँ । त्यसपछि उनका आँखा एकाएक राता भएका थिए । उनले मलाई हेर्ने आँखामा त्यसपछि अत्यन्त भिन्नता पाउन थालेको थिएँ ।
‘तिम्रो छोरालाई ठिक ठाउँमा राख्ने गर ।’ एक दिन मेरो बुबालाई उनले भनेछन् । त्यसपछि मेरो बुबा मेरो भविष्यलाई लिएर आतकिंत देखिनुभयो ।
काठमाण्डौबाट यहाँ आएपछि उनी यो सानो बजारमा रक्सी र चियाका मलिला ग्राहक हुन् । रात पर्दै गएपछि भट्टीपसलभित्रबाट सरोजप्रतापको आवाजले बजार छिचोल्दै नजिकैका पातला बस्तीतिर पुग्छ । कप्mर्यू लगाएझैं बजार चकमन्न हुन्छ । मानिस सास मारेर बस्छन् । भोलिपल्ट बिहानै उनी घोडा चढेर फेरि यही बजार आउँछन् । यस पटक उनी काठमाण्डौबाट अलिक ढिलो गरेर यहाँ आइपुगे ।
  
‘आन्दोलन चर्केपछि त काजीसाहेबले मुखै देखाएनन् नि गाँठे !’

चुरोटलाई भुइँमा मिल्काउँदै रुद्रहरी एक पटक बिस्तारै खितखिताए ।

‘जनताको शक्तिलाई कमजोर आँक्नु हुँदैन नि !’ चियापसले काकाले आज स्वर उकासेर बोले ।
‘यी झण्डाहरु देखेर एक पटक त काजीसाहेब छक्कै पर्लान् !’ उनले घोडा बाँध्ने चौतारोतिर देखाएर रुद्रहरीले फेरि भने । ‘यो चौतारोमा सभा हुँदै गरेको देखेर काजीसाहेब नहरको आड लिँदै लुसुक्क भागेको मेरै आँखाले देखेको हुँ चाइन्जो ।’ चाइन्जो पण्डितको स्वर फुर्तिलो थियो ।
‘होइन पण्डितबाजे ! तिमी त अलिक ढाँट्छौ पनि ।’ रुद्रहरीले एक पटक फेरि पण्डितलाई छासे ।
‘मरिजाउँ, सत्तेसत्ते चाइन्जो, ढाँटेको भए आजको रात काट्न नपाउँ !’ चाइन्जो पण्डितले आप्mनो कुरालाई फेरि हैंसे गरे ।
‘हिजो त तिमी काजीसाहेबकै कुरालाई ‘होत नि चाइन्जो’ भन्दै साक्षी बस्थ्यौ त ?’ रुद्रहरीले फेरि पण्डितलाई अर्को क्षेप्यास्त्र हाने ।
‘हिजो तैंले के उनको अघिल्तिर राजाको शासनको विरोध गरिस् र ?’ चाइ्रन्जो पण्डित पनि डेग चलेनन् । पसलमा बसेका मानिसहरु सबै एक पटक गलल्ल हाँसे ।
‘तिमीहरु चुप लागे पनि म यही केटाहरुको साथ लागेर आन्दोलनमा हिँडेको हुँ ।’ रवि मास्टरले सबैतिर औंला ताके ।
‘अब घोडा कहाँ बाँध्लान् काजीसाहेबले ! उनले घोडा बाँध्ने चौतारो त रातो झण्डाले ढपक्कै ढाकेछ नि !’ तिलकबहादुर प्रसङ्ग मोड्दै खितखिताए । तिलकबहादुरले काजीसाहेबका बारेमा यसरी व्यङ्ग्य गरेर बोलेको सुनिएको थिएन । कसैले काजीसाहेबको बारेमा नकारात्मक कुरा ग¥यो भने उनी कुनै प्रतिक्रिया नदिई जिब्रो मात्र टोक्थे ।
‘अब उनीसँगसँगै उनको घोडाका पनि दिन गए ।’ रवि मास्टरले पैmसला सुनाएभैंm गरेर सुनाए ।
  
हिजोआज यो चौतारो पनि नयाँ र भिन्न लागिरहेको छ । यही चौतारोबाट मानिसहरुले देशका समस्या र समाधानका बारेमा आप्mना धारणा प्रस्तुत गरिरहेका छन् । वैशाख ७ गतेपछि उनी यस ठाउँमा एक पटक पनि देखा परेनन् । उनको घोडा बाँध्ने चौतारोमा पनि रङ्गीबिरङ्गी झण्डाहरु गाडिएका छन् । मलाई चौतारोसँगै यो सानो बजार पनि नितान्त नौलो र स्वाभिमानी हुँदै गएजस्तो लाग्यो । चौतारोबाट घोडाको गन्ध बिस्तारो हराउँदै गएको छ ।

— गरिमा, वर्ष, २५, अंक ५ पूर्णाङ्क २९३, २०६४ वैशाख

सपनाहरुको खोजी
‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो ।
कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । कमरेड सुदीपले टक्क उभिएर ती ठाउँहरुलाई गौर गरेर हे¥यो ।
‘जनयुद्धको पूर्वाधार विकास गर्न यी स्थानहरुको भूमिका महत्वपूर्ण रहेछ ।’ हिजो सुनेको आधारमा क. सुदीपले मनमनै मूल्यांकन ग¥यो ।
कमरेड सुदीप !
दुई वर्ष अघि मात्र यो पार्टीमा प्रवेश गरेको एकजना कमरेड । योभन्दा अघि लामो समयसम्म ऊ कम्युनिष्ट आन्दोलनमा लागिरह्यो । त्रि–चन्द्र क्याम्पसमा पढिरहेको बेला प्रमाणपत्रहरु च्यातेर वि.सं. २०२८ तिर झापा आन्दोलनमा कुद्यो ऊ । त्यसपछि उसका जीवनका उर्वर समयहरु देश, जनता र मुक्तिका सपनाहरु बुन्दै बिते । छ्यालीस सालको आन्दोलनपछि उसका पार्टी संसद र सरकारमा पनि पुग्यो । कम्युनिष्ट नैतिकताभन्दा टाढा पूँजीवादी मूल्यको समेत आफ्नै पार्टीबाट विघटन गरिएका थुप्रै घटनाहरु देख्यो उसले । यिनै विचलन र विघटनका विषयहरुलाई लिएर पार्टीभित्र लामो अन्तर्संघर्ष ग¥यो । अन्ततः बाध्य भएर ऊ त्यहाँबाट बाहिरियो । उसले जनयुद्धको बाटोबाट नेपाली जनताको मुक्ति हुने सपना बोक्दै यो पार्टीमा आइपुग्यो ।
यसपटक पार्टीले कमरेड विकल इन्चार्ज भएको क्षेत्रमा उसलाई सहइन्चार्जको जिम्मेवारी दिएर पठाएको थियो ।
उनीहरु झमक्क साँझ पर्दा पाल्सिङ्ग गाउँ आइपुगेका थिए ।
  
आज राती कमरेड विकललाई राम्ररी निद्रा परेन । अर्कोतिर कमरेड सुदीप मस्तसँग सुतिरहेको थियो । हिजो साँझमैं आफू दिनभरिको हिँडाइले धेरै थकित भएको कुरा गरेको थियो उसले । दुई वर्षपछि ऊ यस गाउँमा आइपुग्यो । जनयुद्धको सुरुवातका वर्षहरुमा उसले यस ठाउँमा बसेर लामो पार्टी काम ग¥यो । पार्टीभित्र ऊ शिष्टता र भद्रताका निम्ति परिचित थियो । पुनः यस क्षेत्रको जिम्मेवारी पाउनेबित्तिकै यहाँका मानिसहरुले आफूलाई कसरी सोचिरहेका होलान् भनेर उसले आफूभित्रै प्रश्नहरु खेलायो । कटारी छाडेर महाभारतको डाँडातिर उक्लने बेलैदेखि यिनै कुराहरु उसले आफ्नो मनमा खेलाइरहेको छ । अस्ति राउतखर्कमा भएको कार्यक्रममा स्थानीय मानिसहरुले आफ्ना साथीहरुलाई गरेको आलोचनाले साथीहरु झगडामा उत्रिएको घटनालाई उसले गम्भीरतापूर्वक लिएको छ । आलोचना पनि सहन नसक्ने तिनै साथीहरुसँग उसले भोलि काम गर्नु पर्नेछ, यिनै कुराहरु सोचेर ऊ चिन्तामग्न छ ।
यिनै कुराहरु मनभित्र खेलाउँदाखेलाउँदै ऊ भुसुक्कै निदाएछ ।
कमरेड विकल विहान उठ्दा कमरेड सुदीप वरिपरि हेरेर आँगनमा टहलिरहेको थियो । कमरेड विकलले पूर्वतिर फर्केर हे¥यो । घामको झुल्कोले महाभारत श्रृङ्खलालाई छुन खोजिरहेको थियो । सोरुङ्ग खोलातिरबाट बग्दै आएको चिसो सिरेटोले मुटुसम्मै पुगेर स्पर्श गरेजस्तो लाग्यो उसलाई । ऊ झोला बोकेर मतानबाट ओर्लियो र विदा माग्न मूलघरभित्र चियाएर हे¥यो ।
‘हामीले तपाईंहरुसँग विदा माग्न खोजेको ।’ घरका मानिसहरु हत्तपत्त बाहिर निस्किए र चाँडै विदा दिन लालायित देखिँदै नमस्कार गरे ।
‘हामीलाई विदा गर्न उनीहरु हतारिएजस्तो देखिए ।’ आँगन कट्नेबित्तिकै कमरेड सुदीपले विकलसँग उनीहरुको मनोविज्ञानको कुरा कोट्यायो ।
‘हामीलाई अझै पनि बोझकै रुपमा उनीहरुले लिएका होलान् !’ कमरेड विकलले पनि कमरेड सुदीपकै जस्तो मूल्याङ्कन ग¥यो ।
विभिन्न तर्कनाहरु गर्दै दुवैजना एकछिन गम्भीर भए । पाल्सिङ्ग भन्ज्याङमा पुगेपछि विहानैको चिसो सिरेटोले फेरि एकपटक गम्ल्याङ्ग छोप्यो । कमरेड विकलले यतिबेलै दश वर्ष अघिको पाल्सिङलाई सम्झ्यो । उसले आफूलाई यो गाउँसँग भावनात्मक नाता गाँसिएझैं महशूस ग¥यो । जनयुद्ध शुरु गर्ने बेलामा उनीहरुका निम्ति यी बलिया आधारहरु थिए । जिल्लामा पार्टीको संगठन अत्यन्तै कमजोर थियो । बड्डाँडा, लिम्पाटार र पाल्सिङतिरको पुरानो सम्पर्कमा टेकेर उनीहरुले उदयपुरमा जनयुद्धको महाभारत उचालेका थिए । जनयुद्धको आरम्भमैं यहाँका होनहार व्यक्तिहरुलाई राज्यले बेपत्ता बनायो र हत्या ग¥यो । ‘किलो सेरा टु’ को नाममा भएको त्यो राज्य आतंकले उनीहरुका समर्थक साथीहरुको समेत विचल्ली भयो । भन्ज्याङ्गको बरको रूखनेर उभिएर कमरेड विकलले फेरि पाल्सिङ गाउँतिर फर्केर हे¥यो । उसले आफू उभिएको माथिल्तिर अर्थात् पाल्सिङ् गाउँको थाप्लामा डोलराज कोइरालाको घर देख्यो । उसको अन्तरमा यतिबेला डोलराज कोइरालोका अनुहार नाचिरहेको थियो । उनको लगाव र इमान्दारीता सम्झेर फेरि उसको मन एकपटक चिथोरियो । त्यसबेलै गिरफ्तार गर्नेबित्तिकै पुलिसले उनको हत्या गरेको समाचार आएको थियो । त्यसपछि उनको न त लास भेटियो न त कुनै खुटखबर । कमरेड विकलले त्यहींबाटै कमरेड सुदीपलाई उनको घर चिनाइदियो ।
केही वर्षपछि ऊ यहाँ आएको थियो । पार्टीले उसलाई फेरि यस क्षेत्रको जिम्मेवारी दिएर पठायो । केही वर्षपहिले, कमरेड विकल पश्चिमतिरको पार्टी जिम्मेवारी लिएर गएको बेलामा मादले भन्ने गाउँमा जनकारवाहीको नाममा कसैलाई मृत्युदण्ड दिने काम भएको थियो । सुनेको आधारमा त्यो घटना सम्झ्यो भने अहिले पनि उसको आङ जिरिङ्ग जिरिङ्ग हुने गर्छ । कचियाले रेटिएर दिइएको त्यो मृत्युदण्ड । सनक र लहडको भरमा दिइएको त्यो मृत्युदण्ड । त्यही कारण त्यो ठाउँमा उनीहरुको संगठनको विरुवा पलाउनै सकेन । पार्टीमा ठूलो छलफलपछि त्यो मृत्युदण्डको गलत कार्यान्वयनका विरुद्धमा माफी माग्ने निर्णय भयो । कमरेड विकल यही जिम्मेवारी बोकेर त्यो ठाउँमा गइरहेको थियो यतिबेला ।
‘जनता अघि उभिएर माफी माग्न मैले गौरवबोध गर्नुपर्छ ।’ कमरेड विकलले आफ्नो मनलाई फेरि एकपटक दह्रो बनाउन खोज्यो ।
‘त्यस्ता मृत्युदण्डको निर्णयका विरुद्धमा पार्टीभित्र अन्तरसंघर्षहरु चल्दैनथे ?’ क. सुदीप चिन्तित भयो ।
‘यसप्रकारका थुप्रै घटनाहरु छन् । ती विषयहरुमा हाम्रो पार्टीभित्र अन्तरसंघर्ष नचल्ने होइन । तर युद्धको प्राथमिक कार्यसूचिबाट कैयौं महत्वपूर्ण सांस्कृतिक विषयहरु ओझेलमा परे । त्यसको परिणाम पक्कै पनि घातक हुनेछ भन्ने मत थियो केही साथीहरुको । त्यो परिणाम अचेलभरि अभिव्यक्त हुनथालेको छ ।’ कमरेड विकलले केही कुरा गुमाएझैं ग¥यो ।
‘ऊ त्यही हो शहीद मोहन कटुवालको पैत्रिक थलो । त्यसलाई चिन्डेडाँडा भन्छन् ।’ कमरेड विकलले प्रसंगलाई मोड्न खोज्यो र औंलाको इसाराले पूर्वतिर देखायो ।
कमरेड सुदीपले त्यो ठाउँलाई फेरि टक्क उभिएर हे¥यो ।
‘चिण्डो आकारको डाँडा भएर चिण्डे डाँडा भनेको होला ।’ कमरेड सुदीपले गम्भीरताभित्र सानो मजाक ग¥यो ।
कमरेड विकल पनि आफ्नो गम्भीरताबाट पछि फर्कियो र त्यो डाँडाको सम्पूर्णतालाई हे¥यो । फेरि कमरेड सुदीपतिर फर्केर एकपटक हाँस्यो ।
‘यस ठाउँमा कम्युनिष्ट आन्दोलनको प्रभाव कहिले र कसरी आइपुगेछ ?’ कमरेड सुदीपले छलफललाई अघि बढाउन खोज्यो ।
‘यो ठाउँ पहिले कमरेड ऋषि देवकोटा ‘आजाद’को कार्यक्षेत्र रहेछ ।’… हिँड्दाहिँड्दै बोल्दै थियो कमरेड विकल ।
‘आजाद’ । यो नाम सुन्नेबित्तिकै कमरेड विकल थप केही बोलिरहेको थियो । तर कमरेड सुदीप त्यहीनेर रोकियो र आफैंभित्र केही कुरा खोज्न खोजिरहेको थियो ।
‘ऋषि देवकोटा आजाद’को बारेमा मैले धेरै कुरा सुनें र पढें तर उहाँलाई भेट्न पाइँन ।’ बोलिरहेको विकल पनि सुदीपको कुरा सुनेर रोकियो ।
‘मैले उहाँलाई नेताको रुपमा देख्ने अवसर पाएँ । तर मैले उहाँलाई पनि सुनेर र पढेर मात्र धेरै कुरा बुझ्ने अवसर पाएँ । उहाँको स्वभावमै विद्रोहपन देखिन्थ्यो ।’ कमरेड विकल यति भन्दै फेरि आफैभित्र हरायो ।
विहानको झुल्के घामले महाभारतको लेकबाट माथि उठेर हे¥यो । वरिपरि उभिएका पहाडहरु घामको कलिलो प्रकाशले पहेंलपुर भएर रङ्गिए । विस्तारै जाडो पनि हराउँदै गयो ।
  
‘किन, यो बगरमा हेरेर तपाइँ निकैं टोलाउनुभयो नि ?’ कमरेड सुदीपको प्रश्नले सुनकोशीको बगरमा आँखा गाडिरहेको कमरेड विकल एक्कासी झस्क्यो ।
‘होइन, केही होइन’ कमरेड विकलको अनुहार अँध्यारो थियो ।
‘पक्कै केही कारण छ ।’ कमरेड सुदीपले अलिक कर ग¥यो ।
‘कमरेड सुदीप, यस ठाउँसँग मेरा केही भावनात्मक सम्बन्धहरु गाँसिएका छन् । परारसम्म यो बगरमा सोलुखुम्बु आक्रमणमा परी शहादत प्राप्त गरेका कमरेडहरु गाडिएका चिहानका दुम्किलाहरु देखिन्थे । दुई वर्ष अघिसम्म मैले नै पनि देख्ने अवसर पाएँ । यसबारे थाहा पाएका हाम्रा पार्टीका कमरेडहरु यो बाटो हिँड्दा एकपटक हेरेर मात्र हिँड्छन् । त्यो घटनामा हाम्रा पार्टीका थुप्रै इमान्दार र सचेत कमरेडहरु गुमे । त्यही घटनामा मेरी जीवनसाथी र भाइको पनि मृत्यु भयो । हामीले त्यस आक्रमणमा लड्दालड्दै घाइते बनेर पछि शहादत प्राप्त गरेका सात जना कमरेडहरुलाई यसै ठाउँमा बिर्सजन ग¥यौं । कमरेड सुदीप ! त्यसैले पनि यस ठाउँमा आइपुगेपछि म केही बढी भावुक र सम्वेदनशील बन्छु ।’ यति भन्दै कमरेड विकल फेरि सुनेकोशीको बगरतिर टोलायो ।
‘यो कुरा त तपाईंले मलाई पहिले भन्नुभएको थिएन ।’ कमरेड सुदीप अचम्भित भयो ।
‘जनयुद्धकालमा यस्ता सम्वेदनशील घटनाहरु थुप्रै घटेका छन् । तिनीहरुलाई एकैपटक भनेर कहाँ सकिन्छ र ?’ कमरेड विकलले बाध्यता देखाएझैं ग¥यो ।
आँखालाई तिरमिर बनाउँदै सुनकोशीको बगरभरि तलैसम्म घाम पोखिएको थियो । पारिपट्टिको डिकुवा गाउँ नीलो पानीमाथि बसेर घाम तापिरहेको थियो । डढुवा डाँडाले छेकेको घामबाट भरखर मुक्त हुँदै थियो दाइने पट्टिको निबुवाटार गाउँ । कोशी गड्तिरका यी गाउँहरु पनि अब त बिस्तारै बगरमा परिणत भइरहेका थिए । यस पटकको बगरको साँध अर्को वर्ष अलिक माथि सर्ने गथ्र्यो । दुईहजार तीन, चार सालतिर निबुवाटार गाउँ पारिपट्टिको मजुवाभरि फैलेको थियो रे । त्यसबेलाको निबुवाटारमा शहरझैं बाटो वरिपरि वस्ती भएको कुरा गर्छन् पुराना मान्छेहरु । दुईहजार एघार सालको बाढीले त्यो फाँट सबै बगाएछ । त्यसपछि यो गाउँ विस्तारै पाखातिर सर्न थाल्यो ।
‘अब कतै पसेर खाना खाने व्यवस्था गर्नुपर्छ । भोक लाग्न थाल्यो ।’ कमरेड विकलले कमरेड सुदीपको अवस्था बुझ्न पछिल्तिर फर्केर भन्यो ।
‘ठीकै छ, ठाउँमै पुगौं न !’ कमरेड सुदीपले अझैं हिँड्न हौस्यायो ।
‘यो खोलाको नाम यारी खोला हो ।’ मरुभूमिजस्तै पल्टिएको एउटा अजङ्गको बगरतिर देखायो कमरेड विकलले ।
‘पहाडमा यति ठूलो बगर मैले कहिल्यै देखेको थिइनँ ।’ कमरेड सुदीपले आँखा तानेर पारीसम्मै हे¥यो ।
‘एकचालिस साल अघिसम्म यो बगर पुरै अत्यन्त उत्पादनशील र उर्बर ठाउँ थियो । एकचालीस सालको बाढीले यहाँको उर्बर जमिनलाई बगरमा परिणत गरिदियो ।’ कमरेड विकलले सुनेको आधारमा यस ठाउँको बारेमा केही परिचय गराउने कोशिस ग¥यो ।
‘हामी पुग्नु पर्ने ठाउँ त्यही हो । त्यस गाउँलाई माथिल्लो मादले भन्छन् ।’ दक्षिणपूर्वतिर रहेको बादलले छोडेको कालो लेक मुन्तिर आंैलाले देखायो कमरेड विकलले ।
‘बाटो त निकै उकालो जस्तो छ नि ।’ कमरेड सुदीपले आकाशतिरै फर्किउँला जसरी हे¥यो ।
‘त्यो ठाउँमा पुग्न त खाना नखाई सकिएला जस्तो छैन ।’ कमरेड सुदीपले आफ्नो धारणा परिवर्तन ग¥यो ।
‘मलाई पनि त्यस्तै लागेको हो ।’ कमरेड विकल पनि सहमत भयो ।
  
चौरभरि मानिसहरु छरिएका थिए ।
‘पार्टीले गल्ती ग¥यो भन्दा पनि नपाइने । यस्तै हो भने हामीले फेरि बन्दूकको सहारा लिनु नपरोस् ।’ उतातिर जिल्ला सेक्रेटरी क. दिनेश भीडतिर हेरेर गर्जिरहेको थियो ।
‘यसरी कुरा गरेर अब समस्याको समाधान निस्कंदैन ।’ कमरेड विकलले सेक्रेटरीको नजिकै गएर खुसुक हप्कायो ।
‘जनताको बीचमा यसरी प्रस्तुत भएर नाङ्गिने काममात्र हुन्छ ।’ कमरेड सुदीपले पनि अँध्यारो मुख लगाउँदै कमरेड विकलसँग गुनासो पोख्यो ।
‘तपाईंहरुले मारेको मान्छे दिनभरि मजदूरी गरेरमात्र जिविकोपार्जन गर्ने मान्छे हो । उसकी श्रीमती र चारजना सानासाना अनाथ बच्चाहरु छन् । उनीहरुले अर्काको घर चहारेर र मागेर खान बाध्य छन् । के त्यसप्रति तपाईंहरुको कुनै जिम्मेवारी हुँदैन ?’ स्थानीय शिक्षक विक्रम राईको स्वर डरले लर्बराइरहेको थियो ।
‘माओवादीले माफीमात्र मागेर हुँदैन । परिवार र बालबच्चाको पनि जिम्मेवारी लिनुपर्छ ।’ भीडबाट कसिलो आवाज आयो ।
जिल्ला सेक्रेटरी कमरेड दिनेश घाइते बाघझैं चौतारोमा बसेर भीडतिर घुरिरहेको थियो ।
‘यस ठाउँमा हाम्रो संगठन छैन । यहाँका मानिसहरुलाई धेरै प्राथमिकता दिनु कुनै जरुरी छैन । जिल्ला सेक्रेटरी कमरेड दिनेश बेलाबेलामा कमरेड विकलसँग असन्तुष्टि पोखिरहेको थियो ।
गाउँलेहरु चौरको पल्लो भागमा झुण्डझुण्डमा विभाजित भएर छलफल गरिरहेका थिए । यता माओवादी पार्टीको कार्यकर्ताको एउटा पंक्ति इन्चार्ज कमरेड विकलको निर्देशनसँग अस्वाभाविक रुपमा असन्तुष्टि बनेको देखिन्थ्यो ।
‘गलत बाटो छोडेर कतै फेरि अर्को गलत ठाउँमा त आइपुगिएन रु’ कमरेड सुदीप चौरको छेउमा बसेर आफ्नै बारेमा सोचिरहेको थियो ।
‘मैले हिँडेको हिजोको त्यो बाटोलाई सच्याएर मेरो सपनाको गन्तव्यमा पुग्न सकिँदैनथ्यो । तर यो बाटो त्यसरी नै बिग्रिसकेको छैन ।’ फेरि आफैले आफ्नो चित्त बुझायो कमरेड सुदीपले ।
कमरेड सुदीप फेरि आफ्नै साथीहरुको भीडमा छि¥यो ।
‘हाम्रा तिनै केही गलत निर्णयहरुले गर्दा यी ठाउँहरुमा हाम्रो संगठन बन्न नसकेको हो ।’ कमरेड विकलको कुराले कमरेड सुदीप फेरि उत्साहित भयो ।
‘हामीबाट त्यसबेला ठूलो गल्ती भएको छ । अब त्यसलाई ढाकछोप गर्ने होइन, सच्याउने प्रयत्न गर्नुपर्छ । पार्टीको निर्णय पनि त्यही हो । त्यसलाई तपाईंहरुले लागु गर्नैपर्छ ।’ जिल्ला स्तरीय कार्यकर्ताहरुलाई वरिपरि राखेर कमरेड विकलले पुनः निर्देशन दियो ।
‘तपाईंहरुले सल्लाह दिएअनुसार गर्न हामीले आवश्यक ठान्यौं । हाम्रोतर्फबाट भएको गल्तीलाई तपाईंहरुले माफी दिनु हुनेछ र हामीलाई सच्याउने मौका दिनु हुनेछ ।’ भीडको बीचमा उभिएर कमरेड विकलले भन्यो ।
‘साह्रै असल मान्छेलाई मारे ।’ भीडबाट आवाज आइरहेको सुनियो ।
भीड घरतिर फर्किन थाल्यो । कमरेड विकल चौरको एउटा छेउमा आएर बस्यो र लामो श्वास फे¥यो ।
यही कार्यक्रमका लागि जम्मा भएका पार्टी कमरेडहरु फेरि आ–आफ्नो कार्यक्षेत्रका लागि बाँडिए ।
‘यो पारिपट्टि देखिएको जिल्ला खोटाङ्ग हो । आज हामी त्यतैतिर जान्छौं ।’ कमरेड विकलले उत्तरतिर देखाउँदै सुदीपसँग भन्यो ।
‘सुनकोशी नदी तरेर जान्छौं ?’ कमरेड सुदीप भूगोल हेरेर जिज्ञासु भयो ।
‘हो !’ कमरेड विकल पनि जुरुक्क उठ्यो र आफ्ना साथीहरुतिर फर्केर विदाईको हात हल्लायो ।
घाम डुब्न लागिसकेको थियो । उनीहरु सुनकोशीको गड्तिरमा झरिसकेका थिए । उनीहरुले हिजो हेरेको चिहानमा उभिएर फेरि एकपटक हेरे ।
‘कतै हाम्रा सपनाहरु यी चिहानहरु मेटिए जसरी त मेटिदैनन् ?’ कमरेड सुदीपले कमरेड विकलसँग सुस्तरी भन्यो ।
कमरेड विकल मलिन हाँसो हाँस्यो मात्र ।
घाम डुब्न लागेकोले उनीहरु त्यहाँबाट छिटोछिटो बाटो लागे ।

नवयुवा, वर्ष १२, पूर्णाङ्क १२२, २०६४ मंसिर, पुस

देवीदत्तको चिन्ता

प्रष्टै देखिने गरी उज्यालो भुइँमा खसेकै थिएन । केही हात मात्र टाढाको बस्तुलाई पनि राम्ररी ठम्याउन सकिँदैनथ्यो । गुँडबाट भरखर मात्र बाहिर निस्कन थालेका थिए चराहरु । उनीहरुको आवाजले उज्यालो भएको संकेत गरिसकेको थियो ।
चिनेचिनेजस्तो लाग्ने आवाज दोबाटोबाट उकालो लाग्यो । उनले कान थापेर सुने । हो, चिनेकै आवाज हो । कान्लाको छेवैमा उनी चाल मारेर उभिए । दुईवटा मानिसको आकृति ठूला घरतिर तेर्सियो ।
‘पर्धानको छोरो फेरि मुन्टिएछ ।’ एक्लै भए पनि उनले सानो आवाज निकालेरै बोले । ‘माओवादी जनयुद्ध सुरु हुनेबित्तिकै जनकारवाहीको डरले भागेको पर्धानको परिवार के यो शान्ति सम्झौता भएपछि फेरि यही गाउँमा बस्ने भो ?’ मनलाई चिसो बनाए उनले । दोबाटोबाट उकालो लागेका मानिसहरुको आवाज विस्तारैविस्तारै हराउँदै गयो ।
“यिनीहरु फेरि यही ठाउँमा बसे भनेदेखि त गाउँ फेरि मुर्दाघाट हुने भइहाल्यो नि ! बरु माओवादी युद्ध नसकिए पो हामीलाई राम्रो हुनेरहेछ ।” सोच्दासोच्दै उनी चाल मारेर जंगलतिर झरे ।
जंगलमा पुगेर पनि उनका हात राम्ररी लागेनन् । नचाहँदानचाहँदै पनि उनका मनमा विभिन्न तर्कनाहरु खेलिरहे ।
उनी थोरै मुठा घाँस बोकेर घर फर्के । तर विहान गएको बाटो होइन, अर्कै बाटो फर्के । “उनीहरुका शासनका दिनहरु फेरि फर्किन्छन् त ?” उनीभित्र यो प्रश्न कुमालेको चक्रझैं घुमिरहेको थियो ।
आज विहानैदेखि मन बेचैन भइरहेको थियो उनको । तर उनको बेचैनी कसैलाई पनि सुइँको दिएका थिएनन् उनले । उनी बारम्बार अरुको अनुहार पढ्ने कोशिस गरिरहेका थिए ।
“मान्छेहरु किन चिन्तित भइरहेका छैनन् ?” उनी साँच्चै अचम्मित भइरहेका थिए ।
“के मेरा आँखा र कानहरुलाई त कुनै भ्रम परेन ?” उनी बेलाबेलामा यसरी पनि सोचिरहेका थिए ।
टाढासम्म आँखा फालेर हेरे उनले । हिजो अस्तिको गति जसरी नै बगिरहेको थियो, उत्तरतिरको सुनकोशी । पश्चिमतिर खोलाको आवाजमा कुनै फरकपन थिएन । ‘सुनकोशीमा पानी बगेझैं समय पनि त बग्यो नि !’ फेरि मनलाई ढुक्क बनाएर सोचे, वरिपरि ठिङ्ग उभिएका रुखहरुलाई हेरे । रुखका पातहरु पनि हावामा नाचिरहेका थिए ।
“आज गाउँमा मैले नयाँ मान्छेहरु देखें । तैंले चिनिस्, को र’छन् हँ ती ?” अलिअलि कुरा लुकाएर स्वास्नीसँग सोधे उनले ।
“गाउँमा मान्छेहरु जाने हुन्छन् नि ! तिमीलाई किन ठूलै कुराजस्तो ल्यायो नि ?” उनको कुरालाई स्वास्नीले हावामा उडाइदिइन् ।
“ठूला घरनेर मैले आज नयाँ मान्छेहरु देखें । पर्धानकै छोराको स्वरजस्तै लाग्यो क्या, आज घाँस जाँदा । गाउँमा शान्ति भयो भनेको त, पर्धान र पर्धानका सन्तानहरु फेरि मुन्टिएछन् कि के हो ?” मनभित्रको उद्वेगलाई रोक्नै सकेनन् उनले ।
“गाउँका फटाहाहरुलाई सिध्यायौं भन्थे । यस्ता अपराधीहरुलाई चाहिँ केही गर्न सकेनछन् हगि माओवादीहरुले पनि ?” बूढाको कुराले झस्किँदै उनले भनिन् ।
“लौ के रै’छ बुझ न ! छोरीहरु पनि विहे गर्ने बेला भएका छन् । ती अपराधीहरु फर्के भने यो गाउँमा त फेरि राक्षस–राज चलिहाल्छ नि !” उनकी स्वास्नी पनि आतंकित भइन् ।
उनी अर्थात् देवीदत्त पराजुलीले ठूलाघरको बाटो हिँड्ने सबै मान्छेलाई नियालेर हेरे । कसैको आँखामा उनले कुनै त्रास देखेनन् ।
“आखिर किन यस्तो भइरहेको छ ?” पराजुली बूढा साँच्चै बिलखबन्दमा परे ।
घरको काम सिध्याइसकेपछि आँगनको डिलमा बसेर एकछिन टोल्हाए उनी । फर्केर गाईगोठालो जान लागेका छोरीहरुको अनुहारमा हेरे ।
“यति राम्रो हाम्रो गाउँ–टोल अब फेरि मसानघाट हुने भो ।” विगत सम्झेर उनको मन फेरि कटक्क काटियो । पन्ध्र वर्षअघिको गाउँको दुषित र आतंकित वातावरण घुरमैलो भएर उनको अन्तरहृदयमा एकतमासले नाच्न थाल्यो ।
  

जति वर्षहरु बितेपनि यी घटनाहरु उनका आँखाबाट कहिल्यै पनि ओझेल पर्न सकेनन् ।
त्यस दिनको त्यो विहान ।
उज्यालो भुईंमा राम्रोसँग झर्न पाएकै थिएन ।
गाउँमा बूढापाका र महिलाहरु मात्रै थिए । गाउँका तन्नेरीहरुलाई सम्साँझैदेखि एकराते मेलाको रमझमले तानेको थियो । उनको छोरो रमेशलाई बरु त्यस प्रकारको रमझमको कुनै महत्व थिएन । गाउँमा उसका समवयका सबै मानिसहरु उसलाई ‘साधु’ भनेर जिस्क्याउँथे । हुन पनि ऊ व्यवहारले साधुजस्तै थियो, उमेरै नपुगी कर्तव्य र जिम्मेवारीले थिचिएको जस्तो । छोरोप्रति बाबु देवीदत्त पराजुली पनि भरोसा र विश्वास गर्थे । विद्यालयमा गएर धेरै कुरा पढ्न पाएको पनि होइन उसले । तर विद्यालय गएर पढेकाहरुभन्दा कम तेजिलो थिएन ऊ । सानैदेखि राजनीतिक विषयहरुमा खुवै रुचि लिन्थ्यो ।
गाउँका धेरै साथीहरुले कर गरेपछि मात्र ऊ त्यसदिन रातको मेलामा जान तयार भएको थियो । उसका साथीहरुले त्यसबेला उसलाई कर गर्दै भनेका थिए– ‘ऊ त्यहाँ गयो भने राजनीतिक विचारले उसका प्रतिस्पर्धीहरु त्यहाँ एकछिन पनि टिक्न सक्नेछैनन् ।’ उसले साथीहरुसँग आग्रह गर्दै भनेको थियो– ‘एकराते बजार राजनीतिक छलफलका लागि अनुकूल र उचित ठाउँ होइन ।’
रमेश स्पष्ट विचार र गहन अध्ययनका कारण गाउँटोलका युवाहरुका बीचमा मियो बन्दै गइरहेको थियो । साथीहरुको आग्रहका अघिल्तिर उसको केही पनि लागेन । ऊ साथीहरुको पछि लागेर गयो । जान मन नलाग्दानलाग्दै पनि गयो । साथीहरुको आग्रहलाई टार्न पनि उसलाई उचित लागेन ।
“सानैदेखि एकराते मेलासँग रमेश कहिल्यै नजिक भएन । आज त कसरी गएछ नि ?!” पराजुली बूढाले श्रीमतीसँग कुरा कोट्याए ।
“साथीहरुको कुरो काट्न सकेन, गयो होला । साथीहरु भनेपछि हुरुक्कै हुन्छ । त्यहाँ आज सभा पनि गर्ने अरे ।” बूढीले पनि यो कुरालाई सामान्य रुपमा लिइन् ।
“पर्धानका छोराहरुले रमेशलाई देखिसहेका छैनन् क्या ! त्यसैले पो मैले भनेको । झन् यो एकराते मेलामा टन्न रक्सी धोकेर उनीहरु साँढे नै हुन्छन् ।” पराजुली बूढाले शंकाको गाँठी कुरा खोले ।
“पर्धान र पर्धानका छोराहरुसँग भन्दा गाउँका सबै मानिसहरु रमेशकै पक्षमा कुरा गर्छन् ।” बूढीले मनलाई दह्रो बनाइन् ।
“उनीहरुसँग सम्पत्ति, शक्ति सबै कुरा छ । हामी गरिबसँग के छ र !?” बूढाको मनको कुनामा त्रास बाँकी नै रह्यो ।
“होइन, यो कस्तो व्यवस्था हो ? हिजो पंचायती कालमा पनि उनीहरुकै हाइ–हुकुम, उनीहरु नै प्रधान, उपप्रधान । अहिले पनि फेरि उस्तै । उनीहरु नै अध्यक्ष, उपाध्यक्ष । पंचायत र बहुदलीय व्यवस्था त उस्तैउस्तै दाजुभाइजस्तै रछन् नि !” बूढीले गम्भीर भएर जिज्ञासा राखिन् ।
‘यहाँ मात्रै हो र ! अन्त पनि त यस्तै छ नि ।’ बूढाले छलफलभित्र पस्ने आँट गर्न सकेनन् र कुरालाई यहीँ ट्ङ्ग्याउन खोज्दै भने ।
आधा रात ढल्किन मात्रै के थालेको थियो, बजारमा बजेको माइकको आवाज हावाको प्रवाहमा घरी प्रष्ट सुनिन्थ्यो, घरी मधुरो सुनिन्थ्यो । केही छिनमै रमेशको स्वरलाई हावाले उडाएर ल्याउथ्यो र फेरि हराउँथ्यो ।
“एकराते मेलामा राजनीतिक कुरा कसले सुन्छ ? जाँडरक्सीमा डुबेका मान्छेहरुका बीचमा त्यस्ता कुरा गरेर के फाइदा ?” पराजुली बूढाले आफ्नो असन्तुष्टि फेरि पोखे ।
बूढीले कुनै प्रतिक्रिया नदिई उनको कुरा मात्रै सुनिरहिन् ।
भरखर झकाउँदै गरेको बेला पुराजुली बूढा बन्दूक पड्किएको आवाजले झल्यास्स व्यूँझे । उनी सँगसँगै बूढी पनि व्यँुझिन् । उनी केही बोलेनन्, मात्र सुनिरहे । त्यतिबेला उनले कुनै अनिष्ट संकेतलाई मनमनै विश्लेषण गरेका थिए ।
‘हँ ः के भयो ?’ बूढीले बूढाबाट थप जान्न खोजिन् ।
बूढा केही नबोली ओच्छयानबाट जुरुक्क उठे र लुगा लगाए । बूढी पनि चुपचाप तयार भइन् । गल्लीबाट मानिस हिँडेको आवाज आउन थाल्यो
पराजुली बूढाहरु बजार पुग्दा मानिसहरु धमाधम आउँदै थिए । बजार बजारजस्तो थिएन । नितान्त एउटा युद्ध मैदानजस्तो थियो ।
“गोली चलाएर अपराधीहरु भागिसके ।” केही मानिसहरु यसो भन्दै यताउता दौडिरहेका थिए ।
“कसलाई गोली हाने ?” केहीले सोधिरहेका थिए ।
“गोली त सभास्थलभित्रै कान्छो धामीको छोरा रमाकान्तलाई लाग्यो ।” मानिसहरु एकअर्कालाई सुनाइरहेका थिए ।
“गोली लाग्नेबित्तिकै प्राण गयो ।” एकअर्कालाई समाचार सुनाउन सबै व्यस्त थिए ।
“साह्रै असल मान्छेलाई मारेछन् ।” पराजुली बूढी भक्कानो छुटाएर रोइन् ।
“पर्धानका छोराहरु र उसका भरौटेहरु सबै भागीसके ।” मानिसहरु सूचना सुनाउन व्यस्त थिए । पराजुली बूढा र बूढी कान्छो धामीको परिवारलाई सान्त्वना दिन बगरको अर्को छेउतिर दौडिए । धामीको छोराको शवयात्रामा मानिसहरुको समुद्र ओर्लियो ।
“पर्धान र तिनीहरुका भरौटेहरुको घरमा मानिसहरुले सबै तोडफोड गरे र आगो पनि लगाए ।” शवयात्राको बीचबीचका मानिहरुले खबर सुनाइरहेका थिए ।
सबै मानिसहरु सभाका लागि रातमाटे चौरमा जम्मा भएका थिए ।
“ऊः प्रहरीहरु आए !”
सभास्थलमा पुगिसकेपछि भीडबाट कुनै किशोरको आवाज आयो ।
सबै मानिसहरुको ध्यान पारी डाँडातिर गयो । सबैको आँखामा त्रासको एउटा बादल नाचिरहेको थियो । अघिअघि पर्धान र पर्धानका छोराहरु थिए । तिनीहरुको ठीक पछि गाउँकै हुल्याहा र फटाहाहरु थिए । तिनीहरुका पछि प्रहरीको ठूलो जत्था थियो ।
मानिसहरुको बीचमा आतंकको वातावरण पैदा भइरहेको प्रष्ट बुझ्न सकिन्थो ।
“तपाईंहरु शान्त भएर कार्यक्रममा सरिक भइदिनु होला ।” परिस्थितिको आँकलन गर्दै मञ्चबाट कसैले बोलिरहेको थियो त्यसबेला ।
“अपराधीहरुलाई अब यहीं कारवाही गर्नुपर्छ ।” यस्तो आवाज पनि भीडबाट आइरहेको थियो ।
“ऊः त्यो मान्छेलाई गोली लाग्यो… लाग्यो … ।” गोली चल्नेबित्तिकै भीड तितरवितर भयो । गोली लागेका मानिसहरुलाई कोही बोक्न खोजिरहेका थिए । एउटा युवक नभाग्नुस्– नभाग्नुस् भन्दै छेउमा कराइरहेको थियो ।
“आतंककारीको लाश यही होइन ?” यसो भन्दै रमाकान्तको लासमाथि एउटा प्रहरीले लात्ती हानिरहेको थियो । केही प्रहरीहरु घाइते युवकलाई खोस्ने प्रयत्न गरिरहेका थिए । पर्धान र उसका छोराहरु कतै लुकिसकेका थिए ।
पराजुली बूढा र बूढीले भीडलाई छिचोलेर टाढासम्म हेरे । पक्राउ परिसकेकालाई प्रहरीहरुले घिसारेर लछारपछार गरिहेका थिए । प्रहरीकै घेराभित्रबाट रमेशले नारा लगाइरहेको देखिन्थ्यो ।
“यत्तिका मान्छे भएर पनि यी फटाहाहरुलाई किन नसकेका ?” पराजुली बूढा मानिसहरुतिर फर्केर भनिरहेका थिए ।
प्रहरीले रमाकान्तको लास लिएर गयो । रमेश र अरु घाइतेहरुसमेत पाँच जनालाई गिरफ्तार गरेर लग्यो । लाससहित गिरफ्तार गरेर लगिएका सम्पूर्ण मानिसहरु बेपत्ता बनाइए ।
“सुनकोशकिो किनारमा गोली ठोकर उनीहरु मारिए ।” कुनै बेला यस्तो हल्ला आयो ।
‘महाभारतको जंगलमा सबैजना जिउँदै जलाएर मारिए ।’ यस्तो पनि हल्ला सुनियो त्यसबेला ।
त्यसपछि गाउँमा पुलिस प्रशासनले गरेको अत्याचारको कुनै सीमा रहेन । दमन खप्न नसकेर धेरैले सदाका लागि गाउँ छाडेर अन्यत्र बसाइँ सरे ।
पन्ध्र वर्षअघिको घटनाले अझैसम्म उनलाई पच्छ्याउन छोडेको छैन । ‘यो कहिल्यै पनि निको नहुने घाउ हो ।” अरुलाई यसो भनेर टार्ने गर्छन् उनीहरु ।
‘लास नदेखुन्जेल आस हुँदोरहेछ ।” जतिसुकै बलियो मन पारे पनि उनले सकेनन् । सोच्दासोच्दै बूढाका आँखाबाट केही थोपा आँसुहरु धर्तिमा झरेर एकाएक बिलाए ।
सोच्दासोच्दै उनी फेरि एकपटक झस्के, यसो आकाशतिर फर्किए । घाम त निकै माथि चढिसकेछन् । बाँकी रहेको कामलाई सोचेर फेरि उनलाई चिन्ताले गाँज्यो ।
  
विहानको घटना उनको आँखाबाट ओझेल बन्नै सकेन । ठूलाघरको डाँडातिर एकपटक फर्केर हेरे उनले । चारजना मान्छेहरु उनकै घरलाई तोकेर आइरहेका थिए । ती मानिसहरु बरका रुखबाट सिधै उनकै घरतिर आए । नजिकै आएपछि मानिसहरु ठम्याए उनले । माझघरे विष्णुप्रसाद पण्डित, देवीथाने रामानन्द जैसी, राताघरे फुर्के भट्टराई र कान्छो धामी । सबैलाई ठम्याए उनले ।
‘यसरी हुलै बाँधेर किन आए उनीहरु ? के कुनै कुसमाचार बोकेर त आएनन् ?” उनको मन फेरि भरङ्ग भएर उड्यो ।
“निको चालले त यिनीहरु आएकै होइनन् ।” मनभित्रको शंकाको गाँठो झन् कसे उनले ।
चारैजनाले परैबाट हात जोडे । ल आउनुस् ? आउनुस् ! भन्दै उनी पनि सुकुल लिन भित्र पसे । सुकुल लिएर बाहिर निस्कँदा चारैजनाको अनुहारमा एउटा चमक आएको देखे उनले ।
“हामी तिमीलाई र गाउँलाई एउटा खुसीको खबर सुनाउन हिँडेको ।” पायरिया लागेको दाँत देखाउँदै देवीथाने जैसी हाँसे ।
“के हो भन्नोस् न !” पराजुली कुनै समाचार सुन्न उद्वेलित थिए ।
“बाँकी रहेका काँडाहरु पनि अब त उखेलिएर सिद्धिए है !” देवीथाने जैसी फेरि उसै गरी हाँसे ।
“जैसी बूढा ! खसोखास भन न ! कुरो के हो ? किन चपाएर बोल्छौ हँ ।” पराजुली अधैर्य भइरहेका थिए ।
“होइन ! खुसीको कुरा त एकैचोटि भनीहाल्नु कहाँ हुन्छ र !” फुर्के भट्टराईले फेरि मुख मिठ्याए ।
“अब भन्नै परो त !? भन्दाखेरी अब पर्धानको छोरो दुई–चार दिनदेखि यहाँ आएर भूमिगत बसेको रहेछ । भित्रभित्रै जग्गा–जमिनहरु आफ्ना नातेदारहरुलाई बेचेछ र आज विहानै अलिअलि भएका समानहरु लिएर हिँडेछ ।” माझघरे पण्डित फेरि खित्खिताए ।
“के साँच्चै हो र ! कि तिमीहरुले ख्यालख्याल गरेको ?” पराजुली बूढा वास्तविकता बुझ्न व्यग्र्र भए ।
“कुरा त साँच्चै हो देवीदत्त दाइ, तर ती अपराधीहरु लुकेर बसेका रहेछन् र मात्र । नत्र तिनीहरुलाई हामी गाउँलेहरु मिलेर जनकारवाही गर्नुपथ्र्यो, कि कसो हो ?!” कान्छा धामीको स्वर अलिक खरो थियो ।
“मैले त बिहानै देखेको थिएँ । ती मुर्दाहरु गाउँमा बसिदेलान् भन्ने आफूलाई कत्रो चिन्ता थियो !” पराजुलीले अन्तरको कुरा खोले ।
“ अब तिनीहरु गाउँमा बस्ने आँट नै गर्दैनथे नि ।” माझघरे पण्डितले तर्क गरे ।
“बसेको भए गाउँ त फेरि बर्वादै हुन्थ्यो ।” देवीथाने जैशीको प्रतिक्रिया थियो ।
“अब गाउँ पहिलेको जस्तो कहाँ छ र ? ! माओवादी आन्दोलनले गरिबहरुको आँखा पनि खोलिदिइसक्यो ।” कान्छा धामीको भनाइ थियो ।
“हो । अब गाउँका मान्छेहरु हामीले त्यसबेला सहेजस्तो शोषण सहेर कहाँ बस्छन् र ! ?” फुर्के भट्टराईले आफ्नो राय राखे ।
“अब हामी पनि कहाँ सहन्छौं र ? ! माझघरे पण्डितले ठूलो स्वर निकालेर हाँसे ।
“साँझ परेको पनि पत्त्तै पाइएनछ ।” देवीथाने जैसीले पश्चिमतिर हेर्दै भने ।
“हो त, नि ? पत्तै पाइएन छ ।”
अरुले पनि सही थापे ।
उनीहरु कुरा गदैगर्दै आ–आफ्नो बाटो लागे । पराजुली बूढाले टाढा पुगुन्जेलसम्म उनीहरुलाई हेरिरहे ।

नवयुवा मासिक, वर्ष १३, पूर्णाङ्क १३०, २०६५ भाद्र

कालो चश्मा

बाहिरको वातावरणबाट भित्र पस्ने बित्तिकै एउटा सार्नो डम्पिङ साइड’ मा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरुमा लेऊले बनेका धर्साहरु देखिन्छन् । वर्षौ अघि बिछ्याइएका कोरियन कार्पेटहरुमा पत्रैपत्र धुलो जमेको छ । धुलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि हुनु स्वभाविकै थियो ।
म भरखरैमात्र कार्यालयको कोठामा प्रवेश गरेको थिएँ । पहिले पहिले भन्दा दुर्गन्ध अझ बढेको जस्तो महसुस भयो मलाई आज ।
“तँ त साँच्चै जागिरे भइछस यार ! यस्ता कामहरु छाड्दे बुझिस् ! ” मेरो कोठामा पस्ने बित्तिकै कुबेरले भनेको कुराले मलाई झनक्क रिस उठेको थियो ।
“के अफिसको काम गरेको भन्ने ठान्या छस् ! ”
मैले पनि तात्तातै जवाफ फर्काएँ ।
हाकिमको घरको टेलिफोनको बील तिर्ने लाइनमा उभिँदाउभिँदा म थकित भएर भर्खर कार्यालय आइपुगेको थिएँ । कार्यालय भन्नु मात्रै हो, हाकिमको व्यक्तिगत काम हेर्ने र गर्ने ठाउँ भएको छ मेरो टेबल । अहिलेसम्म मबाट कार्यालयको काम भएकै छैन भन्दा पनि केही फरक पर्दैन । कुबेर मेरै छेउमा बसिरहेको थियो र मैले बीलहरु फाइलिङ गरेको हेरिरहेको थियो ।
कुबेर र म एकैपटक ओभरसियरको पदमा स्थायी नियुक्ति लिएर यो कार्यालयमा प्रवेश गरेका थियौँ । त्यसबेला अर्थात् करिब ५ महिना अघि यहाँ आउँदा हामीसँग थुप्रै सपनाहरु थिए । प्राविधिक दक्षतालाई अझ वृद्धि गर्ने योजनाहरु थिए । दक्षतालाई विकास गर्दै इन्जिनियर बन्ने धोको बाँकी नै थियो । जागिर खाएको केही समयमै हामीले थाहा पाइसकेका थियौँ, हाम्रा योजनाहरुले असफलताका बाटाहरु हिँड्न थालिसकेका थिए । कुबेर र म दुवैले यसैगरी बुझेका थियौँ ।
मेरो कामलाई एकछिन हेरेपछि कुबेर हाँस्दै बाहिरियो । भित्रबाट हाकिमले घण्टी लगायो । पियन हरिप्रसाद पनि घण्टीको आवाजसँगै भित्र पस्यो । यो कार्यालयका कर्मचारीहरुमा हाकिम बाहेक हामी दुई जना मात्र बाँकी छौँ । हरिप्रसाद र म । यो कार्यालयमा सत्र जनाको दरबन्दी भएको कुरा मैले यहाँ आउने बित्तिकै सुनेको थिएँ । दरबन्दी अनुसार सबै कर्मचारीहरु छन् । चार, पाँच जनालाई त चिनेको पनि छु । हाजिर गर्दा कहिलेकाहीँ भेट हुन्छ । न उनीहरु यहाँ आएर काम गर्छन्, न उनीहरुलाई कामका लागि कसैले खोज्छ । भित्रबाट घण्टी बज्ने बित्तिकै मैले अनुमान गरिसकेको थिएँ उसले मलाई बोलाउन खोज्दै छ । यो अफिसमा उसले बोलाउने मान्छे म बाहेक अर्को कोही पनि थिएन ।
“सरलाई भित्र हाकिम साबले बोलाउनु भा’छ ।” हरिप्रसादले मलाई खबर दियो ।
“कल्याणजी ! ग्लोबल बैंकको शेयर भर्ने समय अब पाँच दिन मात्र बाँकी छ । यी नागरिकताहरु लिनुस् र सबैको नाममा सय सय कित्ता शेयर भरिदिनु होला । यो काम गर्न चाहिँ ढिलो नगर्नुहोला । फेरि तुरुन्तै अर्को बैंकको खुल्न लाग्दैछ भन्ने सुनेको छु ।” हाकिमले मेरा अघिल्तिर एक झोला नागरिकताका प्रमाणपत्रहरु दिँदै भन्यो ।
‘कस्तो अफिसमा जागिर खान आइएछ’
नागरिकताको पोको बोकेर बाहिर निस्के पछि निकै दिक्क लाग्यो । उसको, उसका परिवारहरु र नातेदारहरुका नाममा यो भन्दा पहिले पनि मैले थुप्रै पटक विभिन्न बैंक र संस्थाहरुको शेयर फर्म भरिदिएको छु । म बिहान आउने बित्तिकै अझ घरको पानी तान्ने मेशिन बिग्रियोसम्म भन्दै थियो यसले । मैले नसुनेभैmँ गरेँ । कुबेर चाहिँ यस्तो झन्झटबाट मुक्त छ जस्तो लाग्छ । त्यसैले मलाई भेट्ने बित्तिकै व्यङ्ग्य प्रहार गर्छ ऊ ।
  
त्यस दिन हाकिमको छोराको फिस बुझाईदिन जाने तयारी गर्दै थिए । फेरि कुबेर आइपुग्यो ।
“होइन ! तँलाई आज पनि फुर्सद छैन कि के हो ?
उसले फेरि व्यङ्ग्य प्रहार ग¥यो ।
कुबेर आज गालाको आधा भागसम्म छोप्ने बल्डयाङ्ग्रे कालो चश्मा लगाएर आएको रहेछ । मैले कहिल्यै पनि देखेको थिइन यसले कालो चश्मा लगाएको । उसको नयाँ अनुहार देखेर मलाई पनि निकै हाँस उठ्यो ।
“तँलाई कतै आँखा पाक्ने रोग त लागेन ?”
उसले लगाएको कालो चश्मा मेरो लागि समेत अनौठो भइरहेको थियो ।
“यसको अर्थ ठूलो छ, बिस्तारै बुभ्mछस् ! ”
रहस्यमा राखेर जवाफ दिने उसको बानी पहिले देखिकै थियो ।
“होइन ! यो अफिसमा कालो चश्मा लगाउनेको संख्या त ठूलै छ जस्तो छ । यो कस्तो खालको फेसन हो ।”
मैले म भित्र खुल्दुली लागिरहेको कुरा सोधेँ ।
“तँ मुर्ख बालकले यी सब कुरा बुभ्mने बेलै भएको छैन ।” चश्मा झिकेर हातमा घुमाउँदै उसले भन्यो ।
“तँलाई त म हिजो आज घुमिरहेको मात्र देख्छु । तेरो केही काम छैन कि के हो ?” मलाई लागिरहेको अर्को प्रश्न सोध्छु ।
“यहाँको काम तँ जस्तो बेवकुफले मात्र गर्ने हो ।”
फेरि उसले त्यस्तै बटारिएको उत्तर दियो ।
“के तँलाई कुनै काम गर्नु पर्दैन ?” म भित्रको जिज्ञासा अभैm बढ्दै गयो ।
“हाकिमसँग आतङ्कित भइस कि के हो ? उसले ठट्टा गर्ने शैलीमै भन्यो ।
मलाई त मेरो हाकिमले खुबै पेल्छ । आप्mना घर परिवारको समेत सबै काम लगाउँछ । कार्यालयको काम कस्तो हुन्छ ? अहिलेसम्म अत्तोपत्तो छैन । कस्तो खाडलमा आएर फसियो जस्तो छ । मैले कुनै ठट्टा नगरिकन ऊसँग छलफल गर्न खोजेँ ।
“ओ हो ! मेरो हाकिम पनि कहाँको कम हुन्थ्यो । झन् त्यो त भुईफुट्टा कवि परेछ । मलाई त झन् त्यसले खुबै हैरान बनाएको थियो ।” उसले चश्मालाई रुमालले पुछ्दै भन्यो ।
“के गथ्र्यो त्यसले ?” म झन् जिज्ञासु भएँ उसको कुराले ।
“कविताका नाममा जे पायो त्यही लेखेर ल्याउँथ्यो । कथा र निबन्धका नाममा उट्पट्याङ गन्थन लेखेर ल्याउँथ्यो । मैले टाइप पनि गर्न जानेको थाहा पाएपछि त त्यसले खुबै हैरान बनायो नि ! एकपटक टाइप ग¥यो फेरि मिलेन भनेर काट्थ्यो । फेरि थप्थ्यो । फेरि पछि थपेको काट्थ्यो । बीसपल्ट सच्याउँथ्यो । जतिपल्ट सच्याउँथ्यो उतिपल्ट सुनिदिनु पर्ने । त्यसले त अफिसमा साहित्य आतङ्क मच्चाएको थियो नि ! ” भन्दाभन्दै कुबेरले फेरि चश्मा लायो ।
“नाम चलेकै कवि हो कि के हो तेरो हाकिम ?” मलाई उसको कुरा रोचक लागिरहेको थियो । म ऊबाट थप कुरा सुन्न चाहन्थेँ ।
“के को नाम चलेको हुनु नि ! त्यस्तैले गर्दा त हो नि ! कविताको बिजोग भा’को ! ” कुबेर खित्का छाडेर हास्यो ।
“के हिजो आज पनि त्यही काम गर्छस्् तँ ?
उसको कुराले मलाई झन् चाख बढ्यो ।
कुबेर मेरो अन्तरङ्ग साथी हो । स्कुलदेखि कलेजसम्म हामीले सँगै पढ्यौँ । जागिरका लागि पनि सल्लाह गरेर सँगसँगै फर्म भ¥यौँ । हाम्रो जागिर एउटै अफिसमा भए पनि हाम्रा विभागहरु फरकफरक थिए ।
उसको र मेरो अफिस एउटै कम्पाउन्ड भित्र भए पनि भवनहरु अलगअलग थिए । दैनिक भेट भएन भने पनि टेलिफोन मार्पmत हामी कुराकानी गथ्यौँ ।
“अहिले त त्यसले मेरो मुखतिर पनि फर्केर हेर्दैन । हिजो अस्ति उसको साहित्यसँग म आतङ्कित थिएँ, आजभोलि हाम्रो ट्रिकसँग ऊ आतङ्कित छ ।” कुबेर फेरि चश्मा खोलेर हाँस्यो ।
“त्यो ट्रिक मलाई पनि बता न यार ! मेरो त यहाँ बिजोगै भइसक्यो ।” मलाई पनि त्यो गुरुमन्त्र जान्ने कौतुहलता जाग्यो ।
“पख् ! तँलाई भोलि म यो खाडलबाट मुक्त गराउँला ।” कुबेर मेरो ढाड थप्थपाउँदै हाँस्यो ।
  
काठमाडौँमा जाडो धेरै बढेको थियो । गएको पच्चीस वर्षसम्म यो वर्षको जस्तो जाडो कहिल्यै पनि नभएको समाचार विभिन्न सञ्चार माध्यमहरुले प्रसारण गरिरहेका थिए । यी समाचारहरुका कारणले पनि मानिसहरुले झन् बढी जाडो महसुस गरिरहेका थिए । मधुरो घाममा जाडोको चर्चा भइरहेको थियो ।
अन्य दिन पनि हाजिर गरेपछि कर्मचारीहरु यसैगरी बाहिर निस्कन्थे । अन्य दिन भन्दा आज कार्यालयको प्राङ्गणमा बढि नै कर्मचारीहरु भेला भएका देखिन्थे । मेरो पुरै शरीरलाई नियालेर हाकिम आप्mनो कार्यकक्षतिर हान्निएर गयो । म यसरी घाममा बसेको कुरा उसलाई मन परिरहेको थिएन भन्ने कुरा उसको हेराईले प्रष्ट बुझिन्थ्यो । अफिस भित्रको कामले अजिङ्गरले भैmँ मुख बायर बसेको छ । अफिसको काम भन्नु मात्रै हो, सबै त्यसका व्यक्तिगत कामहरुको चाङ छ ।
“अब म जान्छु ।” मैले कुबेरसँग बिदा हुन खोजेको थिएँ ।
“तँ गधाको काम बितिसक्यो होला ।” मेरो कुरालाई उसले फेरि हावामा उडाइदियो ।
“अफिसमा तँलाई के कामले पर्खिएर बसेको छ ।” उसले मलाई सबै साथीहरुका अघिल्तिर मजाकमा उडाउन खोज्यो ।
भीड बिस्तारै बिस्तारै पातलिँदै गयो । मैदानको एक छेउमा उभिएर हामी त्यहाँका दृश्यहरु हेर्दै कुराकानी गरिरहेका थियौँ । अगाडिपट्टि बङ्गलाजस्ता सानासाना घरहरु थिए । त्यसका अघिल्तिर युनियनका बोर्डहरु झुण्डिएका थिए । बङ्गलाहरुभित्र विभिन्न खालका चहलपहलहरु बढिरहेको देखिन्थ्यो ।
“तँलाई हाकिमले लगाएका व्यक्तिगत कामहरुबाट मुक्त हुने विचार छ होइन ?” कुबेरले अनुहारमा अलिकति मुस्कान छर्दै भन्यो ।
“कार्यालयको काम गर्न पाए पो हुन्थ्यो । उसको व्यक्तिगत काम गर्न जागिर खाए जस्तो । मलाई त कार्यालय भित्र पस्नै मन लाग्दैन । आज यी यतिबेलासम्म नगएको पूmलेर बसेको होला । अघि नै घुरेर हेर्दै थियो । जहाँजहाँ शेयरका लागि आवेदन माग हुन्छ, उसका सबै सन्तानको नागरिकता बोकेर लाइनमा लाग्नुपर्छ ।” मैले पनि उसका अगाडि एउटा तिक्तलाई उकेलेँ ।
“ ल ! बाहिर हिँड् म तँलाई उपयुक्त उपाय सिकाउँछु ।” कुबेरले मेरो हात समातेर तान्दै लग्यो र एउटा चश्मा पसलमा पु¥यायो । पसलेसँग एउटा कालो चश्मा माग्यो । म छक्क परिरहेको थिएँ । पसलेले एउटा चश्मा निकाल्यो तर कुबेर त्यो भन्दा निक्खर कालो चश्मा खोज्यो । केही दिनदेखि कुबेरले पनि त्यस्तै चश्मा लगाइहेको थियो । मलाई अचम्म लागिरहेको थियो र मैले कुबेरलाई हेरें । ऊ मुसुक्क हाँस्दै मलाई त्यो चश्मा लगाउन दियो । त्यसपछि उसले मलाई एउटा युनियनको अफिसमा लिएर गयो । उसले त्यहाँ मलाई युनियनको सदस्य बन्नका लागि रसिद काट्न लगायो । कुबेरले मसँग सदस्यता बापत भनेर एकसय रुपैयाँ माग्यो । मैले पनि खुरुक्क दिएँ । सबैतिर हेरेँ । सबै कालो चश्मामा सजिएका थिए र मतिर हेरेर अलिअलि मुस्कुराइरहेका थिए । त्यसपछि उसले मलाई युनियनको बाहिर लिएर आयो । युनियनको बाहिर गेट अगाडि एउटा बेञ्च राखिएको थियो । उसले मलाई केही समय त्यहीँ बसिरहन भन्यो । म पनि थचक्क त्यहीँ बसेँ । मलाई त्यहीँ छाडेर ऊ अर्केतिर गयो ।
कुबेरले सिकाएभैmँ म पनि त्यही बेञ्चमा बसिरहेको थिएँ । केही समयपछि मेरो हाकिम त्यही बाटो हँुदै कतै जाँदै थियो । ऊ म नजिकै आइपुगेपछि मैले उसलाई उठेर नमस्कार गरेँ । उसले छक्क परेर मतिर हे¥यो । मलाई देख्ने बित्तिकै उसको अनुहारमा आतङ्कका रेखाहरु सल्बलाइरहेको पाएको थिएँ मैले । ऊ मेरो नजिक आयो र मसँग अँध्यारो मुख लगाउँदै हात मिलाउन खोज्यो । मैले पहिलो पटक ऊसँग हात मिलाएको थिएँ ।
“कल्याणजी तपाई एकछिन पछि अफिसमा आउनुस् है ! ” उसले मसँग यति भन्दै नक्कली हाँसो फाल्यो ।
कुबेर आए पछि मैले उसलाई यी कुराहरु सुनाएँ । ऊ सबैले सुन्नेगरी जोडजोडले हाँस्यो ।
“बुझिस ! अब औषधि ठीक ठाउँमा लाग्यो । अब तैँले यो अफिसमा हाजिर मात्र गरे पुग्छ ।” कुबेर फेरि जोडले चिच्याउँदै हाँस्यो ।
“यो काम पनि तेरो र मेरो आदर्श अनुकूल छैन नि ! तेरो र मेरो सिद्धान्तले यस्तो कार्य गर्न दिन्छ र ! फेरि युनियन जस्तो श्रमजीवि वर्गको हितका लागि चल्नुपर्ने संस्थालाई यसरी उपयोग गर्नु राम्रो होइन । यो तर्पm तैँले सोचेको छैनस् कि के हो ?” म भित्र उठिरहेको प्रश्न उसका अघिल्तिर राखेँ ।
“राम्रो बनाउन अर्कै तरिकाले लाग्नु पर्छ ।” ऊ कुनै काममा हतारिए जस्तै गर्न थाल्यो । म पनि ऊबाट बिदा हुन खोजेँ ।
“यो सबै कालो चश्माको कमाल हो बुझिस् ! अब जता जानु पर्छ जा ” कुबेर यस्तो भन्दै आप्mनो बाटो लाग्यो ।
कालो चश्मा लगाउनुको अप्mटयारो महसुस गर्दै म आप्mनो कार्यकक्षतिर आएँ । हाकिम म बस्ने कोठा मै बसेर मेरो प्रतिक्षा गरिरहेको रहेछ ।
“कल्याणजी !आइ एम भेरी सरी मलाई ति नागरिकताका प्रमाणपत्रहरु दिनु होला । मेरो टेलिफोन खानेपानीका कार्डहरु पनि तपाईसँगै छन् । तिनीहरु पनि मलाई फिर्ता दिनुस् ।” हाकिम मेरो अनुहारतिर नहेरिकनै भट्भटाइरहेको थियो ।
मैले हतारहतार गर्दै उसका भएका सामानहरु फिर्ता दिएँ । उसले आप्mना सामानहरु खामभित्र हाल्यो । मसँग धेरै कुरा गर्ने उसको रुची नभएको कुरा मैले राम्ररी बुझिसकेको थिएँ ।
“ल है त ! कल्याणजी ! कहिलेकाहिँ काज, ओ.टी. केही चाहियो भने सम्झनुहोला । म तपाईलाई सहयोग गर्छु ।”
ऊ यसो भन्दै आप्mनो कार्यकक्षतिर लम्कियो ।
भित्र पुगेर हाकिमले तुरुन्त घण्टी बजायो । हरिप्रसाद फेरि दौडिँदै भित्र गयो । अब उसले मलाई बोलाउन घण्टी बजाएको होइन भन्ने कुरामा म द्विविधामुक्त थिएँ ।
“सरलाई कालो चश्माले सुहाउँदो रहेनछ ।” हरिप्रसाद बाहिर निस्कदै मलाई हेरेर हाँस्यो ।
“सुहाउन लगाएको होइन, बाध्यताले लगाएको हुँ ।”
मैले पनि सिधै जवाफ दिएँ ।
“सर ! सबैले लगाको देख्दा मलाई पनि लाउँलाउँ लागेको छ ।” उसले आँखा चिम्म पार्दै भन्यो ।
“मैले कुनै सपना त देखिरहेको छुईन ?” कालो चश्मा फुकालेर आँखा पुछेँ ।
म वास्तवमा विपनामै थिएँ ।

मधुपर्क मासिक, वर्ष ४१ अङ्क ९ पूर्णाङ्क ४७६, २०६५ माघ

भत्किएको घरनेर

आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, मन्त्री हुन्छ भन्ने अनुमान गरेर प्रायजसो भेटघाट गरेर जान्थे । तर अहिले उनीहरुको अनुमान ठ्याक्कै असफल भयो । मन्त्री बन्ने लडाइँमा म कहिल्यै पनि सहभागी भइनँ । तापनि पार्टी सरकारमा गएको बेला धेरै नातेदारहरु भेट्न आए । केहीले मात्र सार्वजनिक र विकासका काम लिएर आउँथे । नत्र सबैको उही समस्या हुन्थ्यो । जागिर, सरुवा, बढुवा र यस्तैयस्तै । मैले उनीहरुका व्यक्तिगत समस्यालाई प्राथमिकता दिने र उत्प्रेरित गर्ने कुरै थिएन । विचारका कारण नजिकिनेबाहेक अरु सबै मबाट बिस्तारैबिस्तारै टाढा भए ।
कमरेड आदित्यको व्यक्तिगत जीवन त झनै खण्डहर भयो । उसलाई छाडेर उसकी श्रीमतीले दोस्रो विवाह गरिन् । छोराछोरीहरुको पढ्न त के बाँच्नलाई नै ठूलो सङ्घर्ष गर्नुप¥यो । पार्टी फुटेपछि हामी अलगअलग हुन पुग्यौं । अहिले सुन्दैछु– क्यान्सर रोगले ग्रस्त छ ऊ । चोखो मन बोकेर आन्दोलन, क्रान्ति, परिवर्तन भन्दै कुद्यो । पैत्रिक सम्पत्ति पनि प्रशस्त थियो । पूर्ण इमान्दार भएर सम्पत्ति पार्टीकरण ग¥यो । पार्टी फुट्दै गएपछि सानो समूह मात्र बाँकी रह्यो । तराईतिरका साथीहरुको संरक्षणमा बसेको छ भन्ने सुनेको छु । भेट हुन नपाएको पनि धेरै भइसक्यो । पार्टीमा आएको विखण्डनपछि क. शैलेस र क. विपिन पनि टाढा भए । उनीहरुको व्यक्तिगत जीवन पनि दुःखैदुःख र कष्टैकष्टका बीचबाट गुज्रियो ।
  
रात यति निरस र कठोर हुँदोरहेछ भन्ने कुरा मलाई आज पहिलोपल्ट अनुभव भयो । ओछ्यानमा पल्टिएर ननिदाइकनै रात छर्लङ्ग कटाएको यो मेरो पहिलो अनुभव हो । पार्टीको सम्मेलन, भेला, बैठकहरुमा नसुतीकन रात बिताएका मसँग प्रशस्त अनुभवहरु छन् । तर ती अनिँदा रातहरु कतै पनि पीडादायक बन्दैनथे । बरु एउटा काम सकिएर नयाँ काममा प्रवेश गरेपछि एकप्रकारले आनन्दको महसुस हुन्थ्यो मलाई ।
कमरेड रमणको हिजोको कुराले म साँच्चै अनकण्टार छाँगाबाट खसेजस्तै भएँ । पार्टी र साथीहरुको सोच्ने स्तर यतिसम्म तल झरिसकेको कुरा मैले पहिलोपल्ट अनुभव गरें । लामो समय भएकाले म मजदुर सङ्गठनको अध्यक्षबाट बिदा लिन चाहन्थें । मभन्दा पछाडि पनि प्रशस्तै साथीहरु थिए, जसले त्याग र बलिदानका धेरै गल्छेँडाहरु छिचोलिसकेका थिए ।
अब नयाँ बाटो खोज्नु सिवाय मसँग कुनै विकल्प थिएन । म हिजोको घटना बिर्सन चाहन्थेँ । टाउको पनि फुट्लाजस्तो गरेर दुखिरहेको थियो । टाउको दुख्नुको कारण पनि हिजोकै घटनाबाट सिर्जित मानसिक तनाव नै थियो । केही साथीहरु सम्झन्छु– कमरेड रघु, कमरेड विपिन, कमरेड शैलेस, कमरेड आदित्य आदि आदि । हिजोदेखि ती साथीहरु मेरो मानसपटलमा बारम्बार आइरहेका छन् । क्रान्तिका लागि व्यक्तिगत जीवनको कुनै पर्वाह गरेनन् तिनीहरुले ।
पार्टीले संसदीय राजनीतिलाई उपयोग गर्न थालेपछि उनीहरुको व्यक्तिगत जीवन झनै खण्डहर भयो । पार्टीभित्र हुर्कन थालेको सामूहिक जीवनपद्धति भताभुङ्ग भयो । अत्यन्त कष्टका साथ उनीहरुले काम गरिरहेका छन् । निजी सम्पत्ति भएकाहरु व्यवस्थित भए । इमान्दार भएर क्रान्तिमा लाग्ने कमरेडका परिवारका सदस्यहरु कोही मलेसिया, कोही कता, कोही दुबइमा पुगेर कामको खोजीमा भौँतारिइरहेका छन् । सक्नेले छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढाए । कतिले त त्यति गर्न पनि सकेनन् । पार्टी सरकारमा भएको बेलामा पनि हामीमध्ये धेरै साथीहरु व्यक्तिगत काम बोकेर मन्त्रालय धाएनौं । सहिद परिवारको समस्या, अन्य सामुहिक समस्याहरु नै हाम्रा प्राथमिकतामा परे ।
हुन त हाम्रो पार्टी एकैपटक यो ठाउँमा आइपुगेको होइन । वैकल्पिक शक्ति बन्ने हैसियत राखेपछि हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको सङ्ख्या एक्कासी बढ्यो । तिनीहरुले नीतिगत निर्णय गर्ने ठाउँसम्म पहुँच पु¥याए । सरकारमा जाने, पद र सुविधाहरु प्राप्त गर्ने कुरामा पार्टीले मरिमेट्न थाल्यो । त्यसपछि हाम्रो पार्टीले आदर्श र सिद्धान्तहरु छाड्दै गयो । सांसद, मन्त्री, जिएमजस्ता पदहरुका लागि तँछाडमछाड चल्न थाल्यो । क्रान्ति, परिवर्तन, मुक्तिजस्ता उद्देश्यहरु अब बिस्तारै गफ गर्ने विषयहरु मात्रै बन्न थाले ।
  
अधिकांश साथीहरु मेरो निर्णयबाट वास्तवमै आश्चर्यचकित भएका थिए । परिवार र केही आफन्तहरु वास्तवमै चिन्तित भए । व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने कार्यक्रम मजस्ता क्षेत्रीय तहका कार्यकर्ताका लागि बाध्यकारी थिएन । पार्टीको माथिल्लो नेतृत्व तहमा बस्नेहरुका लागि त्यो बाध्यकारी बनाइएको थियो । पार्टीको यो निर्णय आउनुभन्दा अघि नै मलगायत कमरेड रघु, कमरेड विपिन, कमरेड शैलेस र कमरेड आदित्य निजी सम्पत्ति राखेर क्रान्ति अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेका थियौं । पार्टीको त्यो निर्णयले हाम्रा लागि झनै उत्साह थपिदियो ।
पार्टीले नेतृत्वको सम्पत्ति पार्टीकरण गर्ने निर्णय समाचार बनेर बाहिर आएपछि धेरैतिरबाट प्रतिक्रियाको बाढी आयो । निजी जीवनलाई आर्थिक रुपले सम्पन्न बनाउँदै कम्युनिस्ट पार्टीको नेतृत्वमा रहिरहेका आवसरवादीहरुले कथित सिद्धान्त निर्माण गरेर विरोधका स्वरहरु उचाले । तर अन्य कम्युनिस्ट पार्टीमा रहेका बौद्धिकहरुको एउटा तप्काले खुलेरै समर्थन ग¥यो । मजदुर सङ्गठन झनै उत्साहित भयो ।
पार्टीको निर्णय आउनेवित्तिकै मैले आफ्नो अंशभागको सम्पत्ति बेचविखन गरें । सम्पत्ति बेचेर पार्टीलाई बुझाएको दिन साथीभाइ र आफन्तहरुको एउटा हिस्साले हाम्रो तारिफ ग¥यो । त्यस दिन घरभित्र केहीको अनुहारमा एउटा कालो छायाँ दोप¥यो । मेरो बुबा सबैभन्दा बढी दुःखी देखिनुभएको थियो । श्रीमती उषाको हाँसो धेरै दिनसम्म हरायो ।
“दुईवटी छोरीहरु भर्खर स्कुल जान थालेका छन् । उनीहरुको भविष्य कस्तो हुने हो ?”, उषाले यति मात्र भनिन् ।
“गरिब नेपालीहरुको जीवनभन्दा हामीले माथि सोच्नु हुँदैन । त्यसमाथि हाम्रो पार्टी त छँदै छ नि !” मेरो कुरो सुने पनि उनले कुनै प्रतिक्रिया जनाइनन् ।
“सम्पत्ति पार्टीलाई बुझाएपछि केही नेताहरुले पश्ताचाप गरेका घटनाहरु पनि मैले सुनेको छु ।” मैले आफ्नो निर्णय सार्वजनिक गरेपछि बुबा बारम्बार यस्तै तर्कहरु गरिरहन्थे ।
बुबा कम्युनिस्ट आन्दोलनका पुराना कार्यकर्ता थिए । उनी आन्दोलनमा लामै समय हिँडे । पूर्णकालीन कार्यकर्ता बनेर पनि हिँडे । मान्छे रोगी थिए । सोचेजति हिँड्न सकेनन् । बाबुबाजेले जोडिदिएको जग्गाजमिन पुग्दो थियो । सम्पत्ति छेलोखेला पनि थिएन, के लाऊँ के खाऊँ भन्ने पनि थिएन । घरको एक्लो छोरो थिए, त्यसैले पनि आर्थिक रुपले उनले कुनै कष्ट उठाउनु परेन । मैले सबभन्दा पहिले आफ्नो निर्णय उनलाई सुनाएको थिएँ ।
“पार्टीलाई सर्वश्व ठान्दै सम्पूर्ण त्याग गरेर हिँड्ने कमरेडहरुको जीवनको अन्त्य धेरै दुःखदायी भएको देखेको छु ।” बुबाले मलिन अनुहार लगाएर मतिर हेरेर भनेका थिए ।
“मेरो अन्त्य दुःखदायी हुनसक्छ, त्यो अर्कै कुरा हो । तर व्यक्तिगत सम्पत्ति राखेर सर्वहाराकरणको बाटोमा हिँड्नुपर्छ भन्ने शिक्षा प्रचार गर्न मलाई एकदमै अप्ठ्यारो लाग्यो ।” उनलाई मैले मेरो मनको कुरो खोलिदिएँ ।
“कम्युनिस्ट पार्टीमा हिँडेका तेत्तिका पढेका मान्छेहरुले पनि त्यसरी सोचेका छैनन् । तैंले नै किन त्यसरी सोच्नुपर्छ ?” मेरो निर्णय फिर्ता गराउन उनले निकै कोसिस गरिरहेका थिए ।
“अरुले के गरे भन्दा पनि मैले कसरी राम्रो गर्ने हो भन्ने पो मूल कुरा हो त !” मेरो योजनाबाट पछि फर्काउन चाहने बुबाका तर्कहरुलाई म यहीँ अन्त्य गराउन चाहन्थें ।
“तैंले यसरी सोच्नुहुन्न बुझिस् !” तर्क गर्न नसकेपछि अन्तिममा यसो भनेर बिट मार्ने बानी थियो उनको ।
भाइ कैलाश गाउँकै एउटा विद्यालयमा शिक्षक थियो । बुबा उसैसँग बस्थे । जागिर पनि भएको कारण उसको आर्थिक अवस्था राम्रै थियो । तर मेरो आर्थिक अवस्था झन्झन् कमजोर बन्दै गएकोमा बाबु बढी नै चिन्तित हुँदै गएको म राम्ररी बुझ्दथें ।
मलाई यो विषयमा धेरै हल्ला हुनु ठीक लागिरहेको थिएन । साथीहरुसँग नियमित छलफल हुनु स्वाभाविक थियो । अहिलेको जीवनशैलीले सर्वहारा वर्गको नेतृत्व गर्न सकिँदैन भन्ने लागिरहेको थियो । हामी साथीहरुको एउटा समूह यसैगरी सोच्ने गथ्र्यौैं, छलफल गथ्र्यौं ।
पार्टीको मूल नेतृत्वले सम्पत्ति पार्टीकरण गर्नुभन्दा अघि नै हामीले आ–आफ्नो सम्पत्ति पार्टीलाई बुझाइसकेका थियौं । हाम्रो छिटोपनले गर्दा नेतृत्व तहका कयौं कमरेडहरु हामीसँग भित्रभित्रै मुर्मुरिरहेका थिए । पार्टीका वरिष्ठ नेताहरुले सम्पत्ति लुकाउन थालेका समाचारहरु अखबारका पानाहरुमा आइरहेका थिए । अखबारहरुले हाम्रो निर्णयलाई हौस्याउँदै पार्टी नेतृत्वलाई व्यङ्ग्य गरिरहेका थिए । हामीलाई त्यसले झनै उत्साहित बनाइरहेको थियो ।
कमरेड दीक्षान्तले सम्पत्ति लुकाएको समाचारलाई पत्रपत्रिकाले महत्वका साथ प्रचार गरिरहेका थिए ।
“कमरेड दीक्षान्तले सम्पत्ति लुकाए ।” मालपोत कार्यालयमा गरिएको राजीनामाको कपिसमेत छापेर चर्चित राष्ट्रिय दैनिक ‘कन्चनजङ्घा’ले आफ्नो मुखपृष्ठमा समाचार प्रकाशित ग¥यो ।
केही चलाख र धुर्त नेताहरुले आफ्नो अचल सम्पत्ति देखाएर ‘पार्टीले आवश्यकताअनुसार चलन गर्नू’ भनेर पन्छिए ।
पत्रपत्रिकाहरुमा मात्र होइन, सभा, सम्मेलन, गोष्ठीहरुमा समेत यी विषयहरु त्यसबेला चर्चाको शिखरमा थिए ।
  
“तपाईंसँग सानो कुरा गर्नुछ, साँझतिर भेट्नुपर्ला हैं !” रत्नपार्क शान्तिबाटिकाको विरोध लुजुसलाई समापन गर्नेवित्तिकै मजदुर सङ्गठनका फ््रयाक्सन इन्चार्ज कमरेड रमणले मेरोनजिकै आएर खुसुक्क भने ।
“साँझमा भन्दा अहिले नै भेट्न मलाई सजिलो हुन्थ्यो ।” साँझमा भिमढुङ्गाको एउटा बैठकमा सहभागी हुनुपर्ने भएकाले मैले उनलाई अहिले नै छलफल गर्न अनुरोध गरें ।
मजदुर सङ्गठनको राष्ट्रिय सम्मेलनका लागि तयारी अन्तिम अन्तिम चरणमा पुगिरहेको थियो । कमरेड रमणले त्यही बारेमा छलफल गर्न खोजेका होलान् भन्ने लख काटेँ । मैले मजदुर सङ्गठनको अध्यक्ष भएर काम गरेको पनि धेरै लामो समय भइसकेको थियो । म आफैंले पनि सक्षम साथीको खोजी गरिरहेको थिएँ । मजदुरआन्दोलनभित्र प्रतिबद्ध र इमान्दार कार्यकर्ताको ठाउँमा व्यक्तिगत स्वार्थले चुर्लुम्म डुबेका कार्यकर्ताको बोलवाला चल्न थालेको थियो । मजदुर सङ्गठनभित्रका कार्यकर्ताहरु नवधनाढ्य बनिरहेका थिए । सम्पत्तिको स्रोत पारदर्शी छँदै थिएन । पैसा, तिकडम र जालझेल मौलाउँदै थियो । धेरैतिरबाट प्रश्न उठेपछि ससुरालीबाट प्राप्त भएको भन्ने सजिलो उत्तर तयार हुन्थ्यो । ठगहरुलाई ससुरालीको आर्थिक जीवन अत्यन्तै कमजोर भएको हेक्कै हुँदैनथ्यो । यो प्रवृत्तिका विरुद्ध पनि सङ्घर्षको झन्डा उठाउने नयाँनयाँ साथीहरु आन्दोलनभित्र आइरहेका थिए । तर पनि सङ्गठनभित्र नेता एवं कार्यकर्तामा सांस्कृतिक मूल्यको ह्रास भइरहेको थियो ।
“त्यही रेस्टुरेन्टभित्र गएर छलफल गरौं ।” कमरेड रमणले नजिकैको एउटा रेस्टुरेन्टतिर औँला देखाए ।
हामी रेस्टुरेन्टको एउटा कुनामा गएर बस्यौं । उनले दुई प्लेट मःमः र दुई कप चिया अर्डर गरे ।
मजदुर सङ्गठनको नेतृत्वका बारेमा पार्टीले गरेका निर्णयहरु सुन्न म उत्सुक भइरहेको थिएँ ।
“कमरेड नवीन !” उनले मतिर हेरे । केही बोल्न खोजे । फेरि हच्किए ।
“कमरेड पार्टीले आज मात्रै एउटा निर्णय लियो । त्यसमा मेरो भूमिका छ भन्ने ठान्नु होला । तर मेरो भूमिका केही पनि छैन ।” आफ्नो मुखाकृतिलाई अलिअलि बिगार्दै भने उनले ।
“के निर्णय ग¥यो ? जे ग¥यो ठीकै त ग¥यो होला नि !” मैले उनलाई हाँसेर जवाफ दिएँ ।
मैले अध्यक्ष पदका लागि पार्टीले अर्को मान्छे तयार गरेछ भन्ने बुझिसकेको थिएँ । उपयुक्त व्यक्तिलाई नेतृत्वमा लानुपर्छ भन्ने मेरो पनि सोच थियो । तर त्यसका लागि केही समस्या पैदा भइरहेको थियो । कमरेड दिनेश, कमरेड हिमाल, क. जितमानजस्ता साथीहरु थिए । त्याग, बलिदान, इमान्दारिता, प्रतिबद्धता र क्षमतासमेत भएका एकएक साथीहरु थिए । यिनीहरुमध्ये छान्नुपर्ने थियो । यी सबै समानजस्ता लाग्दथे । यीमध्ये कसलाई चाहिँ छान्यो होला भन्ने मभित्र कौतुहल भइरहेको थियो ।
“कमरेड शक्तिलाई पार्टीले अध्यक्ष बनाउने निर्णय गरेको छ ।” त्रास मिश्रित स्वरमा बोले उनी ।
“उनलाई कसरी ?” म अचम्मित भएँ । “धेरै छलफल गरेर पार्टीले यो निर्णय लिन पुग्यो । तर मेरो कुनै भूमिका छैन है कमरेड ।” उनको स्वर कतैकतै थर्थराइरहेको जस्तो लाग्थ्यो ।
“दोहोरो भूमिका खेल्ने यो झन् अवसरवादी छ । कमरेड शक्तिलाई लिएर काठमाडौंका रेस्टुरेन्ट चहार्दै यसलाई फुर्सद छैन । इन्चार्ज यही हो । आफ्नो भूमिका छैन भनेर पन्छिन खोज्छ ।” म मनमनै कमरेड रमणको मूल्याङ्कन गरिरहेको थिएँ ।
“काम गरिरहेका साथीहरुको तुलनामा पछिल्लो पुस्ताको मान्छे र सांस्कृतिक दृष्टिबाट अन्यन्त कमजोर मान्छेबाट कसरी नेतृत्व हुन सक्छ ?” मैले उनीसँग यो निर्णयको थप पृष्ठभूमि खोजिरहेको थिएँ ।
“पार्टीको निर्णय कार्यान्वयन गर्नबाहेक हामी के गर्न सक्छौं र ?” उनी बारम्बार यस्तै लाचारी प्रकट गरिरहेका थिए ।
“कसरी भयो यस्तो निर्णय ?” म उनीबाट केही कुरा सुन्न जिज्ञासु थिएँ ।
“आर्थिक रुपमा सवल मान्छेलाई नेतृत्वमा लैजानुपर्छ भन्ने धेरै कमरेडहरुको धारणा रह्यो ।” यति भनेर उनले फेरि मेरो अनुहारतिर हेरे ।
“यो त झनै खतरनाक कुरा हो । सम्पत्ति पार्टीकरण गर्नुपर्छ भनेर घोषणा गर्ने पार्र्टीले आर्थिक रुपमा सवल मान्छे नेतृत्वका लागि भनेर कसरी खोज्न मिल्छ ?” मेरो कुराले उनी लकपकाए ।
“अब निर्णय स्विकार्नु सिवाय हामीसँग कुनै उपाय पनि छैन ।” उनले फेरि उही कुरा दोहो¥याए ।
“आर्थिक रुपमा उनी झनै विवादास्पद छन् । उनी बसेको घरबाहेक लाजिम्पाटमा अर्को ठूलो भव्य महल भएको जानकारी आएको छ । काठमान्डुमा प्रशस्त जग्गाजमिनहरु उनले जोडेको चर्चा सङ्गठनभित्र व्याप्त छ । पैत्रिक सम्पत्तिको दृष्टिले उनी कमजोर आर्थिक अवस्था भएका मानिस हुन् । त्यसो भए नेतृत्वमा पुग्ने महत्वपूर्ण कडी यही भयो होइन त ?” कमरेड रमण यो तथ्यसँग जानकार भए पनि मैले फेरि दोहो¥याएँ । कमरेड रमणले मेरो कुरा सुनिरहे ।
“अब हाम्रो पार्टीमा नेतृत्वको मापन पैसा हुने भयो होइन त !” म उनीबाट अरु छलफल गर्न चाहन्थें । मलाई जीवनमै नउठेको आक्रोश पैदा भइरहेको थियो ।
“पार्टीको यो निर्णय राम्रो त होइन, तर …” कमरेड रमण बोल्न खोज्दै थिए ।
“त्याग र बलिदान गरेका त्यतिका साथीहरुले यो सङ्गठनको झन्डा उठाइरहेका छन् । त्यस्ता भ्रष्टको नेतृत्वमा अब तिनीहरुले कसरी काम गर्छन् !” मेरो रिसले टाउको दुख्न थालिरहेको थियो ।
“अब पार्टीको निर्णय स्विकार्नु सिवाय हामीसँग कुनै उपाय पनि त छैन ।” सुकेका ओँठहरु फर्फराउँदै उनी लाचारी प्रकट गरिरहेका थिए ।
“किन छैन ?” म कड्किएँ ।
“के छ ?” उनी उत्सुक भए ।
“विद्रोह !” म रेस्टुरेन्टको कोठै थर्किने गरी कराएँ । उनी चुप लागे ।
“यो निर्णयले अनैतिक र भ्रष्ट पार्टीको रुपमा गुणात्मक फड्को मा¥यो ।” मैले पनि उनीसँग यसरी कुरो टुङ्ग्याउन खोजें ।
कमरेड रमणको टेबुलमा मःमःको प्लेट रित्तिसकेको थियो । उनी हडबडाउँदै चिया पिएर अर्को मिटिङमा जानु छ भनेर हिँडे । म पनि एकदुई पिस मःमः र अलिकति चिया पिएर निस्किएँ ।
“पार्टीलाई बिगार्न सफल हुनुभयो ।” उठ्दाउठ्दै उनीप्रति व्यङ्ग्य गरें मैले ।
मेरो कुरा नसुनेजस्तो गरे उनले । दोहोरो कुरा गर्ने चरित्र थियो उनको । त्यही सिप र कलाको प्रयोग गरेर उनी पार्टीको नेतृत्वमा पुगे ।
बाहिर निस्केर हेरें, आकाश कालो बादलले ढाकिसकेको थियो । कमरेड रमण मलाई छाडेर परै पुगिसकेका थिए ।
एकपटक आफ्नो अतीततिर फर्किएर सोचें !
आफूले जीवनमा गरेका निर्णयहरु सबै सही थिए । ठगहरु सर्वहारा वर्गको झनडा बोकेर व्यापार गर्न आएका थिए । उनीहरु सफल भए ।
आफैंलाई फर्किएर सोच्दासोच्दै म बागबजारनेरको मोडमा पुगिसकेको थिएँ । बाटोको छेउमै मानिसहरुले एउटा घर भत्काइरहेका थिए ।


मूल्याङ्कन मासिक, वर्ष–२७, पूर्णाङ्क–१७५, २०६६ असोज

खाडल

‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य नै भए । त्यो कथा प्रकाशित भएपछि रामप्रसाद आचार्य र शान्ता बनेका मेरा आफन्तहरु अहिलेसम्मै रिसाइरहेका छन् । कतै बाटोमा भेट्दा पनि अझै छलिएर हिंड्छन् ।
हाम्रा गाउँहरुबाट काठमाडौं सहर भित्रिएपछि काठमाडौंमा रामप्रसाद आचार्य र शान्ताहरुले एउटा भिन्न संस्कृति बोकेको समाजको निर्माण गरिसकेका थिए । जुनसुकै तरिकाले सम्पत्ति कमाउनु उनीहरुको एकमात्र उद्देश्य हुन्थ्यो । भन्सार, अन्तःशुल्क, कर र मालपोत जस्ता कार्यालयहरु त्यहाँ चर्चामा आइरहन्थे । त्यस्ता ठाउँहरुमा जागिर खानेहरुको त्यहाँ ठूलो इज्जत हुन्थ्यो । जन्मेको माटो, पहाड, आफ्नो गाउँ, पाखा–पखेरा, गरिब आफन्तहरु खिसीट््युरी गर्ने विषयहरु हुन्थे । त्यो समाजमा भष्टाचार राम्रो मौका र भाग्यका रुपमा स्थापित थियो । इज्जतको मापन गर्ने साधन सम्पत्ति थियो । निष्ठा, विवेक र मानवीय नैतिकता अपमानित थियो । मेरो यसपटक फेरि रामप्रसाद आचार्य र शान्तासँग भेट भयो ।
यसपटकको रामप्रसाद आचार्य र म सहपाठी मात्र थिएनौं, एउटै जङ्गलमा गाईवस्तु चराउँदै हुर्केका दौंतरी पनि थियौं । खोलाको एउटै दहमा पौडी खेलेर हुर्केका साथी–संगाती थियौं । पहिल्यै नै पनि रामप्रसाद मेरो साथी त थियो तर ऊ अरू साथीहरुभन्दा भिन्न थियो । त्यसबेला पनि उसको स्वभाव देखेर हामी सबै साथीहरु उसलाई केही टाढै राख्न चाहन्थ्यौं । ऊ हाम्रा नजिक आइहाल्यो भने हामी अनेक शङ्का उपशङ्काले ग्रस्त हुन्थ्यौं । कुनै फाइदा लिनुप¥यो भने मात्र ऊ हाम्रा अघिल्तिर आउँथ्यो । कहीं अरु साथीहरुसँग झगडा गथ्र्यो र उनीहरुसँग लड्न हामीलाई उपयोग गर्न चाहन्थ्यो । ऊ बाटोमा कसैलाई धम्की दिन्थ्यो र उनीहरुसँग लड्न हाम्रो सहायता खोज्थ्यो । पसलहरुमा खाएको उधारो तिर्दैनथ्यो र पसलेलाई धम्क्याउन हाम्रो सहयोग चाहन्थ्यो । यस्तैयस्तै कामका लागि उसलाई हामी चाहिन्थ्यो । जब हामीबाट यस्ता कामहरुका लागि कुनै सहयोग प्राप्त हुँदैन भन्ने थाहा पाएपछि ऊ अलिक टाढा हुन्थ्यो । होटल, पसलतिर हामीले किनेर खानेबेलामा टुप्लुक्क हाँस्तै पुग्थ्यो । ऊ आफूले किनेर खानुपर्ने बेलामा हामीबाट पूरै भूमिगत हुन्थ्यो । हामी उसको कुरा बुझिहाल्थ्यौं ।
रामप्रसाद हामी सबैभन्दा आर्थिक रुपमा सम्पन्न थियो । ऊ पण्डित भोलाप्रसादको एक्लो छोरो । हामीले गाउँको विद्यालयबाट सँगसँगै एस.एल.सी. पास ग¥यौं । त्यसपछि काठमाडौं गएर पढ्ने हामीसँग कुनै सामथ्र्य थिएन । हामीमध्ये उच्च शिक्षा अध्ययनका लागि ऊ मात्र काठमाडौं गयो । हामी नसक्नेहरु विभिन्न पेसा व्यवसायतिर अल्झियौं । म नजिकैको एउटा प्राथमिक विद्यालयमा शिक्षक भएँ ।
काठमाडौं गएको बेला एकदिन रामप्रसादलाई मैले पुतलीसडकको चोकमा भेटेको थिएँ । मैले त्यसबेला एकछिन कतैतिर बसेर ऊसँग केही कुरा गर्न चाहेको थिएँ । ऊसँग धेरै वर्षपछि भेट भएको थियो । पहिले पहिले दसैंको समय पारेर पहाड जान्थ्यो ऊ । तर धेरै वर्ष भइसकेको थियो ऊ पहाड नगएको । त्यसैले हाम्रो भेटघाट नभएको पनि निकै वर्ष भइसकेको थियो ।
रात्री बसबाट काठमाडौंको नयाँ बसपार्कमा ओर्लेपछि त्यसबेला म सिधै कर्मचारी सञ्चयकोषको कार्यालय ठमेल गएको थिएँ । सञ्चयकोषको काम अरु दुई तीन दिन लाग्ने भएकाले कार्यालयको समय सिद्धिने बित्तिकै मैले बागबजारको एउटा लजमा आश्रय लिएँ । लजको कोठामा झोला राखेर बेलुकापखको काठमाडौं हेर्ने रहरले बाहिर सड्कतिर निस्किएँ । पुतलीसडकको चोकनेर उभिएर टोलाइरहेको मात्र के थिएँ, रामप्रसादलाई मैले टाढैबाट आउँदै गरेको देखें । उसलाई देख्नेबित्तिकै सहरको एकान्तपनबाट मुक्त भएझैं लाग्यो मलाई ।
मलाई देख्नेबित्तिकै ऊ एकाएक अक्मकियो । भरखरै मात्र उसले लोकसेवा आयोगबाट अधिकृत परीक्षा पास गरेको खबर गाउँमा वेगमय गतिका साथ पुगेको थियो । काठमाडौं गएका बेला उसलाई भेट्ने योजना पनि थियो मेरो । भेटेर बधाई दिने सोचाइ थियो । तर ऊ मसँग झस्किएको देखेर त्यसबेला आश्चर्यचकित भएको थिएँ ।
‘अधिकृत पास गरेछौ बधाई छ हैं !’ हात समातेर नजिक तान्दै मैले भनें ।
‘धन्यवाद !’ ऊ फिस्स हाँस्यो ।
‘कहाँ बस्छौ ?’ उसलाई सहज बनाउन खोजें ।
‘बानेश्वरमा !’ ऊ झन् असहज देखियो ।
‘एकछिन कुनै चिया पसलतिर बसौं न ! तिमीलाई भेट्नु पनि थियो मैले ।’ मैले नजिकैको चिया पसलतिर सङ्केत गर्दै भनें ।
‘होइन ! मलाई हतार छ ।’ मेरो हातबाट आफ्नो हात छुटाउँदै भन्यो उसले ।
‘मलाई हतार छ म हिंडे है ल !’ राती असमयमै उठेजस्तो मुख लाउँदै ऊ अझ पर हट्यो ।
‘चियाको पैसा म तिरिहाल्छु नि ।’ पैसा तिर्नुपर्ला भन्ने अप्ठ्यारो मानेजस्तो सोच्दै भनें मैले ।
ऊ निकै पर पुगिसकेको थियो । कुद्दै गएँ र भने, ‘पहाडबाट तिम्रो बुबाले खबर ल्याइदिनु भन्नुभएको छ । केही छ कि !’ सोध्नुपर्ने कुरा हतारिएर सोधें ।
‘ठिकै छ रे भन्देऊ न !’ पर पुगेर टाउको हल्लायो उसले ।
पुतलीसडककको बारमा उभिएर मैले निकैबेरसम्म उसलाई हेरिरहें । बी.ए. पास गरेर अधिकृत भइसक्दा पनि ऊ परिवर्तन भएको रहेनछ । त्यसपछि उसलाई फेरि भेट्ने योजना मैले त्यागिदिएँ ।
रामप्रसादका बारेमा गाउँमा विभिन्न टिप्पणीहरु हुन्थे । कुनै कुनै टिप्पणीहरु रोचक पनि हुन्थे । रामप्रसादको बारेमा गाउँमा एकपटक यस्तो पनि सुनिएको थियो – उसका बाबु छोरो भेट्न काठमाडौं आएछन् र छोरालाई टेलिफोन गरी आफू पशुपतिको धर्मशालामा बसेको जानकारी दिएछन् । सात दिन बस्दा पनि छोरो लिन आएनछ । आठौं दिनमा उनी छोराको अफिस खोज्दै पुगेछन् । विभिन्न बहाना बनाएर रामप्रसादले बूढालाई बसपार्क पु¥याएर त्यहीदिन घर फर्काइदिएछ ।
यो कुरा सुनाएर पण्डित बूढालाई हामी कहिलेकाहीं जिस्क्याउँथ्यौं ।
‘पण्डित बा ! काठमाडौंतिर गएर बस्ने होइन त !’ हामी गफ गरेर समय बिताउनुपर्दा बूढासँग कुरा खोतल्थ्यौं ।
‘मेरा छोरा बुहारी त अर्कै लोकबाट आएका जस्ता छन् ।’ पण्डित बूढा आधा झरिसकेको दाँत देखाउँदै हाँस्थे ।‘हामीलाई गाउँका मान्छे मन पर्दैन ।’ गाउँतिरबाट कोही उनीहरुको घरमा पुगिहाले भने उनीहरु हाक्काहाक्की भन्थे भन्ने हल्लाहरु बेला–बेलामा सुनिरहन्थ्यौं हामीहरु ।
  
महिना दिन नाघिसक्यो, पण्डित भोलाप्रसादलाई रोगले झनै चाप्दै लग्यो । एक सय दुई डिग्रीबाट ज्वरो तल नझरेको पनि एकहप्तै भइसक्यो ।
‘अब बूढा फर्केलान् जस्तो छैन ।’ उनलाई घरमा भेट्न आउने आफन्तहरु यस्तै टिप्पणी गर्दै बाहिर निस्कन्थे ।
पण्डित भोलाप्रसादलाई गाउँका मान्छेले मात्र नभएर टाढा–टाढाका मान्छेहरुले पनि सम्मानका आँखाले हेर्थे । पण्डित भएर पनि समाजसेवाका सम्पूर्ण क्षेत्रमा उनको सक्रिय उपस्थिति थियो । राणा शासनको उत्तराद्र्धदेखि वर्तमान समयसम्मको जीवित इतिहास थिए उनी ।
दिउँसो घाम तात्तिँदै गएपछि पण्डितको आँगनमा मान्छेहरुको चहलपहल क्रमशः बढ्दै जान्थ्यो । केही दिनदेखि यो क्रम झन्झन् बढिरहेको थियो । घरको दलानमा मुठो पारेर राखिएका एकएक वटा गुन्द्री च्याप्दै मानिसहरु आँगनभरि समूह–समूहमा छरिन्थे । बूढापाकाहरु पुराना–पुराना कुरा झिक्थे भने युवाहरु तासका पत्तीमा भुलिन्थे । पण्डितको बिरामी कम हुने सङ्केत कतै पनि देखिएको थिएन । ब्राम्हणबाहेक अरु जातिले छोएको नखाने पण्डितको लागि पालैपालो गरेर गाउँका मानिसहरु आएर खानेकुराको व्यवस्था गरिदिन्थे । पण्डितले घरको छेवैमा कतै पनि घरबार नभएको एउटा मगर परिवारलाई आश्रय दिएका थिए । भान्साको बाहेक सबै काममा त्यो परिवारको उनलाई पूरै भरथेग थियो । बिरामी नहुन्जेल उनी बिहानै नदीमा जान्थे, नुहाउँथे र आएर आफै खाना बनाउँथे । उनी बिरामी भएको केही दिनपछि मधेसतिर घर भएका दुई वटी छोरीहरु आएपछि पण्डितको राम्रो हेरचाह भएको थियो ।
पहिलेदेखि नै पण्डित अस्पतालको कुरो सुन्नै मान्दैनथे । अझ मधेसतिर बसाइँ जाने कुराको उनी सधैं विरोधी भइरहे ।
‘काठमाण्डुमा गएर बसे हुन्छ नि ! तपाईंको छोरो पनि ठूलै जागिरे छ । ठूलाठूला तीर्थस्थल पनि उतै छन् ।’ हामी बेलाबेलामा बूढालाई जिस्काइरहन्थ्यौं ।
‘आ ! त्यस्ता ठाउँमा बसेर मेरो आयु अरु दस वर्ष घट्छ’ पण्डित यस्तो प्रतिक्रिया दिन्थे ।
‘पण्डितले अब आफू बाँच्ने आश मारिसकेछन् !’ मास्टर्नी भाउजूले पण्डितलाई हेरेर बाहिर आँगनमा आउनेबित्तिकै प्रतिक्रिया दिइन् ।
‘किन र ?’ मैले जिज्ञासा राखें ।
‘पहिले–पहिले छोरोको कुनै खोजी गर्दैनथे, ‘एकपटक अनुहार हेर्न बोलाई दिनू भनेका छन् ।’ उनले पण्डितको अवस्थाको सानो विश्लेषण गरिन् ।
‘पण्डितले भन्नुभन्दा पहिले नै हामीले खबर गरिदिएका छौं नि ! उसले बाबुको अवस्था बुझ्न एकपटक पनि हामीसँग सम्पर्क गरेको छैन’, मैले उनको प्रतिक्रियाको जवाफ दिएँ ।
‘त्यस्तो छोरो जन्मनुभन्दा त कोख बाँझै रहेको राम्रो’, मास्टर्नी भाउजू असन्तुष्टि फलाक्दै हिँडिन् ।
  
बेलुकाको खाना खान भान्सामा टुवmुक्क मात्र के बसेको थिएँ, मास्टर्नी भाउजू फेरि हस्याङफस्याङ गर्दै आइपुगिन् ।
‘अब बूढाको प्राण सजिलैसँग जाने भो !’ खुसी हुँदै भनिन् उनले ।
‘किन र ?’ मैले सोधें ।
‘रामप्रसादले आफ्नी श्रीमती पनि लिएर आएछ’, यसो भनेर मास्टर्नी भाउजू फेरि मख्ख परिन् ।
‘हामीलाई पनि अब धेरै सजिलो भयो’, मैले पनि उनीसँग सन्तुष्टि प्रकट गरें ।
पण्डितको स्वास्थ्य दिनदिनै गम्भीर बन्दै गइरहेको थियो । बूढाको मुखमा अन्न नपरेको निकै दिन भइसकेको थियो । अस्ति एक दिन त उनले एक चम्चा पानी पनि मुखमा हाल्न सकेनन् । हामी सबैले करिब–करिब आश मारिसकेका थियौं । महिना दिनदेखि हामी छिमेकीहरुको धेरै समय उनको घरमै बित्ने गरेको थियो । खासै खेतीको समय पनि सुरु नभएकाले पण्डित बिरामी भएपछि दिनभर उनको आँगनमा सानोतिनो बजार लागेजस्तै हुन्थ्यो ।
  
उनीहरुको व्यवहार देख्नेबित्तिकै आगन्तुकहरु एकाएक अचम्मित हुन्थे । कोही जिब्रो टोक्दै बाहिर निस्कन्थे ।
‘मान्छे त यसरी पनि फेरिँदो रहेछ’, रामप्रसादको असामाजिक चरित्रकोे विरोध गर्नेहरु पनि आफ्नो धारणा बदल्न बाध्य भइरहेका थिए ।
म पनि बिहानको खाना खाइसकेपछि रामप्रसादलाई भेट्न उसको घर पुगेको थिएँ । बिस्तारै घाम तात्तिँदै गइरहेको थियो । रामप्रसाद काठमाडैंबाट आएर होला, अरु दिनको भन्दा पण्डितको घरमा चहलपहल पनि अलिक बढी देखिन्थ्यो । घरको दलानमा मुठा पारेर राखिएका गुन्द्री च्याप्दै मानिसहरु घाम लागेका ठाउँमा ओछ््याउँथे र छलफलमा व्यस्त हुन्थे । काठमाडौंबाट बुहारी आएकैले रामप्रसादका दिदीहरु पनि हिजो अस्तिभन्दा प्रफुल्ल थिए ।
‘सन्चै छौ ?’ पुग्नेबित्तिकै मैले रामप्रसादसँग हात मिलाएँ ।
‘ओ हो माधव ! तिमीले मेरो बुबाका लागि ठूलो सहयोग ग¥यौं, त्यसका लागि धन्यवाद छ है !’ ऊ मतिर हेरेर फिस्स हाँस्यो ।
‘यो त हाम्रो कर्तव्य हो नि’, मैले पनि औपचारिकता निभाएँ ।
मसँगको कुरा सक्दा नसक्दै ऊ औषधीका केही पोका बोकेर पण्डितको कोठातिर पस्यो । उसको व्यवहारले मैले उसलाई निकै फरक पाइरहेको थिएँ । अत्यन्त सरल र शिष्ट देखिन्थ्यो ऊ ।
‘अलिकति खाइस्योस् न बाबा, खाइस्योस्’, रामप्रसादकी श्रीमती शान्ताको आवाज भित्र कोठाबाट बाहिरैसम्म आइरहेको थियो ।
‘अब बूढाको सास पनि सन्तोषले जाने भो’, भेट्न आएका मानिसहरुबाट यस्तै कुरा निस्किरहेका थिए ।
  
केही दिनपछि पनि त्यसैगरी म पण्डितको घरमा पुगेको थिएँ । रामप्रसाद थकित अनुहार लिएर आँगनको डिलमा बसिरहेको थियो । उसकी पत्नी शान्ता भित्र कचौरामा दूध लिएर चम्चाले ससुरालाई ख्वाइरहेकी थिइन् ।
‘के तिमी बिरामी भयौ कि के हो ?’ रामप्रसादको थकित चेहरा देखेपछि मैले उसलाई सोधेको थिएँ ।
‘होइन !’ उसले आफ्नो स्वभावअनुसार छोटो उत्तर दियो ।
मानिसहरु घरको पछाडिपट्टि उभिएर केही छलफल गरिरहेका थिए । कोही–कोही छलफलमा निकै गम्भीर पनि बनिरहेका देखिन्थे । पण्डितलाई रोगले बढी च्यापेको अनुमान गरें मैले । रामप्रसादको अनुहारमा देखिएको निराशाले त्यो अनुमान गर्न मलाई कुनै कठिन भएन ।
‘बुबाको बिरामी बढ्यो कि के हो ?’ मैले उसलाई सोधिहाल्न उपयुक्त ठानें ।
‘होइन, हिजोअस्तिको भन्दा राम्रो छ ।’ यसो भनिरहँदा पनि उसको अनुहारमा खुसीको कुनै छाया थिएन ।
‘नरोत्तम काकाहरु घरपछाडि के छलफल गरिरहनुभएको छ ?’ म थप कुरा बुझ्न हतारिएको थिएँ ।
‘हेर न, राती कसले हो, तुलसीको मोठ र घरको आँगनभरि खनेर यस्तो बनाइदिएछ ।’ रामप्रसादले आँगनतिर औंलाले देखायो ।
घर बनाउन खनिएका जगका खाल्डोहरु जस्तै आँगनदेखि तुलसीका मोठहरुसम्मै खनिएको थियो । तुलसीको मोठ पूरै भत्किएको थियो ।
‘राती चोर आएर खनेछ ।’ उसले स्पष्टीकरण दियो ।
‘तपाईंहरुले थाहा पाउनु भएन’, मैले रामप्रसादकी दिदी सरितालाई सोधें ।
‘किन थाहा नहुनु, थाहा भएर पनि के गर्नु !’ सरिताले आँखाबाट आँसु बगाइन् ।
‘कसले ग¥यो त यस्तो ?’ म जिज्ञासु भएँ ।
‘जसले गरे पनि अब छाडिदिऊँ । अरुभन्दा पनि तुलसीको मठ भत्किएको सुनेपछि बुबा झनै दुखित हुनुभएको छ ।’ उनले कण्ठ अबरुद्ध पारिन् ।
‘त्यस्तो गर्नेलाई त छाड्नु भएन नि ! हामी समाजमा यतिका आफन्तहरु छौं ।’ मैले ढाड्स दिन खोजें ।
उसको अघिल्तिर शान्ता उभिइरहेकी थिइन् । र उनी पनि केही निरास जस्तै देखिन्थिन् । सरिताको कुराले मभित्रको जिज्ञासा झनै बढेर गयो । मेरो जिज्ञासाको कुनै उत्तर नदिइकन उनी घरको कोठातिर पसिन् ।
‘चोरले घरको आँगनै किन खन्यो त ?’ मैले नरोत्तम काकालाई सोधें ।
‘गाडधन भएको शङ्का प¥यो ।’ नरोत्तम काकाले केही नसोची उत्तर दिए ।
‘पण्डितसँग प्रशस्त सुनचाँदी र पुराना रुपैयाँ पैसा छन् भन्ने कुरा रामप्रसाद सँगसँगै मैले पनि सुनेको थिएँ । यो हल्ला हामीले सानैमा सँगसँगै सुनेका थियौं’, म अतीततिर फर्किएँ ।
‘चोर खोज्ने झन्झट नगरे हुन्छ’ रामप्रसादकी अर्की दिदी देविकाले हाम्रा छेउमा आएर बिस्तारै भनिन् । ‘किन र नानी ! नरोत्तम काकाले जिब्रो टोक्दै भने ।
पण्डितको स्वास्थ्यमा सुधार देखिएको थियो । भेट्न आएका मानिसहरूसँग उनी दोहोरो कुरा गर्न पनि थालेका थिए । तर रातिको घटनाले उनी फेरि व्यथित भए । हामी गाउँका सबैजना विभिन्न अनुमान र चिन्ताहरू व्यक्त गर्दै दिनभर पण्डितको घरमै बितायौं ।
  
झमक्कै साँझ परिसकेको थियो । मास्टर्नी भाउज्यू हस्याङफस्याङ गर्दै आइपुगिन् । उनी यसरी आइपुग्नु कुनै नयाँ सूचना आउनु हो भन्ने हामी सबैले बुझिसक्थ्यौं । नयाँ सूचना प्राप्त भएपछि उनी एकपटक सबै गाउँ घुम्छिन् । अझ विशेष प्रकारका सूचनाहरू लिएर आउँदा उनको हाउभाउ नै बेग्लै हुन्थ्यो । उनले पहिले पहिलेझैं आउनेबित्तिकै उसैगरी नयाँ सूचनाहरू सुनाउन थालिन् ।
‘तिमेरूले थाहा पायौ, गाडधन छ भन्ने शङ्काले पण्डितको छोरो रामेले सबै घर खनेछ नि !’
‘औषधी र दूध ख्वाउने निहुँमा जतिबेलै पनि दुवैजना छोरा र बुहारीले सम्पत्ति कहाँ गाड्नुभएको छ, हामी नै त होऔं नि । छोराबुहारी भन्थे रे !’
‘तिनीहरू त बूढा बिरामी भएर होइन गाडधन छ कि भनेर पो आएका रे !’
‘ती बिचरा दुइटी दिदीहरूले सम्पत्ति हात पार्ने हुन् कि भनेर पो गाउँ आएका रहेछन् ।’
‘काठमाडौं लैजान भनेर घरका भाँडाकुँडा सबै भारी कसेर ठीक्क पारेका छन्, मैले त आफ्नै आँखाले देखेको ।’
मास्टर्नी भाउजूले यी सबै कुराहरु नरोकिइकन सरासरी सुनाइन् र अर्को घरतिर कुदिन् ।
म विरामी पण्डित र उनलाई स्याहार गर्न आएका दुई वटी छोरीहरुलाई परेको मानसिक चोटको अनुमान गर्दै खाना खान भान्सातिर पसें ।
  
हिजोको घट्नाले र मास्टर्नी भाउजूको कुराले रातभरि निद्रा परेन । रामप्रसाद र मसँगै पढेका सहपाठी । आफैंले पढेर ज्ञान आर्जन गरेको शिक्षासँग आफैलाई अविश्वास लागिरह्यो । यो सम्पत्ति मोहको अमानवीय चिन्तन कतै आफैंभित्र लुकेको त छैन भन्ने डरले आफै आतङ्कित भएँ । म बिहान चिया पिउनेबित्तिकै कुनै थप सम्भावित दुर्घटनाको आँकलन गर्दै पण्डितको घरतिर कुदें ।
भत्किएको आँगनको डिलमा बसेर रामप्रसादका दिदीहरु रोइरहेका थिए ।
‘के भो देविका दिदी !’ म उनीहरुको छेउमा गएँ ।
‘माधव भाइ ! रातभरि भाइ र बुहारीले फेरि अँगेना र चुलोमा सबैतिर ठूलाठूला खाडलहरु खने । बुबाको अवस्था त्यस्तो छ भारी बोक्ने मान्छेहरु खोजेर ल्याएर घरमा भएका राम्रा राम्रा भाँडाकुँडाहरु लिएर गए । त्यो त लगून् उनीहरुकै हो । भाइबुहारी आए भनेर खुसी भएको त बुबालाई समेत यो समाजमा मुखै देखाउन गारो पारेर हिँडे । माधव भाइ, कस्तो शिक्षा पढेको रहेछ मेरो भाइले ?’ रुँदा रुदै बोल्न सकिनन् देविका दिदी ।
पूर्वतिर फर्केर हेरें । महाभारत डाँडाका थुम्काहरुमा घामले आफ्नो अनुहार देखाउन थालेको थियो । रामप्रसाद हिँडेको बाटोतिर नहेरौं भन्दाभन्दै आँखा पुगिहाले । रामप्रसाद र उसकी पत्नी शान्ता केही भरियाहरुलाई अघि लगाएर रिठ्ठेपानीको उकालो काट्नै लागिसकेका थिए । दिदीहरुको रोइरहेको अनुहार हेरें । भित्र खाटमा पण्डित भोलाप्रसादको शुष्क सरीरलाई फेरि हेरें । मेरो आँखा फेरि तिनै खाडलहरुमा पुगे । दिदीहरु पनि त्यही खाडलमा टोलाएर हेरिरहेका थिए ।
‘अब यी सबै खाडलहरु पुरौं । दिउँसो आँगनमा मान्छेहरुलाई बस्ने ठाउँ पनि चाहिन्छ नि !’ मैले एउटा उपाए सुझाएँ ।
‘हो हो छिटो गरौं ।’ दिदीहरु पनि खाडल पुर्न उत्साहित भए ।


शब्दयात्रा त्रैमासिक, वर्ष–१, अङ्क–१, २०६६ फागुन

 

 

 

अनुहारहरू (कवितासङ्ग्रह)

 

अनुहारहरू
(कवितासङ्ग्रह)

मातृका पोखरेल

प्रकाशक
धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग
२०६४

कृति अनुहारहरू (कविता सङ्ग्रह)
संस्करण पहिलो
प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग
प्रकाशन २०६४
आवरण प्रोल्लास सिन्धुलीय
मूल्य ५०/–
मुद्रण जनसेवा अफसेट प्रेस, बागलुङ्ग
फोन नं. ०६८–५२०२०१
ISBN 978-9937-2-0008-0

काजी रोशन साहित्य पुरस्कार (२०६४) समर्पण समारोहमा पुरस्कृत कवि मातृका पोखरेलबाट व्यक्त मन्तव्य

समारोहका सभापतिज्यू,
प्रमुख अतिथिज्यू,
अतिथिज्यू,
साहित्यकारज्यूहरू
तथा सम्पूर्ण अन्य उपस्थित महानुभावहरू,

प्राकृतिक सौन्दर्यले परिपूर्ण पश्चिम नेपालको यस सुन्दर नगरीमा आएर पुरस्कृत हुने अवसर पाउँदा आज मलार्इ निश्चितै रूपमा बेग्लै र नौलो अनुभूति भइरहेको छ । तपार्इंहरूले प्रदान गर्नु भएको यस पुरस्काले मेरो साहित्यप्रतिको लगनशीलता र प्रतिबद्धतामा अझ बृद्धि गर्नुपर्ने जिम्मेवारी पनि सँगसँगै थपिएको बोध गरेको छु ।
यहाँबाट पुरस्कृत भएको कविता सङ्ग्रह मेरो चौथो पुस्तकाकार कृति र तेस्रो कविता सङ्ग्रह हो । यो भनदा अघिल्ला कृतिहरूका कारण मैले पाठकहरूबाट प्रशस्तै हौसला पाएको छु । यो सङ्ग्रह भित्रका अधिकांश कविताहरू विभिन्न पत्रपत्रिकामा छापिइसकेकै छन् र रेडियो, टेलिभिजनहरूबाट प्रसारित भएका छन् । त्यसैले पनि पाठकहरूले यो नयाँ कविता सङ्ग्रहबाट नयाँ कविताहरू पाउनुहुने छैन । यी संकलन गरिएका सामग्रीहरू मात्र हुन् ।

सिकारू अवस्थामै साहित्यको परिभाषा खोज्दै गर्दा ‘साहित्य समाजको ऐना हो’ भन्ने सरल उत्तरले मलार्इ कताकता प्रभावित पारेको थियो । पछि अध्ययनबाट थप बुझ्दै गएपछि साहित्यको काम समाजका गतिविधि र अवस्थालार्इ ऐनाझैं यथार्थबोध गराउने मात्र हुनुहुँदैन भन्ने चिन्तनले अर्को नयाँ दृषटि प्रदान गर्यो । समाजको अवस्थालार्इ उजागर गर्दै त्यसलार्इ अझ सुसभ्य र उन्नत बनाउने काम पनि साहित्यले गर्नु पर्दो रहेछ भन्ने लाग्न थाल्यो । सुरूका कविताहरूको दाँजोमा पछिल्लो चरणका कविताहरूमा मैले यो दायित्वबोधलार्इ आफ्नो सिर्जनामा एकाकार गर्ने प्रयत्न गरेको छु ।

साहित्यमा “सबै एकापट्टि” भन्ने चिनतनले मलार्इ सत्यको नजिक पुर्याउँछ भन्ने लाग्दैन । राजनीतिमा झैं साहित्यमा पनि “को कतापट्टि” भन्ने सत्यलार्इ नकार्यौं भने त्यो भन्दा उट्पट्याङ कुरा केही पनि हुन सक्दैन भनने मेरो दृढ ठम्यार्इ हो । निश्चय नै चन्द्रमयूष लेख्ने बैजनाथ सेढार्इ र मकैको खेती लेखेर मृत्युवरण गर्न तयार हुने कृष्णलाल अधिकारीलार्इ मेरो विवेकले समान श्रद्धा गर्न सक्दैन ।
कवितालार्इ सामाजिक र ऐतिहासिक सन्दर्भबाट अलग्याएर आकष्मिक संयोगको रूपमा हेर्न मिल्दैन भन्ने क्रिष्टोफर कडवेलको भनार्इप्रति म पूर्णत सहमत छु । मलार्इ लाग्छ– हामी यो युगको जटिल अवस्थाका मानिसहरू हौं । हाम्रै समयमा राजनैतिक, सामाजिक र सांस्कृतिक लगायतका सबै क्षेत्रमा पुरानो र नयाँ शक्तिहरूको बिच निर्णायक संघर्ष चलिरहेको छ । पुरानो सोच र चिन्तन क्रमशः पराजित हुने क्रममा छ । यो बेलामा हामीले सन्ध्या भाषामा आफूलार्इ नयाँतिर उभ्याउँछु भनेर मात्र पुग्दैन । कर्मले पनि उभ्याउन सक्नुपर्छ । मेरो पुस्ताका साहित्यकार साथीहरूसँग यो मेरो विशेष आग्रह समेत हो ।

आफूभित्रको कविलार्इ टाढा राखेर पाठकका रूपमा मात्रै भन्नुपर्दा पनि मलार्इ जीवन र समयको अभिव्यक्ति नआएका कविताहरूमा कुनै रूचि छैन । देशले भोगेको संवेदनाबाट मलार्इ शब्दहरू सापटी लिएर कविता लेख्न मन लाग्छ । मलार्इ मेरा पृयजनहरूले भोगेका शोषणका पीडाहरू उनेर उनीहरूलार्इ भविष्यको बाटो देखाउने कविता लेख्दा म त्यस्मा आफ्नो कर्तव्यबोध भेट्टाउँछु ।

मेरो विचारमा संवेदनशीलता र विद्रोह चेत नभएको मान्छे नयाँ युगको कवि बन्न सक्दैन । समाजका शोषण र होची अर्घेली देख्दा पनि उसलार्इ कतैतिर पोल्दैन भने ऊ कसरी अग्रगामी कवि हुन सक्छ ? म बारम्बार आफैंसँग यो प्रश्न गरिरहन्छु । त्यस्ता मानिसहरूले लेखेका कविताहरू पढ्नु पनि पाठकहरू शोषणमा पर्नु हो भन्ने मेरो ठहर हो । समय–चेतनाबाट टाढा रहने कविताहरूसँग मेरो सम्बन्ध कहिल्यै सुमधुर रहन सकेन । त्यस्ता कविताहरूलार्इ मैले पनि सुम्सुम्याउन जानिनँ ।

देश बधस्थलमा परिणत भइरहेको बेलामा मैले कविताका शब्दहरूसँग खेलेको छु । इतिहासलार्इ उथलपुथल पार्न सक्ने सम्भावना बोकेको जनआन्दोलनलार्इ मैले आफैंले देख्ने र नजिकैबाट छाम्ने अवसर पाएँ । मैले मेरा कवितामा सडकका आग्रहहरूलार्इ पनि राख्ने प्रयत्न गरेको छु । यसमध्येका केही कविताहरू इतिहासका तिनै महान घटनाहरूको साक्षी बनून् भन्ने पनि मेरो चाहना हो ।

आधुनिक युगमा जन्मिएका सबै कविहरूमा आधुनिक चेतना छ भनेर ठोकुवा गर्ने आधार हामीसँग छैन । यही युगमा वि.सं. १९९५ सालतिरको चेतना बोकेर कविता लेख्नेहरू पनि छन् । म त्यस्ता कविताहरूको सान्दर्भिकतालार्इ यतिबेला पूर्णत अस्वीकार गर्छु । साहित्यकारहरूले आउँदो पुस्ताका लागि अग्रगामी दृष्टि निर्माण गरिदिन प्रयत्न गर्नुपर्छ । मेरो साहित्यलेखनको मान्यता यही हो र अहिले पनि यसैबाट निर्देशित छु ।

नेपाली साहित्यमार्फत नेपाली जनतामा नवचेतना प्रदान गर्ने लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, गोकुल जोशी, पारिजात, केवलपुरे ‘किसान’ हुँदै म भन्दा अघिल्लो पुस्ताका विमल निभा, विक्रम सुब्बा, पूर्ण बिराम, कृष्णसेन ‘इच्छुक’ देखि मेरो पुस्तासम्म आइपुग्दा थुप्रै कविहरूले दरबार र महलहरूमा मात्र विचरण गरिरहेको नेपाली काव्यलार्इ झोपडीसम्म ल्याउने एउटा मजबुत र सबल राजमार्गको निर्माण गरे । अब नेपाली कविताको मूलधार सत्ताद्वारा पालित र जनताको अग्रगामी चेतनाका विरोधीहरूको हातमा कैदी बनेर रहेन, यो निष्चय नै खुशीको कुरा हो । म आफू त्यही गौरवमय काव्यिक राजमार्गको एउटा पछिल्लो पुस्ताको यात्री हुँ भन्दा भित्रैदेखि गौरवान्वित महसूस गर्छु ।

अहिले नेपाली साहित्यमा पुरस्कारको बाढी नै चलेको छ । नेपाली साहित्यमा विभिन्न थरीका पुरस्कारहरू राखिएका छन् । यसै बीचमा केही पुरस्कारहरू नेपाली साहित्यको विकासका निम्त चोखो नियत राखेर स्थापना गरिएका छन् भने केही पुरस्कारहरू तस्करी र भ्रष्टाचारबाट कमाएको अकूत सम्पत्तिलार्इ पर्दा हाल्नका लागि पासो थापिएका छन् । तिनै पुरस्कारको नाममा, सम्मानको नाममा घाँस र कुँडे दिएझैं गरेर स्रष्टाहरूको योगदान र मूल्यलार्इ भत्काउन र धमिल्याउन प्रयत्न गर्नेहरू यतिबेला योजनाबद्ध रूपमा लागिरहेका छन् । साहित्यकारहरूले पनि यस तर्फ सचेत हुन जरूरी भएको छ । नेपाली साहित्यिक जगतमा छलफलको एउटा विषय यसलार्इ पनि बनाउन जरूरी छ र निर्क्यौल समेत गर्न जरूरी छ । भ्रष्टाचार गरेर, तस्करी गरेर वा अन्य कुनै गलत तरिकाले कमाएको धनलार्इ पुरस्कारको नाममा साहित्यिक जगतलार्इ नै भ्रष्ट बनाउने कार्यका विरूद्धमा हामी सबैले सामूहिक ढङ्गले सोचौं । त्यस्तो पुरस्कार लिएका छौं भने पनि गलत कार्य गरेका रहेछौं भनेर आत्मालोचना गरौं । हामी साहित्यकारहरू यसतर्फ सचेत बन्न सक्दैनौं भने पछिल्लो पुस्तालार्इ सुसंस्कृत र सभ्य बनाउन कुनै योगदान गर्न सक्दैनौं । धवलागिरी साहित्य प्रतिष्ठानद्वारा स्थापित काजी रोशन साहित्य पुरस्कारले पुरस्कारहरूको भीडमा देखिएको यो मूल्य विरोधी कृयाकलापका विरूद्धमा आफूलार्इ कृयाशील बनाउन सकोस् भन्ने पनि कामना गर्न चाहन्छु ।

अन्तमा, मेरो कविता सङ्ग्रह ‘अनुहारहरू’ लार्इ पाण्डुलिपि पुरस्कार प्रदान गर्ने धवलागिरी साहित्य प्रतिष्ठान र पुरस्कारको स्थापना गर्नुहुने साहित्यकार काजी रोशन लगायत प्रत्यक्ष रूपमा संलग्न रहनुहुने सम्पूर्ण महानुभावहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।

कवितामा हेरिएको समयको अनुहार
डा. ताराकान्त पाण्डेय

म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार खुट्टाहरू हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिंड्ने मानिसहरूका
भर्भराउँदा आँखाहरू
र सबल खुट्टाहरू ।
(सर्त)

आँखाको खोजी, उज्यालोको खोजी, शिखर चढ्न तयार यात्रीहरू र यात्रानायकको खोजी – समकालीन परिदृश्यमा एकजना अग्रगामी चेतनाको जनपक्षीय कविले कवितामा खोजी गर्ने विषय हुन् यी । दूरगामी दृष्टिसम्पन्न भर्भराउँदा आँखा र दरा खुट्टाबिना कसैले परिवर्तन र समुन्नत मानवभविष्य–निर्माणको शिखर–यात्राको आरोहण गर्नु सम्भव छैन । हामी वर्षौंदेखि यो यात्रामा छौं र कवि मातृका पनि यो यात्रामा छन् । भँगालैभँगालामा चिरिएको हाम्रो यात्रा अनि यस यात्रामा कतिपय अन्धाहरूले नायकत्वको दावी गरिरहेको बिडम्बना देख्दा कवि मातृकालार्इ अलिकता उदेकले छोएको छ र त्यो भन्दा बढी उद्वेग र आवेगले उद्वेलित बनाएको छ । मातृका सुन्दर मानवभविष्य–निर्माणो शिखर चढ्ने यात्री हुन् र यस यात्रामा उनी दूरदृष्टिसम्पन्न नायकको खोजी गरिरहेका छन् ।

म मातृकाका कविता पढ्दै आएको छु । त्यसो त उनी कथा पनि लेख्छन् तर उनले आफ्नो साहित्यिक यात्रा सम्भवनः कविताबाटै थालेका हुन् र ‘सेतो दरबारका छेउबाट’ र ‘यात्राको एउटा दृश्य’ गरी उनका दुर्इवटा कविता–सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् अनि यो अर्थात् ‘अनुहारहरू’ उनको तेस्रो कविता सङ्ग्रहका रूपमा प्रकाशित हुँदैछ । यसैले पनि उनी कवितालेखनमा सक्रिय छन् भन्ने बुझ्न सकिन्छ ।

मातृकाका कवितामा प्रायः आफ्नो समय र समाजका व्रिदूपताको अनावरण हुन्छ र अनावरणमात्र हुँदैन, त्यसप्रति व्यङ्ग्य, विद्रोह र विरोधको प्रखर स्वर पनि हुन्छ । यसो गरेर उनी समकालीन र अग्रगामी चेतनाका समकालीन कविको धर्म निर्वाह गर्छन् अथवा यसो भनौं समयसत्यको उद्घाटन गर्छन् ।
समयसत्यको एउटा यो रूप हेरौं :
मेरो अघिल्तिर/एउटा अनुहार छ–
त्यो अनुहार/निधारभरि चन्दन लेपेर
मानववधशालातिर/हतियार बोकेर कुदिरहन्छ
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ/कालो रंग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत
(अनुहारहरू)

गतवर्षको शान्तिसम्झौता हुनुअघि देशलार्इ शासकहरूले मानववधशाला बनाएका थिए र संविधान तिनको क्यानभास भएको थियो जहाँ जस्तो मन लाग्यो त्यस्तो रंग पोतेर उनीहरू लासको पर्वत बनाइरहेका थिए । एक बथान नागरिकहरू, बाबुआमा, दिदीबहिनीहरू अझै पनि भद्रकालीका पटाङ्गिनीमा, सिंहदरबारका पेटी र प्रवेशद्वारहरूमा राज्यद्वारा बेपत्ता बनाइएका आफन्तको सास कि लास खोज्दै त्यस्कै निम्ति पनि लाठी खाइरहेको बिडम्बना हाम्रा अगाडि विद्यमान छँदैछ । बिडम्बनाको यस व्याप्तिले सिदध गर्छ– राज्य अझै पनि नागरिकको जीवनप्रति उत्तरदायी बनेको छैन, बरू नागरिकप्रतिको अनुत्तरदायी तथा दमनकारी मानसिकता र स्वभावको विरासत अझै बाँकी छ । यस्तोमा मातृकाका कविताले आफ्नो समयको विद्रूपतालार्इ अनावरण गरेर सचेत कविनागरिकको भूमिका राम्रोसँग निर्वाह गरेका छन् भन्ने पर्छ ।

राज्यको उत्पीडन र शासकहरूमा व्याप्त भ्रष्ट आचरणप्रति मातृकाका कवितामा प्रहर छ जो एक अग्रगामी चेतनाका कविको मूलभूत पहिचान पनि हो । राज्यको केन्द्र सिंहदरबार आफ्नो इतिहासका आरम्भदेखि नै नागरिकका सुखद सपना पूरा गर्ने थलो बन्नुका सट्टा तिनका सपना कुल्चिने र शासकका सपना पूरा गर्ने थलो बन्दै आयो, आएको छ । नेपालका आम नागरिक र तिनकै प्रतिनिधी नागरिककविले समेत यही अनुभूति गर्दै आएका छन् । मातृकाका कवितामा सिंहदरबारको यो चित्र यसरी कोरिएको छ :

मलार्इ सिंहदरबार र जादूघर
उस्तै–उस्तै लाग्छ ।

शहीदको केसबाट बनेको
एउटा बक्खु ओढेर
उनीहरू सिंहदरबार पसे
यतिबेला म त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेको छु
हिजो झैं उनीहरू फर्कँदा
ब्वाँसोको छाला ओढ्छन् कि ओढ्दैनन् ?


सिंहदरबार सहरमा छ
उसको शक्तिसँग आजित छ मेरो गाउँ
ऊ नून बोक्ने ढाकर दिएर
एउटा नाइके सिंहदरबार पठाउँछ
नाइके ढाकरमा सुन बोकेर
सिंहदरबारको छेउमै बास बस्छ

सहिदका रगतको टीका लगाएर सिंहदरबार पस्नेहरू थप सहिद जन्माउने दुष्कार्यमा संलग्न भइरहेको तथ्यको साक्षी हो सिंहदरबार । नागरिकका सपना र शरीरको हत्या गर्ने षडयन्त्रको तानाबाना बुन्ने थलो हो सिंहदरबार । सिंहदरबारको यो परिचय अझै बदलिएको छैन । मातृकाले आम नेपाली जनताको यही अनुभूतिलार्इ कविताका शब्दमा अभिव्यक्ति दिएका छन् र यसो गरेर उनले आफ्ना कवितालार्इ जनताका पक्षमा उभ्याएका छन् भन्ने कुरा नि:संङ्कोच भन्न सकिन्छ ।

मातृका समाज रूपान्तरणको आन्दोलनसँग आस्था र कर्मका स्तरमा गाँसिएका कवि हुन् । त्यसैले उनका कवितामा सुन्दर भविष्यनिर्माणका खातिर उत्पीडितजनले गरिरहेका र गर्दैआएका संघर्ष र त्यस क्रममा तिनले भोग्नुपरेका उत्पीडनको चित्रण छ भने कतै संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेक प्रय मान्छेको आवेगपूर्ण सम्झना पनि छ, जस्तैः

सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचामा फाल नहालेको
चेतनाको माछापुच्छ्रे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।
(उसको मृत्युमा)

मुक्ति र स्वतन्त्रताको खोजी असल मान्छेहरू, उत्पीडन भोगिरहेका मान्छेहरूको कामना हो तर यसको प्राप्ति सहजप्रक्रियाबाट सम्भव छैन । ‘भोलि’ कवितामा उनी भन्छन् – “हामी त्यो दिन पक्कै त्यसै पाउने छैनौं… ति दिन ल्याउने ताराहरूको… बलिदानको गाथा गाउने… स्कूलका साना नानीहरूलार्इ नयाँ गीत सिकाउने” । यस प्रक्रियामा कैयौं–कैयौंले आजादको नियति, कैयौं–कैयौंले इच्छुकको नियति अथवा चुनुको नियति भोग्नु पर्ने रहेछ, रहन्छ । यसै कटुसत्यको रागात्मक अभिव्यक्ति मातृकाले आफ्ना कवितामा गरेका छन् । मातृका सुन्दर भोलिको निर्माणका लागि कविता लेख्छन् । इच्छुक–नियति भोगेर पनि बाटामा रहेका चुनौति र बाधाहरू पन्छाउँदै उनी भोलिको निर्माणको गीत सतत गाइरहन चाहन्छन् । सुन्दर भोलि, सुन्दर समय र सुन्दर भविष्यको निर्माण र त्यसको स्वागतको आतुरता अनि त्यसप्रतिको आसक्तिले निकै रागात्मक अभिव्यक्ति पाएको छ उनका कवितामा ।
अमलेख अर्थात् मुक्ति केवल उत्पीडित मान्छेका लागि मात्र आवश्यक छ भन्ने ठनार्इ छैन मातृकाको । उनी शासकहरूको दासत्व स्वीकार गर्ने बानी परेका एकथरी कृतदासहरूका टाउकाहरूलार्इ पनि दास मनोवृत्तिबाट मुक्त बनाउनुपर्ने कुरा उठाउँछन्, जस्तैः

हिजो खोजिएको अमलेखगञ्ज
स्वतन्त्रताका लागि
आसक्त मनहरूको थियो
अहिले मैले खोज्दै गरेको अमलेखगञ्ज
दास बन्न आसक्त मनहरूका लागि हो
(म खोज्दै छु अर्को अमलेखगञ्ज)

केही टाउकाहरू जो नयाँ युगको नयाँ जून स्वीकार गर्न तयार छैनन्, सुन्दर भविष्य निर्माणको यात्रामा जो सदा काँडेतार लगाउन कोसिस गरिरहन्छन्, काला, राता पहेंला पर्दामा देखा पर्ने त्यस्ता टाउकाहरू परिवर्तनका बाधक हुन् । त्यसैले तिनको यथावत् उपस्थिति क्रान्ति र परिवर्तनका लागि हितकर छैन । यस निष्कर्षमा पुगेर मातृका त्यस्ता शक्तिहरूकै पहिला अमलेख गर्नुपर्ने र तिनलार्इ नयाँ अमलेखगञ्जमा पुर्याइसकेपछि मुलुकको अमलेख हुने विश्वास व्यक्त गर्छन् । यसरी वर्गसंघर्षका क्रममा कुरूपताका पोषक शक्तिविरूद्ध गर्नुपर्ने व्यवहारलार्इ निकै रागात्मक अभिव्यक्ति दिएका छन् मातृकाले यस कवितामा ।
तेइसवटा कविता सङ्कलित रहेको यस सङ्ग्रहमा समकालीनताका अनेक सन्दर्भहरू समेटिएका छन् । कवि आफूलार्इ परिवर्तनकामी चेतनाका धरातलमा दरोसँग उभ्याउँछन् र आफू उभिइरहेको समयमा विकसित हुँदै गएको अग्रगामी उदात्त चेतना र सुन्दर भविष्य निर्माणमा त्यसले आर्जन गर्दै गएका प्राप्तिको रागात्मक अभिव्यक्ति पनि गर्छन् । यसरी मातृकाका कविताले एउटा उदात्त महाख्यानको सृष्टि गर्छन् । त्यस्तो महाख्यान जसमा जीवनप्रति संवेदना र आसक्ति छ, जसमा कुरूपताको भेदन र सुन्दरताको पोषण छ, जसले समाज रूपान्तरणको अग्रगामी यात्रामा अघि बढ्न आवेग र उत्प्रेरणा प्रदान गर्छ । यसो गर्दा कवि रोमान्टिकता होइन, आफ्नो समयको यथार्थताका फलकमा टेक्छन् र त्यसबाट सम्बल लिएर कविताको रचना गर्छन् । त्यसैले यस सङ्ग्रहका कविता आफ्नो समयचेतनाका उपज भएका छन् र तिनमा समयको यथार्थले संवेदनाको साहचर्य र सुन्दर विचारको आलोक प्राप्त गरेका छन् – सङ्ग्रहका कविता पढ्दा मैले अनुभूत गरेको सत्य यही हो ।
जहाँसम्म कविताको रचनाविधानको कुरा छ, मैले के पाएको छु भने मातृकाको कवितालेखन सतत् परिष्कारशील रहेको छ । अघिल्ला दुवै सङ्ग्रहका तुलनामा यहाँ आइपुग्दा कविताभित्र भनाइको भङ्गिमादेखि, शब्द, लय, बिम्ब, प्रतीक आदिको प्रयोगमा मातृकाले आफ्नो साधना र सामर्थ्यको पहिचान राम्रैसँग दिन सकेको अनुभव मैले गरेको छु । यसअघि मातृकाकै कविताका बारेमा प्रतिक्रया व्यक्त गर्दै आहुतिले “शब्दमा अलिकता पागलपन” को आवश्यकता औंल्याएका थिए । पागलपना कवितामा पनि काम्य होयन, तर आहुतिको तात्पर्य शब्दप्रयोगमा विशेष साधना, सुन्दर, सघन र उपयुक्त शब्दको छनोटको थियो । मलार्इ लाग्छ, यस सङ्ग्रहका कवितामा मातृकाले शब्दचयनमा पर्याप्त दृष्टि दिएका छन्
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
भर्भराउँदा आँखाहरू
र सबल खुट्टाहरू


त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ
कालो रंग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत

‘संविधानमा कालो रंग पोत्न सक्ने’ र ‘लासहरूको पर्वत चढ्ने योजना बनाउने’ अभिव्यक्तिहरू निरङ्कुश शासकका चरित्रलार्इ कलात्मक शब्द र कलात्मक बिम्बका माध्यमबाट व्यक्त गर्न सक्षम छन् । यस्तै यसै सङ्ग्रहका कवितामा प्रयुक्त यी पङ्क्तिहरू हेरौं

एकपछि अर्को प्वाँख खसाउँदै
सहरबाट उडेको छ समय
गाउँ पुग्छ कि पुग्दैन


सबै कुरा साँचो हुनेछ त्यसबेला
बगरमा पल्टिएका
काला ढुंगाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्
आकाशबाट चराहरू लड्नेछन्
र भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन् ।

आफ्नो समयको कटु यथार्थलार्इ व्यक्त गर्ने यी पङ्क्तिहरूमा साँच्चिकै सुन्दर, उपयुक्त र सार्थक शब्द छन् र तिनबाट प्रभावकारी बिम्बको निर्माण पनि भएको छ । परिणामतः कविताले सादा यथार्थ मात्र व्यक्त गर्दैनन्, यथार्थलार्इ सुन्दर शब्दभङ्गिमा र प्रभावकारी बिम्बका माध्यमबाट व्यक्त गर्ने प्रयास गर्छन् । यसबाहेक जब तिनमा संवेदना र आवेगको साहचर्य थपिन्छ, तब एउटा सुन्दर कविताको जन्म हुन्छ जसले पाठकलार्इ आफ्नो समयको संवेदना र चेतनासँग गहिरो गरी जोड्दछ ।
धवलागिरि साहित्य प्रतिष्ठान पश्चिमाञ्चलमा साहित्यउत्थानका निम्ति क्रियाशील निकै पुरानो संस्था हो । आफ्नो जीवनका २४ वसन्त पार गरिसकेको यस प्रतिष्ठानले २०५३ सम्म आञ्चलिक स्तरमा र २०५६ सालदेखि प्रत्येक दुर्इ–दुर्इ वर्षमा विभिन्न विधाका पाण्डुलिपिबाट स्तरीय पाण्डुलिपिको चयन गरी ‘काजी रोसन साहित्य पुरस्कार’ प्रदान गर्नुका साथै त्यसको प्रकाशन गर्दै आएको छ र त्यस क्रममा यसअघि ४ वटा कृतिको प्रकाशन भइसकेको छ । मातृकाको प्रस्तुत सङ्ग्रह पाँचौं कृतिका रूपमा प्रकाशित हुँदैछ । यस निम्ति मातृका पनि बधाइका पात्र छन् र प्रतिष्ठान पनि साधुवादको हकदार छ । म प्रतिष्ठानलाइ हार्दिक साधुवाद र कवि मातृकालाइ बधाइ दिँदै दुवैको उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछु ।

कविता क्रम

• सर्त
• नयाँ वर्ष – २०६१
• राजमार्ग र चिन्तित मनहरू
• नयाँ शताब्दीको थोत्रो मान्छे
• अनुहारहरू
• उसको मृत्युमा
• कविताको विषय
• फरक फरक मुर्दाघाटहरू
• कसको जमिन ?
• सबै कुरा साँचो हुनेछ
• ऊ बगर; खडेरी पर्खन्छ
• टुकुचा
• टोप आतङ्क
• बाँझो जमिन र हलीहरू
• अचेल मान्छेहरू
• उनीहरूले सोचेका भए
• भोलिको तस्बिर
• भोलि
• म खोज्दैछु अर्को अमलेखगञ्ज
• सिंहदरबार
• समय
• बनफूल र सपना
• उदयपुर

सर्त

म तयार छु–
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र, सबल खुट्टाहरू ।

हो मैले नमानेकै हो–
अन्धाहरूको पछि लाग्न
र, मैले नमानेकै हो
लङ्गडाहरूलार्इ दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र, फेरि लेखेको छु यो कविता ।

म तयार छु–
उनीहरूको पछि लाग्न
तर मैले खोजेकै हो
उनीहरूसँग
सुदूर यात्राको सङ्कल्प ।

अक्षलोक, पूर्णाङ्क २५, २०६१ वैशाख

नयाँ वर्ष– २०६१

पोहोर
हिल्याउँदै गरेको खेतमा
भगुवा थारूले सुन्यो गणतन्त्र
र, अचम्म मानेर
गम्छाले पुछ्यो पसिना
पोहेर
जङ्गलमै घाँस दाउरा जाँदा
चिम्से खत्रीले सुन्यो लोकतन्त्र
र, मनमनै पाल्यो
नयाँ चाहना
पोहोर
धेरै कुरा भएन
तर केही भयो
देश !
नयाँ चेतना जन्माउने
प्रसव पीडाले
छट्पटाइरह्यो निरन्तर
हामीले गाइरह्यौं सडकमा
ताज आतङ्कका गीतहरू ।

पोहोर
एक मरूभूमि सिउँदोहरू उजाडिए
र, एक पहाड
पोतेहरूको दाहसंस्कार गरिए
पोहेर
हामी मरेका संवेदनाहरूको
मलामी बन्यौं
टेलिभिजनको पर्दामा
ज्यूँदा मान्छेहरूको पिरामिडमाथि चढेर
हाँकिरह्यो अमेरिकाले
मानवअधिकारको रथ
पोहोर
बस्तीबाट बगिरहे
चेतनाहरू सडकमा
स्वजनसँगका वियोगले
वर्षैभरि
चिसा भए मनहरू
सडकबाटै नियाल्यौं हामीले
सपनाका झुल्काहरू
पोहोर
पुर्खाले झैं
हामीले पनि उठाइरह्यौं मुट्ठीहरू
नयाँ जङ्गबहादुरको विरूद्धमा ।

धेरैधेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।

रातो थुँगा–१४, २०६१ वैशाख

राजमार्ग र चिन्तित मनहरू

एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।

निरन्तर थोत्रिँदै छ सडक
किनारहरू भत्केका छन्
ढल बगिरहेछ पेटी छोएर
दुर्गन्धित पानी,
सडकका खाल्डाहरूमा जमिरहेछ
किनारबाटै यात्रीहरू
नाक थुनेर
आफ्नो गन्तव्य नापिरहेका छन् ।

इन्जिनियरहरू,
सडक मर्मतको योजना कोरिरहेका छैनन्
आजमात्रै,
राष्ट्रिय अखबारमा एउटा समाचार छ–
उनीहरूले
भरखरैमात्र
मर्सिडिज कार चढ्ने
बिन्तिपत्र दर्ता गरे
बिनतीपत्रसँगै
विभाजित भए यात्रीहरू
उनीहरू उचालिरहेछन् मुट्ठीहरू
पक्ष/विपक्षमा
केही बेर अघि मात्र
विपक्षमा सुनियो तालीको ठूलो स्वर ।

आधा शताब्दीदेखि
थोत्रिँदै गएको छ सडक
भत्किएका सिटहरूसँगै
यात्रुहरू झट्कार्दै
कुदिरहेछन् साझा बसहरू
बर्षौंदेखि ती बसभित्र
धेरै चोखा मनहरू
निरन्तर कुदिरहेछन् ।
आँधी–हुरीले ढाल्न नसकेका
दशकौं पुराना रूखहरू
आफैं लडिरहेछन् सडकमा
मानिसहरू अचम्मित हुँदै
जिब्रो काढिरहेछन्
आँखा छोपिरहेछन्
ढलेका रूखका हाँगाहरूमा
झुण्डिरहेछन् चमेराहरू
शताब्दीयौंपछिको सहर–बस्तीलार्इ सुहाउने
सुन्दर सडकको पूर्वाधार कायमै छ
तर मर्मतको अभावमा
निरन्तर थोत्रिरहेछ सडक
सडकको बुढ्यौलीसँगै
थोत्रिरहेछन् वैंशहरू
थोत्रिरहेछन् मनहरू
क्रमशः थोत्रिरहेछन् जीवनहरू

चिन्तामग्न भएर
एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।

अक्षलोक, पूर्णाङ्क २६, २०६१ वैशाख

नयाँ शताब्दीको थोत्रो मान्छे

कर्फ्यु नलागेको दिनसँग पनि
डर छ उसलार्इ
त्यत्तिकै डर छ
जून लागेको रातसँग
असाध्य डराउँछ
स्वतन्त्रताका आँखाहरूसँग
ऊ अर्थात्
नयाँ शताब्दीको थोत्रो मान्छे
गरिब देशको धनी मान्छे ।

उसले बारम्बार देखिरहेको छ
एउटा कुकुर
आधा चपाइसकेको संविधान
मुखमा झुण्ड्याएर
ऊ सधैं हिँड्ने बाटोमा डुलिरहेको छ
उसको कुनै अङ्गमा छुँदैन
यो घटना
मरिसकेक छन्
उको शरीरका सबै मांसपेशीहरू
धमाधम कुहेर झरिरहेछन्
अङ्गहरू
भोकको कारण
काखकी छोरीसँगै आत्महत्या गर्ने
शिवो महतोको* घटना
उसको शरीरमा बिझ्दैन
बलात्कृत भएर जङ्गलमा गाडिएका
उसकै शासनका लासहरूको
पिरामिडमा चढेर
शासनका घिनलाग्दा भोकहरू
प्रस्ताव गरिएका ब्यानर
ऊ हल्लाइरहन्छ
निर्लज्जतापूर्वक हाम्रा अघिल्तिर
हाम्रो नयाँ सहरको
थोत्रो मान्छे ।

एक्काइसौं शताब्दीको
हाम्रो सहरमा
एउटा द्वापर युगको मान्छे बस्छ
हामी फट्फटाउँछौं
स्वतन्त्रताका पँखेटाहरू
ऊ हल्लाइरहन्छ
निर्लज्जतापूर्वक हाम्रा अघिल्तिर
हाम्रो नयाँ सहरको
थोत्रो मान्छे ।

एक्काइसौं शताब्दीको
हाम्रो सहरमा
एउटा द्वापर युगको मान्छे बस्छ
हामी फट्फटाउँछौं
स्वतन्त्रताका पँखेटाहरू
ऊ हरदम उज्याइरहन्छ छुरी
हामी कोर्छौं आँखामा सुन्दर सपनाको नेपाल
ऊ क्रुर बुटले कुल्चन्छ
हाम्रो सपना ।

हामी यतिबेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी बेगवान् आँधीझैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।

* (महोत्तरीको श्रीपुर गाविस ६ की एक गर्भवती महिला, जसले २०६१ वैशाख ३१ गते भोकको पीडा खप्न नसकेर तीन वर्षकी छोरीसहित आत्महत्या गरिन् ।)
शब्द संयोजन, पूर्णाङ्क–४, साउन २०६१

अनुहारहरू

मेरो अघिल्तिर
एउटा अनुहार छ–
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव बधशालातिर
हतियार बोकेर कुदिरहन्छ,
त्यो अनुहार–
संविधानमा सजिलै पोत्न सक्न
कालो रङ्ग,
र, आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत,
आफ्ना कुकुरहरूलार्इ लगाइदिन सक्छ
विदेशबाट आयातित
महँगा रेसमी कपडाहरू,
वेश्याहरूलार्इ उपहार बाँड्न सक्छ
सुनका हीराजडित घडीहरू,
उसको घरमा
कहिल्यै लगाउँदैन माकुरोले जाल,
जुत्तामा टाँसिएर पुग्दैन कहिल्यै पनि
हिलो, माटो र गोबर
सयन कक्षको सँघारमा,
थरीथरीका अत्तरहरू छरेर
सुगन्धित छ वातावरण
तर म,
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाइ घृणा गर्छु ।

म नजिकै छ,
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार–
भारी बोकेर
साहूकी छोरी पुर्याउन गएको मधेस
अलकत्रे सडकमा हिँडेको दिन
कति खुशी थियो मन,
अघाएर सुस्ताएको साँझ
कति रमाइलो हुन्छ वातावरण,
ऊ भाग्यमानी सम्झन्छ आफूलाइ
थकान मार्न सकेको एक क्षण,
दलानको छेवैमा
दुर्गन्धित छ जुठेल्नो,
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर,
तर म,
संसारका अनुहारमध्ये
सबैभन्दा बढी उसैलाइ माया गर्छु ।

अचेलभरि,
फुट्नै लागेका चेतनाका बाँधहरू बोकेर
दौडिरहरका छन्
बग्रेल्ती अनुहारहरू सडकमा,
यतिबेला
केही अनुहारहरूका विरूद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा,
नयाँ भोलिको खोजीमा,
यिनीहरूले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो,
यतिबेला रिठ्ठे घर्तीले बोकेको यो अनुहार
र, यस्तैयस्तै थुप्रैथुप्रै अनुहारहरूलाइ
हो, म भित्रैदेखि माया गर्छु ।

नेपाल साप्ताहिक, वर्ष ५, अङ्क १०, २०६१ असोज

उसको मृत्युमा

देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिँड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो

उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्रोले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उठाएर
बेहोसझैं भए
गाउँका गोरेटाहरू
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फालनहालेको
चेतनाको माछापुच्छ्रे
अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

सुनेको थिएँ–
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सृजनाको एउटा बोत्री
अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज

कविताको विषय

लेख्न मन थियो
उज्यालोको कविता,
सङ्कटकाल छ,
खतरनाक हुन्छ रे, उज्यालो,
अँध्यारोको महान्वाणी लेख्न
कलमलार्इ आदेश भएको बेला
अँध्यारोको विरूद्धमा लेख्ने कुरै भएन,
लेख्न मन थियो–
मूर्तिको कविता
नयाँ विषय
हाम्रो सम्पत्ति,
त्यो पनि आँट आएन
बेलुका सँगै सुतेको मान्छे
बिहानै कुकुर भएर उठ्यो
राम्रो विषय हुन्थ्यो
लेख्न बसेँ, हात काँप्यो
लेख्नै सकिएन
नजिकै थिए–
लोप हुँदै गएका गिद्ध र ब्वाँसाहरू
संविधानलार्इ चपाउन सक्ने दाँत बोकेर
घुरिरहेका थिए मेरो कलमसँग
आतङ्कित भयो मेरो कलम ।
कमै खतरा छ–
छेपारोको कविता लेख्न,
भयो अब धेरै भयो
कति लेख्ने ?
शक्तिहिन र निर्लज्ज छेपारोलार्इ
महाभारतभन्दा बढी लेखिए
उसका कविताहरू,
सडक भरि छन् लम्पसार कविताहरू
र, भनिरहेछन्,
मलार्इ उठाऊ– मलार्इ न्याय गर
क्रूर समयको खुट्किलोमा उभिएर
म उद्वेलित छु, र आक्रोशित छु
कस्तो मौसम हो यो ?
कसरी लेखने कविता ?

अक्षलोक, पूर्णाङ्क २७, २०६२ वैशाख

फरकफरक मुर्दाघाटहरू
(२०६१ भदौ १५ गते इराकमा हत्या गरिएका बाह्रजना नेपालीको सम्झनामा)

आज एउटा कुसमाचार बोकेर
मरूभूमिबाट
सगरमाथाको टुप्पामा
झुल्कियो उही परिचित कालो सूर्य
कविताहरूको मृत्युमा
आज म सँगसँगै
शोक मनाएर सुतेको छ रात
किन उठाउनु उसलार्इ
विश्वासको सम्झौतापत्रमा
हस्ताक्षर गर्ने,
मसँग कुनै कलम छैन,
आर्यघाटको छेउमा उभिएर
लासहरूको आगो ताप्दै
जाडे मारिरहेछन् शाषकहरू ।

भोको पेट बोकेर
समुद्र तरेकाहरू
भयो ! अब खुसी हुँदै जन्मस्थल नआउनू,
अङ्गुर फलाउने विकासे नारा बाँडेर
अझै पनि शाषकहरू
विषालु गोली फल्ने
रूखहरू रोपिरहेछन्
हिजो जङ्गलबाट आएको थियो मीठो बतास
आज जङ्गलमै बन्दैछ सिंहासन
नयाँ बाली फलाउने खेतहरू
हिल्याउनै बाँकी छ
रोपाइँ गर्ने सर्जाम बटुल्नै बाँकी छ,
पहिलेपहिले पनि
फूल सुकेपछि आउँथ्यो तिहार
केही वर्ष भयो त्यो पनि आएन
यसपटक मार्नका लागि हामीले रोपेनौं फूलहरू
अब फूल लाउने छाती बोकेर नफर्कनू
आजमात्रै टेलिभिजनको पर्दामा
श्रममन्त्रीको अनुहार
हाँसिरहेको थियो ।
हामीले यसपटक
इराकको एक हल मरूभूमि
नेपाली रगतले भिजायौं,
तर कालो कोट भिरेर
सगरमाथालार्इ लक्ष्य गर्दै
इराकमा बास बसेर आउँदैछ
मृत्युको अर्को जुलुस
हामी यहीँ पनि खनिरहेछौं
रगतका कुवाहरू
मुर्दाघाट पनि आफ्नो र बिरानो हुन्छ
प्रिय र अप्रिय हुन्छ
मात्र यत्ति फरक हो
तिमी मरेको मुर्दाघाटभन्दा
हामी मर्ने मुर्दाघाट महान् छ
यहीँ छन् हाम्रा पुर्खाका चिहानहरू
मुर्दाघाट पनि आफ्नो र बिरानो हुन्छ ।

निर्झर १, २०६२ वैशाख

कसको जमिन ?

माटोमा नङ्ग्राहरू गाडेको पनि धेरै भयो
कान्लामाथि कहिल्यै उठेन स्वाभिमान्
हाम्रै पसिनाले आवाद बस्तीमा
एउटा भिजिलान्ते आदेश
चोर आवाज बोकेर
बसतीहरूमा छिर्छ र भन्छ
मेरो बाजेले आर्जेको जमिन ।
लाग्छ कहिलेकाहीँ
हाम्रै पाइताला तिम्रो होइन भन्देला कि ?
हाम्रै हात तिम्रो होइन भन्देला कि ?
हाम्रै टाउको तिम्रै होइन भन्देला कि ?
कहिलेसम्म टेकिरहन्छौं हामी ?
उसले मेरो भन्दै दागाधरेको जमिन,
बरू भन ! मङ्गलमान !
म सँगसँगै भन !
हाम्रो बाजेको कमाइ भन !
सप्रमाण भन !
अब हाम्रो धर्ती भन !

शताब्दीयौंदेखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा
ऊ बनमारा रोप्छ
म युगौंदेखि चुप छु
अचेलभरि छाम्न थालेको छु पाइताला
हो, म आफैँ हुँ
तिमी पनि आफ्नो हात हेर मङ्गलमान,
तिमी आफैँ हौ
धोका होइन
सुँघ जमिनको माटो
सजिलै चिन्छौ पुर्खाको पसिना
त्यहाँ बलभद्रहरू छन्
कालु पाँडेहरू छन्
हाम्रा जिजुहरू छन्
खै त ! उसको पसिना ?
तर उही भनिरहेछ मेरो जमिन,
खै त ! उसको पसिना ?
बरू सोध, मङ्गलमान !
खै त ! उसको पसिना ?
तिमी देखाऊ आफ्ना पुर्खाको आलो पसिना
र भन ! मङ्गलमान
सप्रमाण भन !
अब यो धर्तीमा
हामीले आर्जेको हाम्रो जमिन भन !

अन्तर्बोध पूर्णाङ्क ३, ०६२ जेठ

सबै कुरा साँचो हुनेछ

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।
* * * *
हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरू
जीवित र मृत मान्छेहरू
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरू,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरू,
हो, त्यसबेलासम्म
यो सब भइरहनेछ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतिबेलासम्म
सबैकुरा साँचो हुनेछ ।

कलम, पूर्णाङ्क ४१/४२, २०६२ असार

ऊ बगर, खडेरी पर्खन्छ

ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैको छातीबाट बस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर,
बादलिएको आकाश फटाउन
सबै हुट्टिट्याउँहरूसँग
एक पर्म सहयोग माग्छ ।
* * * *
ढुङ्गाको साँघुरो कापबाट
उसको सुख्खा छातीमा
भतभती पोलिँदै निस्किएको छ भ्यागुतो
ऊ बगर,
आकाशतिर हेरेर खडेरीको कामना गर्छ
ढुङ्गाको प्वालबाट
सिबीचरो कराइरहेको छ
उसको छाती माथिबाट यात्रा गर्नेहरू भन्छन्
फेरि खडेरी पर्नुपर्छ
ऊ बगर,
उसकै टाउकोमाथि बास बसेर गाउँतिर हुट्टिट्याउँ पस्छ
र, मृत्युको सूचना दिन्छ ।
* * * *
बाढीले गैरीखेतहरू नकाटेको साल
उसको पात्रोमा ऊ
अशुभ घोषणा गर्छ,
ऊ बगर,
नयाँ जीवनको सहनार्इ
उसलार्इ अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास,
ऊ चिन्तामग्न हुन्छ,
ऊ बगर
निस्फिक्री घुम्न र कीराहरूको सिकार गर्न
बकुल्लाहरूलार्इ मन पर्छ,
ऊ बगर,
छेपाराहरूलार्इ मन पर्छ
उसको छातीका ढुङ्गाहरूमा घाम ताप्न ।
* * * *
परारै, एक नदि रगत पोखिएपछि
छेउकुना आबाद हुँदै गएको बगर
पोहोरको हिउँदे बाढीले फेरि काट्यो गैरीखेत,
ऊ बगर,
ऊसँग सम्भ्रान्त जीवनको सपना छैन
ऊसँग हरियो जीवनको विश्वास छैन ।

अक्षर, पूर्णाङ्क ५, २०६२ मंसीर

टुकुचा

मलाइ गनाएझैं
धेरैलार्इ गनाएको हुँदो हो
टुकुचाको पानी ।

टुकुचामा हिजो आज
जस्तोसुकै खुट्टा लगेर चोप
झनै फोहोर हुन्छ,
जस्तोसुकै प्राविधिक टाउको पखाल
झनै दुर्गन्धित हुन्छ,
कपडाहरू लगेर धोऊ
झनै मैलो हुन्छ,
अचेल टुकुचा
उहिले उहिलेको जस्तो छैन ।

इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्रूणहरू
बगाउन थालेको छ ऊ,
बोरामा लासहरू कुहाउनु
मान्छेका टाउकाहरू दूषित बनाउनु
उसका योजनाका खाकाहरू हुन् ।

उहिले उहिले ऊ
आफ्ना किनारहरमा
किसानहरूसँगै खेल्थ्यो
हिलो माटो बोकेर
साँझ फर्कन्थ्यो घरमा,
सिंहदरबारबाट शाषित ऊ
प्रत्येक रात
किसानहरूका डबलीमा
आफ्नो पीडा गाउन मन पराउँथ्यो
जब ऊ समयसँगसँगै शाषक बन्यो
समयसँगसँगै गनाउँदै गयो ।

अचेल टुकुचा,
किसानहरूको सिनाज्याम्मे (रोपाइँ गर्दा गाउने गीत) सुन्दै
बागमतीतिर बग्दैन,
मान्छेहरूलार्इ नाक छोप्न लगाउँदै
सैनिक ब्यारेकतिर लुक्छ,
अचेल टुकुचा,
एक हल रोपाइँ गर्न
आफ्नो छेउमा बेखामानलार्इ बोलाउँदैन
एक हुल तस्करहरूलाइ
आलिसान महलहरू बनाउन
आफ्नो किनारतिर निम्त्याउँछ ।

अचेल टुकुचा,
उहिलेउहिलेको इतिहासजस्तो छैन
अचेल टुकुचा,
उहिलेउहिलेको जस्तो प्रिय छैन ।

मिर्मिरे, मासिक पूर्णाङ्क २४४, २०६२ पुस

टोप आतङ्क

हावाहुन्डरी चलेको यो बेला
इतिहासमा जस्तै
फेरि एउटा पागल
पागलखानाको चोर ढोकाबाट
खिया लागेको पुरानो टोप भिरेर
हाम्रो बस्तीतिर छिर्यो
हामी वर्तमानका पृष्ठहरूमा
यतिबेला लेखिरहेछौं
टोप आतङ्कको इतिहास ।

सुविधासम्म छ पागलखाना
सबै चीजहरू छन् त्यहाँभित्र
पागलखानाको चारदिबार
युरोपभन्दा सम्पन्न छ
अमेरिकाभन्दा सम्पन्न छ
धेरै वर्षपछि
पागलहरूको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चारदिबारबाट ऊ बाहिर आएपछि
यतिबेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।

उसको टोप आतङ्क !
यतिबेला सहर हुँदै गाउँ पसेको छ
सहर निरास छ टोप आतङ्कले
संसाँझै बनद छन् क्लबहरू
पाँचतारे होटलहरू
सपिङ कम्प्लेक्सहरू
अचेल गाउँ
टोप आतङ्कले त्रस्त छ
र, सहर मध्यान्ह नहुँदै
टोप आतङ्कको विरोधमा जुट्छ
हावाहुन्डरी चलेको यो बेला
पागलखानाबाट निस्केर
फेरि एउटा पागल
हावाका झोक्काहरूले
भुर्इँमा झार्न खोजिरहेको
र, रगत लत्पतिएको
एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीमा निस्केको छ ।

खिया परेको आदिम टोपबाट
चुहिरहेछन् रगतका थोपाहरू
विरूप छ बौलाहाको अनुहार
उसका शासनहरू
लासको सङ्ख्याले
सफलता नापिरहेछन्
तर विना शर्म टोप लगाइरहेछ ऊ
इतिहासमा धेरै पटक
हावाका झोक्काहरूले
भुर्इँमा खसाएर
कुच्चिइसकेको एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीतिर छिरेको छ
फेरि अर्को एउटा पागल ।

हामी वर्तमानका पृष्ठहरूमा
यतिबेला लेखिरहेछौं
टोप आतङ्कको यतिहास ।

नागार्जुन, पूर्णाङ्क १३, २०६२ पुस

बाँझो जमिन र हलीहरू

हामो बाँझो बारीमा
लोकतन्त्रको खेत जोत्ने
एक हुल हलीहरू
हाम्रो बस्तीबाट
आज राति सुटुक्क भागे
उनीहरूको पलायनपछि
खेत जोत्ने हामीहरू
एकछिन सुस्ताएर बसेका छौं
बाँझो जमिनको छेउमा,
भोकाएका छन्
लोकतन्त्रको खेत जोत्ने गोरूहरू,
उनीहरू घाँस काट्ने कुरा गर्थे
बेंसीबाट पराल खेप्ने कुरा गर्थे
तर आज राति,
उनीहरू सुटुक्क भागे
हामी फेरि सोचिरहेका छौं,
किन भागे उनीहरू ?
* * * *

बीच बस्तीको यो बाँझो जमिन
हामीले नजोत्ने हो भने
यहीँ फलिरहनेछन्
प्रवीणहरूलार्इ मार्ने
विषका काला फलहरू
एकातिर हरदम बस्तीमा सल्किरहने छ भोकको डढेलो
अर्कातिर,
यहीँ जमिनमा लडिरहनेछन्
अघाएर अजिङ्गरजस्ता मान्छेहरू
बाँझो जमिन आबाद हुने बेलामा
यता हराइरहेछन् हलीहरू
उज्यालो हुने बेलामा
बस्तीबाट जसरी भाग्छन् हुचिलहरू
किन हराए हलीहरू ?
* * * *

भोलि बिहानको मिर्मिरे उज्यालोमा
हामी देख्न चाहन्छौं
हाम्रो यो जीर्ण गोठघरको
घमाइलो आँगनमा
फेरि आउनेछन् नयाँ नयाँ हलीहरू
हामी स्वागत गर्छौं
र, फेरि सँगै जोत्नेछौं
विषमात्र फल्ने,
युगौंदेखिको उही चर्चित बाँझो जमिन ।

साथी मासिक पूर्णाङ्क ४३, २०६२ चैत, काठमाडौं

अचेल मान्छेहरू
(सहिद बिजय ढकाल ‘विश्वास’ को स्मृतिमा)

अचेल मान्छेहरू
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन्
टाढाटाढा गाउँका मान्छेहरू
गुराँसको बास त्यहीँसम्म पुगेको कुरा गर्छन्
मान्छेहरू अचेल
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन्

मैले दरबारको गमलामा फुलेको
धतुरोजस्तो फूल देखेको छु
तर ऊ धर्तीमा फुलेको फूल
कसैले गोडमेल नगरेको
कसैले पानी नहालेको
कुनै मालीले हेरचाह नगरेको
ऊ गुराँस फूल !
हावाहुण्डरीको बीच फक्रेको
खडेरी सँगसँगै जुधेको
अचेल टाढाटाढाका मान्छेहरू भन्छन्
साम्मीको जङ्गलमा हराएको एउटा गुराँस
परपरसम्म बास्न छर्छ
अचेल मान्छेहरू साम्मीको मेदानमा
एउटा गुराँस हरायो भन्छन् ।

गुराँस फूल !
जब तिम्रो सपनालार्इ
सन्तानहरूले बिपनामा छाम्छन्
तिमी त्यसबेला खुबै खुसी हुनू
हामीले नदेखे पनि
विजयोत्सव मनाउनू
तिमी त्यतिबेला
रातो माछापुछ्रे भएर हाँस्नू
गुराँस फूल
तिम्रो बेगवान यात्रालाइ
मेरो सलाम !

मिथक कथाजस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तरालपछिसम्म
त्यसबेला पनि मान्छेहरू
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।

विजय शब्द बिम्ब (कविता सङ्कलन, २०६३)

उनीहरूले सोचेका भए …

रोक्नेहरू
रोक्न खोजिरहुन् गतिलाइ,
एउटा दुष्ट डफ्फालाइ
एकराते मेलामा मताएर
धिक्कार्न लगाइरहुन् आगतलाइ,
नयाँ शताब्दीसँगै
कलिलो घाम
रातो चेतना बोकेर छिप्पिँदै छ,
उसको गलामा
हरदिन माला झुण्ड्याएर
अब हामी
आदिम युग बाँच्न सक्दैनौं,
इतिहासले बोकेको एउटा गलगाँड
यो कुइनेटोबाट
अब हामी अगाडि बोक्न सक्दैनौं
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षैभरि कुकुरतिहार मनाउन सक्दैनौं ।

पुरोहितहरू,
तिमीलार्इ तुलसीको मोठमा आस्था छ भने
यसले तिम्रो आँखैअगाडि
हाक्काहाक्की पिसाब गर्छ
यसले तिम्रो आस्थाको रखबारी गर्दैन,
आफूले मनाएको कुकुरतिहार
सन्तानहरूका निम्ति
अथाह अपराध हुनेछ,
बोझले किच्चिनेछन् बस्तीहरू
अब जिजुहरू
यसैगरी पछुताउनेछन्,
बरू प्रत्येक वर्ष
दुइ वर्ष
वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँनयाँ दौडबाजहरू
हामी नौला चन्द्रमाहरू छोइरहन्थ्यौं
सुत्केरी आमाले,
काखबाटै छोरो गुमाउनु पर्दैनथ्यो
निरीह बाबुले
मध्य दिउँसै सेतीमा
जिउँदै छोरी बगाउनु पर्दैनथ्यो
आफ्नै पसिनाले आवाद बस्तीमा
शरणार्थीझैं
रहर मरेका जिन्दगीहरू बाँच्नु पर्दैनथ्यो,
एकआपसमा
समानताको कुरा गर्दा
अपराधीको नाममा
सोत्राको फायलमा प्रतिबादी बन्नु पर्दैनथ्यो
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षैभरि कुकुरतिहार मनाउन सक्दैनौं ।

भानु द्वैमासिक पूर्णाङ्क ९४, साउन २०६३

भोलिको तस्वीर

भित्तामा सबै तस्वीरहरू छन्
मार्क्स छन्
बुद्ध छन्
गान्धी छन्
र, छन् तस्वीरहरू
गाउँमा एक्लो जीवन बाँचिरहेका
बाबुआमाहरूका
तस्वीरमुनिको सोकेसमा
ड्युटीफ्रीका ब्ल्याकलेबलहरू छन्
चाँदीका रिकापीहरू
र लन्डनबाट आयातित
ग्लासका सिम्बोलहरू
सहरको घरमा ।
* * * *
प्रत्येक साँझ केही मान्छेहरू
धमिलो विवेक बोकेर
रक्सी र चिकेनरोस्टसँगै
उकपटक सबै तस्वीरहरू हेर्छन्
फेरि हेर्छन् बाबुआमाको तस्वीर
र, टोलाउँछन् उकछिन,
तस्वीरमा कुनै बासन छैन
पढ्न पठाउन गुन्द्रुक हालेको हातको,
मकै सामलको रङ्ग हुँदेन त्यहाँ
वर्षौं भइसक्यो
झुन्डिरहेको छ तस्वीर
रङ्गहीन तस्वीर
सहरको भित्तामा ।
* * * *
बाबुको पालामा
नजिकै खटियामा खोकिरहेका हुन्थे हजुरबा
तर भित्तामा हुँदैनथ्यो उनको तस्वीर,
यतिबेला बाबु
आधारातको निरवतालार्इ चिर्दै
सुकेनास खोकिरहेका छन् गाउँमा
र प्रत्येक कुकुरको भुकाइसँगै आमा
त्रासलार्इ पोल्टामा हालेर
अँध्यारोलार्इ अँगालो मारिरहेकी छन्
तर दशकौंअघिको
उनीहरूको तस्वीर
सहरको एउटा भित्तामा
सहरसँगै सुरक्षित छ
उता गाउँसँगै असुरक्षित छन्
बाबु आमाहरू,
म यतिबेला सोचिरहेछु नयाँ भोलि
हाम्रा सन्तानको पालामा
हामी त पक्कै हुँदैनौं खटियामा
तर टाँगिन्छौं कि टाँगिदैनौं
तस्वीर बनेर भित्तामा
भोलि के होला ?
हिजो मान्छेलार्इ प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्वीरलार्इ प्रेम गर्छन्
मान्छेहरू
हाम्रा सन्तानको पालामा
भोलि के होला ?

दोभान त्रैमासिक, २०६३ साउन

भोलि

भाइहरू लडेको चिनो
रगतले कट्कटिएको थोत्रो कमेज सिएर
एउटा नयाँ झण्डा बनाउने,
त्यही झण्डा बोकेर
विजयको जुलुस निकाल्ने,
सन्तान गुमाएका आमाहरूको
च्यातिएको मन
विजयको धागोले सिउने,
गैरीखेत लडेर
मर्न लागेका बिरूवाहरूमा
विश्वासको एक कुलो पानी हाल्ने,
आज मक्किएका बाटाहरू बाल्ने,
नयाँ भोलिका लागि
आज मर्नेहरू भोलिका लागि बाँच्ने,
आज हामी भोलिका लागि बाँच्ने ।
* * *

आव योजना कोर्ने
भोलिका लागि,
हामी त्यो दिन पक्कै त्यसै पाउने छैनौं
ती दिन ल्याउने ताराहरूको
बलिदानको गाथा गाउने,
स्कुलका साना नानीहरूलाइ
नयाँ गीत सिकाउने,
बाटामा थुप्रै ढुङ्हरू छन्
हामी ठाउँकुठाउँ लडेका छौं,
तिनीहरूलाइ फुटाएर सम्याउने,
आज भोलिका लागि
कष्टको ज्यानमारा उकालो हिँड्ने,
दशकौंदेखि हामीलाइ पछ्याइरहेका
नयाँ आवाजहरू लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने ।
* * *

हामी भोलि,
घरको बेथिति सबै मिलाउने,
वरिपरिका फोहोरहरू जलाउने,
शताब्दीयौंदेखि
हामी सबैको घाँटीमा झुण्डिएको छ
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने,
र, हामी नयाँनयाँ चन्द्रमा छुने
हामी भोलि नयाँ नेपाल जन्माउने ।
* * *
नौलो बिहानी मासिक, वर्ष ९ अङ्क ४, २०६३ असोज

म खोज्दैछु अर्को अमलेखगन्ज

फेरि गर्नु छ अमलेख
केही टाउकाहरूलाइ
एउटा नयाँ ठाउँ खोज्दैछु,
यो शताब्दीको
अर्को अमलेखगन्ज ।

मेरो बाटोमा काँडेतार तानिरहन्छन् उनीहरू
फगत उनीहरूको काम त्यत्ति हो,
ती टाउकाहरूलार्इ
नयाँ युगको जून स्वीकार्य छैन
ती मनहरूलार्इ
समानताको आकाशमा विश्वास छैन,
मलार्इ फोहोर आहालतिर दिशानिर्देश गर्नु
उनीहरूको कर्तव्य हो,
मेरा अघिल्तिर उनीहरू
कहिले रातो पर्दामा,
कहिले पहेँलो पर्दामा,
कहिले आफ्नो अनुहार लुकाएर देखापर्छन्,
मसँग अब एउटा बिकल्प छ
म एउटा नयाँ ठाउँ खोज्दैछ
यो शताब्दीको अर्को अमलेखगन्ज ।

हिजो खोजिएको अमलेखगन्ज
स्वतन्त्रताका लागि
आशक्त मनहरूको थियो,
अहिले मैले खोज्दै गरेको अमलेखगन्ज
दास बन्न आशक्त मनहरूका लागि हो
हामीले नजिकैबाट हेर्न नसकेको
क्रमशः भत्किरहेको
सहरको माझमा
उहिल्यैदेखि उभिएको
पूरानो एउटा भूतघरलाइ
आफ्नो आस्था ठानेर
केही टाउकाहरू
प्रदूषण बाँडिरहेका छन्
र, अघि बढिरहेको घडीको सुर्इलाइ
सिक्रीले बाँधेर
पछिल्तिर तानिरहेका छन्
म यतिबेला खोज्दैछु
तिनै टाउकाहरूका लागि
एउटा नयाँ अमलेखगन्ज ।

जनादेश साप्ताहिक, वर्ष १६ अङ्क ४, २०६३ मंसीर

सिंहदरबार

मलाइ,
सिंहदरबार र जादुघर
उस्तैउस्तै लाग्छ ।
* * *
सहिदको केसबाट बनेको
एउटा बख्खु ओढेर
उनीहरू सिंहदरबार पसे
यतिबेला म,
त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेको छु
हिजोझैं,
अब उनीहरू फर्कँदा
ब्वाँसोको छाला ओढ्छन् कि ओढ्दैनन् ?
अचेल कति फेरियो सिंहदरबार
हाम्रो गाउँ र बस्तीहरू सँगसँगै
म उसको चलनसँग त्रस्त छु ।
* * *

सिंहदरबार सहरमा छ
उसको शक्तिसँग
आजित छ मेरो गाउँ,
उ नुन बोक्ने ढाकर दिएर
एउटा नाइके सिंहदरबार पठाउँछ
नाइके ढाकरमा सुन बोकेर
सिंहदरबारको छेउमै बास बस्छ
मेरो गाउँ,
अनिकालको रासन खेप्न
एउटा बोरा दिएर
अर्को नाइके सिंहदरबार पठाउँछ
सिंहदरबार, उसको टाउकोको मोल गर्छ
नाइके सिंहदरबारको छेउतिरै थात जोड्छ
मैले सुन्दै आएको र
इतिहासमा पढ्दै आएको सिंहदरबार
एउटा कुशल जादुघर हो
त्यहाँभित्र पुगेपछि
मान्छेको रङ्ग फेरिन्छ
स्वभाव फेरिन्छ
अर्थात् ऊ सिङ्गै फेरिन्छ ।
* * *

मलार्इ
सिंहदरबार र जादुघर
उस्तैउस्तै लाग्छ ।

मधुपर्क मासिक, २०६३ पुस

समय

एकपछि अर्को
प्वाँस खसाउँदै
एउटा निरीह परेवा
घुर्मैलो आकाशतिर
अपत्यारिलो बेग हानिरहेको छ,
ऊ जतिजति टाढा जान्छ
म रङ्गहीन देख्छु उसलाइ
मेरै अघिल्तिर
ऊ सँगसँगै
समय पनि उडिरहेको छ ।

उसले गन्तव्यमा पुग्न
मरूभूमिभन्दा लामो यात्रा पार गर्नुपर्ने छ,
सगरमाथाभन्दा अग्लो विश्वास
नाघेर जानुपर्ने छ
चिलले झैं आँट गर्यो
एउटा परेवाले
र, अपत्यारिलो बेग हान्यो
ऊ सँगसँगै
सहरको गजुरबाट उडेको छ समय
तर ऊ गाउँ पुग्छ कि पुग्दैन
ससङ्कित आँखाहरू
थैलीमा सिउरेर
निरीह परेवाका लागि
एकमानो चारो साँचेर पर्खिरहेका छन्
उदास दलानमा टुक्रुक्क बसेर
मेरा गाउँलेहरू ।

एकपछि अर्को प्वाँख खसाउँदै
सहरबाट उडेको समय
गाउँ पुग्छ कि पुग्दैन
म पनि,
उही पुरानो सातु बोकेको झोलामा
केही मुठी चारो सँगालेर
भोलि बिहानको फजेरीमा
गाउँतिर जाँदैछु
भाले बास्नुभन्दा अगाडि
म भोलि बिहानै
नयाँ समयको स्वागतमा
गाउँ जाँदैछु ।

अग्रगति साप्ताहिक, वर्ष १, अङ्क १७, २०६३ पुस

वनफूल र सपना
(सहित सेतू सुनारको* स्मृतिमा)

म वनफूल,
युगौंदेखि,
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरू
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु,
अपमानित भएरै
मैले पनि युगलार्इ नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौं ?

ठिहिर्याउने वर्तमानमा बाँचेर
मैले सबैलार्इ
उक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पुर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडल माथिको जमीन टेकिनँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यत्त्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलार्इ थोपाको शक्तिसँग विश्वास छ
मलार्इ घामको बासनासँग विश्वास छ
मलार्इ हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलार्इ समानताको भोलिसँग विश्वास छ
म तपार्इँहरूजस्तै हो,
मलार्इ बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरू !
भोलिको समयलार्इ
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको बिरूवामा
फेरि झुन्डिरहनुहुँदैन कालीपोकेहरू,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलार्इ
बुझ्ने भएपछि सुनाइदिनू
तिम्रा निला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलार्इ बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।

मेरा पुर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झ्याँगिएर विषबृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहत भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्याङ लाएँ
प्रिय आफन्तहरू !
म जङ्गली फूल !
म सेतू सुनार !
तपार्इंहरूभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

*जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगन्जको तत्कालीन ज्ञानेन्द्र चोकमा गोली लागि मृत्यु भएकी सहीद । पछि आन्दोलनकारीले ज्ञानेन्द्र चोकलार्इ सहीद सेतू वि.क. चोकको रूपमा नामाकरण गरेका थिए ।)

हाम्रो जलजला मासिक, पूर्णाङ्क ११, २०६३ पुस

उदयपुर

बूढो लौरो टेकेर
भौंतारिने एउटा पुरानो जमिनदार जस्तो
शान छ / मान छैन
इतिहास छ / भरोसा छैन
जब बिहानैको मिर्मिरेमा
हलगोरूसँगै गुन्टा कसेर
चुरे कट्छन् मान्छेहरू
ऊ बाँझो महाभारतको
बनमारा घारीतिर लुक्छ
बूढो ! उदयपुर ।

कुहिरोको सिरक ओढेर
स्वर्ग पुग्ने सपना देखेका
केही बुढा पहाडहरू छन्
सम्पत्तिको गफ लडाएर
गरिबी बाँचिरहेका
निन्याउरा नदीहरू छन्
ब्रिटिस लाहुरेलार्इ
वैंशको सम्झना दिलाउने
पुराना कोट र टोपहरू झैं
उदयपुरगढी र चौदण्डीहरू छन्
छन् केही छन्
राजनितको नाममा
शक्तिको नयाँ हुन्डरीसँगै
पात झैं उड्न सक्ने नेताहरू छन्
छन् अझै छन्
पञ्चायतलार्इ जिताएर बाँकी रहेका
अलिकति छत्तीससाले रूखहरू छन्
भोट दिँदादिँदा छिया परिसकेका
असंख्य हातहरू छन्
छन् अलिअलि बाँकी नै छन्
द्वापरयुग पर्खिएका
केही मान्छेहरू छन्
देखिएका केही छन्
नदेखिएका धेरै छन्
उसको नागरिकतामा
काठमाडौं बाँचिरहेछन् मान्छेहरू
तर ऊ नागरिकतामा
काठमाडौं भएर कहिल्यै बाँचेन
भन्छ ! म स्वाभिमानको शीर हुँ
र, ङिच्च हाँस्छ
पायरियाले थोत्रिएका पुराना दाँतहरू ।

युगौंदेखि पर्खिरहेको छ ऊ
एउटा न्यानो सूर्य
थकित आँखाहरू बोकेर
अझै पर्खिन छाडेको छैन
कुहिरो बोक्ने डाँडाबाट
आस्थाको एउटा नयाँ सूर्योदय
ऊ पर्खिरहेको छ
अहिलेसम्म नउदाएको सूर्योदय

गरिमा वर्ष २५, पूर्णाङ्क २९०, २०६३ माघ

 

 

सन्त्रस्त आँखाहरू (कथासङ्ग्रह)

सन्त्रस्त आँखाहरू
(कथासङ्ग्रह)

मातृका पोखरेल

प्रकाशक

जनमत प्रकाशन
बनेपा
(२०६१, चैत)

कृति – सन्त्रस्त आँखाहरु -कथासङ्ग्रह)
कथाकार – मातृका पोखरेल
प्रकाशक – जनमत प्रकाशन बनेपा, काभ्रे, फोन ०११-६६१५७३
संस्करण – प्रथम, वि.सं. २०६१ चैत्र
र्सवाधिकार -लेखकमा
कम्प्युटर -श्रीकृष्ण बादे/केदार के.सी. ‘सुष्मेक’
आवरण -सुन्दर बस्नेत
-टाइम्स क्रियशन, पुतलीसडक, फोन ०१-४४१००५९
मुद्रण -नेबुला पिर्न्टस, बागबजार
मूल्य -रु. १००/-

सन्त्रस्त आँखाहरुभित्रका मातृका पोखरेल प्रकाशन गर्न पाउँदा

धेरैले कथा लेखेका छन् । तर कथामा यथार्थ खोप्न जानेका कथाकारहरु थोरै छन् । ती थोरै कथाकारहरुमा नयाँ पुस्ताका एकजना कथाकार मातृका पोखरेल देखा पर्न आएका छन् । समाजवाद यथार्थवादलाई आफ्नो विचारको आदर्श बनाएर कथाकार हुनेहरु थोरै छन् । तर यिनी यही दिशातिर उन्मुख कथाकार हुन् । कथामा युगको तस्वीर खोज्न यिनी तल्लीन छन् । पात्रहरुमा देखापर्दै गरेका कमी कमजोरीप्रति यिनी सचेत छन् । यही सचेतता नै यिनीभित्र लुकिरहेको कथाकारिता हो । कथाकार मातृका पोखरेल कथामा उत्पीडित जनताप्रति सहानुभूति राख्छन र शोषकहरुप्रति घृणा पनि व्यक्र गर्न सिपालु छन् । सन्त्रस्त आँखाहरुका अधिकांश कथाहरुमा नेपाली समाजका द्वन्द्व र सामयिक स्पनदनहरुको सुन्दर प्रतिबिम्ब अभिव्यक्त भएको पाइन्छ ।
कथा लेखन कार्य सजिलोजस्तो देखिएपनि ज्यादै गाह्रो कार्य हो । कथामा कथा नभएपछि कथाको केही अर्थ हुँदैन । मानिसभित्रको हृदयको आवाजलाई कथा बनाइदिँदा प्रभावशाली कथा बन्छन् । विश्वमा थोरैमात्र यस कोटीमा राख्न मिल्ने कथाकारहरु छन् । मातृका पोखरेल यस्तै कोटीमा लाग्न रुचाउने युवा पुस्ताका एकजना सचेत कथाकार हुन् । मानिसको जीवनमा जीवन्तता खोज्न सोच्नु नै जीवनमा गतिशीलता रोज्नु हो ।
उदयपुरमा जन्मेर काठमाडौँमा कर्म गर्न आइपुगेका कथाकार मातृका पोखरेलले थुप्रै ढङ्गमा समाजपरक पदचाहरु आफू सक्रय रहेर गर्न खोजेका छन् । विद्युत् तरङ्गहरुमा आफूलाई सँभाल्दै मनभित्रका आस्थाहरुमा सबलता भर्दे समाजका हितका लागि साहित्य लेखिनुपर्छ भन्ने सोच बोकेर कर्मशील रहँदै आएका यिनी सामाजिक चेतनाले पूर्ण सचेत साहित्यकार हुन् । सन्त्रस्त आँखाहरुमा सँगालिएका धेरैजसो कथाहरु अँध्याराका विरुद्ध उज्यालो खोज्ने चाहनाका भावधारामा प्रवाहित छन् । कथापात्रहरु, कथाकथ्य, परिवेश चित्रणमा स्वाभाविकता व्यक्र भएका छन् । एउटा नयाँ यात्रामा प्रवेश गर्ने मालतीको सङ्कल्प, छोराको भाग्यमा हुने वर्ग-विभेद, निर्णयभत्रको रामलालको मन, पश्चिमतिर हुने अन्यायपूर्ण घटना प्रसङ्ग, रामनाथले देखेको हरियो बत्तीको प्रकाश, सन्त्रस्त आँखाहरुभित्र देखापरेको मन तरङ्ग, बहुदलमा हुने अविश्वास प्रस्ताव, र्सवसाधारणले भोग्न बाध्य पारिएको चुनावको मौसम, फुटपाथको कथा, विदेश जाने सोचका विरुद्ध म यसरी फर्किएँको अनुभव, हुलिया खोज्दै हिँड्ने प्रहरीको मनोभावना, परिचित अभिनयमा भएको अभियान हेरेर यिनीभित्रको कथाकारितामा देखापर्ने प्रगतिका झिल्का झिल्कीहरु स्मरण गर्न सकिन्छ । कथा यात्रा सुन्दर बन्दै जाओस् शुभकामना छ ।
जनमत प्रकाशनको यो ४८ औँ कृति हो । उदयपुरका एकजना सक्रिय युवा साहित्यकार मातृका पोखरेलद्वारालिखित सन्त्रस्त आँखाहरु कथासङ्ग्रह छाप्न पाउँदा मनमत प्रकाशन खुसी अनुभव गर्दछ ।
मोहन दुवाल
जनमत प्रकाशन
२०६१ चैत्र २७, बनेपा

आफ्नै गोरेटोको साक्षी बस्दा

समाजलाई परिवर्तन गर्न मेरो पनि केही भूमिका हुनुपर्छ भन्ने बोधसहित मैले कथा लखनमा पाइलो राखेँ । अग्रजका कथाहरु पढ्दा मलाई लाग्ने गर्थ्या कथा साहित्यको अत्यन्तै सबल र प्रभावकारी विधा हो । यसबाट व्यक्ति, समाज र वर्गको सम्बन्ध र अन्तरविरोधको तस्वीरलाई राम्ररी खिच्न सकिन्छ र पछिल्लो पुस्ताका लागि एउटा सक्षम बाटोको सहज किसिमले संकेत गर्न सकिन्छ । मेरो उद्देश्य सत्य हो र म त्यसलाई आदर गर्छु र सत्यभन्दा बाहिरका कुराहरुसँग मेरो सरोकार छैन । सत्य खोजीको त्यही सिलसिलामा मैले कथा विधालाई यात्राको एउटा गोरेटो बनाउन खोजेको हुँ ।
वर्तमान समय नयाँ चेतना र पुराना परम्पराका बीच चलिरहेको अन्तरविरोधको प्रसव पीडाको समय हो । हाम्रो देशमा फाटफुट घटनाहरु बाहेक सन्तानब्बे सालमा हाम्रा गाउँहरु उठेनन्, सात सालमा उठेनन्, छत्तीस सालमा पनि उठेनन् र छयालीस सालमा पनि उठेनन् । तर यतिबेला हाम्रा गाउँहरु प्रत्यक्ष सङ्र्घष्ामा होमिन बाध्य भएका छन् । गाउँ शोषण बुझ्न थालेको छ । अन्याय बुझ्न थालेको छ । मार्क्स, माओतसे तुङ्ग पनि पढ्न थालेको छ । पुराना सामन्ती शोषणका जुइनाहरु गाउँबाट धमाधम चुँडिदैछन् । तर पनि गाउँ गरिबी, दमन र अत्याचारको केकन्द्र बनेको बन्यै छ । मैले केही कथामा बदलिँदै गरेको गाउँको तस्बीर खिच्न अर्न्तर्मनले नै चाहेको हुँ । एकादुई केही कथाहरु बाहेक यिनीहरुको परिवेश ग्रामीण क्षेत्र नै हो । प्रायः जसो सबै कथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
म भविष्यप्रति पुर्णत आशावादी छु । समय र मान्छेलाई विश्वास गर्न नसक्नेले इतिहासको यो कालखण्डप्रति न्याय गर्न सक्दैनन् । कल्पनाको आधार जीवनको वास्तविकताभन्दा टाढा नहोस् भनेर मैले धेरै पटक आफूलाई सम्हाल्ने कोशिस गरेको छु । सामाजिक समस्याहरुप्रति सचेत र सजग नभइकन असल साहित्यको सिर्जना हुन सक्दैन भन्ने कुरामा मभित्र कुनै द्विविधा छैन । म माग गर्छु साहित्यमा हाम्रो समयको प्रामाणिक स्वर हुनुपर्छ र बदलिँदै गरेको नयाँ मूल्यको तस्बीर आउन सक्नुपर्छ । पछि आएपछि मलार्य लाग्यो, सुरुका मेरा कथाहरुभित्र प्रशस्तै कमजोरीहरु छन् । यो कमजोरीहरुलाई पछिल्लो चरणमा उच्याउने प्रयत्न गरेको छु ।
कथाहरु पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकार इस्माली र विजय चालिसेप्रति म कृतज्ञतापर्ूवक आभार व्यक्र गर्दछु । साहितय सिर्जनाका लागि समय उपलब्ध गराएर सहयोग पुर्याउने जीवनसाथी अञ्जु र बहिनी विमलालाई पनि मैले सम्झनै पर्छ । प्रकाशनको महत्वपुर्ण जिम्मेवारी उठाइदिने जनमत प्रकाशन र अग्रज साहित्यकार मोहन दुवाल, प्रकाशनका लागि विविध सहयोग जुटाइदिने मित्रहरु कुसुम ज्ञवाली, बलभद्र भारती, पुण्य घिमिरे, भीमराज कडरिया, सी.बी. गड्तौला र कभर डिजाइन बनाई सहयोग गर्नुहुने टाइम्स क्रियशनका मित्र श्री सुन्दर बस्नेतलाई पनि मैले भुल्नु हुँदैन । अन्त्यमा, म ती पाठकहरुलाई धन्यवाद दिन्छु जसले यी कथाहरु पढेर मेरो उद्देश्यलाई सहयोग पुर्याउने छन् ।
मातृका पोखरेल
ठानागाउँ – ४, थामखर्क, उदयपु

 

 

एउटा नयाँ यात्रा

उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदाबरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची – फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची – त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ? उसले आँगनको बीचमा राखेको मकैको थाँक्रोको आड लिएर घाँसको भारी बिसार्इ । नाम्लो थाप्लाबाट निकालेर पछिल्तिर फालिदिई र उठ्न खोजी । पहिलो पटक आजै उसले धेरै थाकेको र गलेको महसूस गरी । कुनै बस्तुको सहारा नलिई उठ्न सकिन र थ्याच्च भूईमा बसी । उठ्नलार्इ वरिपरी लट्ठी खोजी तर केही भेटिन । र पछिल्तिर लम्केर थाँक्रोको खाँबो समाउँदै उठी । उठ्न त उठी, कामहरू सबै लथालिङ्ग छन् । ऊ सोच्छे – एकछिनमा गार्इबस्तु गोठमा आइपुग्छन् । गोबर, भकारो सोहोर्न बाँकी नै छ । सोच्दासोच्दै उसको थाकेको शरीरसँगै मन पनि ओइलायो । माझघर साँहिलीले बोलाउँदा मात्र ऊ झसङ्ग भएकी थिर्इ ।
– गह्रौं काम नगर भनेको टेरिनस् हगी ?
– के गर्नु नगरेर कसले गरिदिन्छ ?
– भन न लोग्नेलार्इ !
– गाउँ कसले डुलिदेओस् !
– हामीले त भन्ने मात्रै हो तँलार्इ, यस्तो भारी जीउ लिएर जंगलको काम गर्छेस् । जंगलमै बीच पर्लिस है ! रात पर्न लाग्यो । म त आहालको पानी लिन हिँडेकी… साँहिली फत्फताउँदै ओरालो झरी ।
यतिबेला साँहिलीसँग भेटेर अरू कुरा गर्न पनि मन थियो उसलार्इ । आफ्ना समस्याहरूका बारेमा ऊ थोरैसँग मात्र कुरा गर्थी । लोग्नेसँग भएका सहमति–असहमतिका कुराहरू पनि ऊ साँहिलीसँग भन्थी ।
उसको नाम मालती हो । झट्ट हेर्दा उसलार्इ कसैले पनि तीन सन्तानकी आमा भनेर लख काट्न सक्दैन । छोरो नजन्मिएको ठूलो परिवारको काँहिली छोरीको रूपमा ऊ हुर्किर्इ । धेरै छोरीको परिवार, बाबुले नजिकैको केटो खोजेर पन्ध्रै वर्षको उमेरमा उसको विवाह गरिदिए । उसको सहमति–असहमतिको प्रश्नै थिएन । उसको माइतीको जस्तै निम्न आर्थिक अवस्थामा गुज्रिएको परिवार थियो त्यो घर पनि । निम्न वर्गको ब्राम्हण परिवारकी सदस्य भएकीले अभावको जिन्दगीको बारेमा ऊसँग थुप्रै अनुभूतिहरू थिए ।
यसरी नै दिनहरू क्रमशः बित्दै गए । दाउरा, घाँस, पानी, भान्सा… यही प्रकारले । उसको काम घटेको छैन तर थकानको मात्रा बढ्दै गएको छ । फेरि चौथो सन्तान पनि छोरी नै जन्मी भने के गर्ने भन्ने मानसिक द्वन्द्वले पनि उसको थकान बढ्न झनै मद्दत पुगेको छ । अस्तिको रात नै उसलार्इ उसको लोग्नेले भनिसकेको थियो अब छोरी नै जन्माइस् भनेँ म सहन सक्दिनँ, आफ्नै बाटो रोज्छु । उसको लोग्नेको भनाइमा ऊ छोरा या छोरी छुट्याएर जन्माउन सक्ने मान्छे हो । अर्थात् पहिलेका तीन छोरीहरू पनि उसकै इच्छाले जन्मिएका हुन् । जीवनका यस्तै–यस्तै अनिश्चयहरू उसका जीवनसाथीजस्ता भर्इ घरी दायाँ घरी बायाँ गरेर हिँडिरहन्छन् । यस्तै जीवनसँग ऊ धेरै वर्ष सँगै हिँडी । यो यात्रा कति लामो छ ? यसले खोजेको भविष्य यही अनिश्चयको अन्त्य मात्र थियो । त्यसलार्इ महत्वाकांक्षा अर्थात् जे भने पनि हुन्छ । अब फेरि छोरी नै जन्मी भने उसको जीवनमा आउने भूर्इँचालोका बारेमा ऊ कल्पना गर्न पनि सक्दिन । केही वर्षदेखि यही क्रमले यस घरमा उसका दिनहरू बितिरहेका थिए । यिनै चिन्ताहरूले हुन सक्छ, केही समयदेखि उसका स्वभावमा प्रशस्त परिवर्तनहरू देखा पर्न थालेका छन् । ऊ पहिले पहिले धेरै बोल्थी, धेरै ठट्टा गरिरहन्थी । तर, उसमा यी कुनै पनि कुराहरू बाँकी छैनन् यतिबेला । सुनेको कुरो तत्काल प्रतिक्रिया फर्काइहाल्ने उसको बानी पूरै हरायो । ऊ अचेल सबै कुरा सुन्छे, मात्र सुनिरहन्छे । उसलार्इ नजिकैबाट चिन्नेहरू अचेलभरि यसैगरी मात्र बुझ्ने गर्छन् ।
ऊ मुर्छाबाट ब्यूझँदा छेउमा तल्ला गाउँकी घर्तिनी दिदी उभिरहेकी थिइन् । उसको लोग्ने पल्लो छेउमा हतास र आवेगको मुद्रामा टहलिरहेको थियो । त्यहाँ कुनै खुसी थिएन । घर्तिनी दिदीको अनुहारमा पनि एक प्रकारको मलिनता थियो । घर्तिनी दिदीलार्इ यस गाउँको प्रसुतिगृह भने पनि हुन्छ । सबैको काम पर्ने भएकोले उनलार्इ सबैले घर्तिनी दिदी भनेर आदर गर्छन् । त्यहाँको वातावरण बुझ्न मालतीलार्इ कुनै अप्ठ्यारो परेन । घर्तिनी दिदीले उनीहरूको मनोदशा बुझिसकेकी थिइन्; भनिन् – दैवले दिएको हात थाप्नुपर्छ नानी । मालतीले निधारमा हात राखेर प्रतिक्रियाहीन भएरै यी कुराहरू सुनिरही । लोग्नेको प्रतिक्रिया उसले सुन्न चाहिन र खोजिन पनि । उसको लोग्ने बाहिर भित्र गरिरहेको थियो । आज कति घिनलाग्दो देखी उसले लोग्नेको अनुहार । जो पहिले त अलिअलि मात्र देख्थी । घरी भित्र घरी बाहिर गरिरहेको उसको लोग्ने ऊसँग केही कुरा गर्न चाहेजस्तो देखिन्थ्यो । तर आज लोग्नेप्रति उसको घृणा चरम भएको मालतीले पहिलो पटक बोध गरी ।
मालतीलार्इ पूर्ण विश्वास भइसकेको थियो, अब यो घरमा सामान्य जीवन बिताउन उसलार्इ सजिलो छैन । र समाजका केही मान्छेहरू र लोग्नेसँग उसलार्इ साँच्चै घृणा बढ्दै गयो । म यस अवस्थाबाट मुक्ति पाउन जुनसुकै कदम उठाउन पनि तयार छु । उसले यो कुरालार्इ धेरै पटक सोची । धेरै पटक घोरिर्इ । यो निर्णय नै सबैभन्दा राम्रो भएको ठहर उसले गरी ।
मालतीलार्इ मैले सानैमा धेरै पटक देखेको र भेटेको हुँ । उसको बुबा हाम्रा परिवारका पुरेत थिए । तयसैले पनि वर्षको दुर्इ चार पटक मैले मालतीको घरमा पुग्नुपर्थ्यो । घरमा हुने अनियमित खालका पूजाआजामा उसलार्इ खबर गर्न । तिथि श्राद्धका बारेमा उनलार्इ हामीले खबर गरिरहनु पर्दैन । उनलार्इ सबैको मृत्यु तिथि कण्ठस्थ थियो । कहिलेकाहीं मालतीलार्इ पनि लिएर आउँथे उनी हाम्रो घरमा । मैले सानैमा भेट्दा देखेका उसका उत्सुक र चञ्चल स्वभावले अहिले छोडिसकेको रहेछ । त्यसबेला ऊ उसको बाबुले पढ्ने कर्मकाण्डका किताबहरू मीठो स्वरमा लय हालेर हामीलार्इ सुनाउँथी । हामी छक्क पर्थ्यौं र ट्वाल्ट्वाल्ती उसलार्इ हेरिरहन्थ्यौं । उसको प्रतिभा देखेर हामी भित्रभित्रै बालसुलभ इर्ष्या गर्थ्यौं । ऊ कहाँ स्कूल टेक्न नपाएकी केटी, हामी पाँच छ वर्ष स्कूल धाइसकेकाहरू । संस्कृत श्लोक मीठो भाका पारेर गाउने उसको शैलीले हामी धेरै पटक लोभिएका थियौं । घरभित्र हुने अनुष्ठानहरू चलिरहेका हुन्थे । ठूला मानसिहरू उतैतिर व्यस्त हुन्थे । हामी समवयका केटाकेटीहरू आँगन र बारीमा भेला हुन्थ्यौं । त्यसबेला मालती हाम्रो बीचमा हरेक दृष्टिले केन्द्रिय पात्र हुन्थी, उसको खुबी र प्रतिभाले ।
धेरै वर्षपछि पढाइको बीचबाट म घर पुगेको थिएँ । मालतीको बुबा हाम्रो घरमा आएका रहेछन् । मैले त्यसबेला उनीसँग मालतीको बारेमा सोधेको थिएँ । उनैबाट विवाह भइसकेको कुरा थाहा पाएँ । त्यसपछि मालतीलार्इ मैले धेरै वर्षसम्म भेटिनँ र उसका बारेमा केही कुराहरू सुनिनँ ।
आज मैले त्यही मालतीलार्इ भेटें, अरूणको विवाहको कार्यक्रममा । अरूण मेरो साथी थियो । ऊ राजनैतिक आन्दोलनमा लागेको मान्छे । कुनै जागिर पनि खाएन । अहिलेको सत्ता स्वार्थका लागि खेलिने खेलबाट ऊ टाढै थियो । अरूणको विवाहमा मालती कसरी आई ? विवाहको कार्यक्रममा दुई थरी महिलाहरू प्रष्टसँग चिनिन्थे । एकाथरी अरूणका नातेदार श्रृंगार पटार गरेर आएका थिए भने अर्कोतिर उसका साथीहरू सामान्य रूपमा कुनै तयारी बिना नै आएका देखिन्थे । त्यसैगरी मालती पनि कुनै तयारि बिना आएकी थिई । उसले लगाएका लुगाहरू घरै बस्दा लगाउने जस्ता थिए । कपाल पनि उस्तै जुम्रुङ्ग परेको थियो, काइँयो नलगाएजस्तो । ऊ आफ्नै साथीहरूको समूहमा पनि फरक थिर्इ । अरूको जस्तो कोमल स्वभावको गन्ध थिएन उसको व्यक्तित्वमा । उसको शरीरमा चुरापोते कतै थिएन । आधाजसो महिलाहरू भएको भीडमा ऊ देख्दैमा फरक थिई । बेग्लै, नितान्त बेग्लै । उसको हात समाएर उभिएकी उसकी ठूली छोरी थिर्इ । उ पनि अरू केटाकेटीको भीडमा फरक थिई । सबै सजिएर आएको ठाउँमा उसकी छोरीको खुट्टामा धेरै पुराना र थोत्रा चप्पल थिए । मैले उसलार्इ पहिलोपल्ट सहजै चिन्न सकिनँ । तर उले मलार्इ अलिकबेर हेरी तर उसले पनि राम्ररी ठम्याउन नसकेको जस्तो लाग्यो । उसका बारेमा त्यहाँ धेरै कुराहरू चले । त्यही चर्चाको बीचमा एकजनाबाट मैले सुन्न पाएँ – ऊ खोटाङतिरबाट आएकी हो र यहाँ कतै सानोतिनो काम गरेर छोरीहरू पालेर बसेकी छ । उसको नाम मालती हो । यति सुन्नेबित्तिकै मैले मालतीलार्इ सम्झें । खोटाङबाट आएकी मालती अर्थात् मैले त्यही मालतीको लख काटेँ । म कार्यक्रमको भीडतिर छिरेँ फेरि त्यही मालतीलाई हेर्न । ऊ त्यसैगरी त्यहीं उभिएकी थिई । त्यो त्यही मालती थिई, हामीसँग सानो छँदा सँगै खेल्ने मालती । उसले मलार्इ देखिरहेजस्तो लागेछ र सोधी – तपार्इंलार्इ मैले कतै देखेको हुँ ? सहज थियो उसको प्रश्न ।
मैले आफ्नो परिचय दिएँ । उसले भेट हुन्छ भनेर सोच्दै नसोचेको कुरा भयो भनेर भनी । छक्क परेर एकछिन हेरी । मैले उसको बारेमा जानकारी लिएँ । विवाहको कार्यक्रम अन्तिमतिर पुगेको थियो । ऊ राजनैतिक आन्दोलनको सम्पर्कमा पुगिछ । उसले आफ्ना जीवनका धेरै कुराहरू बतार्इ । हिँड्ने बेलामा उसले भनेकी थिर्इ – म एउटा यात्रामा निस्केकी छु, विवेक विरूद्धको यात्रामा । म अहिले धेरै खुशी छु । म बाटोभरि मालतीले रोजेको यात्राको सफलताको कामना गर्दै घर फर्किएँ ।
(रचना वर्ष-४५, पूर्णाङ्क-८४, २०६२ असार-साउन)

 

छोराको भाग्य

रिठ्ठेको त अब दिन फिरेजस्तो छ नि ! सुन्तलीले पँधेरामा गाग्रो बिसाउँदै भनी ।
आ… काकी पनि के को दिन फिर्नु नि ! बिचरो रिठ्ठेको छोरो मर्न लागेको सासमात्रको छ । मुखियाको जन्मिने बित्तिकैको छोरो वर्षीको जत्रो छ । बराबरी भाग्य भए अहिले किन फरक भयो ? निर्मलाले ओठ लेप्र्याउँदै जवाफ दिर्इ ।
यी पढेका मान्छेहरू सबै यस्तै हुन्छन् । भाग्य जन्मँदै लिएर आउनुपर्छ पछिपछि हेर्दै जा न । काकीको कुरामा सही थाप्दै तल्लाघरे खत्रिनीले भनिन् ।
यो विषयमा पँधेरामा हिजो–आज निकै बेर कुरा चलेछ ।
मुखिया बा र उसको छोरो एकै दिन, उही समयमा जन्मेको कारण रिठ्ठे हिजो आज निकै खुशी देखिन्थ्यो । मुखिया वा गाउँका ठूला ज्योतिष पनि थिए । उसले मनमनै सोच्यो – छोराको भाग्य सोध्न मुखिया बाकहाँ जानुपर्ला ।
हिँड्ने बेलामा श्रीमतिले भनी – सुत्केरी भएको यतिका दिनसम्म पनि राम्रो खानेकुरा मुखमा हाल्न पाइनँ । मेरो जिउ काम नलाग्ने भो ।
उसले श्रीमतिको कुरा सुनेको नसुन्यै गर्यो ।
ऊ एकाबिहानै मुखियाको घरमा पुग्यो । भोलि हुने न्वारानको चहलपहल त्यो घरमा देखिन थालेको थियो । कोठाहरूमा भोलिका लागि मिठार्इ वा अन्य परिकारहरू बनाइरहेका मान्छेहरू सलबलाइरहेका देखिन्थे । आँगनमा भोलिका लागि काट्न ल्याइएका खसीहरू बाँधिएका थिए । मुखिया बरण्डामा बसेर नयाँ पाहुनाहरूसँग भेटघाट र कुराकानीमा तल्लिन थिए । बरण्डाबाट मुखियाले उसलार्इ देख्नेबित्तिकै तल आँगनमा ओर्लिए र भने – तँ बेलैमा आइपुगिस्, राम्रै भयो । तेरो पनि केही काम छ कि ?
छोराको भाग्य सोध्न – प्रसन्न मुद्रामा उसले कड्किएर भन्यो । सधैंभरि झुकेर मात्र कुरा गर्ने मानिसले आज कसरी ठाडठाडै कुरा गर्यो । मुखिया अचम्ममा परे ।
हजुरको छोरो र मेरो छोरो एउटै साइतमा जन्मिए । मेरो छोराको भाग्य पनि हजुरको छोराको जस्तै हुनुपर्छ । हजुरको छोराको भाग्य कस्तो छ ? उसले एकै सासमा आफ्ना कुरा सिध्यायो ।
धत् पाजी ! कहीँ तेरो र मेरो छोरो एउटै साइतमा जन्मन्छन् ? रिसाहा अनुहार लगाएर मुखियाले उसलार्इ भने ।
हो हजुर ! गाउँका सबै देख्नेहरूलार्इ थाहा छ । पुरेतलार्इ पनि थाहा छ । पुरेतले भोलि हजुरको र मेरो छोराको एउटै नाउँ जुराउँदैछन् । उसले खितिति हाँस्दै भनेको सुन्दा मुखियालार्इ लाग्थ्यो – ऊ गर्वको चरम सीमामा छ ।
मुखिया बा एकछिन अलमल्ल परे ।
एउटै साइताँ जन्मनेबित्तिकै भाग्य उही हुन्छ भन्ने छैन । हेर रिठ्ठे… पुर्खाले गरेको कर्मको फल पनि सत्नानलार्इ मिल्छ । मुखियाको भनार्इले उसलार्इ कतै अन्तर्मनमा झीरले घोचिरहेझै लाग्यो ।
एकछिन मुखिया बाले घोत्लिएर भने – भोलि छोराको न्वारान छ, दिनभरि तैंले यहाँ आएर सघाइदिनु पर्छ । बरू भोलि बिहान चाहिँ चाँडै आउनू नि !
हजुरले के कुरा गर्नुभा ? मेरो छोराको पनि भोलि न्वारान छ नि । अत्यासलाग्दो पाराले उसले कुरा गर्यो ।
मुखियाको रिस चढ्दै गयो । उनले विचार गरे – अब यसलार्इ अन्तिम अस्त्र प्रहार गर्नु पर्ला ।
हेर, तेरो घरजग्गा मेरो नाममै छ । तैंले वर्षेनी व्याजमात्र बुझाइस् । अब साउँको भाका पनि नाघिसक्यो । बेलामा काम देलास् भनेर मैले तेरो मुख हेरिदिएको हुँ । जे गर्छस् … नत्र तयो घरबारी भोलिदेखि नै छाडिदिनू ।
मेरो घरबारि हजुरको नाममा कसरी ? रिठ्ठेको अनुहारमा एकाएक अँध्यारोको छाँया देखियो । उसले आफ्नो भविष्य ऐना फुटेझैं चकनाचुर भएर त्यही अगाडि फुटेको महसुस गर्यो । उसले एकछिन कुनै कुरा सोच्नै सकेन ।
यहाँ कानून अनुसार काम हुन्छ । जा आफैं बुझ । मुखिया शहरबाट आएका पाहुनाहरूसित कुरा गर्न माथि चढे ।
मुखिया साहेब म कानून सानून केही जान्दिनँ । लर्बरिएको स्वरमा मुखियाले सुन्ने गरी उसले भन्यो ।
रिठ्ठेले अलि वर आएर पछि फर्किएर हेर्यो । मुखियाको छोराको न्वारानको चहलपहल ! आउने मान्छेहरूको ओइरो । बाटाभरि उसले सोचिरह्यो – आफ्नो र आफ्नो छोराको भाग्य ।

(नयाँ बिहानी, वर्ष–१, अङ्क–१, २०५५ मंसिर)

 

निर्णय

महेन्द्र राजमार्ग छाडेर उत्तरतिरको मोटरबाटो लागेपछि केही स–साना बस्तीहरू भेटिन्छन् । अब त पुराना मान्छेहरूलार्इ मात्र त्यस ठाउँको ऐतिहासिक महत्वका बारेमा थाहा छ । बसमा यात्रा गर्ने बुढापाका मान्छेहरू अझैपनि यस ठाउँको ऐतिहासिक योगदानका बारेमा चर्चा गर्ने गर्छन् । इतिहास खोजबिन गर्नेहरूका लागि त यो कुनै नौलो ठाउँ हुँदै होइन । तर नयाँ पुस्ताका युवाहरू यो ठाउँका बारेमा त्यति जान्दैनन् । उनीहरूलार्इ इतिहास सुनाउनेहरू पनि अरू नै काममा लागेका छन् । यो ठाउँ नपत्याउने जस्तो देखिए पनि यसले पञ्चायती निरंकुश व्यवस्थाको छातिमाथि बज्रमुक्का प्रहार गरेको थियो । जनताको मुक्तिका लागि आफ्नो जीवन होम्नेहरूको कठ्याङ्ग्रिएको विश्वासमा नयाँ उत्साह थपेको थियो । हो, त्यही ठाउँ हो, जसले रामलाललार्इ राष्ट्रिय राजनीतिका इनेगिनेका चर्चित नेताहरूको समकक्षमा स्थापित गर्यो । यही ठाउँको गाथा र कथा उत्पीडित युवाहरूले गौरवको रूपमा देशभरि सुनाए ।
पन्ध्र वर्षपछि रामलाल आज यो बाटो हुँदै पार्टीको काममा पूर्वतिर जान लागेको थियो ।
मध्यान्हको समय थियो । रामलालले वरिपरि हेर्यो । यो त्यही चिरपरिचित ठाउँ, जहाँ उसले जीवनको लामो कालखण्ड सङ्घर्षको मैदानमा बितायो । र कतिलार्इ त्यही मैदानमा होमिन प्रेरित गरेको थियो । उसको मनमा त्यस ठाउँ नजिकैका वनपाखाहरू आउन थालेपछि बेग्लै भाव सञ्चार भएर आयो । यस ठाउँको परिचित गन्ध आइरहेको थियो उसलार्इ । त्यो गन्धले आनन्दिलो महसूस गरेको थियो उसले । आज किन उसलार्इ यो ठाउँको अत्यन्तै माया लागेर आयो । उसको घरभन्दा यो धेरै टाढाको बस्ती हो । यो ठाउँमा जीवनको लामो कालखण्ड बिताउनु पर्दा उसले आफ्नो घर कहिले सम्झेन । यो ठाउँले उसलार्इ दिएको मायाको कारण रामलालले आफ्नो घर बिर्सिएको थियो ।
ए ! गाडी बिस्तारो चला है ! रामलाले एउटा डाँडाको झुप्रोतिर फर्किएर हेर्दै वीरनरसिंहलार्इ आदेश दियो । तलतिर बगेको नदी कतै देखिँदै कतै हराउँदै थियो । केही छिन अघिदेखि रामलालको स्वभावमा परिवर्तन आएको छनक त वीरनरसिंहले पनि पाएको हो । तर उसलार्इ के थाहा, रामलाल र यस ठाउँको सम्बन्धको बारेमा । यतिबेला रामलाल मोटरभित्रबाट आँखा तेजिला पारेर वरिपरि नियाल्दै थियो । ऊ प्रत्येक रूखहरू हेर्छ, खेतबारीहरू हेर्छ र प्रत्येक घरहरूलार्इ अत्यन्तै गौर गरेर हेर्छ । कतै झुत्रोझाम्रो मान्छे देखियो भने पनि ऊ पछि फर्किएरसम्म हेर्छ । ड्राइभर वीरनरसिंहले मनमनै विचार गर्यो – नेताज्यूको नजिकैबाट परिचित ठाउँ हुनुपर्छ यो !
ठ्याक्कै पन्ध्र वर्ष भएछ यो ठाउँमा फेरि पाइला टेकेको । कति चाँडो यी पछिल्ला दिनहरू बितेछन् । सातवर्षको भूमिगत जीवन यस ठाउँमा बिताउँदा कति लामो लागेको थियो । ऊ जान अन्जान आफ्नो अतीततिर फर्किरहेको थियो ।
उसले बाटाका डिलहरूतिर चिनेका थुप्रै मान्छेहरू देख्यो । राना कान्छो, सुवेदार बूढोलार्इ पनि देख्यो । एकमनले उसलार्इ लाग्यो – मोटर रोकेर बोलाउँ । तर ऊभित्रको द्विविधाले कुनै निर्णय नलिँदै जीप निकै टाढा पुगिसकेको हुन्थ्यो ।
अहो, कान्लेबुढा त निकै बुढा भैसकेछन् ! ड्राइभरतिर हेरेर आश्चर्य मान्दै रामलाले भन्यो ।
साहेबले सबैलार्इ चिन्नु भए जस्तो छ यहाँ त ! वीरनरसिंहले रामलालतिर नफर्कीकन जिज्ञासा राख्यो ।
एकमनले रामलाले सोच्यो – यो ठाउँसँग आफू जोडिएको कथा सबै वीरनरसिंहलार्इ सुनाइदिउँ । तर उसले मलार्इ कसरी सोच्ने हो । बा ! यहाँका मान्छेहरूझैं उसले पनि मलार्इ घृणा पो गर्ने हो कि ?
यो ठाउँमा उसले मेहनतका साथ काम काम गरेको बेलामा उसको र यस ठाउँको सम्बन्धका बीचमा यस्तो फाटो आउला भन्ने शङ्का कसले गर्न सक्थे । न उसैले गरेको थियो । ऊ त्यो मूल्यबाट यो जुठेल्नामा पुग्न सक्छ भन्ने पनि त्यसबेला कसले सोच्न सक्थ्यो !
अहो कान्लेबुढा त निकै बुढा भइसकेछन् ! ड्राइभरतिर हेरेर आश्चर्य मान्दै रामलाले भन्यो ।
साहेबले सबैलार्इ चिन्नुभए जस्तो छ यहाँ त ! वीरनरसिंहले रामलालतिर नफर्कीकन जिज्ञासा राख्यो ।
एकमनले राममालले सोच्यो – यो ठाउँसँग आफू जोडिएको कथा सबै वीरनरसिंहलार्इ सुनाइदिऊँ । तर उसले मलार्इ कसरी सोच्ने हो । बा ! यहाँका मान्छेहरूझैं उसले पनि मलार्इ घृणा पो गर्ने हो कि ?
यो ठाउँमा उसले मेहनतका साथ काम गरेको बेलामा उसको र यस ठाउँको सम्बन्धका बीचमा यस्तो फाटो आउला भन्ने शङ्का कसले गर्न सक्थे ? न उसैले गरेको थियो । ऊ त्यो मूल्यबाट यो जुठेल्नामा पुग्न सक्छ भन्ने पनि त्यसबेला कसले सोच्न सक्थ्य ! तर कसैले नसोचेको कुरा भयो । रामलाल आज कल्पनै गर्न नसकेको ठाउँमा पुग्यो । उसका विरूद्धमा थुप्रै लेखहरू लेखिए । ऊ पदको लोभमा बिक्यो… ऊ भ्रषट भयो… आदि आदि ।
वीरनरसिंह यहीं परतिर चिया खानुपर्ला है ! रामलालको चिया खाने आग्रहको कारण वीरनरसिंहले केही बुझ्न सकेन । उसले यति मात्रै सोच्यो – अघि मात्र चिया खाएको, यति चाँडै चिया खाने बेला त भएको थिएन ।
गर्मीले गर्दा वातावरण उराठलाग्दो थियो । रूखका सियालहरूमा गार्इबस्तु हेर्ने गोठाला मात्र देखिन्थे । परैबाट त्यो बस्ती देखियो । टन्टलापुर घामको तिरमिरले बस्ती नै हल्लिएजस्तो लाग्थ्यो । आफू यस ठाउँमा भूमिगत जीवन बिताउँदा यसैगरी बस्ती हल्लिएको महसूस गरेका दिनहरूको याद आयो उसलार्इ । त्यो बस्तीलार्इ नजिकैबाट हेर्ने उसको रहर बढ्दै गएको थियो ।
तर… कसरी ! त्यही ठाउँ हो, हिजो अर्को पार्टीतिर लागेपछि त्यहाँका सबै मान्छेले मेरो पुत्ला बनाएर जलाए । मप्रति सबैले घृणा गरे । यस ठाउँका सबै मान्छेहरू यसको पछि लाग्छन् भनेर म प्रवेश गरेको पार्टीले मलार्इ धेरै ठूलो पद दियो । तर मसँग एकजना पनि पछि लागेनन् । म अपमानित भएँ… रामलाल आफ्नो अतीतसँग झस्किरहेको थियो ।
यो ठाउँमा गाडी रोक्दा कुनै घटना पो घट्छ कि ! उसले तुरून्त विचार गर्यो ।
उसको पलायनलार्इ यहाँका मानिसहरूले ठूलो धोका ठानेका थिए । अब त यति लामो समय भइसकेको थियो । यहाँका मानिसहरूले बिस्तारो बिस्तारो बिर्सिसकेको पनि हुनुपर्छ । नयाँ पुस्ताले मेरो कथा मात्र सुनेको हुन सक्छ । आखिर यति असुरक्षा सम्झेर मैले यो ठाउँमा किन रोकिने ! रामलालको अन्तरमनभित्र लामो समयदेखिको सन्त्रास बाँकी नै थियो ।
त्यहाँ एकछिन रोकिऊँ कि नरोकिऊँ ? उसको मन दोमन भयो ।
अलिक परैबाट बाटाका छेउमा लहरै पाँचसात वटा पसलहरू देखिए । रामलाल यो क्षेत्रमा बस्दा यो सडक बनेकै थिएन । त्यसैले यतातिर पसलहरू पनि थिएनन् । तर बाटो बनेपछि जीविकोपार्जनको निम्ति यतैतिरका मानिसहरूले पसलहरू खोले । आफूले चिनेका घरहरूमा रामलाले परैबाट देख्यो । कति घरहरू भत्किएछन्, कति घरहरू नयाँ बनिएछन् । उसले छिनभरिमै वरिपरि आँखा दौडायो ।
आखिर रामलालले एउटा पसल देखाउँदै वीरनरसिंहलार्इ मोटर रोक्न आदेश दियो । पसलतिर धक्का दिलाउँलाझैं गरी वीरनरसिंहले मोटर साइड लायो । मोटर साइड लाएको देखेर वरिपरिका मानसिहरूको ध्यान तयतै केन्द्रित भएको थियो । झनै उसले नसोचेको कुरा भयो । उसको शरीर सन्न भएर आयो । वीरनरसिंहप्रति पनि उसलार्इ रिस उठ्यो ।
मोटरबाट उत्रेपछि वरिपरि नहेरी रामलाल एउटा चिया पसलभित्र सुट्ट छिर्यो र एउटा बेञ्चमा बसेर दुर्इ कप चियाको अर्डर गर्यो । चिया पसल्नीलार्इ देखिरहेको मानछे जसतो लाग्यो उसलार्इ । त्यसैले त्यता फर्कनै सकेन र बाहिरतिर हेरेर टोल्हाउन थाल्यो । बिस्तारै पकेटबाट रूमाल झिक्यो र आफ्नो मुख छोप्यो ।
साबलार्इ सञ्चो छैन कि के हो ? वीरनरसिंहले अघिदेखि नै फरक देखिएको उसको हाउभाउप्रति शङ्का गर्दै सोध्यो ।
होइन मलार्इ ठीक छ । उसको स्वर पहिलेभन्दा निकै भिन्न थियो र मलिन पनि । केही भनिहाल्नु पर्दा पनि ऊ रूमाल नझिकी बोल्थ्यो ।
रामलालले तत्कालै पसलको बाहिरपट्टि मिठूलार्इ देख्यो । त्यो त्यही मिठु हो, जसले ऊ यस ठाउँमा भूमिगत जीवन बिताउँदा बिरामी परेको बेला धेरै स्याहारसुसार गरेकी थिर्इ । रामलालले मिठुलार्इ नियालेर हेर्यो । उस्तै झुत्राझाम्रा कपडामा थिर्इ ऊ । उसले मनमनै गम्यो – व्यवस्था फेरिएर मिठुलार्इ केही पनि भएनछ । कति माया गर्थी ऊ त्यसबेला । पार्टीको ठूलो मान्छे हुन भनेर आदर गर्थी । गरिब, दुःखीहरूका साथ दिने मान्छे हुन् भनेर आफ्ना साथी सङ्गीहरूसँग बहस गर्थी । त्यो त्यही मिठु हो । जसलार्इ छेउमा अढेस लागेर रामलालले निकैबेर हेरिरह्यो ।
मिठु छिमेकीसँग कुरा गर्दै ऊ बसेको होटलको नजिकैतिर आउन लागी । रामलालभित्रको त्रस्तपन बढ्दै गयो । यो ठाउँमा उत्रने निर्णयमा गल्ती भएको महसूस गरिरहेको थियो ऊ । मिठु पसलमा आइपुगेको थिइन । पसलभन्दा केही परै ऊ डोको बोकेर अर्कै महिलासँग कुरा गर्दै थिर्इ ।
कतै मिठुले मेरै कुरा त गरेकी छैन, त्यो मान्छेसँग । हामी सबैलार्इ धोका दिएर प्रतिक्रियावादीहरूसँग बिकेको मान्छे हो भनिरहेकी होली उसले । हामीले गरिबहरूलार्इ भर्याङ्ग बनाएर आफू व्यक्तिगत स्वार्थमा बिक्री हुने मान्छे भनेर सबै गाउँलेहरूले घेरे भने ! मिठुले घरिघरि आफैंतिर फर्किएर हेरेझैं लाग्थ्यो उसलार्इ । कुनामा छेलिएर बसेर यस्तै–यस्तै शङ्का गरिरह्यो रामलालले ।
रामलाललार्इ डरले चिटचिट् पसिना आइरहेको थियो । गिलासमा चिया आधा जति नै बाँकी थियो । रूमालले मुख छोप्दै रामलाल जुरूक्क उठ्यो र हतारहतार चियाको पैसा तिरेर मोटरभित्र पस्यो । उसको हाउभाउ र गतिबिधि पुरै अस्वभाविक लागे पनि वीरनरसिंहले वास्तविकताको भेउ पाउनै सकेको थिएन ।
रामलालले मोटरमा चढेर बस्तीतिर हेर्यो । बस्ती निकै सुन्दर भइसकेको रहेछ र व्यवस्थित पनि । ऊ चढेको मोटर अगाडिपट्टि बस्तीको फोहर जाने ढललार्इ व्यवस्थित ढङ्गले बाहिर लगिएको थियो । त्यसलार्इ पनि रामलालले अत्यन्तै गौर गरेर हेर्यो ।
मोटर बाहिर मान्छेहरूको चहलपहल बढी भएको जस्तो लाग्यो रामलाललार्इ । वीरनरसिंहतिर फर्किएर हेर्यो र हातले चाँडै आइहाल्न इशारा गर्यो ।
वीरनरसिंहले मोटर नहिँडाउँञ्जेलसम्म ऊभित्र सम्भावित दुर्घटनाको हुण्डरी चलिरहेको थियो । मोटर विस्तारै चलायो वीरनरसिंहले । मोटरको सुस्त गति मन परिरहेको थिएन रामलाललार्इ । वीरनरसिंहसँग पनि भित्रभित्रै आक्रोशित भइरहेको थियो ऊ । केही छिनपछि मोटर बस्ती छाडेर जंगलको बाटो लाग्यो । बिस्तारै बिस्तारै रामलाल पनि शान्त हुँदै गयो ।

पूर्व क्षितिज वर्ष-१, अंक-२, २०५६, वैशाख-असार

 

पश्चिमतिर

आकाश खुल्ला छ । बादलको एउटा टुक्रो कतै पनि देखिँदेन । जेठको खडेरी अचेल गाउँमा आतङ्कको रूपमा भित्रिएको छ । पोहोरपरार यतिबेला मकैको विरूवा घुँडाघुँडा नाघिसक्थ्यो । वल्लाघर पल्लाघरका मान्छेहरू गच्छेअनुसारको हातमुख जोडेर खडेरीले बोकेर ल्याएको दुर्दिनहरूका बारेमा सारू बुढाको आँगनमा बसेर छलफल गर्ने बेला हुन लागेको छ । सारू बुढाको आँगनमा बसेर छलफल गर्ने बेला हुन लागेको छ । सारू बुढाको आँगनमा बसेर छलफल गर्ने यहाँ एउटा चलन नै जसतो बसिसकेको छ । म यहाँ आउनुभन्दा पनि धेरै वर्ष अगाडिदेखि नै गाउँका सबै मान्छेहरू जम्मा भएर बुलुका सुख–दुःखका कुरा गर्ने गरेका रहेछन् यो आँगनमा । अचेल टोलमा खडेरीको चर्चाले गाउँघरका अन्य समस्याहरूलार्इ ओझेलमा पारेको छ । सारू बुढाको घरमा अरू घरहरूमाभन्दा चाँडै खाना खाने चलन छ । जहान पनि कति पो छन् र ! सारू बुढा, बुढाकी बुहारी, नाति तिले र मेरो हिसाब गर्नुपर्दा चार जनाको परिवार ।
आज यो टोलमा अरू दिनको भन्दा बढ्दा चहलपहल देखिन्थ्यो । नयाँ मान्छेहरू सारू बुढाको घरको बलेसी हुँदै कान्छी मगर्नीको भट्टी पसल र गुमाने सन्यासीको घरमा आउने जाने क्रम बढ्दै थियो । आज वातावरण पनि अरू दिनकोजस्तै छैन । पल्लाघरे खड्काको छोरो अमरबहादुर क्याम्पस बिदामा घरमा हिजोमात्र आइपुगेका थिए । उनी आउँदा गाउँ नै रमाइलो भएको अनुभव गर्छन् यहाँका मान्छेहरू । उनले भनेको कुराले गाउँलेहरू केही पाएको महसूस गर्छन् । त्यसैले यो गाउँमा हिजोअस्तिदेखि म एक प्रकारको फरक वातावरणको अनुभव गर्छु ।
आज तिले पल्लाघर खड्का नानीको घरतिर गयो होला, होइन त मास्टर नानी ? सारू बुढा दलानको आँटबाट घस्रेर तल झर्दै भन्छन् । उनी उमेरले पनि निकै बढा भइसके । दलानबाट तल ओर्लँदा पनि घस्रनु पर्छ उनले । सारूको उमेर नब्बे जति पुगेको अनुमान गर्छन् गाउँका मान्छेहरू । आफ्नो उमेर त उनलार्इ पनि थाहा छैन । गाउँका कसैले उमेर सोध्यो भने उनी गुमाने जैसी जन्मिँदा उसकी आमाको सुत्केरी स्याहार्न आमालार्इ पछ्याउँदै म जानसक्ने भइसकेको थिएँ भन्ने जवाफ दिन्छन् । गाउँटोलमा गुमाने जैसीको उमेर पचासी वर्ष पुगेको आधारमा सारू बुढाको उमेरको लख काट्ने गरिन्छ ।
आज नौला मान्छेहरू गाउँमा थुप्रै छन् त दाहाल सर । तपार्इं चिन्नु हुन्छ ? मैले आफू बसेको फलैंचाबाट पछाडि फर्किएर हेरें, तिले गाउँतिर घुमेर आइपुगेको रहेछ । तिलेको सोधाइमा केही अस्वभाविकपन झल्किन्थ्यो । अचेलभरि यस्तै कुरामा ऊ बढी ख्याल गर्न थालेको थियो ।
म त कसैलार्इ पनि चिन्दिनँ । मैले उसलार्इ भनें ।
तिले मेरो सानैदेखिको विद्यार्थी । म पूर्वी पाहाडको मान्छे । शिक्षक जागिर खान यो ठाउँमा आएदेखि तिलेलार्इ पनि घरमा पढाइदिन भनेर सारू बुढाले आफ्नो घरमा बसिदिन आग्रह गरेका थिए । त्यसबेलादेखि मेरो यो मगर परिवारसँगको सम्बन्ध प्रगाढ बनेर गयो । केही समयदेखि तिलेसँग मेरो वैचारिक सामिप्यता पनि बढ्दै थियो ।
आफ्ना कक्षाका विद्यार्थीहरूमध्ये पढार्इमा तिले तेज छ । यो गाउँमा उसको पढाइ पनि सिद्धिन थाल्यो । मलार्इ थाहा छ – पढ्न चाहेर पनि तिले यहाँभन्दा माथि पढ्न सक्दैन । गाउँभन्दा टाढा गएर उच्चशिक्षा आर्जन गर्ने उसको आर्थिक हैसियत छैन ।
तिलेको उमेर पन्ध्र–सोह्र वर्षको भए पनि व्यवहारमा ऊ पाको जस्तै लाग्छ । सारू बुढा तिलेको बारेमा भन्ने गर्छन् – तिले वर्षीको हुँदा उसको बाउ भीरबाट लडेर मर्यो, आमा लाटी छ । म ओरालो लागेको घाम, उसले कहिले केटाकेटी भएर पनि हुनै पाएन । हिजोआज तिले मलार्इ अलि फरकजस्तो महसूस हुन थालेको छ । अलि प्रष्ट कुरा गर्छ । तिलेका कुराहरूले मैले पनि बाटो देखेको बोध गर्न थालेको छु । गुमाने सन्यासीसँग गाउँका धेरै मान्छे डराउँछन् तर तिले सबैका अगाडि उसको विरोध गर्छ । शोषकहरूको विरूद्ध सबै मिलेर लाग्नुपर्छ भन्छ । यही आँगनमा धेरै मान्छेहरूको माझमा हामी मिलेर काम गर्न नसक्दा उसले हामीलार्इ अत्याचार गरेको हो भन्छ । तिलेको कुरा सुनेर सारू बुढा कहिलेकाहीं खुसी हुन्थे भने कहिलेकाहीं डराउँथे र मसँग तिलेलार्इ सम्झाइदिन आग्रह गर्थे । बारम्बार सारू बुढाको मुखबाट एउटा भनाइ निस्किरहन्थ्यो – मास्टर नानी ! जहिले पनि उनीहरूकै हात माथि छ ।
पूर्णिमाको जुनले पश्चिम पाहाडका थुम्काहरू मान्छेका टाउकाहरूको तरेली जस्तै देखिन्थे । जूनको उज्यालो सारू बुढाको आँगनभरी पोखिएको छ । तल्ला गाउँमा कुकुर रोएको आवाजले चेप्टे खड्का हड्बढाउँदै भन्छन् – अब गाउँमा के अनर्थ हुने भयो सारू दार्इ ?
अनिकालले मारिएला नि खड्का नानी ! नब्बे सालको भूर्इँचालोमा पनि यसरी नै कुकुर रून्थ्यो । सारू बुढाले पनि खड्काको भनाइमा स्वीकृतिमूलक टाउको हल्लाउँदै भने ।
सारू बुढाको आँगनमा मान्छेहरू जम्मा हुँदैछन् । सधैंको जस्तै कुरा शुरू भयो । आउने मान्छेहरूको सङ्ख्या हेर्दै तिले आँगनमा गुन्द्रीहरू थप्छ । यस्तैमा एक हुल अचिनारू मान्छेहरू लर्खरिएका खुट्टाहरूले बाटो तलमाथि टेक्दै सारू बुढाको घरको आँगन हुँदै गुमाने जैसीको घर ताकेर गए । आँगनमा बस्नेहरू प्रत्येकलार्इ उनीहरूले एक एक गरेर हेर्दै गए । तिनीहरू बारीको कान्लो काटेर नझरूञ्जेल आँगनमा बस्नेहरू केही बोलेनन् ।
को हुन् ए ! यिनीहरू ? धने घर्तीले आँगनको मौनतालार्इ तोड्यो ।
मैले त बिहानैदेखि नै यिनीहरूलार्इ देखिराछु । पल्ला टोले घर्तीनी भाउजुका जाँड र रक्सी खाँदै थिए । लाजभाँड बोल्न केही बाँकी राख्या थिएनन् । तिलेले अम्बरबहादुरसँग केही धारणा लिने विचारले ऊतिरै हेर्दै भन्यो ।
गाउँमा यसरी नचिनेका मान्छेहरू पहिले पहिले जिल्लाका कार्यालयहरूबाट कामको लागि खटिएर आउँथे । आज पनि गाउँलेहरूले त्यहि हुनसक्ने विश्वास व्यक्त गरे । चेप्टे खड्काले सानो स्वरमा गुमाने सन्यासीले अड्डाबाट कर्मचारीहरू ल्याएर के विध्वंश गर्न लाग्योसम्म भने । दशबाह्र जनाहरूको बीचमा ती नयाँ मान्छेहरूको बारेमा निकै रातिसम्म सानो स्वरमा छलफल चलिरह्यो ।
रात छिप्पँदै गएपछि सारू बुढा आफू सुत्न माथितिर चढे । आज अम्बरबहादुरको कुराले गाउँलेहरूलार्इ निक्कै प्रभाव पारेको देखियो । त्यसमाथि पनि तिलेले आफ्ना गाउँका समस्याहरूलार्इ उसका कुराहरूसँग जोडेर उदाहरण दिने काम गर्यो । तिलेका बीचबीचका कुराहरूले गाउँलेहरूलार्इ बुझ्न धेरै मद्दत पुगेको देखिन्थ्यो । मैले पनि आज अम्बरबहादुरमार्फत् शहरको राजनीति बुझ्ने मौका धेरै पाएँ । केही बेरपछि सबै मानिसहरू आ–आफ्ना घरतिर लागे ।
सारू बुढाको निद्रा अचेल पातलिँदै गएको महसूस गर्छु म । मेरो सुत्ने ओछ्यान सारू बुढाको कोठासँगै जोडिएको छ । वल्लोपल्लो भए पनि एउटै कोठाजस्तो । बीचमा बाँसको भाटाले बारिएको छ । पल्लो कोठामा बुढाका सबै क्रियाकलाप म सहजै देख्न सक्छु । उमेरमा त उनी खालि भूर्इँमा पनि तुरून्त निदाएका कथाहरू कहिलेकाहीं मलार्इ सुनाउँथे । अचेल राति ओछ्यान कोठामा गएपछि हुक्का तमाखु तान्दै एकदुर्इ घण्टा त्यसै बसिरहन्छन् उनी । कहिलेकाहीं टुकी बत्ती नहुँदा अँध्यारोमै बसेर पनि रातको बाह्र–एक बजाउँछन् । बत्तीको प्रकाशमा आफू लाहुरबाट आउँदा ल्याएका पुराना सामानहरू प्रत्येक रात खोतल्छन् । उनी ती सामानहरू खोतल्दा आफ्नो पुरानो लाहुरे जीवनका गौरवहरूमा डुब्थे । प्रायःजसो बेलुका आफूले लाहुरबाट आउँदा ल्याएको पुरानो फिलिप्स रेडियोबाट अलइण्डिया कार्यक्रममार्फत प्रसारण हुने – नेपाली परिवारलार्इ भारतीय सेनाहरूले पठाएको सन्देश वल्लाघर–पल्लाघरका युवायुवतीहरूलार्इ राखेर सुनाउँथे । गाउँका मान्छेहरूले उनले सुनाएका पुराना कहानीहरू चाख मानेर सुने भने उनी साह्रै खुसी हुन्थे ।
देख्नेहरू अझै पनि भन्दैछन् – सारू बुढाले आफ्नो जीवनकालमा त्यसबेला पश्चिम नेपालतिरबाट लाहुर जानेहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति कमाएका थिए । तर आजको पीढीले यो कुरा सुन्दा बुढाको जीवनमाथि मजाक गरेजस्तो लाग्छ । बुढापाकाहरू गुमाने सन्यासीको सबै सम्पत्ति सारू बुढाको हो भन्दछन् अझै पनि ।
बाबुबाजेले नै जोडिदिएको दुर्इतीन हलको पाखो बारी, काँसका केही थाल, बटुका र भाँडाहरू, लाहुरबाट आउँदा ल्याएको ऊनीका दुर्इचार वटा पुराना कम्बलहरू, एउटा पुरानो फिलिप्स रेडियो, एउटा पुरानो टिनको बाकस, एक हल गोरू र सुँगुरका दुर्इतीनवटा पाठाहरू, केही थोत्रा थाङ्ग्रा कपडाहरू, बस् ! सारू बुढाको सम्पत्ति यही हो भन्दा हुन्छ ।
अस्ताउँदो जूनको प्रकाश सारू बुढाको कोठासम्मै छिरेको छ । बाँसको भाटाले बारेको भित्ताबाट म देख्दैछु – सारू बुढा चुपचाप बसेर हुक्का तान्दैछन् । रातको निस्तब्धताले त्यति टाढा घान्द्रुक खोला पारी पाखामा कराएको स्यालको आवाज टड्कारै सुनिएको छ । म बिस्तारै रातको सन्नाटाभित्र भट्टी पसल र गुमाने सन्यासीको घरसम्मको बाटोहरूमा बुट जुत्ता बजेका आवाजहरू बाक्लिएको महसूस गर्छु । सारू बुढा किन त्यति सुन्दैनन् । घरको बलेसीबाट बुट जुत्ताको कडा स्वर अगाडि बढेपछि यसो मेरो कोठातिर फर्किएर हेर्छन् ! सोध्छन् – मास्टर नानी निदाउनु भयो ?
अहँ निदाएको छुइनँ, मेरो शब्द उनी बुझ्छन् कि बुझ्दैनन् तर स्वर सुनेर आफ्नै एकाग्रतामा बूढो लालटिनतिर फर्किएर मौन हुन्छन् । मेरो स्वर सुनेर सारू बुढाले सादर मानेको महसूस गर्छु म । रातको छिप्पिने क्रमसँगै मानिसका क्रियाकलापहरू बढेका आवाजहरू बाक्लिन थालेका छन् । गुमाने सन्यासीका गोठालाहरूले हुनुपर्छ – तल्लो गाउँको भट्टीपसलबाट ल्याएका जर्किनहरूमा रक्सी छचल्किएको आवाज पनि प्रष्ट सुनिन्छ । रक्सीको लागि सितन हुनुपर्छ, घरघरमा कुखुराहरू खेद्दा आएको आवाजले गाउँभरिका कुकुरहरू एकैसाथ भुक्छन् । फेरि म मनमनै विचार गर्छु – यी मान्छेहरू यो गाउँमा निको चालले आएका छैनन् ।
गाउँको यो हल्लासँग सारू बुढा बढि त्रस्त देखिन्छन् । यो स्थितिप्रति तिले बेलुकैदेखि भयभित देखिन्थ्यो । तसर्थ, मसँग केही सल्लाह गरेर यहाँ नसुतेर अन्तै गयो । मेरो मन, तिलेले दिन लागेका जिम्माका कष्टपूर्ण दुर्दिनहरू कल्पना गर्छ । यो गाउँमा बस्न खतरा सम्झेर भोलिपर्सिदेखि तिलेले यो गाउँ छाड्दैछ । तिले त आजैदेखि यो गाउँमा बस्नु हुँदैन भन्थ्यो अमरबहादुरसँग । अमरबहादुरले आजै खतरा छैन भनेपछि ऊ आजभोलिसम्म यो गाउँमा बस्न राजी भयो ।
मास्टर नानी ! मास्टर नानी !!
के भयो हँ ? झकाएको अवस्थामा गोली पड्किएको आवाजले म ब्यूँझिएँ र स्थिति बुझ्ने प्रयत्न गरेँ । सारू बुढा बाँसको भाटाको कापबाट मतिर हेर्दै अत्तालिएको स्वरमा कराउँदै रहेछन् ।
ए केटा हो वरिपरि घेर – टर्चको उज्यालो छानातिर फाल्दै एउटा मान्छे बुद्रक्क तलबाट माथि तलामा चढ्यो । उसलार्इ पछ्याउँदै आउने पछिल्तिरको मान्छेले तिले सुत्ने कोठा देखायो र भन्यो – यही हो मगर केटो सुत्ने कोठा ।
ढ्याङ्, ढ्याङ्, ढ्याङ् । बाँसको भाटामा वरिपरि भोर्लाको लहराले बाँधिएको ढोका गर्ल्याम्म ढल्यो । ढोका तिलेकी आमाको शरीरमा बज्रिएको अनुमान गर्न सकिन्थ्यो त्यसबेला । उसको चिच्याहटले सारा गाउँ थर्किएको महसूस हुन्थ्यो ।
मास्टर नानी, तिले कहाँ छ ? यतिबेला बुढाको स्वर मधुरो र मलिन थियो । स्थितिलार्इ एक प्रकारले मैले बुझिसकेको थिएँ । केही मानिसहरू बाहेक पछिल्तिर प्रहरीहरू आफ्ना पोशाकमा थिए ।
गुमाने ! गरिबका छोराहरूले गरेको देखिसहिनस् होइन त । थर्थराएको स्वरले गुनगुनाउँदै सारू बुढा खाटबाट मचानको मूल खाँबो समाउँदै बाहिर निस्किए ।
एकै छिनमा सारू बुढाको आँगनमा सिक्री बाँधिएका चेप्टे खड्का, खड्काकी श्रीमती, खड्काका दुर्इ छोराहरू ल्याइए ।
मेरो छोरालार्इ मारिहालेऊ, मलार्इ पनि मार न । अचेत अवस्थामा खड्का कड्किँदै थिए ।
जूनको उज्यालोले कान्लामाथि उभिएका मानिसहरू प्रष्ट चिन्न सकिन्थ्यो । गुमाने सन्यासी आफ्ना आउरे बाउरे र पुलिसहरूको कान फुक्दै गरेको देखिन्थ्यो ।
ती सबै आतङ्कवादीहरू हुन् इन्स्पेक्टर साप ! कान्लामाथिबाट ठूलो स्वरमा गुमाने चिच्यायो । आँगनमा उभिएको इन्स्पेक्टरले मचानमा चढ्ने पुलिसलार्इ आदेश दियो – माथिका सबैलार्इ खँदारेर तल झार ।
यतिबेला भित्ताको सहारा लिँदै सारू बुढा कोठा बाहिर आइपुगेका मात्र के थिए, पुलिसहरूले लछारपछार गरेर एकै सासमा आँगनमा पुर्याए ।
सारू दाइ ! अमरबहादुर र तिलेलार्इ मारिहाले । खड्काले डाँको छाड्दै सारूलार्इ अँगालो हाले । मलार्इ पनि अपमानित व्यवहारका साथ आँगनमा पुर्याइयो ।
गुमाने ! गरिबको छोराछोरी पढेको पनि देखिनस्, गरेर खाएको पनि देख्न सकिनस्, यो अन्यायको फल पनि तैंले चाँडै भोग्नुपर्छ बुझिस् ? अब तिले र अमरेको रगतले विपनामा मात्र होइन सपनामा पनि तँलार्इ पिर्छ । रूँदै कान्लामाथि फर्किएर सारू बुढाले गुमानेलार्इ धारे हात लाए ।
गुमाने यतिबेला निरूत्तर उभिएको थियो । ऊभित्र आफ्नो अपराधिपनको पश्चाताप छ कि छैन, तर अहिलेसम्म आफूले भोगेको मानसिक पीडाको उपचार भएको अनुभूति भने पक्कै थियो ।
यतिबेला पुलिसहरू निर्ममतापूर्वक लठ्ठी वर्षाइरहेका थिए । गुमाने कान्लाबाट तल आँगनमा उत्रियो र एकपटक मतिर हेर्यो । इन्सपेक्टरलार्इ एकान्तमा लगेर केही कुरा फुस्फुसायो ।
भोलिदेखि फेरि यिनीहरू जस्तैको पछि लागिस् भने तँलाइ पनि तिले र अमरेका झैं गोलीले उडाइदिन्छु ।
म मौन हुन्छ । मेरो मौनतालार्इ उसले कुन अर्थमा बुझ्यो, मैले उसको अनुहारमा जाँच्ने कोशिस गरें ।
इन्स्पेक्टर साब ! यो चाहीँ स्कूलको मास्टर हो, आजलार्इ छाडिदिऊँ ! इन्स्पेक्टरतिर फर्किएर गुमानेले भन्यो र त्यहाँबाट तुरून्त अन्त जान उर्दी गर्यो ।
तेरो सामानहरू कुन कुन हुन् ? प्रहरीले मलार्इ एउटा हातमा समाउँदै सामानहरू राखिएको थुप्रोतिर लग्यो । मैले आफ्नो झोला र केही किताबहरू टिपेँ । मलार्इ अब अन्त गइहाल भन्दै एउटा पुलिसले बारीको डिलमा पुर्याएर फर्क्यो । मभित्रको पीडाले आफूले तत्काल गर्ने काम सोच्न सकिनँ ।
म सरासर स्कूल नजिकको घरमा गएँ, जहाँ शिक्षक साथी रामदेव बस्थ्यो । ऊ पनि डिलमा उभिएर आवाज आएको स्थानतिर फर्किएर हेरिरहेको थियो ।
बिहान उज्यालो भूइँमा नझर्दै शिक्षक साथी रामदेव यादवलाई लिएर बाहिर निस्केर हेरेँ, सारू बुढा र चेप्टे खड्काको घरले गाउँका अरू घरहरूलाई हिजोको घटना सुनाइरहेझैं लाग्यो । आँपगैह्रामा यतिबेलै एउटा आवाज आयो । पँधेर्नीहरू बाटो छाडेर माथिल्तिर लागे । सारू बुढा, तिलेकी आमा, चेप्टे खड्का प्रहरीहरूको घेराभित्रबाट गाउँलेलाई हेर्दै हिँड्दै थिए । तिले र अमरबहादुरको लास त्यहाँ थिएन । कुप्रो शरीरमा पछिल्तिर हात राखेर सारू बुढा हिँड्दा पुलिसहरू उनलार्इ लठ्ठीले धकेल्थे । यो दृष्यले झन् हामीभित्रको पीडालाई नूनमाथि चुक छर्कने काम गर्यो । हामीले धेरैबेर उभिएर हेरिरह्यौं । अर्खौले पहराको थुम्कोसम्म अलिअलि देखिँदै गरेको उनीहरूको आकृति बिस्तारै लोप हुँदै गयो ।
दुर्इ दिनपछि रेडियो नेपालले यो घटनाको खबर प्रसारित गर्यो – रोल्पा जिल्लाको अर्खौले गाउँमा आतङ्कवादी गतिबिधिमा संलग्न केही व्यक्तिहरूले गस्तीमा गएका प्रहरीहरूमाथि आक्रमण गर्दा तिलकबहादुर रानामगर र अमर बहादुर खड्का नाम गरेका दुर्इजना उग्रवादीहरूको प्रहरीहरूले आत्मरक्षाका लागि चलाएको बन्दूकबाट मृत्यु र अरू पाँच आतङ्कवादीहरू प्रहरीको कब्जामा ।

साथी,मासिक,वर्ष-१३-अंक-५,२०५४असोज

 

हरियो बत्ती

आज बिहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पुर्याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैंले बनायो । हिजो पार्टी कार्यालयमा बेलुकापख एकजना भद्र मानिसले ‘अत्यन्त जरूरी’ भन्दै क. अशोकको नामको एउटा पत्र छोडेर गयो । हुन त, क. अशोकले हिजै बेलुका पार्टी अफिसमा फोन गरेर भोलि बिहान कोही कार्यकर्ताहरूसँग पनि भेट्न नसकिने हुनाले कसैलार्इ पनि मेरो गरमा नपठाउनु भनेका थिए । तर रामनाथले सोच्यो – यति जरूरी पत्र लिएर त जानै पर्यो नि, नत्र फेरि पार्टीलार्इ ठूलै समस्या पर्नसक्छ ।
रामनाथ यो पार्टीको धेरै पुरानो मान्छे । अचेल ऊ पार्टी कार्यालयमा बस्ने गर्थ्यो । शुरूमा कम्युनिष्ट आन्दोलनमा हिँड्दा उनलार्इ नेपालमा अब नौलो जनवाद आइहाल्छ भन्ने विश्वास लागेको थियो । यही आन्दोलनभित्र हिँडेर कपाल पकाइसक्यो । ऊ यो पार्टीको पुरानो पूर्णकालीन कार्यकर्ता । पहिले ऊ जिल्लास्तरको पार्टीको कार्यकर्ता हुँदा क. अशोकलार्इ साधारणा सदस्यता उसेको हातबाट दिएको थियो । पार्टीभित्र क. अशोकको प्रगति देखेर उसले धेरैलार्इ भनेको थियो – क. अशोकलार्इ यो पार्टीमा ल्याउन मेरो पनि ठूलो हात छ । त्यसबेला क. अशोक विदेशबाट पढाइ सिध्याएर भरखर नेपाल आएका थिए ।
घरबाट बाहिर निस्कने बित्तिकै एकमनले रामनाथले फेरि सोच्यो – एकपटक टेलिफोन गरेर मात्र जानु राम्रो होला ।
नजिकैको पसलमा गएर उसले टेलिफोन डायल गर्यो, क. अशोकको फोन अत्यन्तै व्यस्त छ, फेरि गर्यो, उस्तै व्यस्त ।
फेरि मनमनै गुन्यो – अब चाँडै गरेर जानुपर्छ, नत्र पार्टीको कुनै ठुलै काम बिग्रेला । उसले आफ्नो हिँडाइको गतिलार्इ अत्यन्तै तेज बनायो । अरू दिन एक घण्टा लाग्ने चक्रपथ आज ऊ आधि घण्टा मै आइपुग्यो । चक्रपथ निस्केर अरू दिनजस्तो बस पर्खन उसले उपयुक्त ठानेन । उसले आज ढिलो गर्नु हुँदैन भन्ने मात्र बुझेको छ । आजसम्म कहिल्यै यसरी हतार गरेर उसले ट्याक्सी खोजेको दिन थिएन ।
त्यति व्यस्त हुने क. अशोकको घर आज सुनसान थियो । रामनाथले मूल गेटभित्र पसेर क. अशोकलार्इ सोध्यो । घरमा काम गर्ने मानिसले सबेरै बाहिर गएको खबर सनायो उसलार्इ । के आज बिहानै नभेटी नहुने ? – यसैबेला उकजना अग्लो मान्छे भित्रबाट बाहिर आएर रामनाथलार्इ जरूरी कामको बारेमा सोध्यो ।
म त बिहानै आइपुग्नु पर्थ्यो । आउन ढिलो भयो, अहिले नै नभेटे कामै बिग्रन सक्छ । रामनाथको जवाफ पाउने बित्तिकै त्यो मानिसले अशोकले एकजना मानिस आइपुग्नु भएको छैन भन्नुहुन्थ्यो, म पर्खिएर बसेको भन्दै मोटरसाइकल स्टार्ट गर्यो ।
मोटरसाइकल थापाथली–त्रिपुरेश्वर–रत्नपार्क हुँदै अघि बढ्यो । रामनाथले सोझो मनले सोच्यो – यो जरूरी पत्रका बारेमा पहिले नै खबर भइसकेको रहेछ, क. अशोकले मलार्इ बिहान पर्खिएछन् ।
वरिपरि विशाल पर्खाल, ठूलो फलामे गेट, गेटपाले सबैलार्इ छिचोल्दै मोटरसाइकल भव्य महलको बीचमा पुगेर रोकियो ।
क. अशोकको यत्रो महलमा… । रामनाथले वरिपरि हेर्यो र अचम्म मान्यो । सुन्दर बगैंचा । मोटरहरूको घुइँचो । रामनाथसँगै आउनेसँग भित्र पस्यो । हरियो बत्तीको प्रकाश छरिएको बैठक हल । ठूला ठूला खाइलाग्दा मानिसहरू । भव्य सजाइएको बैठक कक्ष । वियर र रक्सीका परिकारहरू । विशेष प्रकारको सोफामाथि बसेर क. अशोक भन्दै थियो – अब पार्टीलार्इ हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्नेछैन । रामनाथले आफूले चिनेका अन्य एकदुर्इजना मानिसहरूलार्इ पनि त्यहाँ देख्यो ।
रामनाथ कसरी यहाँ आइपुग्यौ हँ ? – अशोक जिल्लयो ।
कसलार्इ सोधेर यहाँ आएको ? बेइमान… तल्लो स्तरमा ओर्लिएर कहिल्यै पनि यसरी अशोकले गाली गरेको रामनाथलार्इ थाहा थिएन ।
रामनाथ चिट्ठी हातमा फालिदिएर आफू गएको बाटोबाट छिटो छिटो फर्क्यो । रामनाथले मुलगेट नाघ्ने बित्तिकै एकदुर्इजना मानिसको एकछिन् पख्नुस् एकछिन् पख्नुस् भनेको आवाज आउँदै थियो । तर ऊ त्यतिबेला सडकमा आइपुगिसकेको थियो ।
सडकमा निस्किएपछि डरले रामनाथको जीउ हप्प फुलेजस्तो भयो । डरले पछाडि फर्किएर हेर्नसम्म सकेन उसले । सडकमा आफ्नो वरिपरि हेर्यो – थुप्रै मानिसहरू छन् । कता कता डर कम भएको महसुस गर्यो उसले । मनमनै फेरि डरको पर्वत अग्लियो – कतै ती पछाडि आउनेहरू यहाँसम्म त आइनपुग्लान् ।
बाटोभरि रामनाथले धेरै कुरा सोच्न सकेन । मुलगेटभित्र आफूलार्इ पच्छ्याउने मान्छेहरू सम्झिरह्यो । डरले जिउ जिङ्ग्रिङ्ग हुन्थ्यो । आज ऊ बस चढ्न बसपार्क पनि गएन । ठमेलको गल्लि हुँदै हिँडेर घर गयो ।
घर पुग्नेबित्तिकै रामनाथ केही नओछ्याएको बार्दलीको पलङमा डङ्ग्रङ्ग पल्टियो । उसको अगाडि आफू कम्युनिष्ट आन्दोलनमा हिँड्दादेखिका घटनाहरू नाच्न थाले । सोच्दै जान्छ ऊ – क्रमबद्ध नभएका घटनाका स्मरणहरू उसका अगाडि ओइरो लाग्छन् । कतै सपना त देखेको छैन उसले, फेरि ठण्डा भएर सोच्न शुरू गर्छ । हरियो बत्ती बलेको कोठामा सोफामाथि बसेर अशोकले भनेको उही शब्दहरू उसको दिमागमा ताजा बनेर ठोकिइरहन्छ – अब पार्टीलार्इ हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।
यतिखेरै उसको मनले अर्को कटु पीडाको अनुभूति गर्यो । एक वखत क. विनयले पार्टीमा राजतन्त्र सामन्तवादको नाइके हो, संसदीय व्यवस्थाले जनताको हित गर्दैन भन्ने मत राख्दा पार्टीलार्इ भाँड्न खोजेको आरोप लगाएर निष्काशन गरिएको थियो । रामनाथले अन्तरसम्बन्ध खोज्यो – आजको यो घटना र त्यो तथ्यको ।
काठमाडौंमा गर्मी चढिसकेको छ । ऊ खाटमा शान्तसँग सुत्न सक्दैन । घरि यता घरि उता पल्टिन्छ । ऊ आफ्ना अगाडि आस्था र विश्वास बोकेर बाँचेका थुप्रै मान्छेहरू सम्झन्छ । नागार्जुनको जंगलतिरबाट आएको चिसो बतास शरीरमा ठोकिएको अनुभूति हुन्छ उसलार्इ । उसको आँखाअगाडि फल्याकको भित्तामा झुण्याएको ऐनामा पर्छ । अहिलेसम्म उसले यसरी ऐना हेरेकै थिएन । गाला छाम्छ, पोहोरको भन्दा निकै बढी चाउरी परिसकेको अनुभव गर्छ ऊ । कपाल पोहोरसम्म त तिलचामले मात्र थियो, यस पटक त सेताम्ये भएको महसुस गर्छ ऊ ।
आज राति रामनाथ बुइँगलमा गएर सुत्छ । सुत्न त नामै न हो । जतिबेला पनि आस्थाको नाममा ढुङ्गाको पाहाड अगाडि उभिएको महसुस हुन्छ उसलार्इ । रामनाथ जीवनको उपलब्धि खोज्छ । आखिर मैले गरेको त राम्रै काम न हो, जीवनको यात्रासँग बेखुशी हुन सक्दैन ऊ ।
राति सपनामा हरियो बत्ती, हरियो बत्ती भनेर किन कहालिएको ? उसकी श्रीमती जानुकाको कडा बोलीले रामनाथ ब्युँझन्छ । यतिबेला धरतीमा राम्रैसँग उज्यालो पोखिइसकेको थियो ।
रामनाथलार्इ आज शरीर भारी महसुस भएको छ । उसले त्यही बेला तल कसैले ढोका ढक्ढक्याएको आवाज सुन्यो । झ्यालबाट हेर्यो – पार्टीको साथी रमेश रहेछ । रमेश यो पार्टीको आस्थावान कार्यकर्ता । धेरै कष्टा खपेर पार्टीमा निस्वार्थ काम गरेको छ । रामनाथले हतारिँदै झरेर ढोका खोल्यो ।
रमेश माथि आउ । ढोका खुल्नासाथ रामनाथले भन्यो ।
म तपार्इंलार्इ क. अशोकले पठाउनुभएको पत्र दिन आएको । कुराकानी गर्न पछि आउँछु । आज पार्टीको अत्यन्त जरूरी काम छ । रमेशले हतारो भाव देखाउँदै जवाफ दियो ।
रामनाथ भित्रको कौतुहलता मनभित्र हुण्डरी बनेर नाच्यो र ठूलो स्वरमा भन्यो – ठगले के पत्र पठाएछ ?
रमेशले अचम्म मानेर उसको कुरा सुनिरह्यो । हरदम अशोकको पक्षधर रहने मानिसबाट यस्तो शब्द कसरी … ?
रामनाथले रमेशको हातबाट चिठी थुत्यो र हतार हतार खाम च्यात्यो । पार्टीको प्याडमा लेखिएको रहेछ – हिजो बसेको पार्टीको जरूरी बैठकले पार्टी हित बिरोधी गतिबिधिमा तपार्इंको संलग्नता देखिएको हुँदा अनिश्चित कालका लागि तपार्इंलार्इ पार्टीका सबै तह र सदस्यताबाट निष्काशन गरिएको छ ।
पत्रबाट आँखा माथि उठाएर रामनाथले हेर्यो – रमेश चाँडो–चाँडो पाइला चाल्दै टाढा पुगिसकेको थियो ।
(नौलो कोशेली, पूर्णाङ्क – १७ २०५६ आश्विन)

सन्त्रस्त आँखाहरू

उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङ्जु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गड्तिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुस हिँडेजस्तै देखिन्छ । हिउँदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मान्छेहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरूमा खेतीबाट जीविकोपार्जन गर्नेहरू अत्यन्तै थोरै छन् । मूलबाटो भएको कारण व्यापार नै उनीहरूको प्रमुख आयस्रोत बन्यो ।
सर्पझैं कुङलिङ पर्दै घुमेको पिप्चार्इ उकालोमा मध्य दिउँसोको चर्को घामले आँखालार्इ नै तिरमिरतिरमिर पार्ने गर्छ । पिप्चार्इ फेदीमा रहेको सिमलको रूखबाहेक हरियोको कतै नामनिशाना छैन । खडेरीले सबैडाँडाकाँडाहरू यतिबेला कोशी पारी राजदहको पहिरो झैं उजाड देखिन्छन् ।
सुनकोशी नदीको कर्कश आवाज कतै नरोकिइकन एकनासले बजिरहेको छ ।
आज त भात खाने बेला टरिसक्यो है माइला ! हाम्रो टाउकै माथि पो बसेको छ घाम । भारीमा टेको लाउँदै आकाशतिर हेरेर रनेम्पाले भन्यो ।
यति ढिलो त कहिल्यै पनि भएको थिएन । रनेम्पाको आवाज सुन्ने बित्तिकै मन्जितेले पनि आफ्नो भारीलार्इ टेको लाउँदै सहमति जनायो ।
यसैपटकदेखि आफ्नो जेठो छोरो रनशेरलार्इ भारी बोक्न सिकाउनका लागि उसले कटारी लिएर आएको थियो । रनशेर उमेरले यही फागुनमा मात्र एघार वर्ष पुग्यो । गाउँको स्कूलमा तीन कक्षासम्म पढेपछि ऊ घरको काममा लाग्यो ।
रनेम्पा ! सानो भए पनि तेरो छोरो निकै कडा छ जस्तो छ । आफूहरूभन्दा निकै अगाडि पुगिसकेको रनशेरपट्टि औंल्याउँदै मन्जितेले रनेम्पालार्इ फुर्क्यायो ।
रनेम्पाले सुनकोशी किनारको तेर्सो बाटोमा आफ्नो आँखालार्इ परैसम्म ओछ्यायो । छोटो कदको रनशेर कोशीको बगर छेउमा सानो ढाकर बोकेर हिँड्दा चामलको बिस्कनुमा घुनकिरा दौडेजस्तै देखिन्थ्यो । रनशेर पिप्चार्इ फेदिमा देखिएको सिमलको रूखतिर लक्ष्य गरेर दौडिरहेको थियो ।
बिसाउने ठाउँ पनि आइपुग्यो है माइला । आफ्नो टेकोलार्इ ढाकर माथि सिउरिँदै मन्जिते अघि बढ्यो ।
के हाम्रो डाँडामाथि पनि मोटर कुद्छ त माइला ? स्वरूङ दोभानमा भरखर कटारीबाट बनाएर ल्याएको फिलिप्स रेडियोबाट बिहान सुनेको समाचारले उकुसमुकुस भएर मनभित्रको गुम्फित पीडालार्इ रनेम्पाले मन्जितेका सामुन्ने पोख्यो । बिहानै सुनेको रेडियोको समाचारले शेरमानको हिँडाइको गतिलार्इ नराम्ररी खुम्च्याइदियो । अलिकति त उसलार्इ आफ्नै रेडियोसँग रिस उठ्यो । आज यसले कस्तो अशुभ समाचार सुनायो ? हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने ?
यही बाटोमा भारी बोकेर उनीहरूले जीवनको सम्पूर्ण जस्तो कालखण्ड बिताए । शेरमान र मन्जिते समवयका, सँगसँगै हुर्केर बढेका । उनीहरू आफ्ना बाबुहरूसँग सानै उमेरदेखि सँगसँगै भारी खेप्न कटारी आउँथे । अर्थात् भारी बोक्न सिक्थे । कटारीबाट सोलुखुम्बुसम्म भारी पुर्याउन करीब नौ दश दिन लाग्थ्यो । यो लामो बाटोमा उनीहरू प्रायः सँगसँगै हुन्थे ।
सुनकोशीको किनारै किनार हिँड्दा थाकेर यस ठाउँमा आइपुगेपछि ऊ साह्रै आनन्द मान्थ्यो । कटारीबाट भारी बोकेर उसका साथीहरूसँग प्रायः ऊ तेसो दिनमा यहाँ बास बस्न आइपुग्ने गर्थ्यो । हिउँदका कैयौं महिनाहरूमा यही निर्जन ठाउँमा कहिलेकाहीं ऊ एक्लै पनि बास बसेको थियो । घरबाट कटारी जाँदा यही ठाउँमा आएर एकछिन् बसेर थकाइ मार्थ्यो र कोशी नदीको पानीमा कोदोको जाँड घोलेर खान्थ्यो । कोशीको पानीमा जाँड घोलेर खाँदा ऊ बेग्लै र मीठो स्वाद पाएको अनुभव गर्थ्यो ।
वैशाख महिनाको मध्य घाम, जताततै वातावरण तातो छ । बादलका थेग्लाले घामलार्इ छोपेर ल्याएको शीतलपन कुनै कुनै बेला घुम्दै आइपुग्थ्यो ।


च्यास्मिटार हाम्रो देशको औसत नेपाली गाउँमध्ये एक हो । आफ्नो खेतीले यहाँका मानिसहरू मुस्किलले तीन महिना खान्छन् । बाँकी महिनाहरू कटारी सोलुखुम्बु, ऐंसेलुखर्क, ओखलढुंगा, रूम्जाटार, दिक्तेलसम्मको भारी बोक्छन् र जीविकोपार्जन गर्छन् । अन्नपात उब्जन उपयुक्त मौसम पर्खनुपर्छ । मकै र कोदो यहाँको मुख्य बाली हो । कहिलेकाहीं त खडेरीले त्यसलार्इ पनि खाइदिन्छ । त्यसपछि गाउँमा अनिकाल पस्छ त्रासद रूप बोकेर । त्यसले बृद्ध, केटाकेटी कोही पनि भन्दैन । त्यसपछि सबै कटारी जान्छन् भारी खोज्न । कति घरमा त मानिस नभएर दैलो नै लाग्छ ।
उनीहरूका पूर्खा यो ठाउँमा कहिलेदेखि बसेका हुन् सबैले अनुमान मात्रै गरेका छन् । भुङ्जु डाँडाको वरिपरिमात्र तिलुङ्गे रार्इहरूको बस्ती छ । गाउँघरमा पढेका भाइभतिजाहरूले भनेको सुनेको हो उसले । तिलुङ्गे रार्इहरू टाढामा दुर्क्षिम गाउँसम्म फैलिएका छन् । तर उसले आफ्ना पूर्खाहरूलार्इ जति सुन्यो र देख्यो – उसका जिजुबाजेहरूले चिसापानीदेखि ओखलढुंगा दिक्तेलसम्म भारी खेपेको थुप्रै कथा ऊ अहिले पनि सम्झिरहन्छ । उसको बाबुको पालामा कटारीमा बजार बनिसकेको थियो । कटारी बजार बनिसकेपछि मात्र ऊ भारी बोक्न सक्ने भएको थियो । त्यसपछि कटारी बजारदेखि पूर्वी मध्य पहाडका बजारहरू र केही गाउँहरूमा विकासे सामग्री ओसार्नु उसको मुख्य कर्म बन्यो ।
अलिअलि घुम्रिएको कपाल, पुड्को जीउडाल, अलिक बढ्ता थेप्चिएको नाक, गोरो अनुहार, जुठो भाँडो माझिसकेर कोशी नदीतिर हेरिरहेको आफ्नो छोरो रनशेरलार्इ रनेम्पाले एकटक लाएर हेर्छ । छोरोलार्इ हेर्दाहेर्दै ऊ आफ्नी श्रीमती सम्झन्छ । रनशेर वर्षीको नपुग्दै उसकी श्रीमतीलार्इ ज्वरोको दुर्इदिने व्यथाले लग्यो । त्यो वर्ष कति कहालीलाग्दो थियो । अनिकालले गर्दा जिल्लामा आगै लागेको थियो । भोकको महामारीका कारणले कटारीबाट ल्याएको भारी बाटैमा लुटिन्थ्यो । उसको भारी पनि एकपटक स्वरूङ दोभानमा लुटियो । झण्डै ज्यान नगएको । सम्झँदा पनि डर लाग्छ उसलार्इ त्यो घटना । त्यो अनिकालको मुखमै उसले आफ्नो बाबु गुमायो । बाबुको एक्लो छोरो ऊ । भोकमरीको डरलाग्दो अवस्थामा बाबुको काजकृया गर्न पनि सकेन उसले त्यतिबेलाको घटना सम्झँदा ऊ नराम्ररी छटपटिन्छ । त्यसको तीनै महिनापछि उसकी स्वास्नी मरी । दशाले एकैचोटि घेर्दोरहेछ । उसले यस्तै अनुभव बोकेको छ जीवनमा ।
यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला ? बिहानै सुनेको समाचारले पारेको पीडालार्इ केही खुकुलो पार्न रनेम्पाले मन्जितेसँग फेरि जिज्ञासा पोख्यो ।
के कटारीमा कुदेजस्तो मोटर हाम्रा गाउँमा पनि आउँछ त आप्पा ? मन्जितेले केही भन्न नपाउँदै रनशेरले अचम्म मान्दै आफ्नो बाउसँग सोध्यो ।
आज बिहान सुनिनस् रेडियो ? रनेम्पाले छोरालार्इ झाँट्यो ।
हाम्रो डाँडापाखामा मोटर कुदे त यो दुःख हामीले गर्नै पर्दैनथ्यो नि । चुनावमा भोट माग्न आउने नेताले हल्ला चलाएका होलान् नि ! अब त चुनाव आउने बेला भा छ क्यार ! यस्तो हल्ला त मैले पञ्चायति राजमै कतिपल्ट सुनिसकेको थिएँ । मन्जितेले निराश भावमा यो कुरालार्इ उडाइदियो ।
यो डाँडामा मोटर कुद्ने हो भने यो मन्जिते के खाँदो हो ? कहाँबाट भारी खेपेर खान्छ । कटारीबाट भारी बोकेर पो छाक टार्न पाएको छ । नत्र मेरो जस्तै यसको पनि त्यही दुर्इ, तीन हलको पाखो बारी न हो । मन्जितेको कुराले रनेम्पालार्इ अचम्म लाग्यो । यो कुरा उसले बाहिर भन्न नसकेर मनमनै राख्यो ।
रनेम्पाले मनमनै चिन्ताको सगरमाथा फेरि अग्ल्यायो ।
हाम्रो गाउँमा पनि मोटर कुदे त कस्तो आनन्द आउँथ्यो हगी । ढुंगामा बसेर रनशेरले उही जिज्ञासा दोहोर्यायो ।
रनशेरले यसपटक कटारीमा पहिलोपटक मोटर देख्यो । साँच्चै अचम्म लागेको थियो उसलार्इ । घरजस्तै पो हुँदोरहेछ त अप्पा भन्दै गुडिरहेको मोटरलार्इ ढाकर बोकेर पछ्याएको थियो उसले । ऊभित्र आफ्नो बाबुको कुराले आज नयाँ कौतूहलताको सृजना भयो ।
के त्यस्तो घरजस्तो मोटर पनि हाम्रा गाउँमा आउँछ ? कसरी हिँड्ला यो उकालो ? अनि हामी त्यसैमा चढेर परसम्म जाने हो त ? रनशेरलार्इ भित्रैदेखि विश्वास लागेन ।
रनशेरलार्इ घर पुगेर यो सबै कुरा आफ्ना साथीहरूलार्इ सुनाउने ठूलो रहर छ । उसका समवयका थुप्रै साथीहरूले मोटर देखेको छैनन् । अझ आप्पाले सुनाएको खबर सुनाउनका लागि घर पुग्न ऊ साह्रै हतारिएको छ ।
साँच्चै आउँछ त आप्पा ! हाम्रा गाउँमा कटारी जस्तो मोटर । रनशेरले आफ्नो बाबुको कुरालार्इ पछ्याउन छाडेन ।
यसरी धेरै सवाल जवाफ नगर्ने र धेरै नबोल्ने छोराको यो हठसँगै उसलार्इ भित्रभित्रै नराम्रोसँग रिस उठ्यो । आफ्नो गाउँमा मोटर कुदिदेला र यही भारी बोकेर खाने काम हरिने हो कि भन्ने डरले आज बिहानदेखि उसलार्इ लखेटिरहेको थियो । अझ छोराको प्रश्नले र मन्जितेको भनाइले ऊ भित्रको मन नराम्ररी चिमोटियो ।
यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरू । बाहिर व्यक्त गर्ने आँट नगरेपनि रनेम्पाले मनमनै कल्पियो ।
ओहो ! दिन त ढल्किसकेछ । भित्तैभरि ठोकिएको घामले गोहोरोको छालझैं टल्किएको पिप्चार्इ उकालोतिर हेर्दै रनेम्पाले सम्झायो ।
रनेम्पाका लागि आजको दिन अरू दिनजस्तो छैन । घाम पनि अरू दिनको भन्दा बढ्तै चर्को छ । सिमलको छहारी पनि अरू दिनको जस्तो शीतल छैन । उसलार्इ कहिले पनि दिन यति नरमाइलो लागेको थिएन ।

मिर्मिरे, वर्ष -३३ अङ्क-९ पूर्णाङ्क-२३२, २०६१ पौष

अविश्वास प्रस्ताव

पञ्चायत ढलेपछि एकप्रकारले हीराप्रसादको होस ठाउँ मै रहेन । जिल्ला पञ्चायत सभापति भएको तीन वर्ष पनि पूरा भएको थिएन । आफूलार्इ सम्हाल्न निकै सङ्घर्ष गर्नुपरेको उनले स्वयम् अनुभव गरे । आफ्नो वरिपरि हेरे – राजाको सक्रिय नेतृत्व पाएर मेची महाकाली फैलिएको पञ्चायतको गन्धसम्म पनि कतै छैन । एशियाली मापदण्डमा पुर्याउने त्यत्रो योजना कतै बाँकी रहेन । सधैंजसो सुनिरहने शान्तिक्षेत्र प्रस्तावको चर्चा उनले त्यसपछि रेडियोमा कहिल्यै सुनेनन् । उनी साँच्चै तीन छक्क परे ।
पञ्चे र मण्डले भन्नेबित्तिकै ज्यान जोगाउन पनि सचेत भएर हिँड्नुपर्ने भयो । गाउँटोलमा धेरै मानिसहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोका आफ्नै सहयोगीहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोका आफ्नै सहयोगीहरू झण्डा बोकेर गाउँगाउँमा डुलिरहेका कुराहरू उनले सुने । तल्लो गाउँमा छानैभरि राता झण्डाहरू फर्फराइरहेको उनको घरबाट प्रष्टै देखिन्थ्यो । कुनै घरमा चारतारै झण्डाहरू, कुनै घरमा हँसिया हथौडाका झण्डाहरू । उनी यसरी पनि सोच्थे – कतै यो सपना त होइन ?
एक महिना जति बितेपछि उनको दिमागमा एक रात एउटा पुरानो घटनाको सम्झना आयो । पहिले क्याम्पसमा पढ्न जाँदा आफ्नै जिल्लाको सहपाठी साथी नरेश बस्नेतबाट उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । खुशीले उनी त्यो रात निदाउन पनि सकेनन् । आधा रातमै श्रीमती सरिनालार्इ उठाएर उनले त्यो कुरा सुनाए ।
त्यो सदस्यता भेटिन्छ कि खोजौं न ! त्यो भेटियो भने हाम्रो त भाग्य नै चम्किन्छ नि ! ठूलो कुरा पाउन लागेझैं हीराप्रसादले श्रीमतीसँग खोज्न अनुनय गरे ।
त्यस्तो नाथे चिर्कट्टोले के हुँदो हो । यो राजनीति पनि कस्तो नशा हुँदो रहेछ । यत्रो घरखेती छ, आफ्नो राम्ररी सम्हालेर बसे भइहाल्छ नि ! सरिनाको उदासीनतापूर्ण यो भनाइले उनलार्इ झनक्क रिस उठ्यो ।
हीराप्रसाद आधारातमा उठेर दराजका पुराना फायलहरू एकएक झिके र त्यो सदस्यताको अधकट्टी कतै भेटिन्छ कि भनेर खोज्न थाले ।

हजुरहरूको सल्लाहअनुसार चल्ने मान्छे त हुँ नि म । अचेल मलार्इ हजुरहरूको कम्युनिष्ट विचार मन पर्न थालेको छ । त्यसदिन सांसद हीराप्रसादले टाउको अलि झुकाउँदै प्रतिपक्षी दलका नेता जयकुमार भारतीको प्रस्तावलार्इ स्वीकार गरे ।
जयकुमार भारतीको कुरा उनलार्इ राम्रैसँग चित्त बुझ्यो । सांसद भएको दुर्इ वर्ष भइसक्यो । एकपटकको चुनावमा आफ्नो भएभरको सम्पत्ति खर्च भयो । अब पनि मन्त्री हुन नपाए कसरी पैसा कमाउने ? यो चिन्ताले हीराप्रसादलार्इ केही दिनदेखि खानामा अरूचि बढ्न थालेको थियो । यो कारणका बारेमा उनकी श्रीमती अनभिज्ञ थिइनन् ।
एकदिन त मौका परिहाल्छ नि । चित्त नबुझे पनि उनले बेलाबेलामा लोग्नेलार्इ ढाडस दिँदै भन्ने गर्थिन् ।
प्रतिपक्षी नेता जयकुमार भारतीले एउटा लामो कागज झिके र एकासीयौं नम्बरमा उनको नाम लेखेर अघिल्तिर राखिदिए । सांसद हीराप्रसादलार्य मनमा कता कता चिसो पसेको महसुस भयो । अस्तिमात्र सत्तापक्षका सभापतिले सहायक मन्त्रीका लागि कोशिश गरिदिने वचन नदिएका होइनन् । तर पार्टीमा अन्तर्घात गर्ने मान्छेलार्इ काखी च्याप्नु हुँदैन भनेर ठूलो आवाज उठ्ने गरेको छ । उनलार्इ दिएको वचन आज तीन दिनमात्र हुँदैछ । तर फेरि सोचे – विपक्षी दलका नेताले अविश्वास प्रस्ताव पारित भएर आफ्नो सरकार बने वन राज्यमन्त्रीको प्रस्ताव राखेका छन् । अविश्वास प्रस्ताव पक्का पास हुन्छ भनेर विश्वास पनि दिलाएका छन् ।
हीराप्रसादले अप्ठेरो मान्दै सेतो कागज ताने र कलम खोज्न श्रीमती सरिनालार्इ अह्राए । प्रतिपक्षी नेता जयकुमार भारतीले आफ्नो खल्तीको कलम दिँदै भने – हाम्रो प्रयत्न चाँडै सफल हुँदैछ, धन्दा नमान्नुहोला ।
श्रीमतीले कलम लिएर आइपुग्दा उनले खाली कागजमा सही गरेर कागज प्रतिपक्षी नेताको हातमा दिइसकेका थिए । उनको अनुहारमा कालो बादलको छाया प्रष्ट रूपमा देखिन्थ्यो ।
प्रतिपक्षी नेताले अर्को मानिसलार्इ परिचय गराउँदै भने – उहाँ हाम्रो पत्रिकाको सम्पादक, यो सरकारलार्इ गाली गरेर तपार्इंले एउटा अन्तर्वार्ता दिनुपर्यो । यो सरकार प्रजातन्त्र विरोधी सरकार हो भनेर तपार्इंले प्रष्ट भनिदिनुपर्यो ।
यति भन्नेबित्तिकै उनी बिदा भए र उनीसँग आएको एउटा पत्रकार रेकर्डर लिएर अन्तर्वार्ता लिन तयार भयो ।
प्रतिपक्षी दलका नेता बाहिर निस्केपछि हीराप्रसादले प्रतिपक्षी दलको पार्टी पत्रिकालार्इ एउटा अन्तर्वार्ता दिए । अन्तर्वार्तामा सरकारलार्इ उनले प्रशस्तै गाली गरे । धेरै र नयाँ आरोपहरू लगाए । संसारकै सबैभन्दा सुन्दर व्यवस्था भनेको कम्युनिष्ट शासन प्रणाली नै हो भनेर नयाँ नयाँ तर्कहरू पेश गरे ।
पत्रकार बाटो लागिसकेपछि एउटा खाली कागजमा सरकारको विरूद्ध अविश्वास प्रस्तावमा मतदान गर्न सक्ने सांसदहरूको नाम टिपे । मन्त्री नपाएका स्वतन्त्र सांसदहरू जोडे, फेरि केरे, फेरि जोडे । सानासाना केही राजनीतिक पार्टीहरू पनि जोडे जो सरकारमा आउने दिनको सपना बोकिरहेका थिए । तर कसैगरी एकसय तीन पुगेन ।


केही दिनदेखि सांसद हीराप्रसादको बेचैनीलार्इ बाहिरैबाट प्रष्ट देख्न सकिन्थ्यो ।
अचेल किन प्रधानमन्त्रीले फोन गर्दैनन् ? पहिले त दिनैपिच्छेजसो कुरा गर्थे । बाहिर पत्रपत्रिकामा यत्तिका समाचारहरू छापिइरहन्छन् । पहिले अविश्वास प्रस्तावको हल्ला आयो कि तपार्इंलार्इ पनि कुनै मन्त्री बनाउने मेरो योजना छ भन्थे । अविश्वास प्रस्ताव पास हुन्छ भनेर प्रतिपक्षी दलको नेताले मलार्इ कतै ठूलो धोका दिएको त होइन । मनभित्रको उकुसमुकुसलार्इ अँध्यारो अनुहार बनाएर हीराप्रसादले श्रीमतीसमक्ष पोखे ।
जति चोट परे पनि श्रीमतीका अघिल्तिर यति कमजोर हैसियत उनी कहिल्यै प्रकट गर्दैनथे । हीराप्रसादको यो स्वभावलार्इ उनी श्रीमती सरिनाले स्पष्टसँग महसुस गरेकी थिइन् । सरिनाबाट केही सान्त्वना पाउने उनको इच्छा फेरि भाँचियो, जतिबेला सरिनाले उनको कुरामाथि कुनै ध्यान दिइनन् । यस्तो संवेदनशील कुरामाथि सरिनाको कुनै गम्भीर प्रतिक्रिया नभएको कुरामा उनलार्इ मनमनै रिस पनि उठ्यो । तर, यो रिसलार्इ श्रीमतीका अघि कसरी प्रस्तुत गर्ने ? उसको लागि यो पनि सजिलो कुरा थिएन ।
अब चुनाव आउन तीन वर्षमात्र बाँकी छ । दुर्इ वर्ष कुनै उपलब्धिबिना बित्यो । सांसदको तलब र भत्ताले परिवार पाल्न र बैंकको व्याज मात्र तिर्न ठिक्क छ । आफ्नो क्षेत्रका जनताहरूले सांसदले कुनै काम गरेन भनेर आवाज उठाउने बेला भइसक्यो । यो काम गरिदिन्छु, त्यो काम गरिदिन्छु भनेर कति समय थामथुम पार्ने । गर्छु भनेका कामहरू पहाड जसरी उरूङ लागेर थुप्रिएका छन् । हिजो चुनावमा खटेर हिँडेका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन् । उनीहरूलार्इ खुशी पार्न सकिएन भने अर्कोपटक जिल्ला नटेके पनि हुन्छ । नचाहँदा नचाहँदै पनि यस्तै यस्तै सोचाइहरू सिनेमाको पर्दामा झैं उनको मानसपटलमा आइरहेकोले आज हीराप्रसादलार्इ पटक्कै निद्रा परेन ।
अस्ति भर्खरमात्र अर्का स्वतन्त्र सांसद राघवसिंह भण्डारीले यहाँ आएर तीनघण्टा आफ्नो मनको दुखेसो पोखे । राघवसिंहले बोलिरहँदा मलार्इ पनि आफ्नो मनको कुरो उनको मुखले बोलेझैं लागेको थियो । राघवसिंहले भनेका थिए – पार्टीहरूले हामीलार्इ चुसेर फालिदिन्छन्, यदि हामीबिना उनीहरूको काम चल्ने भयो भने ।
आखिर संसदमा तीनवटा पार्टीमध्ये कसैको पनि बहुमत छैन । घरि कोसँग घरि कोसँग मिलेर ठूला पार्टीहरूले सरकार चलाइरहेका छन् । हामीभन्दा अघिल्लो संसदमा स्वतन्त्र सांसदहरूले गरेको मोजमस्ती देखेर कमाएको र भएको सम्पत्ति सिध्याएर चुनाव जितियो । कस्तो भूतले खाने बेलामा परिएछ । पञ्चायत सकिएपछि कांग्रेसतिर लागियो । त्यो नेरेशे नमरूञ्जेल त्यहाँ टिकट पाइने छाँटै देखिएन । उसको माथि सबै नेतासँग बसउठ छ । पञ्चायतको विरूद्ध लागेर ठूलो दुःख पाको, जेल परेको त्यागी मान्छे भनेर डुङ्गी पिटाको छ जिल्लैभरी । एउटा कर्मचारीलार्इ भन्सारमा सरूवा मिलाइदिएवापत मैले नै पचास हजार मिलाइदिएको हुँ । के को त्यागी हुन्थ्यो त्यो पाखण्डी ! परार त मैले त्यसको सबै भण्डाफोर गरिदिएँ । चुनाव जित्न पनि मैले त त्यसो गर्नैपर्थ्यो । थुप्रै कार्यकर्ताहरू कांग्रेस छाडेर मसँग लागेका छन् । उनीहरूको धेरै आशा र विश्वास छ ममाथि । म केही गर्न नसक्ने स्थितिमा छ भनेर उनीहरूलार्इ सुइँकोसम्म छैन । अहिलेसम्म मेरो पक्षमा बहस गरेरै बसेका छन् । तर अब कहिलेसम्म उनीहरूले मलार्इ साथ दिन्छन् । अब त आफ्नो चुनाव क्षेत्र जाँदा पनि होसियार हुनुपर्यो । भित्ताको घडीले तीन बजेको सूचना दियो । अटेसमटेस हुँदै चिन्ता र सोचाइहरूले रात्रिकालको शान्तिलार्इ चिरिरहेका थिए । उनको आँखामा निद्रा आउने कुनै संकेत थिएन ।
बेलुका सम्साँझै सुतेर घाम नआउञ्जेलसम्म नउठ्ने तपार्इं अचेलभरि परिवर्तन हुनुभएको छ नि ! के सांसद भएपछि जनताको चिन्ता बढ्न थाल्यो कि के हो ? सरिनाको व्यङ्ग्यले निकै दुखेको अनुभूति भयो आज हीराप्रसादलार्इ । सरिना निद्राबाट ब्युँझेकोमा खिन्न भए उनी । केही नबोली कोठाको बत्ती बालेर उनी शौचालयतिर गए ।
श्रीमतीका अगाडि हीराप्रसादलार्इ आफ्नो व्यथा पोख्न पटक्कै रूचि छैन । त्यतिमात्र होइन – आफूभित्रको चिन्ता श्रीमतीले कसैगरी पनि थाहा नपाओस् भन्ने उनको भित्री चाहना हो । किनकि मत किनेर चुनाव जित्ने कुराको सरिनाले पहिले देखि नै कडा प्रतिवाद गर्दै आएकी थिइन् । कांग्रेस पार्टी छाडेर स्वतन्त्रर रूपमा चुनाव लड्ने कुरामा उनी पहिले पनि सहमत थिइनन् । त्यहीँदेखि उनको र श्रीमतीका आपसी व्यवहारमा समाजले बुझ्नेगरि चिसोपन देखा पर्दै गयो । सरिनाले बोलेको प्रत्येक शब्दहरूमा हीराप्रसादले व्यङ्ग्य खोज्न थाले ।
हीराप्रसाद शौचालयबाट फर्कँदा सरिना उठेर बिहानको काम शुरू गर्ने तरखर गर्न थालेकी थिइन् । हीराप्रसाद निद्रा मरिनसकेको अभिनय गर्दै भित्तातिर फर्केर सुते ।


सांसदज्यू हुनुहुन्न ?
सरिनाले झ्याल खोलेर बाहिरा हेर्दा एउटा ठूलो झोला बोकेको अधवैंशेजस्तो लाग्ने कमिज सुरूवाल लगाएको मान्छे र एउटा नवयुवक माथि फर्किएर कराइरहेका थिए । एक मत त सरिनालार्इ लागेको थियो – उनीहरूलार्इ केही पनि नबताउँ । तर त्यो पनि कसरी ? बिहान राम्ररी उज्यालो भइसकेको थिएन । छिमेकीहरू सबैले थाहा पाइसकेका थिए । फेरि उनीहरू पनि ठूलो स्वरले कराइरहेका थिए । छिमेकमा मान्छेहरूले झ्याल खोलेर उनीहरूलार्इ हेर्न थाले । पल्लो घरबाट अनुराधाले उहाँको घर त्यही हो भनेर देखाइदिइन् ।
अब यी मानिसहरू कति समय यहाँ बस्ने हुन् ? खान दिनु, गाडी भाडा दिनु, कतैकतै घुमाइदिनु । अस्ति मात्र उहाँका चारजना कार्यकर्ताहरू बिदा गरेको पाँच दिन पनि बितेको छैन । यिनीहरू पनि उहाँका कार्यकर्तै होलान् । त्यो बुढोचाहिँ लुगा हेर्दैखेरि परैदेखि गनाइहाल्ला जस्तो छ । सरिनाले मनमनै चिन्ताका सगरमाथा अग्ल्याइन् ।
हो ! सांसदको घर यही हो । भर्खरैमात्रै थाहा पाएझैं गरेर सरिनाले झ्यालबाट आगन्तुकहरूतिर फर्केर भनिन् ।
सांसदज्यू हुनुहुन्न ?
पाको मानिसले झन् ठूलो स्वरले कराएर भन्यो ।
हुनुहुन्छ । छिमेकीहरूले चियाएर हेर्लान् भन्ने डरले सरिनाले पनि ठूलै स्वरमा कराउँदै भनिन् र आगन्तुकहरूलार्इ माथिबाटै हातले इशारा गरिन् ।
खोज्दाखोज्दै लखतरान भएको बेला शिकारलार्इ बल्ल भेटेझैं गरी उनीहरू फूर्तिका साथ चप्पलैसहित भित्र कोठामा पसे । भित्र जति नै चोट परे पनि आगन्तुकहरूतिर फर्केर सरिनाले कुटिल हाँसो हाँसी र केही नबोली खबर गर्न पल्लो कोठातिर पसी । भित्र जति नै दुखे पनि राम्रो व्यवहार देखाउन हीराप्रसादले श्रीमतील्र्इ सांसद हुने सपना देख्नेबित्तिकै सिकाइसकेका थिए ।
फेरि तपार्इंका दुर्इजना सन्तानको सवार भा छ, जानुस्, बैठक कोठामा । गाउँबाटै आएजस्तो छ । श्रीमतीले नाक खुम्च्याउँदै ओठे समाचार सुनाएको तरिकाबाट यी मानिसहरू आएको उसले मन पराएकी छैन भन्ने कुरा उनले बुझिसकेका थिए ।
उहाँ हाम्रो ठूलो सहयोगी मान्छे । उहाँहरूकै मद्दतले मैले चुनाव जितेको हुँ । उहाँको नाम शिवराज खत्री र ऊ भाइ उहाँको छोरो । सरिनाले चिया टेबुलमा राख्न नभ्याउँदै हीराप्रसादले आगन्तुकहरूको परिचय अघि सारे ।
होइन, माननीयज्यू, जनताहरू त रिसाउन थाले नि । चिया हातमा लिँदै चिन्तित मुद्रामा शिवराजले माननीयलार्इ गाउँतिरको पहिलो हालखबर सुनाएर कुरा अघि बढाउन खोजे ।
पार्टीका मान्छेले हल्ला चलाएका होइनन् । भित्रभित्रै पीडालार्इ लुकाएर हीराप्रसादले यो कुरालार्इ सामान्य बनाए ।
माननीयज्यूको त गाउँतिर मन्त्री हुने ठूलो हल्ला चलेको छ । पहिलेको खबरले माननीयलार्इ कुनै प्रभाव परेको नदेखेपछि शिवराजले दोस्रो तीर फाले ।
हेर्नुस् शिवराजजी ! यतिबेला भइसक्नुपर्ने हो, तर त्यसै ढिला भएरहेको छ । म आफैं पनि अचम्ममा परिरहेको छु । अविश्वास प्रस्ताव पास भएपछि त मेरो मन्त्री बन्नु टुंगै छ नि । निराश बन्दै गएको मनलार्इ फेरि उनी आफैंले ढाडस दिए ।
माननीयज्यू ! मेरो छोराले यसपटक एसएलसी पास गर्यो । अब कलेज पढाउन घरको आर्थिक अवस्थाले धान्दैन । मैले हजुरलार्इ पहिले पनि बिन्ती गरेको थिएँ । चुनावको बेलामा हजुरले म चुनाव जिते पनि हारे पनि जागिर लगाइदिने वचन दिइबक्सेको थियो । म विश्वासमा परेर त्यति टाढादेखि आएको छु । शिवराजले छोरो विजयतिर हेर्दै आफू काठमाण्डू आउनु परेको गाँठो खोले ।
म मन्त्रि भएपछि त त्यो सामान्य कुरा हो नि ! बरू तपार्इंहरू अहिले घर जानुस् । संसदमा अविश्वास प्रस्ताव दर्ता हुनेबित्तिकै आउनुहोला । हीराप्रसादले अप्रत्यक्ष तवरले आफ्नो अप्ठेरो खोल्दै, आफू एउटा मिटिङमा गएर आइहाल्ने बताउँदै बाहिर निस्के ।
कोठामा बाबु र छोरा मात्र थिए । सांसद पत्नी सरिना भान्साको काममा व्यस्त थिइन् ।
बुबालार्इ यो भ्रममा नपर्न मैले पहिलेदेखि नै भनेको हुँ नि । विजयले पहिलेदेखिको आफ्नो कुराले जितेको प्रमाण अघि सार्यो । ठूला मान्छेलार्इ विश्वास गर्न सिक्नुपर्छ – शिवराजले आफ्नो पुरानो तर्क फेरि दोहोर्यायो ।
यिनीहरू त आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुन्छन् । यिनीहरूलार्इ ठूला मान्छे भन्ने हामी मूर्ख हौं । यिनीहरू पद र पैसा भएपछि देश, समाज, पार्टी, सिद्धान्त केही पनि भन्दैनन् । विजयले बाबुको भनाइका विरूद्ध सदाझैं फेरि पनि कडा प्रतिवाद गर्यो ।
त्यो सबै तपार्इंलार्इ चुनाव जित्नलार्इ बाँडेको भ्रम हो । मैले पहिले पनि तपार्इंलार्इ बारम्बार भनेको थिएँ । यो मान्छेले जिल्लामा चुनाव जित्नलार्इ के भनेन, के गरेन । तपार्इंहरू जस्ता सोझा मान्छेहरूको सिकार गरेर आफ्नो स्वार्थ पूरा गर्छन् यिनीहरू । विजयका बारम्बार भनिरहने यी कुराहरू शिवराजलार्इ कताकता सत्य हुन् कि भन्ने लाग्न थालिरहेको थियो ।
विजयले शहरमा केही काम खोजेर पढ्छ भन्दा पनि शिवराजले मानेनन् र सँगसँगै घर लिएर फर्के । वास्तवमा यसै पटकमात्र उनलार्इ छोरो बुद्धिमानी रहेछ कि भन्ने महसुस भयो । उनले चुनावकै बेलामा शिवराजलार्इ भनेको थियो, – पद र पैसाका लागि कुनै विचार र सिद्धान्तलार्इ त्याग्ने मान्छेको पछि नलाग्नुस् ।
यता शिवराजको मनभित्र हीराप्रसादका भनाइहरूले चुनावको समयमा पारेका प्रभावहरू कमजोर हुँदै गएका थिए तर पनि अन्तर्मनको एउटा कुनामा अझै पनि विश्वासका सानासाना झुल्काहरू बाँकी नै थिए । चुनावदेखि नै गाउँटोलमा हीराप्रसादको विरूद्धमा युवाहरूबाट शुरू भएको असन्तुष्टि फैलिरहेको थ यो ।
विजयलार्इ लिएर काठमाडौं जाँदा किनेर ल्याएको रेडियोबाट शिवराजले अविश्वास प्रस्तावको समाचार आउँछ भन्ने आशामा धेरै समयसम्म सुने । कहिल्यै रेडियोको समाचार सुन्न चाख नमान्ने बाबुले सदादिन समाचार सुन्नुको कारण विजयले बुझेको थियो ।
बिस्तारै बिस्तारै शिवराजभित्र रेडियोको समाचार सुन्ने रूचि हराउँदै थियो ।
(अक्षर, वर्ष–१, अङ्क–२ २०६१ भदौ/मंसिर)

चुनावको मौसम

उसको बाल्यकाल यो गाउँमा बितेको कुरा मलार्इ धेरै पछि मात्र थाहा भयो । यो गाउँमा उसले सबैतिर घुमेर भोट मागयो । सबैलार्इ नाता लगायो । गाउँलेहरूले उसको कुरालाइ गम्भीरतापूर्वक सुने । यो गाउँसँग उसको सम्बन्धका बारेमा उसले मलार्इ कहिल्यै भनेन । प्रसंगमा उसले मलार्इ यतिमात्र भनेको थियो – दाइ ! म त व्यवहारबाट बुझेर यो आन्दोलनमा आइपुगेको हुँ ।
त्यो छाप्रोमा भोट माग्नु पर्दैन ?
मैले जीप कुदिरहेको बेला बाटाछेउको एउटा जीर्ण छाप्रोलार्इ देखाउँदै उसलार्इ सोधेको थिएँ । उसले मोटरलार्इ त्यस ठाउँमा रोक्न भनेन । मेरो प्रश्न झर्ने बित्तिकै उसको अनुहारमा मैले एक्कासी कालो छायाँ देखेँ । म अत्तालिएँ । कसरी यस्तो भयो ? उसभित्र कुनै नराम्रो दुर्भावनाको संकेत त्यसबेला मैले पाएँ । ऊ अर्कोतिर फर्किरहेको थियो । म घरि जीपको ढोकाबाट बाहिर हेर्थें घरि उतिर । ऊ त्यति लामो समयसम्म पनि मतिर फर्केर हेरेन । मभित्र धेरै धेरै प्रश्नहरू खेलिरहे ।
ड्राइभरले घ्याच्च ब्रेक लगायो । झण्डै हामी अगाडिको भागमा पुगेर नठोकिएको । अगाडि बाटोमा ठूलो खाल्डो रहेछ । ड्राइभरले कुनै ठूलो दुर्घटनाको संभावित आशंका व्यक्त गर्यो र भन्यो – झण्डै खाल्डोमा नखसेको । उसले बिस्तारै गाडीलार्इ ब्याक गर्यो र खेततिरबाट घुमाउँदै बाटोमा पुर्यायो । त्यतिबेला मात्र उसले अत्तालिएर अगाडि हेर्यो । त्यसबेलामात्र उसको अनुहारमा मैले हेरेको थिएँ । उसले हातले आँसु पुछेको रहेछ । उसको आँखामा आँशु अझै डबडबाइरहेको थियो । गाडी आफ्नै सुरमा अगाडि दौड्यो ।
सन्तोष तिमीलार्इ के भयो ?
केही भा छैन दाइ । तर उसको स्वर लरबरिएको थियो । उसको स्वर रोइरहेको छातिबाट निस्केझैं लाग्दथ्यो । सन्तोष त त्यस्तो मान्छे थिएन । म यो चुनावमा ऊसँग हिँडेको करीब एक महिना बितिसकेको थियो । हाम्रो समूहभित्र उभित्रको जिम्मेबारीबोध अत्यन्तै माथिल्लो प्रकारको थियो । नबुझेका मान्छेहरूलार्य चुनावका बारेमा राम्ररी सम्झाउने र बुझाउने क्षमता राख्थ्यो । ऊ अधिकांश मान्छेहरूको प्यारो भइसकेको थियो । ऊ यतिबेला आफ्नो पीडा लुकाउने कोशिस गरिरहेजस्तो महसुस मलार्इ भइरहेको थियो । तर मैले सन्तोषको अवस्था जसरी भए पनि बुझ्नै पर्थ्यो ।
तिमीलार्इ के भयो भन्नैपर्छ – मैले कर गर्दै उसलार्इ सोधें ।
आफूलार्इ केही नभएझैं गरेर उसले मतिर हेर्यो । उसको गालामा आँसु पुछेको आकृति प्रष्टै देखिन्थ्यो ।
सन्तोष दाइको घर त त्यही अघिको टोलमा पर्थ्यो नि ! आफ्नो घर गाउँको सम्झना आयो होला नि दाइलार्इ ? पछाडिबाट जमुनाले सन्तोषलार्इ जिस्क्याउने बहानामा भनी ।
ऊ घरपरिवार ध्वस्त भएको मानिस हो भनेर मैले केही पहिले सुनिसकेको थिएँ । ऊ कसरी यो आन्दोलनमा आइपुग्यो ? यसै क्षेत्रका साथीहरूलार्इ मात्र सबै कुराहरू थाहा थियो । म सन्तोषसँग कुरा खोतल्ने आशयले सोधीखोजी गर्न थालेँ ।
दाइले जुन छाप्राको कुरा गर्नुभयो, त्यो मेरो घर हो र अहिले खाली छ । उसले लर्बरिएको आवाजमा बोल्यो । त्यसपछि मभित्रको कौतुहलता झन् बढ्यो ।
हामी यतिखेर बनिया गाउँको बीचबाट उत्तरतर्फ गइरहेका छौं । हामीलार्इ केही घण्टापछि चुरेछेउको एउटा गाउँमा हुने चुनावी सभामा पुग्नुछ । गाउँ यतिबेला चुनावको चहलपहलले बेहुली झैं सिँगारिएको थियो । पोष्टरहरूले झिंगटीद्वारा बारिएका भित्ताहरू पनि भरिएका छन् । बाटोदेखि वारिपारिका घरहरूमा तुल र ब्यानर टाँगिएका छन् । प्रत्येक राजनीतिक पार्टीका झण्डाहरू घरका छानाछानामा तँछाडमछाड गरेर प्रतिस्पर्धा गरेझैं देखिन्छन् । हिजोमात्रै यसे टोलमा नेपाल प्रजातन्त्र दलका कार्यकर्ताले आफूले पहिले राखेका झण्डाहरू साना भएका कारण ठूला झण्डाहरू प्रत्येक घरका छानाहरूमा गाडेर गए । अरूबेला कहिल्यै मोटरको मुख देखन नपाइने बाटोमा दिनहुँ पचासौं गाडीहरू दौडाइन्छ । नयाँ नयाँ मान्छेहरू छिनछिनमा देखापर्छन् । चुनावमा उठेका उम्मेदवार र उसका मान्छेहरूले इनार र धारा कतिवटा र कहाँकहाँ चाहिन्छ भनेर सोध्छन् । गाउँका मान्छेहरू ग्वारग्वार्ती पछि लाग्छन् । गाउँमा एकपछि अर्को गर्दै हल्ला चल्छ – एक वर्षभित्र ठूलो स्कूल बन्ने भयो, फलानो ठाउँमा यति फिट गहिरो इनार खनिने भयो, कुलो, नहर, पैनी सबैको व्यवस्था हुने भयो ।
यो चुनावले गर्दा यो गाउँको रौनक नै फेरिएको थियो ।
गाउँको बीचमा एकछिन हामी चिया खान रोकियौं । हाम्रो जीपलार्इ वरिपरि केटाकेटीहरूले घेरे र पर्चा पोष्टर मागे । त्यतिबेलासम्म खुशी नदेखिएको सन्तोष पहिले झैं फरासिलो पाराले केटाकेटीहरूसँग प्रस्तुत हुँदै भन्यो – चुनावमा तिमीहरूले पाउने ठूलो अधिकार भनेकै यही हो ।
हामी चिया पिएर फेरि अघि बढ्यौं । टन्टलापुर घामले बस्तीमा चहलपहल त्यति साह्रो थिएन । हामी चढेको जिपमा भएको माइकिङका कारण मानिसहरू सुन्नलार्इ अलिक नजिक नजिक आउँथे । बच्चाबच्चीहरू गाडीको पछिपछि दगुर्थे । रामु र जमुना पछिल्तिर माइकिङमा व्यस्त थिए । मैले सन्तोषसँग उसको जीवनबारे बुझ्न कुराहरू खोतल्न थालेँ । बिस्तारै उसले आफ्ना कथाहरू भन्दै गयो ।

यो आजभन्दा दश वर्ष अघिको कुरा हो । संसदीय व्यवस्थाको पहिलो आम चुनावको समय थियो । अर्थात् त्यसबेला सन्तोष पाँच छ वर्षको मात्र थियो । उसकी आमा दीपिया दिनभर गाउँमा खेताला गरेर उनीहरूलार्इ पाल्थी । २०४६ सालको आन्दोलनको लगत्तैपछि दुर्इ महिना थला परेर उसको बाबु मर्यो । त्यसपछि उसकी आमामाथि एक प्रकारको विपत्ति नै आइपर्यो । जमिनको नाममा दुर्इ कठ्ठा ऐलानी जग्गा र त्यसमाथि एउटा सानो छाप्रो मात्र थियो । दैनिक मजदुरीको भरमा त्यो सानो परिवार धानिएको थियो ।
एकदिनको कुरा हो – जनआन्दोलनपछि पहिलो आमचुनावको प्रचारप्रसार तीब्र रूपमा भइरहेको थियो । दीपियाको सानो छोरो सन्तोषलार्इ पाँच दिनदेखि आइरहेको ज्वरो अलिकति पनि घटेको थिएन । फागुन महिनाको गर्मी चौपट्ट थियो । बनिया गाउँको छेउमा रहेको पिपल चौतारीमा सियाल ताप्ने मान्छेहरू बेला बेलामा बाक्लै देखापर्छन् । त्यही चौताराको एकाछेउमा दीपिया ज्वरोले ग्रस्त छोरो सन्तोषलार्इ सुम्सुम्याइरहेकी थिर्इ । ऊ बिरामी परेका यी दिनहरूमा छोरालार्इ छाडेर उसलार्इ कुनै काममा जाने जाँगर चलेको थिएन ।
दीपिया धेरै मानिसहरू बोलेको आवाज आफ्नो टोलभित्र कतैतिर बाट आइरहेको सुनी । उसलार्इ शंका त लाग्यो – यो हल्ला चुनावकै हुनुपर्छ । किनकि गाउँमा चुनावको ठूलो चर्चा परिचर्चा भइरहेको थियो ।
पूर्वतिरको गल्लीबाट एक हुल मानिसहरू आफू बसेकै ठाउँतिर आउँदै गरेको दीपियाले देखी । हुलमा एउटा सबैभन्दा मोटो र हृष्टपुष्ट मान्छे यताउता फर्किँदै हात जोडेर हिँडिरहेको थियो । धेरै मान्छेहरू उसको अघिपछि लागेका थिए । सेतो कुर्था र पाइजामा लगाएको त्यो मान्छे भीडमा अरू धेरै मान्छेहरूको बीचमा भिन्न देखिन्थ्यो । अरू अरू दिनमा पनि यसैगरी मान्छेहरू आइरहन्थे तर यो जमात अरू दिनको भन्दा ठूलो थियो । पछाडिपट्टि हाते माइकबाट गाउँकै युवक कराइरहेको थियो – हाम्रो घरदैलोमा, हाम्रै आँगनमा, हाम्रो आफ्नै उम्मेदवार सनकराम यादव तफार्इं हाम्रो समस्या बुझ्न आउँदै हुनुहुन्छ । हामी भेटौं र आफ्नो समस्या सुनाऔं । उहाँको चुनाव चिन्ह हो – रूखमाथि चढेको मान्छे ।
दीपियालार्इ चौतारीमा बसेको देख्ने बित्तिकै अगाडि अगाडि हिँडेको त्यो माटो जीउडालको मान्छे हात जोड्दै आयो । उसले हात जोडेको देखेर दीपियालार्इ केही अप्ठ्यारो पनि लाग्यो । भीडले एकैछिनमा सानो चौतारोलार्इ वरिपरिबाट घेर्यो ।
हँ कथी भेले ? कुनै चिन्तित मुद्रामा शनकरामले बच्चातर्फ आँखा घुमाउँदै दीपियालार्इ सोधेको थियो । त्यसबेला दीपियालार्इ कताकता साहारा पाएजस्तो लाग्यो । यसरी नम्र र मलिन पाराले उसको समस्या सुन्ने मानिस प्रायजसो आउँदैनथे गाउँमा । अझ यस्तो ठूलो मान्छेले यसरी भन्दा बढी नै ढाडस पाएको महसुस गरी उसले ।
बुखार आयल छै । डर मिश्रित स्वरमा उसले जवाफ दिएकी थिर्इ ।
अहो बर्बाद भेलै । दीपियाको जवाफ भुइँमा नझर्दैर् अत्यन्तै दुःख लागेको भाव प्रकट गर्दै शनकरामले जवाफ फर्काएको थियो ।
धेरै मान्छेहरूको जमातअगाडि बसेर दीपियाले अहिलेसम्म दोहोरो कुरा गरेकी थिइन । यत्रो भीडमा उसलार्इ मान्छेहरूसँग कुरा गर्न निकै नै अप्ठ्यारो लागिरह्यो । यसरी मान्छेहरूसँग कुरा गर्नुपर्दा आफ्नो जीऊ नै हप्प फुलेझैं लागेको थियो दीपियालार्इ । तर शनकरामको पछि हिँड्ने फूलो पनि सँगसँगै देखेर दीपियालार्इ कताकता सजिलो भइरहेको थियो । फूलो दीपियाकी बालसखा पनि थिर्इ ।
गरिबीले पिल्सिएको भए पनि दीपियाको शारीरिक सुन्दरता धेरै मानिसहरूलार्इ प्रभावित पार्ने खालको थियो । यही कारणले उसले जीवनमा धेरै हण्डर र ठक्कर खाएकी पनि थिर्इ । शनकराम पनि उसको शरीरमा एकछिन टोलायो । फूलोले पनि यो कुरो बुझेकी थिर्इ । त्यसैले शनकरामतिर फर्केर फूलोले एकपटक आँखा झिम्क्यार्इ । शनकराम भित्रको पाखण्ड प्रवृत्तिसँग त्यहाँ फूलोमात्र राम्ररी परिचित थिर्इ । उसलार्इ बुझेर उसका कामहरूलार्इ सहज बनाउँथी ऊ । शनकरामको भित्री स्वभाव बुझ्ने कुनै सम्भावना त्यहाँ वरिपरि कसैको पनि थिएन ।
फूलो यस्ता चुनावहरूमा खुबै सकृय हुन्थी । पञ्चायती चुनावमा वडाध्यक्ष पदमा जितेकी थिर्इ उसले । दीपियाले मनमनै सोची – फूलोलार्इ भनेर योसँग सहयोग लिनुपर्ला । गाउँका मान्छेहरू फूलोलार्इ त्यति राम्ररी हेर्दैनन् । पहिले गाउँको विकासका लागि आएको पैसा उसले खाइ भन्ने चर्चा दीपियाले प्रशस्त सुनेकी थिर्इ अड्डा अदालतमा कुद्ने र सार्वजनिक कामहरू आदिमा ऊ जहाँ भए पनि अगाडि नै पुगेकी हुन्थी ।
यदि बकरा भोट देवी त निमन हे तो । भीडलार्इ उधिनेर अगाडि सर्दै फूलोले दीपियालार्इ भनेकी थिर्इ त्यसबेला । दीपियाले पनि मनमनै सोचेकी थिर्इ – मान्छे हेर्दा त असलजस्तो छ । यसले चुनाव जित्यो भने राम्रै सहयोग गर्ला ।
शनकराम यादव त्यहाँबाट हिँड्ने बेलामा हातले बिस्तारै बच्चालार्इ मुसार्यो । भीड बिस्तारै अघि बढ्यो । भीडमा गाउँका अरू धेरै मान्छेहरू थपिए । फूलोले जोड जोडले चिच्याउँदै नारा लगार्इरहेकी थिर्इ । भीड बिस्तारै दीपियाको आँखाबाट ओझेल पर्यो ।
चुनाव आयो । गाउँलार्इ कुनै चाडपर्व आए झैं महसुस भयो । चुनाव सकिएको दुर्इ चार दिनपछि गाउँ फेरि खुशी भएर उठ्यो । गाउँका अगुवा भनाउँदाहरूले अबीर जात्रा गरे । त्यसबेला दीपियालार्इ पनि अबीर लगाएर नाच्न मन लागेको थियो । शनकरामले जितेको उपलक्ष्यमा फूलोले प्लास्टिकभरी अबिर बोकेर गाउँ घुमी र दीपियालार्इ पनि लगाइदिर्इ । पहिले पहिलेको चुनावमा पनि दीपियाले भोट दिएका मान्छेहरूले नै जितेको कुरा सुनेकी थिर्इ उसले । तर जितेको मानिसलार्इ प्रत्यक्ष रूपमा यसरी चिनेकी थिइन । शनकरामले चुनाव जितेपछि दीपियाले आफूलार्इ निकै शक्तिशाली महसुस गरी ।

करीब एक महिनापछि एकाबिहानैको कुरा हो । फूलोले एक्कासी दीपियालार्इ काठमाडौं जाने प्रस्ताव राखी । दीपियाले त्यसबेला आफ्नो जीवनमा घामको झुल्को परेको महसुस गरी । खुशीले कतै उसलार्इ सपना पो हो कि जस्तो लाग्यो । अझ फूलोले उसलार्इ सुख सयलका फूलबुट्टे कथाहरू सुनाउँदा उसको अवचेतन मन स्वप्निल संसारमा रमाउन थालेको थियो । शुरूमा फूलोले सन्तोषलार्इ नलाँदा राम्रो हुने सल्लाह दिर्इ । तर तत्कालै फूलोलार्इ उसले बिस्तारै भनेकी थिर्इ – म त उसैका लागि बाँचेकी छु, कसरी छोडेर जान सक्छु र ?
उसको भावनालार्इ फूलोले राम्ररी बुझी र बिस्तारै सम्झाउँदै भनेकी थिर्इ । के फरक पर्छ र केही समय गएर पैसा कमाएपछि सन्तोषलार्इ फेरि लान सकिहालिन्छ नि । फूलोले यसो भनिरहँदा उसको मन कटक्क काटिएको थियो ।
गरिबीले पिल्सिएको मन न हो । ज्याला मजदूरीले एक छाक खान नपुग्ने । सदा दिन अपमानको भारी बोक्नुपर्ने । ऊ यही अपमानको भारी बिसाउन र काम गरेर दुर्इ छाक पेटभरी खान र ख्वाउन चाहन्थी । कता कता उसले छोरालार्इ नै सोचेर भोलिको सुखी दिनको कल्पना गर्न पुगेकी थिर्इ । अब उसले निर्णय गरी, फूलोसँग काठमाडौं जाने, पैसा कमाउने र छोरालार्इ पछि साथै लाने । ऊ सन्तोषलार्इ छाडेर काठमाडौं जान राजी भर्इ ।
त्यसको केही दिनपछि सन्तोषलार्इ गाउँका काकाको जिम्मा लगाएर दीपिया फूलोसँग काठमाडौं गएकी थिर्इ ।
बिस्तारै सन्तोष त्यही गाउँको धुलोमा हुर्क्यो । त्यही गाउँको उब्रिएको भात खाएर बाँच्यो । फूलो फर्केर गाउँ आएपछि सबैले दीपियाका बारेमा ऊसँग सोधे । उसले दीपिया काठमाडौं पुगेर हराएको कुरा गरी । धेरै खोजेको र आफूहरूले नभेटेको कुरा गरी । पत्रपत्रिकाहरूले लेखे – मन्त्री शनकराम यादवले नेपाली महिलाहरूलार्इ विदेशमा लगेर बेच्छ । फूलोसँग साथ लागेर काठमाण्डू जानेहरू अरू पनि थुप्रै थुप्रै हराए । त्यसपछि ऊ पनि काठमाडौंतिरै बस्न थाली । शनकराम अरू क्षेत्रमा गएर चुनाव जित्न थाल्यो । दाइले देखाउनुभएको छाप्रो मेरो घर थियो । त्यो घर अहिले खाली छ ।

सन्तोषले आफ्नो जीवनको कथा भन्दाभन्दै हामी चुरेछेउको गाउँमा आइपुगेका थियौं । उजाड गाउँ चुनावको प्रचारले रंगिएको थियो । धुलो र माटोले धुस्रैफुस्रै देखिएका केटाकेटीहरू हामीहरूसँग पर्चा माग्न तँछाडमछाड गरिरहेका थिए । सन्तोषले जोडले माइकिङ गर्दै नारा लगायो – संसदिय चुनावको भ्रमजालमा नफसौं । हामी बिस्तारै बिस्तारै आफ्नो कार्यक्रम स्थलतर्फ अगाडि बढ्यौं ।

(नौलो कोशेली, पूर्णाङ्क – १८ २०५७ आश्विन)

फुटपाथ

ग्राहकसँग मोलतोल गर्दा नगर प्रहरीको मोटर अगाडि रोकिएको सम्म देखेन नरबहादुरले । उसको अगाडि मोटरबाट प्रहरीहरू बुद्रूक्क हाम फाल्दा मात्र झल्यास्स भयो ऊ । वरिपरि तुरून्त आँखा डुलायो उसले । सबै साथीहरू भागेर परपरसम्म पुगिसकेछन् । ओखलढुंगे कान्छो परबाट हातका इसाराले चाँडो आइज भन्दैथियो । कस्तो बिलखबन्दमा परेको छ ऊ । भागिहाल्न ग्राहकले सामान लिइसकेको छ र पैसा भने दिन भ्याएको छैन । ग्राहकले पैसा झिक्न ढिलो गरेकोले नरबहादुरले त्यसलार्इ पर्खन उपयुक्त ठानेन र प्लास्टिक गुटमुटाएर भाग्ने सुर कस्यो । प्लास्टिकको पोकोलार्इ पछाडि बोकेर अगाडितिर भाग्न मात्र के लागेको थियो, पुलिसको हातले बलियोसँग चिलले परेवालार्इ गाँजेजस्तो प्लास्टिकको पोकालार्इ गाँज्यो ।
आजलार्इ छोड्दिनुस् दाइ । नरबहादुरको यो याचना पुलिसहरूको बीचमा हाँसोमा उड्यो ।
दिनभरिमा बल्ल भेटेको शिकार पनि छोड्ने अरे । पुलिसहरूले खुशी हुँदै भनेको आवाज नरबहादुरले पनि सुन्यो ।
पुलिसको हात परिसकेपछि प्लास्टिकको पोकोलार्इ नरबहादुरले तानेको मात्र के थियो अर्को पुलिसको लट्ठी नरबहादुरको ढाडमा बज्रियो । ऊ टुँडिखेलको बारमा एउटा हातले समातेर अर्को हातले चोट सुम्सुम्याउन थाल्यो । लट्ठीको प्रहारको दुखार्इ सामान्य भएपछि नरबहादुरले पुलिसहरूतिर फर्किएर हेर्यो । प्लास्टिकको पोकोलार्इ उनीहरूले मोटरमा चढाइसकेका थिए ।
पल्लो कोठाको टेबुल घडीले रातको बाह्र बजेको संकेत दियो । नरबहादुरको यो रात कोल्टो फर्काइसँगै बित्दैछ, निद्रा आउने कुनै संकेत छैन । काठमाडौंको माघे जाडो रात बित्नसँग छिप्पिँदै पनि छ । यो लगातारको असफलताको उसले अन्य बाटो खोज्न जरूरी सम्झेको छ ।
भ्यान्टिलेशनको प्वालबाट छिरेको प्रकाशले सबै कोठालार्इ उज्यालो बनाइसकेको छ ।
काठमाडौंको वरिपरि डाँडाहरूमा सबैतिर हिँउले ढाकेको छ रे ? दाजुहरू फूलचोकी हिउँ हेर्न जाने कुरा गर्दैछन् । पल्लोतिरको कोठामा इन्दिराले आमालार्इ भन्दैछ ।
नरबहादुरलार्इ आज उठ्ने जाँगर त थिएन तर इन्दिराको कुरा सुनेर झनै सिरक छोड्न सकेको छैन ।
आज त चाँडै ओछ्यान छोडेर पनि के गर्नु, भाका मालसामानहरू पुलिसले उठाएर लगिदिहाल्यो । हिजो अस्ति यति बेला सामान लगेर बुहुनी समेत भइसक्थ्यो । फुटपाथ पसल न हो । पुलिससँग सामान माग्न जाउँ भने आधा पनि दिँदैनन् । पुलिसकै जाहान परिवार धनी भैसके । जरिबाना भनेर दुर्इचारसय थुतिहाल्छन्, कति रिन खानु । कोठा भाडा तिर्न नसकेको पनि दुर्इ महिना पुगिसक्यो । बैदार बुढाले घरमा आएर दिनैपिच्छे धम्क्याउँदा हुन् । कर्जा लिएर हिँडेको पनि एक वर्ष पुग्न लागिसक्यो । बैदार बुढाले व्याजलार्इ डबल पुर्याइसक्यो होला । नरबहादुरले सिनेमाको रिलजस्तै समस्या र कष्टहरूको मुठो खोल्यो । आफ्नो गाउँ सम्झन्छ । एकाएक गर्दै ऊ स्कूल जानुपर्ने भाइ र उमेर पुगेकी बहिनीलार्इ पनि सम्झन्छ । वरिपरि समस्या बाहेक आफ्ना अगाडि आशाको तत्काल सम्भावना देख्दैन ऊ ।
यसैबेला ढोकामा ढ्याक… ढ्याक… आवाज आउँछ । यो आवाजले ऊ हतार हतार जीउमा कपडा भिर्छ र ढोका खोल्छ ।
कसलार्इ खोज्नु भो ?
यतातिर शाह ठेकेदार कहाँ बस्नुहुन्छ होला ?
उहाँ त पल्लो कोठामा बस्नुहुन्छ । तर दुई चारदिनदेखि देखेकै छैन – नरबहादुरले तुरून्त जवाफ दियो ।
आगन्तुकले ओठ लेप्र्याएर टाउको दुईचार पटक तलमाथि हल्लायो । नरबहादुरले मनमनै गुन्यो – त्यो ठेकेदारले काम लगाउने मानिस होला यो गाउँबाट भरखरै आएजस्तो छ, चण्डालको फेला पर्यो ।
आगन्तुकलाई देख्ने बित्तिकै आफू सानो छँदाको दौंतरी डिल्लीको याद आयो उसलार्इ । अनुहार पनि झण्डै झण्डै मिल्नै । कतै डिल्ली नै त होइन यो । कोइलाखानी जानेलार्इ पच्छ्याउँदै गयो भन्थे, काठमाडौंमा हुन पनि के बेर ।
ठेकेदारको स्वभावसँग नरबहादुर राम्रै परिचित थियो । धेरै सोझा सीधा मानिसहरूलाई उसले ठगेको नरबहादुरलाई थाहा थियो । अरू जानकारी लिन नरबहादुरले बिस्तारै परिचय लिने विचार गर्यो ।
तपार्इ कहाँबाट आउनुभएको होला ?
यही ठेकेदारलार्य भेट्न आको, हामीले काम गरेको ज्याला नै दिएन घर जान खर्च छैन ।
तपार्इंको घर चाहिँ ?
मेरो घर पूर्व २ नम्बर । नरबहादुरले मनमनै सोच्यो, यसरी ठेगाना बताउने यो मानिस गाउँबाट आएको धेरै भएको छैन । बुझिन्थ्यो आगन्तुकलार्इ यो संवादले मन तान्न सकेको थिएन । हत्तारिएका र अत्तालिएका उसको चेहराले लाग्दथ्यो कि ऊ ठूलै समस्यामा अल्झिएको छ ।
दुर्इचार दिनदेखि ठेकेदार कोठामा नदेखेपछि धेरै पटक मानिसहरू आइसकेका थिए । नरबहादुरले मनमनै गुन्यो – मैले त यसलार्इ मात्रै न सोधें अरू सबै जना यो चण्डालको महाजालमा परिसकेको हुनुपर्छ ।
त्यो ठेकेदारको घर तपार्इंलार्इ थाहा छ ? आगन्तुकले नरबहादुरलार्इ सोध्यो ।
मसँग यसले मेरो घर रक्सौल हो भन्थ्यो । नरबहादुरको कुरा सकिन नपाउँदै आगन्तुकले ठूलो आवाज निकाल्दै भन्यो – हामीलार्इ त फेरि जनकपुर हो भन्थ्यो ।
ज्याला दे धुँकल व छे वाहे म व्यू यँ हए वी धागु, (पाँच महिना भइसक्यो यसले त भाडा नै दिएको छैन, आज ल्याइदिन्छु भन्थ्यो) – घरबाला साहु माथिबाट ठूलो स्वरमा श्रीमतीसँग बरबराउँदै झर्यो ।
साहुको आवाजले नरबहादुर पनि झस्कियो । नरबहादुरले पनि दुर्इ महिनाको तिर्नुपर्ने भाडाको म्याद तीन दिन अघि नाघिसक्यो ।
साहु आएर ठेकेदारको कोठाको ढोकामा धक्का दिन्छ । झुण्डिएको साँचोको स्पर्श पाएपछि उसको रिसको पारो अझै बढेको महसुस हुन्छ ।
यो कोठा कहिलेदेखि बन्द छ ? नरबहादुरतिर हेर्दै साहुले सोध्यो ।
चार–पाँच दिनदेखि देखेको छैन । डर मिसिएको बोली नरबहादुरले बिस्तारै ओकल्यो ।
साहुले रिसले राता भएका गालाहरूमा पातलो दाह्रीका ठोसाहरू झनै प्रष्ट देखिए । ढोकालार्इ एक धक्का दिँदै साहु भन्छ – अब यो भागेको होला, यस्तो चोर पनि ठेकेदार हुन्छ ?
नरबहादुरले साहुको मुखतिर सीधा हेर्न सकेन । साहु एकछिन बर्बराउँदै उभिँदा नरबहादुर ठेकेदारको ढोकामा एकटकले हेरिरह्यो ।
यो को हो नि ? आगन्तुकतिर औंला ताक्दै नरबहादुरतिर फर्केर साहु ठूलो स्वरमा कड्किन्छ ।
तिमीले कोठामा पालेको मान्छे होला यो । नरबहादुरले उत्तर दिन नभ्याउँदै साहु उतिर थुप्रै अपमानित शब्दहरू बर्षाइसक्छ ।
होइन, उहाँ त यही ठेकेदारलार्इ खोज्न आउनुभाको । नरबहादुरले बिस्तारै साहुलार्इ बयान दिन्छ । साहु पुनः कोठाको चाबीलार्इ यताउता हल्लाइरहन्छ ।
तिमी पनि यही ठेकेदारजस्तै भाडा नदिर्इ भाग्ने होला, अहिले नै भाडा देउ । साहुको खप्कीको प्रतीक्षा गरेजस्तो नरबहादुर ठिङ्ग ढोकामा उभिरह्यो ।
तिमी अहिले नै भाडा देऊ – नरबहादुरको नजिक गएर साहु अर्को पटक पनि भन्छ ।
म भरे बेलुका नै तपार्इंलार्इ ल्याइदिन्छ । नरबहादुरले बिस्तारै भन्छ ।
आफ्नो अस्वाभाविक जवाफतिर फर्केर नरबहादुरलार्इ मूल्यांकन गर्न मन लाग्छ । आफैंलार्इ विश्वास नलागेको जवाफ । आफू उभिएको ठाउँबाट नरबहादुर मूलगेटतिर यसो आँखा सार्छ, आगन्तुक फर्कँदै हेर्दै फर्कँदै परसम्म पुगिसकेको छ ।
भर्याङ् चढ्दा पनि साहु भन्दै छ, भरे ल्याइदिएन भने त अरू पनि केही नसुनिने कुराहरू भन्दै साहु कोठातिर पसेको भान हुन्छ ।
पल्लो कोठामा सरितालार्इ समय सोध्दै नरबहादुर लुगा लगाउँछ । एक मन त सोच्छ, आजसम्मको नाफा जति सबै पुलिसलार्इ घुस ख्वाउँदै ठिक्क छ । आज पनि दुर्इ चार सय नख्वार्इ सामान दिँदैन, बरू नजानै ठीक होला । फेरि मनमा अर्को कुरा आउँछ । सुब्बा अमरराजकहाँ गएर केही पैसा मागौं कि ? भएका सामानहरू मध्ये केही सस्तो मस्तोमा बिक्री गरेर भाडा बुझाउनुपर्यो र भोलि नै टिकट लिएर घरतिर हिँड्नुपर्यो ।
नरबहादुर फटाफट सुब्बा अमरराजको कोठामा जान्छ । अमरराज उसको गाउँको मान्छे हो । बेलामौकामा खरखाँचो पर्यो भने अमरराजले गाउँतिरका मानिसहरूलार्इ चर्को व्याजमै भए पनि पैसा दिन्छ । अमरराजको कोठामा पुगेर ऊ ढोकामा आवाज नदिर्इ धकेल्छ । ढोकाको अकस्मान खुलाइले अमरराज झस्किँदै सोध्छ – किन आयौ नरबहादुर ?
हजुर अत्यन्तै समस्या परेर आएको । नरबहादुरले तुरून्त जवाफ दिन्छ ।
के हो त भन न । जुत्तामा पालिस लाउँदै अमरराज कुरा खोतल्छ । आफूलार्इ पाँचसय रूपैयाँ तुरून्त चाहिएको कुरा नरबहादुरले बताइनसक्दै उसको हातमा साठी प्रतिशत व्याज लाग्छ भन्दै अमरराजले पाँचसय रूपैयाँ राखिदिन्छ ।
नरबहादुर अत्यन्तै चाँडो पाइला अगाडि बढाउँदै त्यहाँबाट हिँड्छ । प्रहरीको क्वाटरको गेटमा पुग्ने बित्तिकै नरबहादुरले विगतमा प्रहरीबाट भएको दुर्व्यवहार सम्झ्यो । गह्रुंगा पाइलाहरू घिस्याउँदै ऊ पुलिस कार्यालयमा पुग्यो ।
सानै भए पनि माछो आइहाल्यो नि । त्यो पनि बुहुनीको समयमा, कसो त हर्के ? कार्यालयको ढोका नटेक्दै नरबहादुरतिर आँखाको इशारा गर्दै हवल्दारले अर्कोलार्इ भनेको उसले सुन्यो ।
ए ! आइज, ऊ त्यहाँ बस्दै गर । हवलदार टेकनाथले नरबहादुरलार्इ औंलाले ठाउँ देखाइदिँदै भन्यो ।
नरबहादुर नजिकोको ग्यारेजको छिँडीमा टुक्रुक्क बस्यो । एकछिनपछि हवल्दार टेकनाथले हरियो प्लास्टिकको पोको ल्याइदिँदै भन्यो – सात सय रूपैयाँ चाहिन्छ ।
नरबहादुर हरियो पोकातिर हेर्दै मनमनै विचार गर्यो, हिजोकोभन्दा आधाजसो सामान कम छ । राम्रा राम्रा सामान छानेर लगे होलान् । नरबहादुरको उही तीतो सोचाइको निरन्तर क्रम चर्खाझैं घुमिरह्यो ।
हजुर मसँग त त्यत्रो पैसा पुग्दैन – नरबहादुरले हवलदारसँग बिन्ति बिसायो ।
हवलदार साहेब एकसय रूपैयाँ दिन सक्छ ।
चार सय सार सय नभन, पाँचसय रूपैयाँ ले अरू छोडिदिन्छु – हवलदारले चेप्र्यार्इं घस्दै भन्यो ।
बाहिर के को आवाज हँ । हवलदारले आँखा तेजिलो बनायो र सडकतिर फर्केर नरबहादुरलार्इ हेर्यो । पर्खालको माथिल्लो भागबाट देखिएको दृश्य नरबहादुरलार्इ टाउकाहरूको नदीजस्तो लाग्यो । जुलुसका नाराहरू दुवैका कानमा ठोक्किए ।
जुलुस जस्तो छ । नरबहादुरले हतार हतारमा भन्यो ।
ए चाँडो पैसा दिएर गइहाल । हवलदारले हतारो देखाउँदै भन्यो ।
नरबहादुरले आफू यहाँ बसिरहँदा हवलदारलार्इ अप्ठ्यारो परेको कुरा बुझ्यो । यसैबीचमा पुलिस अफिसरको नेतृत्वमा लाठीधारी प्रहरीको जत्था जुलुस नियन्त्रण गर्न गयो ।
चाँडै गइहाल । हवलदारले त्रसित भावमा भन्यो ।
नरबहादुरले मुट्ठीमा राखेको एकसय रूपैयाँ बिस्तारै पकेटमा घुसार्यो र बाहिर निस्क्यो । जुलुसका केही नाराहरू उसलार्इ असाध्यै मन परे ।
प्रहरी अत्याचार बनद गर ! महाकाली सन्धी खारेज गर ! गिरफ्तार देशभक्ताहरूलार्इ रिहा गर !
नाराहरू सुनेर ऊ पनि जुलुसमै सामेल भयो । उसलार्इ पनि एकछिन जुलुसमा हिँड्ने रहर लाग्यो । जुलुसमा एउटा हल्ला फैलियो, हाम्रो दवावको कारण सबै साथीहरू रिहा भए । उसले सानैमा गाउँको स्कूलमा पढाउने शिक्षकले भनेको कुरा सम्झ्यो – नलडी केही पनि पाइँदैन । यही सम्झँदै जुलसको नारामा उसले मुट्ठी उठाएर साथ दियो । पुलिस दमन बन्द गर !
आज जुलुसमा हिँड्दा उसले आफूभित्र साहस सञ्चार भएको महसूस गर्यो ।
(इन्द्रेणी, पूर्णाङ्क – ६ २०५४ वैशाख)

म यसरी फर्किएँ

विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगेँ । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलार्इ जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै खेल्यौं । एकघण्टाको बाटो भएको स्कूलसँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू सबै बेग्लाबेग्लै थिए । तर घरी म उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । हामी चार पाँच दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलार्इ यति छोटो समय छुट्टिँदा पनि लामो लाग्थ्यो । घाँसदाउरा देखि लिएर गार्इबस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गर्थ्यौं ।
हामी यसरी लामा समय छुट्टिएर बस्नुपर्ला भनेर कसैले पनि सोचेका थिएनौं । रमेश बीस वर्ष पुगेपछि अर्थात् दश वर्ष अघि काठमाडौं गयो । सुरूका केही वर्ष हाम्रो बीचमा पत्रको आदानप्रदान पनि धेरै पटक भयो । पत्रमा हामी हाम्रा आफ्ना मनोभावहरू खुलेर लेख्थ्यौं । दुवैतिरका खानपान, बसउठ र अन्य व्यवहारका बारेमा धक फुकाएर लेख्थ्यौं । हप्ता दिनभित्र उसको चिठी पढ्न पाइनँ भने मलार्इ नरमाइलो लाग्थ्यो । उसलार्इ पनि त्यस्तै लागेको कुरा ऊ मलार्इ चिठीमा लेख्थ्यो । बीचबीचमा ऊ घरमा आउँदा कुदेर मेरो घरमा आउँथ्यो र घण्टौं ऊ र म सँगै गफ गरेर बिताउँथ्यौं । म पनि घरका काम बिर्सन्थेँ । ऊ काठमाडौं नफर्कुन्जेलसम्म मेरो घरको काम चौपट्टै हुन्थ्यो । बाल्यकालमा घुमेका ठाउँहरू हामी सँगै फेरि घुम्थ्यौं र आफ्ना अतीतका कथाहरू दोहोर्याउँथ्यौं ।
धेरै वर्ष भइसकेको थियो – रमेशसँग भेट नभएको । चिठीपत्रको आदानप्रदान पनि केही वर्षदेखि बन्द जस्तै भइसकेको थियो । पहिले त ऊ कमै मात्र पत्रहरू लेख्थ्यो तर पछि त हाम्रो सम्पर्क अघि बढाउन म भन्दा ऊ सक्रिय भएको देखिन्थ्यो । पछिल्ला वर्षहरूदेखि आफ्ना व्यक्तिगत कुराहरूभन्दा देशका, राजनीतिका खबरहरू उसले पठाउन थाल्यो र मसँग पनि यहाँका चुनावका, मान्छेका सोचाइहरूका बारेमा पत्रमार्फत सोध्न थाल्यो । कता कता उसका पत्रहरू पढ्ना मलार्इ झन्झट लाग्दै आउन थालेको थियो, तर पनि म रमेशले सोकेका कुराहरूभनदा व्यक्तिगत हालखबरहरू लेखेर पठाउँथेँ । त्यसपछाडी हाम्रो पत्रव्यवहारमा कमी आउन थाल्यो । परारसाल रमेश दशैंमा घर आउँदा हाम्रा पुराना व्यवहारहरूमा धेरै परिवर्तन आएको प्रष्टसँग मैले देख्न पाएँ । मलार्इ कताकता उसको व्यवहार नौलो लाग्न थाल्यो । म गाउँमा सामान्य खेतीपातीको काम गरेर बस्थें । त्यसबेला उकपटक मैले उसँग पैसा कमाउन विदेश जानुपर्ला भनेर प्रस्ताव राखेको थिएँ, उसले मेरो कुरा मन पराएको थिएन र त्यसबेला भनेको थियो – अर्काको देशमा गएर पैसा कमाउनुभन्दा आफ्नै देशका बारेमा चिन्ता गर्न सिक्नुपर्छ । तैंले मात्र पैसा कमाएर देशको समस्या हल हुँदैन, तँजस्ता कैयौं युवाहरूका समस्याका बारेमा सोच्नुपर्छ ।
पैसा त चाहियो नि – मैले रमेशलार्इ सोच्न कर गर्दै भनेँ ।
पैसाको आवश्यकता कति, सम्पूर्ण जीवन यसैका लागि लगाउने । आखिर तेरो सम्पत्ति आफूले परिश्रम गरेर राम्रोसँग पुग्ने छँदैछ । उसले मसँग प्रतिवाद गर्ने शैलीमा भन्यो ।
रमेशको कुराले विदेश गएर पैसा कमाउने र यहीँ आएर सुखी जीवन बिताउने धेरै पहिलेदेखिको मीठो कल्पनामाथि पहिलोपल्ट प्रहार भएको मैले महसुस गरेको थिएँ । उसको त्यस भनाइपछि म नराम्ररी रन्थनिएँ । पैसा कमाएर ल्याउने र त्यसपछि वास्तवमै मैले मनभित्र कल्पनाको राम्रो घर बनाएको थिएँ । त्यही योजना अनुसार मैले आफ्नो केही जग्गाजमिन बेच्ने सोचाइ बनाएको थिएँ । उसको कुराले हाम्रो निकटतालार्इ टाढा बनाइदिएको कुरा मैले पहिलेपटक राम्रोसँग अनुभव गरेँ ।
आखिर ऊ पनि सुखी थिएन । शहरको बसाइ, सानोतिनो कमाइबाट जीवन गुजार्नुपर्ने । परिवार त ठिक्कैको थियो । एउटा छोरो, एउटी छोरी र श्रीमतीसहित ऊ । सम्पत्तिको नाउँमा त्यही एउटा सानो तरकारी पसल । उसले नयाँ नयाँ साथीहरू थुप्रै बनाएछ । त्यही सानो एउटा सानो कोठामा पनि मानिसहरू आइरहन्छन् तर किन ऊ विदेश गएर पैसा कमाउने कुराप्रति घृणा गर्छ । म उसको सोचाइका बारेमा बुझ्नै सक्दिनँ । म पनि उसकै सहारामा काठमाडौं शहर आइपुगेको छु । यस शहरमा मैले चिनेका मानिसहरू त अरू पनि छन् । कति मानिसहरू सम्पन्नशाली पनि छन् । केहीको अभाव छैन । कति त मेरा मावलीतिरका नातेदारहरू पनि छन् । फुपूको छोरो पनि यतै बस्छ । जागिर राम्रो छ । भाउजू पनि जागिरे । एउटा फ्ल्याटै लिएर बसेको छ । दुर्इ तीन ठाउँ घडेरी पनि किनेको छ भन्ने सुन्छु । कतिपटक उनीहरूकहाँ आश्रय लिन म गएको छु । तर किन कित उनीहरूसँग बस्दा आफन्तबोध हुनै सकेन मलार्इ । सम्पत्ति कमाएको तुजुक, घमण्ड, महत्वाकांक्षा आदिको नमीठो दुर्गन्ध कोठाभरि फैलिएको हुन्थ्यो । मलार्इ त्यो कुरा मनै पर्दैनथ्यो । उनीहरूको प्रगतिको कुरामा म सहमत थिएँ । तर जतिबेलै जहाँकहीँ सम्पत्तिकै चर्चा । गहनाको बखान सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । तर रमेश त्यस्तो छैन । उसको कोठामा आडम्बरको कुनै पनि दुर्गन्ध पस्न पाउँदैन । उसको परिवारमा सम्पत्तिको तिर्खा कुनै कुरामा पनि देखिँदैन । रमेशको कोठामा पराइको व्यवहार मैले कहिल्यै पनि महसुस गर्नुपरेन । तर ऊ मैले विदेश गएर पैसा कमाउने कुरामा कहिल्यै पनि सहमत भएन । त्यही कामले म गाउँबाट काठमाडौं आएको थिएँ । आधाजसो जग्गा पनि बेचेर आएको थिएँ । तर अरब गएर पैसा कमाउन उसले मलार्इ कहिल्यै पनि सल्लाह दिएन र सहयोग पनि गरेन । धेरै पहिलेदेखिको मेरो यो योजना बदल्न पनि मलार्इ सम्भव थिएन । त्यसबाट मैले भविष्यको सुन्दर योजनाका नक्सा कोरेको थिएँ । रमेशले मलार्इ विदेश गएर दुःख पाउने मानिसहरूले भोगेको कथाव्यथाहरू लेखिएको सामग्रीहरू ल्याएर दिन्थ्यो । हाम्रै गाउँमा के गर्दा बढी उत्पादन गर्न सकिएला भनेर मसँग छलफल गर्न खोज्थ्यो तर यस्ता कुराहरूप्रति मलार्इ त्यति धेरै रूचि थिएन । म अर्कै सपना बोकेर शहर आएको मान्छे । त्यतिका वर्षदेखि मनभित्र बनाएको भविष्यको घर भत्काउन म पनि कसरी सक्थेँ र । ऊ जति जति मलार्इ सम्झाउन खोज्थ्यो, त्यति त्यति ऊबाट म टाढा हुन चाहन्थेँ । तर ऊ मलार्इ असाध्यै प्रेम गरिरहेको छ भन्ने कुरालार्इ पनि म सँगसँगै बुझिरहेको थिएँ । ऊ अध्ययनशील थियो, तार्किक थियो । ऊसँग छलफल र तर्कमा म जहिले पनि आफूलार्इ कमजोर महसुस गर्थेँ । सँगै खेलेर हुर्केको हुनाले उसको बौद्धिक क्षमतामा भएको विकास देखेर मभित्र कताकता हीनताभावको संकेत मैले पाउन थालेँ ।
जब म आफ्नो काम अघि बढाउन मेनपावर कम्पनीहरूको नजिक पुग्न थालेँ, रमेशसँगको भेटघाटलार्इ कम गर्ने सोचाइ पनि बनाएँ । म गाउँबाट आएर काठमाडौं बसेका अरू मानिसहरूको कोठामा बढी बस्न थालेँ । उसले शायद यो कुरा बुझेछ क्यारे ! तैंले यहाँ बस्न अप्ठ्यारो नमान्दा राम्रो हुन्छसम्म भन्यो । म आउने जाने गरिरहन्छु भनेर प्रत्युत्तर दिएको थिएँ मैले । एकदिन उसले मलार्इ कोठामा बोलाएको थियो । उसले मलार्इ बोलाएकै समयमा त्यहाँ अरू तीनचार जना मानिसहरूलार्इ पनि बोलाएको रहेछ । ती सबै मानिसहरू कामका लागि विदेश गएर दुःख पाएर फर्केका थिए । आफू कसरी कसरी ठगियौं भनेर आफ्ना अनुभवहरू मलार्इ सुनाउन उनीहरूलार्इ त्यहाँ बोलाएको रहेछ उसले । उनीहरका कुरा सुनेर म एकपटक त छाँगाबाटै पो खसेँ । उनीहरूको कुरा अनुसार त हामीलार्इ त्यहाँ मान्छेजस्तै व्यवहार नै नगरिँदो रहेछ । त्यहाँ भएकोमध्ये एकजनाले मलेशियामा भेडा चराउने काम पाएको रहेछ । अर्कोले होटलमा तरकारी काट्ने । अर्कोले घर बनाउने ठाउँमा कुल्ली काम । त्यस्तै अर्की एकजना मायादेवी नाम गरेकी महिला पनि थिइन् । उनको कहालीलाग्दो कथा सुनेर मैले आँसु नै झारेँ तर त्यहाँ कसैले नदेख्ने गरी पुछेँ । मायादेवी काम गर्ने घरमा केटाहरूले प्रत्येक दिन उसलार्इ बलात्कार गर्दा रहेछन् । प्रतिकार गर्दा टाउको र शरीरमा विभिन्न भागमा पिटिँदोरहेछ । उनले टाउकामा थुप्रै खतहरू देखाइन् । कपाल खौरिएर बुर्का लगाउनुपर्ने र नगरे पाइने यातनाहरू सुन्दा मुटु नै चिसो भयो मेरो । पहाडमा भएको घरजग्गा बेचेर गएको प्रेम बहादुर पनि छ महिनामा फर्किएको रहेछ । उसको ठेकेदारले रिसको झोंकमा बनाउँदै गरेको घरको माथिल्लो तलाबाट खसालिदिएछ । विचरा दुर्इ तिन तलामाथिबाट खसेर पनि बाँचेछ घाइते भएर । अस्पतालमा आफूले अलिअलि बचाएर राखेको पैसा खर्च गरेर सिध्याएछ । डाक्टरले छातिमा समस्या छ, केही महिना आराम गर्नु भनेपछि साथीहरूसँग चन्दा बटुलेर फर्केछ । धनकुमार भेडो चराउन जाँदा एउटा भेडा बिरामी भएर मरेछ । साहुले त्यो वापत उसले जोगाएर राखेको सबै पैसा तिराएछ । विचरा त्यहाँ उपस्थित अर्को साथीको त पैसा सबै दलालले खाइदिएछ । ऊ पनि घर जान नसकेर यतैतिर मजदुरी कामहरू गरेर बसेको रहेछ । कति माया गर्दै ती सबैले तपार्इं त अरब नजानुस् है भनेर मलार्इ पटक पटक भने । मैले आफ्नो मनभित्र नजाने निर्णय लिन कुनै अबेर गर्दै गरिनँ । त्यतिका पैसा खर्च गरेर जानुभन्दा त्यही पैसा, त्यही परिश्रम यहाँ लगाउँदा कति राम्रो हुन्थ्यो भनेर उनीहरू आफ्नो विगतलार्इ धिक्कारिरहेका थिए ।
उनीहरूको अनुभव सुन्दा त हामी त्यहाँ मान्छेले जोत्ने गोरूको मूल्यमा किनिएका रहेछौं । उनीहरूको कुराले म साँच्चै पीडित भएँ । अर्थात् मैले मनभित्र कल्पिएको भविष्यको घर नराम्ररी चर्मरायो । प्रतिक्रियाहिन भएर मैले त्यहाँ उनीहरको कुरा सुनिरहें ।
उनीहरू बाटो लागिसकेपछि म उसका अगाडि सावित भएको अपराधीको मानसिकता बोकेर बसिरहें । म उसलार्इ मेरो मनको कुरा राम्ररी भन्न चाहन्थेँ तर सकिरहेको थिइनँ । मनको कुरा भन्न केबाट शुरू गरौं आफैं पनि अस्पष्ट थिएँ । म चपुचाप उसको अघिल्तिर मुख रातो पारेर बसिरहें ।
नरेश ! अलि राम्ररी सोचेर काम गर् । एकसुरमा बसिरहेको बेलामा उसले कोठाभित्र छिर्दै भनेको सुन्दा म झसङ्ग पनि भएँ । मैले उसलार्इ कुनै उत्तर दिइनँ ।
तैंले विदेशमा गएर काम गर्ने कुरालार्इ जति सहज देखेको छस्, त्यो पटक्के होइन । यसै कारणले तँलार्इ वास्तविकता बुझाउन उनीहरूलार्इ बोलाएको हुँ । ऊ मतिर नफर्की एकोहोरो भन्दै गयो । यो त उसको स्वभाव पनि हो । पहिलेदेखि नै अरूसँग आँखा नजुधार्इ ऊ कुरा गर्थ्यो । ऊ अझै पनि त्यसैगरी कुरा गरिरहेको छ ।
मैले त्यतिबेलासम्ममा काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिएँ तर यो कुरा रमेशलार्इ मैले कसरी सुनाऊँ । मलार्इ थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुशी हुनेछ । आखिर रमेश पनि त विदेशमा काम गर्न गएको थिएन । यी सब कुराहरू उसलार्इ कसरी थाहा भयो ? म यो प्रश्नलार्इ आफैंभित्र खेलाइरहेको थिएँ । रमेशलार्इ म नजाने निर्णय सुनाउन मलार्इ केही कुराले रोकेको छ । तर के ले रोकेको छ, त्यो कुरो मलार्इ नै थाहा छैन । अत्यन्त अन्तरङ्ग साथीको रूपमा ऊ मलार्इ दिनहुँ सम्झाइरहेको छ । तेरो सोचाइ गलत हो भनेर आज बिहानसम्म ऊसँग मैले कडा प्रतिवाद गरेको छु । त्यति लामो समयदेखि बनाएको योजनाको घर भत्काउने निर्णयले मभित्र हुण्डरी चलिरहेको थियो ।
मैले नजाने निर्णय गरेँ । अत्यन्त अप्ठ्यारो मान्दै मैले यो निर्णय उसलार्इ सुनाएँ ।
मेरो निर्णयले रमेश खुशी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझ्न सकिनँ ।
उसको दृष्टिकोणको कारण म विदेश नजाने निर्णयले ऊ खुशी भएको हुनुपर्छ भन्ने मैले ठानेँ ।
घरमा भएको आधाआधी जग्गा बेचेर आएको हुनाले मैले जीवननिर्वाहको अन्य उपाय पनि सोच्न जरूरी थियो । मेरो यो अवस्थाका बारेमा रमेश परिचित नहुने कुरै थिएन ।
म भोलि नै घर जान्छु र विदेश नजाने निर्णय सबैलार्इ सुनाएर आउँछु । म उसँग यस कुराको प्रतिकृया लिन चाहन्थें ।
ठीकै छ, तँ सुनाएर आइज, तैंले अब के काम गर्दा राम्रो हुन्छ सँगै बसेर सोचौंला । अत्यन्तै सहानुभूतिपूर्वक उसले मलार्इ ढाडस दिँदै भन्यो र आफ्नो काम छ भनेर बाहिर लाग्यो ।
आजको घटनाको म जसरी र जुन निर्णयमा पुग्दैछु, पहिले मैले यसको कल्पनासम्म गरेको थिइनँ । भोलि घर जाने तयारीका लागि म किनमेल गर्न बजारतिर जाने निर्णय गरेर त्यहाँबाट बिदा मागेर बाहिर निस्किएँ ।
(वेदना, पूर्णाङ्क – ६५ २०५९ असार )

हुलिया

मध्यरातमा उठेर त्यो तस्वीर फेरि हेरे डि.आइ.जी. माधव सिंहले । तस्वीरमा त्यो केटो घुरेर हेरिरहेको छ उनलार्इ । जगबाट उठाएर पानी खाए । श्रीमती अर्कातिर फर्किएर सुतिरहेकी थिइन् । उनलार्इ अस्तिदेखि निद्रा परेको छैन । श्रीमती मस्तसित निदाएको देख्दा उनलार्इ भित्रभित्रै रिस उठ्यो । उकमनले उनलार्इ आज इनिस्पेक्टर दयारामसँग पनि रिस उठ्यो । दयारामले केही महिना अगाडि होटल पर्वतमा भएको सेमिनारको एउटा तस्वीरमा देखिएको एकजना अपरिचित युवकको बारेमा अस्तिमात्र सोधेको थ यो ।
यो केटो को हो साब ? इनिस्पेक्टर दयारामले तस्वीरमा औंल्याउँदै साधारण ढङ्गले सोधेको थ यो ।
कुन केटो ? तस्वीर तान्दै डि.आइ.जी. माधव सिंहले गौरेर त्यो केटोलार्इ हेरे ।
मैलो धैलो, कालो वर्णको, होचो कदको करिब २०–२५ वर्षको एउटा युवक भित्तामा उभिएर डि.आइ.जी. माधव सिंहतर्फ फर्केर हेरिरहेको थियो ।
त्यसपछि तुरून्त डि.आइ.जी. माधव सिंहको अनुहारमा त्रासको छायाँ देखा पर्यो । उनी बोल्दा पनि हड्बढाउन थाले । प्रहरी केन्द्रिय कार्यालयको वातावरणमा एक प्रकारको सन्नाटा छायो । प्रहरी अधिकारीहरूका कोठाहरूमा गार्इँगुर्इँ र खासखुस चल्न थाल्यो ।
केही समयपछि उच्च अधिकृतहरूको एउटा बैठक बोलाइयो । बैठकले तस्वीरमा देखा परेको एकजना युवको बारेमा बिभिन्न कोण–प्रतिकोणबाट अध्ययन गर्यो ।
होटल पर्वतबाट तस्वीरमा देखा परेको शङ्कास्पद युवकलार्इ तुरून्त गिरफ्तार गरेर ल्याउने । एउटा कमाण्डो गुप्रलार्इ तत्काल आदेश दिइयो ।
केही समय लगत्तै होटल पर्वतका सञ्चालकहरूसहित सम्पूर्ण कामदारहरूलार्इ चार–पाँचवटा भ्यानमा गिरफ्तार गरेर ल्याइयो ।
सबै प्रहरीहरूका हातमा त्यही तस्वीरका प्रतिहरू थिए । उनीहरू तस्वीर हेर्दै गिरफ्तार गरिएका मानिसहरूको अनुहार नियाल्न थाले ।
तस्वीरमा भएको युवक समूहभित्र कतै देखिएन । त्यसले गर्दा स्थिति झनै भयावय भयो ।
तस्वीरमा देखा परेको युवकतिर औंल्याउँदै प्रहरी अधिकारीहरूले सञ्चालकहरूसँग सोधे – को हो यो केटो ? सञ्चालकहरू पनि अल्मलिए ।
एकछिनपछि एकजना कामदारले भन्यो – यसलार्इ बिना पारिश्रमिक खान मात्र दिने गरेर पाँच दिन काम लगाइएको थियो । त्यसपछि उसलार्इ जागिरबाट निकालियो ।
तलब नदिइकन राखिएको मानिसलार्इ किन निकालियो ? सञ्चालकतिर फर्केर प्रहरी इनिस्पेक्टरले कडापूर्वक प्रतिप्रश्न गर्यो ।
सञ्चालकहरू फेरि अकमकिए ।
त्यसैबेला अनुहारभरि सौन्दर्य प्रशाधनका सामग्री लगाएर भड्किलो पहिरनमा सजिएकी एउटी नवयौवनाले उत्तर दिर्इ त्यहाँका हामी सबै कामदारहरू तलबबिहीन छौं । अफिसले हामीलार्इ खाना मात्रमा काम लगाएको छ ।
त्यसको घर कहाँ हो ? सञ्चालकलार्इ एस.पी.ले फेरि सोध्यो ।
ए ! त्यस्को घर कहाँ हो भन् ! एकजना कामदारतिर फर्किएर सञ्चालक घुर्यो ।
घर त पश्चिमतिर भन्थ्यो तर उसको पुरै ठेगाना चाहिँ थाहा छैन । एउटा दुब्लो दुब्लो कामदारले जवाफ फर्कायो ।
पश्चिम भनेको रोल्पा, रूकुम ! एस.पी.ले कामदारलार्इ खेर्यो ।
थाहा छैन । कामदार लच्कियो ।
यी सबै माओवादी जस्ता छन् । एक.पी.ले डि.एस.पी. तिर हेरेर फुसफुसायो ।
यस्तै हुन्छन् साब ! माओवादी ! डि.एस.पी.ले मुखमा झुण्डिरहेकै जवाफ फर्कायो ।
यिनीहरूलार्इ कुनै थानातिर लगेर कोच्ने कि के निर्णय लिने साब ! भावी योजनाको बारेमा डि.एस.पी. ले एस.पी. सँग आदेश माग्यो ।
यी सबैलार्इ प्रत्येक दिनको तारिख तोक्ने । झटपट फैसला सुनाए एस.पी. ले।
कहिलेसम्म सर ! सञ्चालकहरूले निचोरिएको निबुवा झैं मुख लगाएर सोधे ।
तस्वीरमा देखिएको केटो नभेटियुन्जेलसम्म । नवयौवनातर्फ हेर्दै डि.एस.पी. ले हतारहतारमा निर्णय सुनायो ।
दैनिक हाजिर हुने पूर्जी सहित होटेल पर्वतका सञ्चालक र कामदारहरूलार्इ अर्को मौखिक आदेश दिइयो ।
अबदेखि जागिर खान आउने सबैको नागरिकताको प्रमाणपत्र राख्ने ।
हुन्छ हजुर ! सञ्चालकहरूले एक स्वरले समर्थन जनाए ।
सबैको ठेगाना लिने ।
सबैको तस्वीर राखने ।
हुन्छ हजुर ।
तस्वीरमा देखिएको मान्छे फेला परेमा तुरून्त यहाँ बुझाउने ।
हुन्छ हजुर ।
आदेश र समर्थनको प्रश्नोत्तर सकिएपछि अधिकारीहरूको पुनः बैठक बस्यो ।
त्यो मान्छे शङ्कास्पद छ । बैठकले ठोस र गम्भीर निष्कर्ष निकाल्यो ।
बैठकको निष्कर्षपछि डि.आइ.जी. माधव सिंहको सुरक्षामा प्रहरीबलको थप व्यवस्था भयो । देशभर रहेका मातहतका कार्यालयहरूमा तस्वीरका प्रतिहरू पठाइए । सबै सुरक्षा निकायहरूलार्इ कालो वर्णको युवक देखा परेमा विशेष निगरानी राख्ने आदेश दिइयो ।
काठमाडौं नाकाबाट बाहिर जाने सवारी साधनहरूलार्इ पनि कालो वर्णको युवा देखिएमा सुरक्षा निकायहरूलार्इ जानकारी गराउने आदेश दिइयो ।
देशभर रहेका प्रहरी थाना र चौकीहरूले त्यो खतरनाक युवकका बारेमा खोजी अभियान संचालन गरे ।
बसमा आउनेजाने सबै कालो वर्णका युवकहरूलार्इ विशेष निगरानी राखने । हेडक्वाटरले मातहतका चेकपोष्टहरूलार्इ जरूरी परिपत्र जारी गर्यो ।
हिजैदेखि काठमाडौंबाट बाहिर जाने र आउने बसहरूमा शङ्कास्पद कालो वर्णका युवकहरूप्रति ठूलो निगरानी राखियो ।
प्रहरी खोरहरूमा हिजोदेखि कालो वर्णका मानिसहरूको सङ्खयामा उल्लेखनीय बृद्धि भयो । सबै मानिसहरू अचम्म मानिरहेका थिए । अन्य कारणले थुनामा रहेका मानिसहरू पनि खोरमा काला मानिसहरूको अत्याधिक उपस्थितिका कारण आश्चर्यचकित भइरहेका थिए । तर आज साँझसम्मको रेकर्डमा तस्वीरमा देखा परेको युवक कतै पनि फेला परेन ।

डि.आइ.जी. माधव सिंहलार्इ आज पनि निद्रा पटक्कै परेन र ओछ्यानबाट सिरक फ्याँकेर उठे । घडी हेरे, रातको दुर्इ बजेको छ र उज्यालो हुन अझै धेरै बाँकी छ । तीन दिनदेखि उनले आफूलार्इ कैदीजस्तो महसूस गरिरहेका छन् । बरू कैदी निर्धक्क हुन्छ, आफ्नो सुरक्षाका लागि । उनले आफूलार्इ त्यो भन्दा पनि कमजोर महसूस गरे । एउटा अत्यासलाग्दो भावनाले उनको मनमस्तिष्कलार्इ पीडित बनाइरहेको छ । उनलार्इ सुत्न पनि मन लागेन र उठेर कोठाको बत्ती बाल्ने आँट पनि आएन । यो अत्यासलाग्दो समय कतिसम्म लम्बिने हो ? उनले मनमनै यसबाट मुक्तिको प्रार्थना गरे । तस्वीरमा देखिएको युवकका बारेमा आजसम्म कतै पत्ता लागेन । उनले खप्टिएको पर्दाको बीचबाट झ्यालको सिसा छेडेर बाहिरको अँध्यारो संसार देख्न पुगे । मनभित्र फेरि त्रास बढ्यो । उनलार्इ त्यता हेर्न पनि मन लागेन । उनले फेरि हतार गर्दै टाउकै ढाक्ने गरि सिरक ओढे ।
आज पनि उनलार्इ पटक्कै निद्रा आएन ।
(शब्द संयोजन, पूर्णाङ्क – ११ २०६१ चैत्र)

परिचित अभिनय

त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुवैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पर्थ्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गार्इबस्तु पनि हेरेका छौं । पाहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलार्इ हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुवैले द्वितीय श्रेणीमा पास गर्यौं ।
हामी दुबैका दाजुहरू काठमाडौं मै बसेर पढ्थे र जागिर पनि खान्थे । एस.एल.सी. पास गरेपछि हामी आइ.ए. पढ्न काठमाडौ आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आइ.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।
गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढि मुखाले र इर्ष्यालु स्वभावकी थिर्इ । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झगडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलार्इ त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊसँगको मेरो घनिष्ट मित्रताका कारण कैयौं साथीहरू मसँग पनि आत्मीय व्यवहार गर्नलार्इ हिच्किचाउँथे ।
हाम्रो विवाह भएपछि श्रीमान्हरूको सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्ला तिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।
पाँचथरबाट मेरा श्रीमानको मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौं मै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपल्टै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिर्इ । बालककालदेखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलार्इ भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।
रमिला ! म त दुर्इतीन हजार कमाएर नल्याएको दिन बुढालार्इ साफी गाली गर्छु । एकदिन दिउँसो सबेरै आएर शान्ताले अहंकार र बहादुरीको स्वरमा मसँग भनेकी थिर्इ । काठमाडौंमा सरूवा भएर भर्खर भर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिनँ । यसका विरूद्धमा बोलुँ भने योसँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालार्इ प्रश्रय दिएजस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहिन भएर चुपचाप बसें ।
त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झनै ऊभित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।
रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमानदारिता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमानदार मान्छे हुन्छ भन्ने कुरामा मलार्इ विश्वासै छैन । मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहोर्याएकी थिर्इ ।
संसारमा राम्रा र इमानदार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुरा प्रति म सहमत हुन सक्दिनँ । अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरो कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।
त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलार्इ त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलार्इ राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छे नै होउन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिर्इ । उसलार्इ प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झमक्कै साँझ पर्यो । त्यसदिन म उसको घरबाट बिदा भएर हिँड्दा ऊ मलार्इ बिदा गर्न ढोकासम्म आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ परेपछि पनि बसौं भनिन । मलार्इ त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझेकी थिएँ – शान्ता त्यसदिन मसँग साह्रै रिसाएकी थिर्इ ।
त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलार्इ टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइनँ । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुसमुकुस पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुर्इचार महिना हुने बित्तिकै उसले छिमेकीहरूसँग इर्ष्यालु व्यवहार गर्न थालिसकेकी थिर्इ । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलार्इ भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउँथ्यो ।
त्यसैताका शान्ताहरूले बत्तीसपुतलीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहंकार र बडप्पनले शान्ता झन् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाँटे भर्इ ।
उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलार्इ टेलिफोनमा सुनार्इ र घर हेर्न आउन निम्तो गरी । म पनि खुशी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशाला चोकमा ऊ मलार्इ लिन पर्खिरहेकी रहिछ ।
भाग्यको खेल हो बुझिस् रमिला ! मेरो बुढो र तेरो बुढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको । घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरी त्यही कुरा दोहोर्यार्इ ।
जुन कुरासँग मलार्इ कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहोर्याइरहनु राम्रो होयन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नु पर्छ । खान पुगेकै छ । मलार्इ अनावश्यक सम्पत्तिको मोह छैन । अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरेँ ।
खुलेको आकाशलार्इ एकाउक कालो बादलले गाँजेझैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाहिँदो काम त गरिनँ ? उसको स्वभाव मलार्इ थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भए पनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्यएर डेरामा फर्केकी थिएँ ।
मेरो पनि तीन ताक कुनै जागिर थिएन । हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँग प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्पर्क पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले बृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलार्इ पनि त्यो योजना राम्रो लाग्यो । छोराछोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने बाध्यता मसँग त्यसबेला बाँकी थिएन ।
मैले साथीहरूसँग शान्तालार्इ पनि बृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखेँ । उसलार्इ नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलार्इ रूचाएका थिएनन् । तर धेरैजसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाए ।
एकदिन साँझ पर्ने बेलामा म शान्ताको घरमा पुगेँ । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलार्इ उसले बैठक कोठामा लिएर गर्इ । यत्ति अबेर किन आइस् तँ ! शान्ताले आश्चर्य मानेर सोधी ।
मैले भनेँ – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।
के प्रस्ताव ? म सोफामा बस्न नभ्याउँदै उसले मलार्इ सोधेकी थिर्इ ।
हामीले एउटा बृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौं । काम चाहीं केही गाह्रो छ आखिर तँलार्इ पनि फुर्सदै छ । त्यसैका लागि आएकी । मैले आफ्नो योजनालार्इ फटाफट राखिदिएँ ।
आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु न जान्नुका बुढाबुढीलार्इ स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु । शान्ताको ठाडो जवाफसँग मलार्इ भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्यएर ऊसँग बिदा मागेर फर्केँ ।
त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झनै प्रिय थिएन ।
केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलार्इ घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनेँ । समाचार सुन्नेबित्तिकै शान्तालार्इ मैले टेलिफोन गरेँ । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने बित्तिकै रिसिभर राखिन्थ्यो । मैले शान्ताको घरै जान उपयुक्त ठानेँ ।
शान्तालार्इ मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझेँ । उसको अनुहार पुरै निन्याउरो थियो । उसले मलाइ घरभित्रै लगिन र बाहिरै ढोकाबाटै बिदा गरी ।
हेर् न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलाइ फँसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिइ ।
शान्तालार्इ म प्रति पुरै अरूचि भएपछि उसकोमा गइरहन मलार्इ पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि बिक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा सर्यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।
बीस वर्षपछि आज मैले त्यही शान्तालाई पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटेँ । तर मलार्इ पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छ – त्यो त्यही शान्ता हो । उसले मलार्इ नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलाइ नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरेँ । त्यो उही मेरी साथी शान्ता नै थिर्इ । म उसलाई हेर्दै हिँडें । ऊ अर्कैतिर फर्केर बसी ।

ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם
साँझमा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलाई यो कथा लामो समय लगाएर सुनाई ।

समष्टि वर्ष-२५, अङ्क-५, २०६१/६२ चैत्र-वैशाख

 

यात्राको एउटा दृश्य (कवितासङ्ग्रह)

 

मातृका पोखरेल

विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

कृति ः यात्राको एउटा दृश्य
विधा ः कवितासङ्ग्रह
लेखक ः मातृका पोखरेल
प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि.
अनामनगर, काठमाडौँ, फोन ४७७१७०४
प्रकाशित प्रति एघार सय
प्रकाशन ः पुस, २०६०
आवरण ः के.के. कर्माचार्य
कम्प्युटर ः प्रारम्भ कम्प्युटर सेवा
डिल्लिबजार, काठमाडौँ, फोन ४४२१६५७
मुद्रण ः कान्तिपुर अफसेट प्रिर्न्र्टस अनामनगर, काठमाडौँ ।
साधारण मूल्य रु. ः ३०/-
संस्थागत मूल्य रु.ः १५०/-

यात्रा, आस्था र केही आभारहरू
मैले एउटा यात्रा रोजेको छु । आफैले रोजेको यात्रामा विस्तारो हिँड्ने यात्री भए पनि त्यो यात्राप्रति म कहिलेकाहीँ गौरवले अगाध प्रफुल्लित र रोमाञ्चित हुन्छु । यी कविताभित्रका धेरै गल्छेँडाहरूमा मैले त्यही यात्राको गीत गाएको छु ।
आफन्तका मनहरू विखण्डित छन् । सबैले आस्था भत्किएको कुरा गरिरहेका छन् । निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैले बनाएको उचाइलाई आफैले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिन, मात्र ठेस ठानेको छु । ठाउँ ठाउँमा यी पीडाहरू अभिव्यक्त भए पनि यसले नकारात्मक शिक्षा नदेओस् भन्ने कुराप्रति सचेत हुनु आफ्नो कर्तव्य ठानेको छु । यही बीचमा छातीभित्र आस्थाका नयाँ पर्वतहरू पनि रोपिएका छन्, यसभित्र कतैकतै प्रशंसाहरू पनि गाएको छु ।
कथित कलाका नाममा कविताहरूलाई अस्वाभाविक रङ्ग दलेर अमुर्त र रहस्यमय बनाउन त्यति उचित लागेन ।
म यहाँ धेरै कुराहरू बोल्न चाहन्न । कविताहरूले नै धेरै कुरा बोलिदिए हुन्थ्यो भन्ने इच्छा पाल्नु अर्घेलाई हुनेछैन जस्तो लाग्छ ।
कविताहरू पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकारहरू यज्ञनिधि दाहाल र डा. ताराकान्त पाण्डेयज्यूप्रति कृतज्ञतापूर्वक आभार व्यक्त गर्दछु । साहित्यसिर्जनामा लागिरहन निरन्तर प्रेरणा दिने मेरी जीवनसंगिनी अन्जुलाई नसम्झनु साँच्चै अन्याय हुनेछ । प्रकाशनको महत्वपूर्ण जिम्मा उठाइदिने विवेक सिर्जनशील प्रकाशन, यो कार्यमा विविध सहयोग पुर्याइदिनु हुने मित्रहरू भगवति प्रर्साई, पुण्य घिमिरे, सुरेन्द्र चालिसे र सिर्जनाका लागि समय जुटाइदिने बहिनी विमला लाई पनि मैले भुल्नु हुँदैन ।

मातृका पोखरेल

कविताक्रम
१. फरक आँखाका यात्रीहरू
२. दुश्मनहरू सुरक्षित रहेको बेला
३. अँध्यारोका विरूद्धमा
४. यसपटक दशैंमा
५. उसले पनि हाम्रै जस्तो कुरा गर्छ
६. दुख्ने मनहरूसँग
७. म तिम्रा कविताको विरूद्धमा लेख्छु
८. सर्प पूजा
९. अब आफ्नै बाटो रोज्नुपर्छ
१०. जलजला
११. प्रिय मान्छेका गीतहरू
१२. नागरिक
१३. भविष्यका लागि
१४. कलिला जूनहरूको श्रद्धान्जलीमा
१५. उज्यालो हुनुअघि
१६. स्वयम्भूका आँखासँग
१७. बाटाहरू – १
१८. बाटाहरू – २
१९. बाटाहरू – ३
२०. यात्राको एउटा दृश्य
२१. एउटा पुजारीको आत्मव्यथा
२२. सपना

फरक आँखाका यात्रीहरू

उनीहरूले मर्स्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चिजको कविता कोरौं
तर मैले भनें,
मर्स्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।

उनीहरूले मर्स्याङ्दीको छातीमा उभिएको
पहराको कुरा गरे
मैले त्यो पहरामा
शोभाकान्तको विश्वास खोजें
उनीहरूले मर्स्याङ्दीको प्रवाहमा दौडेको
निर्मल पानीको कुरा गरे
मैले त्यो पानीमा
शोभाकान्तको निर्मल मन खोजें
हामी फरक आँखाका यात्रीहरू
मर्स्याङ्दीको किनारतिर
उनीहरू त्यस्तै त्यस्तै कुरा देख्छन्
म बेग्लै बेग्ले कुराहरू भेट्छु
उनीहरू पहेंला आँखाले हेरिरहेछन्
म नीला आँखाले देखिरहेछु
हामी मर्स्याङ्दी किनारका यात्रीहरू ।

उनीहरूले मर्स्याङ्दीको भित्ताबाट
ठोकिँदै तल झरेका
सेता झर्नाका कुराहरू गरे
मैले त्यो झर्नामा
शोभाकान्तका ढुकढुकीहरू भेटें
उनीहरूले हरिया खेतहरूको कुरा गरे
मैले खेतका आलीतिर
शोभाकान्तका पाइतालाका डोबहरू खोजें
र प्रत्येक झुप्राहरूमा खोजें
उसको दुब्लो शरीरको अस्तित्व ।
साथीहरू । अन्यथा नठान्दा हुन्छ
म यो मौसममा/यो ठाउँमा
हरियालीका कविता लेख्न सक्दिनँ
सेता झर्नाका कविता लेख्न सक्दिनँ
हामी मर्स्याङ्दी किनारका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू ।

विद्युत्तरङ्ग, वर्ष ५, अंक ५, २०५८ भदौ

दुश्मनहरू सुरक्षित रहेको बेला

मलाई थाहा छ–
तिमी जुलुससँग डराउँछौ
नारा र हडतालसँग पनि डराउँछौ
अचेलभरि माओवादीहरूसँग झन् धेरै डराउँछौ
तर जब प्रवीण गुरूङको हत्यारा
तिमी राम्रोसँग चिन्छौ
र डराइ–डराइकन
गोप्य र तथ्य सूचना दिन्छौ
अनि यो देशको सरकार
सूचना दिने मान्छे सोध्छ
र तिमीलाई खोज्छ
जब तिमी हत्यारा चिनेबापत
अपराधी ठहरिन्छौ
भन माइला । नढाँटी भन
त्यतिबेला तिमीलाई
माओवादी र सरकारमध्ये
माओवादीनै आफ्नो जस्तो लाग्छ ?

एउटै घरबाट उही समस्यामा
भाइ साइँलो माओवादी भएर जंगल पस्छ
तिमी मकै र सातु बोकेर शहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिंलालाई गोली ताक्छौ
साइँलो तिमीलाई निशाना दाग्छ ।
अचेलभरी रोल्पा र रूकुमतिर
तिमीहरू जस्तैलाई पठाइन्छ
माइला । नढाँटी भनेको
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफ्नै आफ्नैलाई मारिरहेछौ ।

तिम्रा दुवै आमाका
शोक मनाउने आँखाहरू
मैले उस्तै रंगका देखें
तिमीहरूको सम्झनामा
आँशुका ढिक्काहरू
चाउरी परेका गालाका
उस्तै गराहरू हुँदै खस्दा रहेछन्
तिम्रा घरका दलानहरू उस्तै रहेछन्
उस्तै चुहिने छानाहरू छन्
बाबुका गालाहरू
उस्तै ख्याउटे र चाउरी परेछन्
कहाँ पाउनु अट्टालीका माथि बसेर
तिमीहरूको मृत्युमा शोक मनाउन
तिमीहरूको मृत्युको खबर पुगेकै दिन
मकैको बीउसँगै बारीमा आँशु रोप्दा रहेछन्
खेतमा आँशुमै हिलो मुछ्दा रहेछन्
बहिनीहरूले उसैगरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलार्इ लुकाउनुपर्छ
साइँला । तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला । सुरक्षित बाँचिरहेछन् ।

सहयात्री, वर्ष २, अंक २, पूर्णाङ्क ३, २०५७ असोज

अँध्यारोका विरूद्धमा

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ/अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलार्इ झम्टँदै आयो
मेरो भोगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तर्क्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।

त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कँदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडें ।

अंशु, साहित्यिक त्रैमासिक, वर्ष १, अंक १, २०५७ असोज

यसपटक दशैंमा

यसपटक दशैंमा घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखें
उनीहरूको जीवनमै देश भेटें,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमै देश देखें ।

बाटामा ढाक्रे दाइहरूले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरूकै ढाकरपछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाइँकै भाँडोजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरूले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रूप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्मवालले मिचेको
सत्ते होला दाइ
देश तपाइँकै गैह्री खेतजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरूले भारीलाई टेको दिँदै सोधे
भाइ, देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
हाम्रो घर–दलान नै बन्दकी छ रे
हाम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरू रिसले तातेर भने
भाइ, देश त पोल्दो पो रहेछ ।

मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिए
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैंमा घर जाँदा ।

मूल्यबोध, वर्ष २, अंक १, २०६१ कार्त्तिक

उसले पनि हाम्रैजस्तो कुरा गर्छ

हिजो उसले बोकेको रातो किताबले
बस्तीहरू ब्यूँझिएर उठे,
उसले बोकेको रातो झण्डाले
बस्तीहरू जोशिएर उठे,
हो, हिजो उसको योजना
कति सुन्दर थियो
सुन्दर रक्तिमलाई छुन
जब उसले
बाटो तय गरेको नक्सा कोर्थ्यो
साँच्चै सुखद थियो भविष्य
उसको योजनाले
मानिसहरू अघि बढे
बस्तीले मोर्चा कस्यो
चुरे, महाभारत र सगरमाथाले झुकेर सलाम गरे ।

आज ऊ त्यस्तो छैन
फरक–फरक कुराहरू गर्छ
कसलाई के भन्दा हुन्छ
ऊ त्यस्तै–त्यस्तै कुराहरू गर्छ
कहिले मीठा कुराहरू गर्छ
कहिले नमीठा कुरा पनि गर्छ
बस्तीलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र त्यहाँ बुझिने–बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने–नबुझिने कुराहरू गर्छ ।
रातो किताब बोकेर कहिले ऊ
कालो ओडारको पक्षमा बोल्छ
कालो ओडारसँग कुरा नमिले
कहिले क्रान्तिका कुरा पनि गर्छ
कहिले विद्रोहकै भाषा बोल्छ
कहिले हाम्रैजस्तो कुरा गर्छ
कालो ओडारभित्र
लेन–देनमा तलमाथि परे
जंगल पस्ने कुरा गर्छ
कहिलेकाहीं बस्तीलार्इ
असल कुरा गरेको हो कि भन्ने
राम्रै खालको भ्रम पार्छ
जे–जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झण्डा ओढेरै गर्छ ।

अचेल ऊ
रातो किताब बोकेरै
मान्छे किन्ने कुरा गर्छ
हाम्रो साझा सम्पत्ति
अर्कैलार्इ दिने कुरा गर्छ
अचेलभरि ऊ
बस्ती–बस्तीहरूमा
रातो किताबको पानाका प्रत्येक चेपभित्र
लालपूर्जा बोकेर हिँड्छ
रक्तिम क्षितिजलाई छुने
सुन्दर योजनाको नक्सा बेचेर
घरको तला थप्छ
रातो किताबमा कदापि त्यस्तो थिएन
साह्रै अन्यथा भयो
बस्ती भ्रमले सुस्ताएको छ
म क्रोधले थकित छु
म उसको भूमिकाले
नयाँ–नयाँ अनिष्टताहरू सोचिरहेछु
ऊ मेरो हिजोको सहयात्री
मेरो प्यारो मित्र
उसले रातो किताब बोकेकै भए पनि
रातो झण्डा ओढेकै भए पनि
ऊ फरक मान्छे हुँदै गयो
ऊ बेग्लै जातमा फेरिँदै गयो
अचेल मैले उसैका विरूद्धमा
नयाँ–नयाँ मान्छेहरूसँग
नयाँ मोर्चा कस्नुपर्ने भयो
नयाँ योजना कोर्नुपर्ने भयो ।

साहित्यसन्ध्या, वर्ष १, अंक ३, २०५७ माघ

दुख्ने मनहरूसँग

मन ठाउँ–ठाउँमा दुख्छ
घुम्ती–घुम्तीमा दुख्छ
कुनै चाडपर्वको बेला
गरिबको आँगनमा दुख्छ
कहिले अभावको अँगेनामा दुख्छ
बहिनीहरूको घाँघरमा पनि दुख्छ
भाइहरूको कमेजमा पनि दुख्छ
के गर्ने यो मन यस्तै छ
प्रत्येक पाइला–पाइलामा दुख्छ ।

कहिले जागिर खोजेर लखतरान भएको
भोलिको एउटा कर्णधारले
प्रत्येक छाकको गाँस काटेर किनेको
‘गोरखापत्र’ र ‘कान्तिपुर’का पानाको
‘आवश्यकता’का विज्ञापनहरू कटिङ गर्दै
सुरक्षित फायल गरेर
मलिन हाँसो हाँस्दा
सत्य होला, नढाँटी भनेको
यो मन त हुरूक्कै हुने गरी दुख्छ ।

दुख्ने कुराको वयान
वर्तमानमा जति गरे पनि हुन्छ
दुख्न त कति हो कति
धेरै–धेरै दुखेको बेलाको कुरा गरौं
त्यस्तै त्यस्तै एकदिन
आफ्नो छोरीको विवाह गर्न
आँखनमा बसेर दाइजोको हिसाब गर्दै
रून्चे अनुहार लगाउने
छोरीको बाबुको अनुहार देख्दा
यो मन दुख्नसम्म दुख्यो
निन्द्रै नलाग्ने गरी दुख्यो
यो मन साह्रै–साह्रै दुख्यो ।

यसै यसै गरी
परार साल मन
टनकपुर भएर दुख्यो
त्यो वर्ष मन कालीतिरै दुखिरह्यो
अर्को वर्ष मेचीमा दुख्यो
र मन हिल्याएको खेत
रोपाइँ नगरी फर्क्यो
र, त्यो दुखाइ नसुस्ताउँदै
अस्ति मन फेरि लक्ष्मणपुर बनेर दुख्यो ।

अचेलभरि मन,
अन्धकारबाट मुक्ति खोज्ने
खारातिरका कोपिलाहरूलार्इ
निस्तब्ध रातमा हत्या गरेर
सामूहिक चिहान बनाएको खबरले
हुरूक्कै हुने गरी दुख्छ
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ
कहिलेकाहीं यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ ।

मलाई त दुख्यो दुख्यो
यी सबै सबै देखेर पनि
दुख्दै नदुख्ने मन देखेर
साँच्चै यो मन साह्रै साहै दुख्छ
अचेलभरि नदुख्ने मनहरूसँग
साइनो तोडौंतोडौं जस्तो लाग्छ
मेरो मन त साह्रै साह्रै दुख्छ
तिमीलाई मेरै जसरी दुख्छ कि दुख्दैन ?
दुख्छ भने आऊ
हामी एउटा राम्रो सल्लाह गरौं
एउटा राम्रो काम गरौं ।

झिसमिसे, वर्ष २३, पूर्णाङ्क ३६, वैशाख/जेठ/असार, २०५८

म तिम्रा कविताको विरूद्धमा लेख्छु

एक गाँस पाउने आशामा
एउटा निर्वस्त्र नाङ्गो मान्छेलाई
सभ्य मान्छे भन्दै तिमी जब कविता लेख्छौ
अलिकति दान पाउने लोभमा
जब तिमै पैसावालहरूको अर्चना गाउँछौ
मैले कविताको मूल्य राखन
तिम्रा कविताकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिम्रो नियतकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिमी पसिनाका थोपाहरूमा कुँदिएका कविता
जसरी मन पराउँदैनौ
म पनि सिंगमरमरको भर्र्याङ चढ्दै
कुनै सजाइएको बैठकमा
मेरा प्रिय पसिनाका थोपाहरू
कुल्चने योजनामा सरिक कविता
त्यसैगरी घृणा गर्छु
म तिम्रा कविताको मृत्यु घोषणा गर्छु
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

मैले पढिराखेको छु
पल्टु थारूले दिएको
गुन्द्री र मान्द्रो ओछ्याएर
जब तिम्रा रातहरू बित्थे
कति सुन्दर थिए कविता
मैते कामीले दिएको
भुटेको मकै खाएर
जब तिमी भोक मार्थ्यौ
त्यसपछि लेखेको कविता
नेपालको आफ्नै कविता हुन्थ्यो
तिमी नेपाल फेर्ने कविता लेख्थ्यौ
कति सुन्दर थियो कविता
हिजोआज तिमी त्यही कवि
पजेरो चढेर शहर घुम्छौ
जनताका झुप्रामा रमाउने तिमी
बैंककबाट सिंगमरमर झिकाउँछौ
र दरबार बनाउँछौ ।

अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु
तिमी नौनीझैं नरम हातहरूको पक्षमा लेख्छौ
म ठेला उठेका हातहरूको पक्षमा बोल्छु
हामी फरक बाटोका यात्रीहरू
तिमी मेरो कविताका विरूद्धमा लेख्छौ
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

म यतिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ?
म मैते कामीको अँगेना नबलेको बेला
आफन्तहरूको दलान उजाडिएको बेला
कसरी लेख्न सक्छु काजीसाहेबको खुशी
नेपालीहरूको आँगन टुक्रिएको बेला
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविताका विरूद्धमा लेख्छु ।

नव कविता, पूर्णाङ्क ५२, शारदीय अंक, २०५८

सर्प पूजा

उसले चेतनाका टाउकाहरूमा
संगीन तेर्स्याउँदै भन्यो
‘प्रजातन्त्र’ जिन्दावाद
बारूदको धुँवा छरेर
शान्तिक्षेत्रको प्रस्ताव राख्यो
र भन्यो
‘शान्ति’ जिन्दावाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैं डस्दै भन्यो
‘धैर्य’ जिन्दावाद
र आफू नाग भएको घोषणा गर्र्यो
सदियौंदेखि यी बस्तीहरूमा
आफ्नो पूजा गराइरह्यो
प्रजातन्त्र, शान्ति र धैर्यको नाममै
उसका आँखामा गडेकाहरूलाई
एकाएक गरेर डस्यो रगत रहुञ्जेल
रगत सकिएपछिका अस्थिपञ्जरहरू
केहीलाई सेतीका किनारतिर फाल्यो
या कतै भीमान जंगलतिर
या सुखानीतिर
र कैयौं नदेखेका ठाउँहरूमा
तर आफूलाई
नाग भनेर पूजा गराइरह्यो ।

परिवर्तनको गतिलाई लत्याउँदै
हामीले पनि पूजा गरिरह्यौं
यसपटक ऊ हुनसम्म नाङ्गो भयो
सबैले देख्ने गरी नाङ्गियो
र हतार–हतार
डरै डरमा
सदाझैं फेरी हामीलाई भ्रममा राख्ने
नागको आकृतिको उही टोपी भिर्यो
र झूठा हाँसो हाँस्यो
हामीतिर फर्केर
फेरि प्रजातन्त्रकै कुरा गर्यो
ऊ यतिबेला नाटकमा सामेल थियो
हामी सबैले ऊ सर्प भएको ठहर गर्यौं
र धेरैतिर खासखुस–खासखुस गर्यौं

तर यसपटक पनि
उही खतरा बाँकी नै रह्यो
लाचार हामी सुनिरह्यौं
कहिलेसम्म सुन्छौं ?
तर उही खतरा
अझसम्म सुनिरह्यौं ।

तेस्रो सहस्राब्दी मासिक, वर्ष १, अंक ३, २०५८ जेठ

अब आफ्नै बाटो रोज्नुपर्छ

उसलाई प्रत्येक रात सपनामा
विषालु सर्पले लखेट्छ
र विपनाहरूमा डस्छ
ऊ शहरमा बस्छे
र जंगलको अनुभूति गर्छे
आफन्तहरूको संवेदना छाम्छे
र ढुंगाको आकृति भेट्छे
ऊ हाम्रै शहरमा बस्छे
यतैकतै वरिपरि बस्छे ।

उसले आज बिहानै समाचार सुनी
जंगबहादुरहरू,
माथवर सिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेछन्
उसले एकाएक कान थुनी
र भनी
यस्ता अनिष्ट समाचारहरू
मैले जीवनमै भोगेकी छु
र बेसरोकारको भुजेलसँग
मुद्दा लडेकी छु
हामी पनि उसकै अतीतझैं
घरभित्र विशाल रेक्टरको
भुइँचालो पालेर
त्यही समाचार सुनिरह्यौं
ऊसँगै त्यही समाचार
हामी पनि सुनिरह्यौं ।

ऊसँगै हाम्रो पनि
एउटा अत्यासलाग्दो भविष्य
यही बस्तीमा लम्पसार सुतेको छ
त्यो त्यही भविष्य हो
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
जन्मदिनमा खुशियाली मनाउँछ
म यस घडीमा यही अनर्थ सोचिरहेछु
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
मृत्युमा शोक मनाउँछ
कपाल काट्छ
नून बार्छ
यो कुनै दन्तेकथा होइन
म वर्तमान बोलिरहेछु ।

जब हामी हिंड्ने गरेको सडक
पाइला–पाइलामा भासिन्छ
प्रत्येक दिनहरू हाम्रो विपनाको
गैह्रीखेतमा
बाढी बनेर पस्छन्
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारीरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ
हामीले पनि बोले हुन्छ
काँढा टेकेर बाँच्न सिकेका हामीहरू
झीरले जिब्रो छेडेर हाँस्न सिकेका
हामीहरू
अब अर्कै बाटो खोज्नुपर्छ
अब आफ्नै बाटो रोज्नुपर्छ ।

जलजला

विश्वास पहाडमा पनि फुल्दोरहेछ
आस्था शिखरमा पनि झुल्दोरहेछ
मानिसहरू तिमीसँग हातेमालो गरेर
मृत्युसँग सुन्दर खेल खेल्दा रहेछन्
जून र घामसँग खेलेझैं
बादल र कुहिरोसँग लुकेझैं
जलजला । तिमी त पहाड हौ
मेरो देशका हजारौं पहाडहरूमध्ये
साँच्चै फरक पहाड
मैले तिम्रा गीतहरू सुनेको छु
धेरै पटक आकाश खुलेको बेला
क्षितिजमा रक्तिम आभा पोखिएको बेला
कतै जलजला यस्तै होला भनेर
पश्चिमतिर फर्केर हेरेको छु

जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दिन अझै–अझै टाढा छ

यात्रामा भेटिएका
जूनकीरीसँग रमाएर बस्नु हुन्न
विषालु हातहरू वरिपरिबाट
तिमीलाई छाम्दैछन्
तिम्रो छातीभित्र जीवनको खानी छ
तिम्रो हृदयभित्र विश्वासको सगरमाथा छ
जलजला, मलाई अचेलहुँदो
तिम्रो शिखरको उचाइमा चढेर
एकपटक पूर्वतिर हेर्न मन लागेको छ
तिम्रो सुन्दर गीत रच्न मन लागेको छ
कटक्क मन काटिने गरी
तन्नेरीहरू सात समुद्रपारीबाट
बिकलाङ्ग शरीर लिएर फर्किरहेछन्
र हेरिरहेछन् तिम्रो उँचाइलाई
उनीहरूलाई यतै बाँच्न सिकाउनुपर्छ
गल्लावालको पछि
मैनबत्ती झैं पग्लिएर
भविष्यको मृगतृष्णामा
यौवनसँगै जीवनलाई जलाउँदै
पराया देशतिर जुलुसझैं ताँती लाग्दैछन् चेलीहरू
उनीहरूलाई यहीं बाँच्न सिकाउनुपर्छ
जलजला, तिम्रो शिखरलाई चुमेर
मलाई पनि अचेलभरि
राना कान्छाको अनुहार कोर्न मन लागेको छ
बिल्टु थारूको अनुहार फेर्न मन लागेको छ ।

जलजला, तिमी इतिहासलाई बदल्न खोज्ने पहाड
वर्तमानलाई धावा बोलिरहेछौ
मैले पनि बस्तीलाई यतिबेला खण्डहर देखेको छु
तिम्रा चम्किएका आँखाझैं
मैले पनि बस्तीमा आगो सल्केको देखेको छु
तिमी महाभारत हुँदै मेरो बस्तीतिर फैलनुपर्छ
चुरे हुँदै मेरो बस्तीतिर तन्कनुपर्छ
म पनि वर्तमानका विरूद्धमा सर्जमिन बकिरहेछु
म पनि यही खण्डहर बस्तीबाट
एउटा सपना साँचिरहेछु
म पनि यही जलेको बस्तीबाट
सुन्दर भविष्य खोजिरहेछु ।

• साहित्य सन्ध्या, वर्ष १, अंक १०, पूर्णाङ्क १०, २०५८ भाद्र

प्रिय मान्छेका गीतहरू

मैले धेरै गीतहरू सुनें
मान्छेहरूका गीत
त्यतिमात्र सुनिनँ,
मान्छेहरूले गाए
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरूको गीत
मैले धेरै गीतहरू सुनें ।

सुनेका गीतहरूमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरू
तर थोरै भेटें
मेरा प्रिय गीतहरू
अलिकति पानाहरूमा भेटें
प्रिय मान्छेका गीतहरू
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरूमा
मान्छे खाने मान्छेका गीतहरू
मलार्इ निष्ठाका गीत गाउन मन लाग्यो
र आक्रोशित भएर गाएँ
आस्थाका गीतहरू
मेरा प्रिय मान्छेका गीतहरू ।

जंगलका गीतहरू भन्दा पनि
किन लेखिए किताबहरूमा
त्यति नराम्रा मान्छेका गीतहरू
ती गीतहरूभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरू
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरूका
टाँगिए तस्वीरहरू
भित्ताहरूमा
चोकहरूमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरू
प्रिय मान्छेका गीतहरू ।

त्यति धेरै किताबहरूमा
यदि उसले
खराब मान्छेका गीत नगाएको भए
म यो गीत किन गाउँथें ?
तर शहरका चोकहरूमा
बैठकका भित्ताहरूमा
बस्तीका सिरानहरूमा
मान्छे खाने मान्छेका
गीतहरू लेखिए
तस्वीरहरू टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू ।

• जनएकता साप्ताहिक २०५८ माघ २२ गते

नागरिक

ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।

कौसिकी कविता पात्रो – २०५९

भविष्यका लागि

सदियौंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्,
पुस माघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौ,
सिरक ओढेर छेपाराहरू
सपना बाँडिरहेछन्,
पहिले शान्तिको कुरा गर्छन्
र नभए क्रान्तिका कुरा गर्छन्,
अर्कोतिर आफ्नै आँखा अगाडि
गान्धीको लौरो टेकेर हिटलरहरू
गोप्य बैठक बसिरहेछन्,
हिजो गाउँमा मात्र गनाउने बारूद
शहरमै पस्न थालेको छ,
अब मानिस हराएको खबर आउनु
कुनै अनौठो घटना रहेन
मानिस मारिएको खबर आउनु
कुनै नौलो समाचार रहेन,
मीठो सपना बोकेका
त्रसित अनुहारहरूको
एउटा कोलोनीमा बसेको छु
कोठाभरि प्रश्नको अँध्यारोले छोप्छ
म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनै पर्दैन ।

नजिकै जंगलहरू छन्
वसन्तको सुरूआतमै
त्यहाँबाट लासहरूको गन्ध आउँछ,
जंगलबाट गोलीको आवाज आएपछि
हराएका आफन्तहरूको सम्झनामा शोक मनाउँछौं
हामी देखिरहेका छौं
आफन्तका अस्मिताहरू लुटिएका छन्,
चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन्,
यो समयमा
म यस कोलोनीबाट
तिम्रा निम्ति
नारा बाहेक के लेख्न सक्छु ?
के सुनाउन सक्छु ?
सुन्दरताका नाममा
सत्ताको स्वार्थ रोप्ने कविताभित्र
मानिसलार्इ सडक बनाएर
निर्घात अरूले कुल्चँदा
अलिकति पनि दुख्दैन भने
म उसका आँखामा
नारा लेख्न मन पराउँछु ।

रेडियोले बोलेको कुरा
कटारी हुँदै सोलुसम्म
नून खेप्ने भरिया दाइ
फिस्स हाँसेर उडाउँछन्,
अब कसलाई थाहा छैन
अखबार पढ्नु र
एकनास बगरमा टोलाउनु
कुनै अन्तर छैन,
टेलिभिजनले नाटक देखाइरहेछ कि समाचार
बुझ्न समय लाग्दैन,
जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ,
तर पनि सपना कोर्न छाड्नुको कुनै अर्थ छैन,
आन्दोलनको डरले
शववाहनमा सुतेर
सिंहदरबारभित्र पस्ने शासकले
आफ्नो उज्वल भविष्यको पक्षमा
विज्ञापन गरिरहेको बेला,
हाम्रो प्रिय जंगलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने यो जना बनाइरहेछौं,
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।

नादविन्दु, वर्ष ५, पूर्णाङ्क ५, २०६० असोज

कलिला जूनहरूको श्रद्धाञ्जलीमा

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू
असाध्ये दिन मन थियो
तर यसरी सोचेँ
उनीहरू ढल्नु
सगरमाथा ढल्नु हो
मेरो आस्था ढल्नु हो
त्यस वर्ष,
छातीभरि पालेका फूलहरू
कलिला जूनहरूको श्रद्धाञ्जलीमा चढाएँ ।

पोहोर साल
बगैंचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा जातका फूलहरू रोपेँ
छोरीले मागेकी थिर्इ
केही थुङ्गा फक्रेका फूलहरू
चुल्ठोमा लाउन
मैले त्यस वर्ष पनि
एक थुङ्गा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरूभूमिझैं रित्तियो ।

यसपटक
उकै छिमल हुर्केका
सबै साथीहरू
उज्यालो खेप्नका लागि
लामो यात्रा रोजेछन्
म सोचिरहेको छु
उनीहरूको आस्था स्खलित हुनु
सभ्यता भत्कनु हो

अब कसरी पुग्छ ?
यति थोरै जग्गामा रोपेका फूलहरूले
कलिला जूनहरूका लागि
आगामी वर्षको श्रद्धाञ्जली चढाउन ?

फेरि फूलहरू रोप्नु थियो
भोली चढाउने श्रद्धाञ्जलीका लागि ।

समष्टि, वर्ष २३, अंक ६, २०६० जेठ―असार

उज्यालो हुनुअघि

राष्ट्रलाई बधस्थल बनाउने
सपथ खाएर
मान्छे जस्तै, मान्छेका सिकारीहरू
हिजैमात्र
शहरबाट गाउँतिर हिँडे
मानौं, गाऊँ उनीहरूको शत्रु हो
उज्यालो गाऊँ
उनीहरू देख्नै सक्दैनन्
आमा, हिजै मात्र
शहरबाट केही हुल मानिसहरू
गाउँ मार्न हिँडेका छन्
उज्यालो हुनुअघि
सधैं सधैं सबैतिर
ऋषिसर यस्तै हुन्छ भन्थे
आमा, कुखुराका भालेहरू पाल्नु
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाऊँ पसेका छन्
यसपटक शहरले
गाऊँकै मान्छे किनेर
गाऊँ मार्न पठायो
आमा, मैले इतिहासमा पढेको छु
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फँडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुण्डन्छन्
आमा, कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सधैं–सधैं यस्तै हुन्छ ।

उनीहरू गाऊँमा आएपछि
बालुन खेल्नु अपराध हो
सँगीनी गाउनु अपराध हो
वल्लो डाँडा र पल्लो डाँडा
मन खोलेर दोहोरी गाउनु
साँच्चै साँच्चै अपराध हो
शहरमा बस्ने मान्छेका शिकारीहरूले
सत्ताको डबकामा ह्वीस्की ख्वाएर
यो वर्ष गाऊँकै मान्छेहरूलाई
गाऊँ मार्न पठाए
अब प्रतिकारमा गाऊँहरू उठिरहेछन्
युगौंदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्वा र दिलमायाहरू उठे
उज्यालोको पक्षमा
दृढताको सगरमाथा छातीमा पालेर
गाऊँलेहरूले सर्जिमिन बकिरहेछन्
आमा, उज्यालोलाई स्वागतको तयारीमा
अँध्यारै उठून् भाइहरू
नयाँ मान्छेलार्इ दिने सौगातका लागि
बगैंचामा फूल खोज्न
चाँडै उठून् बहिनीहरू
र उज्यालोको प्रतीक्षामा
गाऊन् सुन्दर गीतहरू
आमा, कुखुराका भालेहरू पाल्नु,
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

बुधवार साप्ताहिक, वर्ष ८, अंक ३३, २०५९ भदौ

स्वयम्भूका आँखासँग

प्रिय कवि “इच्छुक”
इतिहास भएका ती दिनहरू
तिम्रो हत्याको केही महिनाअघि
हामी एकसाथ बसेर
तिम्रा एकजोडा भूमिगत हातहरूले
अनिँदा सपनाहरू कोरेको यो ठाउँ
स्वयम्भूको त्यही आँखामुनि
म यतिबेला
स्मृतिमा खोजिरहेछु ।

प्रिय कवि “इच्छुक”
जब तिम्रो हत्याको खबर
कुनै वेगवान हुण्डरीझैं
गाउँ र शहर पुग्यो
उज्यालो आकाश खोज्नेहरूका
एकसाथ परेला भिजे,
अभावले थाकेका गाऊँहरू
एकसाथ मसँगै रोए,
तिम्रो हत्याको खबरमा
अखबारहरू बिके,
तिमीले जसको भविष्य
कालीगण्डकीमा शालीग्राम खोजेझैं
मृत्युपर्यन्त खोजिरह्यौ,
हो, त्यसदिन
तिम्रै हत्याको खबरमा
गरिबी आँसुहरू एक गण्डकी बगे
साना नानीहरूले शोकगीतहरू गाए
प्रिय कवि “इच्छुक”
हो, यो सबै तिम्रो हत्याको खबरमा ।

मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पुरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू ।
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ?

कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ

बाटाहरू – १

हामी अनिँदो बसेर रातभर
दिनको कुरा गर्थ्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गर्थ्यो,
हामी भोलीका निम्ति
जूनको कुरा गर्थ्यौं,
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो,
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ् पुल
बनाउने कुरा सोच्यो,
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हेर्र्यो
त्यही बिन्दुबाट कोरिए,
उसका र हाम्रा अलग–अलग नक्साहरू
जीवनका नयाँ बाटाहरू ।

हामीले दुखिया थारूको सपना कोर्र्यौं
र उसको भोको पेट अघाउने
योजना कोर्र्यौं
काजीबाको बिपना कोर्र्यौं
र उनको अजीर्ण पेटबाट
अलिकति घटायौं
र उतातिर जोड्यौं
ऊ हामीसँग झस्कियो,
सडकमा सपना हुर्काइरहेका
बच्चाहरूको भविष्य देखेर
चिन्ता लेख्यौं,
ऊ हामीसँग तर्सियो,
त्यही बिन्दुबाट कोरिन थाले
हाम्रा लागि नयाँ बाटाहरू
नयाँ योजनाहरू
हामीले उसका विरूद्धमा
यसरी कोर्र्यौं
हामीले किरिङमिरिङ
जीवनका नयाँ नक्साहरू
अलग–अलग बाटाहरू ।

कविता पूर्णाङ्क ७९, २०५९ पुष―चैत्र

बाटाहरू – २

पिचासहरू हेडलाइट बालेर
अगाडितिर बाटो देखाइरहेछन्
र आफ्नो बाटो छोडेर छेपाराहरू
सल्लाको मुढामा घाम ताप्दै
स्वीकृतिको टाउको हल्लाइरहेछन्
मलार्इ घिन लाग्छ उनीहरूको बाटो
त्यही बाटोको भ्रममा
हाम्रा सपनाहरू लुटिए
हामी लुटिएको सपनाको
मलामी हिँडिरहेछौं
मैले देखिरहेको छु–
हाम्रो अघिल्तिर
शिकार ढुक्दै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाबकिताब मिलाइरहेछ,
कालो नागलाई थाहा छ,
बच्चालाई हालिदिएको टिफिन चोरेर खानेहरू
ठूलो बाटो हिँड्दैनन्
र सिंहासनमा बस्न आउनेहरू
यो बाटो हिँड्दैनन्
र जानेहरू पनि हत्याकाण्ड मच्चाएर
कुबाटोबाटै जान्छन्
महलको टुप्पाबाट गिद्धहरू
प्वाँखको दूरबीन लगाइरहेछन्
र हामी हिँडेको बाटोलाई हेर्दै
जोड–घटाउ मिलाइरहेछन्,
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एकसाथ हाम्रो बाटोमा झम्टन्छन्
र क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई ।

बाटाहरू – ३

सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रूखको कापमा बसेर उल्लुहरू
पान चपाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन्
भीड ताली पिटिरहेको छ
त्यो क्रूर यथार्थलाई
म नेपथ्यबाट हेर्छु
र छाम्छु आफू वरिपरि
नजिकै केही हातपर
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड–जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू
मैले खोजेका सारथीहरू
जो यो बाटो हिँड्न योग्य छन्
तर किनारमा उभिइरहेछन् ।

किनारमा उभिएर
उनीहरूले मेरा अगाडि एउटा बाटो देखाए
र भने–
यो बाटो कस्तो छ ?
उनीहरूले बाटोको प्रशंसा गरेनन्
चुनावी नेताहरूले जस्तो
विज्ञापनहीन एउटा सुन्दर बाटो
मेरो अघिल्तिर थियो
जसलाई म खोजिरहेको थिएँ वर्षौंदेखि
हामीले किनार सफा गर्यौं
त्यही बाटोमा हामीले
सृष्टिको नौलो कथा भन्यौं
विधवा आकाश ओढेर
कैयौं रात सुन्दर भविष्य रच्यौं
आस्थाका कुराहरू गर्यौं
अजम्बरी धातुले बनेको बाटो
मैले कल्पना गरेभन्दा बाहिर
मैले भेट्टाएँ एउटा सुन्दर बाटो
त्यही थियो मेरो प्रिय बाटो ।

अक्षलोक, पूर्णाङ्क २३, २०६० वैशाख

यात्राको एउटा दृश्य

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै–पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली
राम्रैसित फल्यो
बाली भित्र्याउनेहरू
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरू भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेंलिएर
हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
बितेको वर्ष,
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्र्याङ् चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरी
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको
पैसामा साट्न पसल थापिरहेका
हिजोका नातेदारहरू
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ,
मलाइ अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन,
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

संस्कृति, अंक ५, २०६० असोज

एउटा पुजारीको आत्मव्यथा

म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।

भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी ।

अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी ।

सपना

अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई स–गर्व सुनाइरहेछन्,
भ्रष्टाचारको आरोपमा
जागिर खुस्किएको भलाद्मी
गरिबी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरू सँगसँगै छु ।

अन्धाहरू अघि लागेर
बाटो देखाउने दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेंलो वस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

आन्दोलनको नाममा
घाम तापेर समय काट्ने
क्रान्तिकारीहरू
पार्टी अफिसको छतमा बसेर
भोलिको भविष्य सुँघिरहेछन्,
मन्दिरको यात्रामा पाइतो सरेर
एक राते मेला धाइरहेछन्
आस्थाको झोला बोकेका केही पाखण्डीहरू
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

मसँग एउटा सपना छ–
यी सबैसँग बाटोमा
भोलिदेखि
सँगसँगै हिँड्न नपरे हुन्थ्यो

यी सबै सबैसँग
त्यही यात्रामा सँगै हिँड्ने
केही निर्दोष अनुहारहरू छन्
भोलिको यात्रामा
म जस्तै, उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा
हो, म अचेल
धेरै धेरै रात रोएको छु
म उनीहरूसँग पनि सँगसँगै छु
अब मात्र एउटै सपना छ ।

Ο

 

सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह)

 

सेतो दरबारको छेउबाट
(कवितासङ्ग्रह)

मातृका पोखरेल

प्रकाशक
सृजनशील प्रकाशन, मैतीदेवी, काठमाडौ

संस्करण– प्रथम, २०५६ फागुन

प्रति ः ११००
मूल्य
व्यक्तिगत रु – २०/-
संस्थागत रु. -१००/-
आवरण कला – प्रारम्भ कम्प्युटर सेवा, डिल्लीबजार, काठमाडौँ
फोन नं. ४२९१६५, ४२१६५७

मुद्रक – लुम्बिनी प्रिन्टिङ्क एण्ड पब्लिकेशन प्रा.लि.
घट्टेकुलो, काठमाडौँ ।

समर्पण

दुख, कष्ट र यातनाहरूको कुनै पर्वाह नगरी सुन्दर र सवल समाज निर्माण गर्ने अठोट बोकेर कठिन बाटो हिँडिरहेका यात्रीहरूलाई ……..।

कृतज्ञता ज्ञापन
छरिएका कविताहरूलाई सङ्ग्रहको रूपमा प्रकाशित गर्न विभिन्न ढङ्गले सहयोग पुर्याउनु हुने मित्रहरू सृजनशील प्रकाशनका विजयराज आचार्य, कम्प्युटर टाइपमा सहयोग गरिदिनु हुने बासुदेव श्रेष्ठ, सुरेन्द्र चालिसे, कभर डिजाइन गरिदिनु हुने सुन्दर बस्नेत र बासु क्षितिज, भूमिका तथा मन्तव्य लेखिदिनु हुने अग्रज साहित्यकारहरू निनु चापागाई, रुद्र खरेल, हरिगोविन्द लुइँटेल र आहुति प्र‍ति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
– मातृका पोखरेल

प्रकाशकीय
प्रगतिशील युवा साहित्यकार मातृका पोखरेलद्वारा लिखित पहिलो कृति ‘सेतो दरबारको छेउबाट’ कविता सङ्ग्रह चौधौ कोसेलीको रूपमा आदरणीय पाठकहरू समक्ष पुर्याउन पाउँदा अत्यन्तै खुसी लागेको छ । प्रस्तुत कृतिमा लेखकका झण्डै १ दशकदेखि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका १९ वटा फुटकर कविताहरू समावेश छन् ।
आदरणीय पाठक वर्गहरू हाम्रा अन्य प्रकाशनहरू जस्तै यस कविता सङ्ग्रहलाई पनि रुचाइ दिनु हुनेछ भन्ने विश्वास लिएका छौँ । प्रबुद्ध पाठकहरूले यसलाई अध्ययन मनन गरी अमूल्य सुझाव र सल्लाह पर्ठाई लेखक तथा प्रकाशकलाई निरन्तर रूपमा लेखिरहन र प्रकाशन गरिरहन प्रोत्साहन दिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।

सामाजिकता र कला मूल्यको आँखिझ्यालबाट हेर्दा
निनु चापागाई

वर्तमान सामाजिक संरचनालाई सचेत र जागरुक साहित्यकारहरूले कसरी ग्रहण गरिरहेका छन् र तिनका आशा आकांक्षा के कस्ता रहेका छन् भनी युवा मानसिकताबारे बुझ्न चाहने व्यक्तिहरूका लागि युवा कवि मातृका पोखरेलद्वारा लिखित यो “सेतो दरबारको छेउबाट” कविता सङ्ग्रह महत्वपूर्ण कृति सावित हुनेछ ।
तीसको दशकको अन्तिम वर्षेखि कविता लेखनमा हात चलाउन थालेका युवा कवि मातृका पोखरेल संस्कृत एवम् नेपाली छन्दोबद्ध कविता भनेपछि हुरुक्क हुने र कण्ठस्थ गरी वाचन गर्ने आफ्ना एकजना मामाको सरसंगतबाट कविता सृजनतिर उन्मुख भएका हुन् । पहिलोपल्ट २०४१ मा कविता प्रकाशन भए यता प्रकाशनमा आएका करिब तीन दर्जन कवितामध्ये यस सङ्ग्रहमा सङ्कलन गरिएका कविताहरूले कवि मातृका पोखरेल २०४६ पछि विशेषगरी क्रियाशील रहेको तथ्यलाई पुष्टि गर्दछन् ।
मातृका पोखरेलको साहित्यिक व्यक्तित्वको उठान कविताबाट भएको हो तापनि आज यसको विस्तार कथा र आलोचनापरक लेखहरूमा समेत भएको तथ्य समकालीन नेपाली साहित्य प्रति थोरै मात्र रुचि लिने व्यक्तिका दृष्टिमा छिप्न सक्ने विषय होइन । विद्यार्थी कालमा अनेरास्ववियुको गतिविधिबाट उक्लँदै पछि जनवादी युवा लीग र इन्द्रेणी सांस्कृतिक समाज जस्ता संस्थाहरूमा संगठित र प्रतिबद्ध रहेर क्रियाशील रहेका पोखरेलको सांस्कृतिक समाज जस्ता संस्थाहरूमा संगठित र प्रतिबद्ध रहेर क्रियाशिल रहेका पोखरेलको साहित्यिक लेखनको वैचारिक धरातल कमबेसी ती संगठनका विचारधाराबाट प्रभावित भएको पाइनु अनौठो होइन । कवि मातृका पोखरेलले समाजवादी यथार्थवादलाई आफ्नो विचारधारात्मक आदर्श बनाएका छन् र कतिपय कविताहरू यही दिशातिर उन्मुख छन् ।
प्रस्तुत सङ्ग्रहमा जम्मा उन्नाइस वटा कविताहरू छन् । “म देश पढ्दै छु” शीर्षक कवितामा कविले देश पढ्दा ‘शान्तिका अक्षरहरूभित्र’ ‘अशान्ति र कोलाहलका चित्रहरू’, ‘न्यायका शब्दहरू पढ्दा’ “जेल, नेल, बन्दूक र पुलिसका यातनाहरू’, ‘राष्ट्रभक्ति जस्ता शब्दहरूभित्र कोशी र जंगल बेचिएका सहिछापहरू’, ‘देशलाई बन्धकमा राखेका सम्झौताका आला अक्षरहरू’ र ‘जनभक्तका कानुनभित्र’ ‘युवाका रगत बेचिएका राता टाटाहरू’ पाइएको जुन चित्रण छ कविता सङ्ग्रहको विषयवस्तु पनि धेरथोर त्यही सेरोफेरोमा केन्द्रित रहेको छ । कविता यथार्थका बारेमा कविको अनुभूतिपरक चिन्तन बाहेक अरु केही होइन । कविको सृजन इतिहासमा घटेको सबैभन्दा महत्वपूर्ण घटना भनेकै २०४६ सालको जनआन्दोलन र निरङ्कुश पञ्चायती व्यवस्था संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थामा परिवर्तन हुनु थियो जसलाई आम चलनचल्तीको बोलीमा बहुदलीय प्रजातन्त्र भन्ने गरिएको छ । यस सङ्ग्रहमा यस सम्बन्धमा कविको अनुभूतिपरक चिन्तनले प्राथमिक महत्व पाएको छ । ०४६ सालमा जनताले देखाएको शौर्यलाई ‘०४६ चैत्रको सडक’ ले प्रस्तुत गरेको छ भने ‘कालो र्सप’, ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्, ‘क्रम भङ्ग’, ‘आज पनि उनै आए’ जस्ता कविताहरूमा बहुदलीय प्रजातन्त्रको पाखण्डी, दमनकारी र ढाँट रूपलाई विभिन्न तरीकाले व्यक्त गर्ने प्रयत्न भएको छ । हिजो पञ्चायत कालमा जसले विकासको कुरा गर्थे, फुलबुट्टा भरेर गाउँलेलाई छलछाम गर्थे, भोट माग्थे, माननीय हुन्थे, मन्त्री हुन्थे र देशलाई लुट्थे, ‘नयाँ प्रजातन्त्र’ मा पनि तिनै व्यक्तिहरूले अर्थात् शोषक वर्गले नै त्यही क्रम दोहोर्याइरहेको कविले पाएका छन् । उनी यस प्रजातन्त्रलाई ‘त्रि्रो प्रजातन्त्र’ अर्थात् ‘शासक वर्गको प्रजातन्त्र’ वा ‘बहुलठ्ठी प्रजातन्त्र’ भन्न रुचाउँछन् । यस्तो प्रजातन्त्रमाथि कविको पटक्कै विश्वास छैन । खान नपाउनेहरू, घर नभएकाहरू, बेचिएकाहरूले बहुलठ्ठी प्रजातन्त्रको जुठल्नामा मसाल सल्काएपछि मात्र २०४६ सालमा दरबार मार्गमा प्रजातन्त्रका लागि सहिद हुनेहरूको रगतहरूले विजयको गीत गाउने छन्, अहिले त ती प्रजातन्त्रको या रूप देखेर रोइरहेका छन् कविको दृष्टिमा । कविको के विश्वास छ भने यहाँका शोषित वर्गका जनताहरूमा चेतना विकसित भएपछि यस्तो प्रजातन्त्र टिकिरहन सक्दैन । कवि जनताको प्रजातन्त्र आउन ‘अपरिवर्तनीय’ भनिएको राजनीतिक संरचना भत्कनै पर्दछ र यो व्यापक जनचेतना र सहभागिताबाट मात्र सम्भव छ भनी ठोकुवा समेत गर्दछन् । ‘आकाश तिमीलाई निम्ता छ’, ‘कालो र्सप’, ‘सूर्य उदाउ अब’, ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’,
क्रमभङ्ग’ कविको यही चिन्तनलाई प्रतिबिम्बित गर्ने क्रान्तिको आकांक्षा र आह्वानसँग सम्बन्धित कविताहरू हुन् ।
कवि जसरी क्रान्तिको उत्कृष्ट चाहनाबाट उद्वेलित छन् त्यसैगरी उनी क्रान्तिकारी शक्तिहरूमा देखापरेका कमी कमजोरी प्रति पनि संवेदनशील हुन पुगेका छन् । क्रान्तिका निम्ति वस्तुगत परिस्थिति तयार हुँदाहुँदै पनि आत्मगत परिस्थिति तयार भइनसकेको अवस्थातिर ‘खै ! यात्रीहरू उठेकै छैनन्’ कविताले इङ्गित गरेको छ भने ‘अभिशप्त पर्खाल’ ले चाहिँ आफूलाई मजबुत बनाएर जनतामा फिँजिनु पर्ने र चेतनाका बीऊहरू र्छर्नुपर्ने आवश्यकतालाई बोध गर्न नसकी क्रान्तिकारी संगठनहरू विभाजित हुँदै छन्, जुन ठीक होइन भन्ने विचार व्यक्त गरेको छ । ‘एकता केन्द्र’ निर्माण हुँदा भएको एकताको प्रयास र पछि त्यसमा आएको फूटलाई यस कविताले प्रतिबिम्बित गर्न खोजेको देखिन्छ ।
२०४६ सालमा भएको परिवर्तन र क्रान्तिको चाहना पछि नेपाली श्रमजीवी जनताको मुक्तिका निम्ति आफूलाई समर्पित गर्ने योद्धा र सहिद कविलाई संवेदत बनाउने अर्को विषय बन्न पुगेको छ, सङ्ग्रहामा । ‘फरक फरक छातीहरू’ ‘भिमान जंगलको यात्रा’, ‘दरबारमार्गका सहिदका रगत रुँदैछन्’ र ‘साक्षी’ यसै कोटीमा पर्ने कविताहरू हुन् । पञ्चायती तानाशाहद्वारा नृसंश रूपबाट हत्या गरिएका क्रान्तिका ऋषि देवकोटाको सम्झना गर्दै उनी अदम्य साहस, महान् उद्देश्य, आस्थाको अग्लो शिखर र जनता र क्रान्तिप्रति निष्कलुप र्समर्पण, भावको कारण सम्मानित हुन सकेका हुन् भन्ने ‘भिमान जंगलको यात्रा’ मा उल्लेख छ भने ‘फरक फरक छातीहरू’ मा सहिद व्यक्तिवादी प्रवृत्ति भन्दा माथि उठेको, र्’वर्तमान मान्छेका साझा खुसीहरू र साझा स्वतन्त्रता’ को मुर्तरूप हो भन्ने सङ्केत गरिएको छ ।
नेपाली युवाहरूलाई भाडाका सिपाहीका रूपमा बेचिने कुत्सित परम्पराका कारण संसारको जुनसुकै भागमा हुने अन्यायपर्ूण्ा युद्धहरूको भागिदार नेपाल र नेपालीले हुनु परेको छ । फोकल्यान्ड, कोसोभो, कारगिल जस्ता नेपाल भन्दा धेरै टाढा रहेका ठाउँहरूमा भएका युद्धका पीडाहरू समेत भोग्न नेपालीहरू बाध्य भएका छौँ । यही यथार्थलाई चित्रण गर्दै अब आफ्नै अस्तित्वका लागि लड्न पर्दछ भनी आह्वान गरिएको कविता हो ‘छोङ्पाङ तिमीले कस्तो सपना देख्यौ -’ गाउँका धेरै युवाहरू लाहुरे भएको छोङपाङको एउटा गाउँ हो, जसले नेपालका यस्ता थुप्रै गाउँको प्रतिनिधित्व गर्दछ ।
‘सेतो दरबार’ सामन्तवाद र त्यसको गढका रूपमा रहेको दरबारको चेतना र मुक्तिविरोधी, मान्छे खाने मानवद्वेपी प्रवृत्तिको अनावरण गर्ने कविता हो । कथित प्रजातन्त्रको पोल खोल्दै आजको संरचनामा अड्डा, अदालत, कारागार यसैको प्रभुत्वमा रहेका छन् भन्ने सङ्केत कविताले गर्दछ र सामन्तवाद र दरबारको कुरूपतालाई नै सौर्न्दर्य ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गर्दछ ।
‘ आफ्नैजस्तो लाग्यो’ – कविताले आजको सामाजिक संरचनामा तल्ला वर्गका अपहेलित जनतामाथि भइरहेको उत्पीडनलाई चित्रण मात्र गर्दैन नेपाल भित्रिएका भारतीयहरूको कुकृत्यमाथि पनि प्रकाश पार्दछ । कविको उत्पीडित जनताप्रति सहानुभूति र उत्पीडकहरू प्रतिको घृणाभाव पनि कवितामा राम्ररी प्रकट भएको छ ।
‘अजम्बरी कविता’ ले कविता सम्बन्धी कवि मातृकाको दृष्टिकोणलाई नै व्यञ्जित गरेको छ । जनजीवन कविताको स्रोत हो र जनजीवनमा आधारित कविता नै अजर-अमर हुन्छ भन्ने विचार प्रकट गर्दै कविताले जनतासँगको घनिष्ट सम्बन्धमाथि विशेष जोड मात्र दिएको छैन माथिल्लो र महलमुखी कविता स्थायी रहँदैन भन्ने विचारलाई पनि उद्घाटित गरेको छ ।
कविता सङ्ग्रहमा अरूको षडयन्त्र र लोभ लालसामा नफसी आफ्नो आस्थामा अडिग रहनु आवश्यक छ र यसरी नै आफ्नो यात्रा निरन्तर जारी राख्नु पर्दछ भन्ने कविका चिन्तनहरू पनि केही कवितामा व्यक्त भएका छन् ।
यसरी र्ससर्ती हेर्दा कविता सङ्ग्रह ‘सेतो दरबारको छेउबाट’ मा कवि मातृका पोखरेल साहित्यलाई यथार्थको आलोचना र व्याख्या विश्लेषणको चौघेरोमा मात्र सीमित राख्न खोज्ने साहित्यकार भन्दा माथि उठेका र साहित्यले समाजको आमूल रुपान्तरणका निम्ति सहयोगी भूमिका खेल्नुपर्छ भन्ने विश्वास भएका कवि हुन् भन्ने पुष्टि गरेको छ । यही कारण उनका कविताले ‘गाँजाको मातमा झुल्लिदै बहुलठ्ठी प्रजातन्त्रको भजन गाउनेहरूको खोइरो खन्छ र यसका विरुद्ध मसाल सल्काउन चाहने जनताको आवाजलाई वाणी प्रदान गर्दछ । जनसेवा, क्रान्ति र क्रान्तिकारी विचारधाराप्रतिको कविको प्रतिबद्धता नै कविता सङ्ग्रहको प्राणत्व बनेको छ । सङ्ग्रहभित्रका अधिकांश कविताले कविलाई साहित्यको वर्गीय प्रकृति र वर्गीय पक्षधरतामाथि विश्वास राख्ने कविका रूपमा उभ्याएका छन् । सङ्ग्रहका अधिकांश कविताहरूले मातृका पोखरेल भविष्यलाई प्राथमिकता दिएर वर्तमानलाई उपेक्षा गर्ने प्रकृतिका समाजवादी यथार्थवादी साहित्यकारका विपरीत वर्तमानलाई प्राथमिकता दिँदै भविष्यदृष्टि अँगाल्ने कवि अर्थात् साहित्यकारद्वारा गरिने सौर्न्दर्यको खोजी र समसामयिक जीवनसँगको साहित्यकारको सम्बन्धलाई एकै प्रक्रियाका दुई पाटा ठान्ने यथार्थवादी कवि हुन् भनी औल्याउने प्रयास गरेको छ । ‘छोङपाङ तिमीले कस्तो सपना देख्यौ -’ ‘कालो र्सप’, ‘क्रमभङ्ग’, ‘आज पनि उनै आए’, ‘आफ्नै जस्तो लाग्यो’, ‘म देश पढ्दै छु’, ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’ जस्ता कविताहरू यसैका सङ्केत हुन् । सृजनात्मक प्रक्रियाको विचारधारात्मक पक्ष र रूपगत पक्षका बीच पार्थक्य ल्याएर कलात्मक अभिव्यक्तिका साधनहरू र शैलीगत पक्षको खोजीमा हुरुक्क हुन खोज्ने कवि पनि होइनन् मातृका पोखरेल । जनतासँगको घनिष्ट सम्बन्ध, यथार्थवाद, सत्यनिष्ठता र कलात्मक सुबोधताका आधारमा नै कलात्मक साधनहरूको खोजी गर्नुपर्ने कुरा प्रति सजग रहने कवि देखिन्छन् उनी । ‘सेतो दरबारको छेउबाट’ कविता सङ्ग्रहमा यिनै सकारात्मक पक्षहरू प्रधान र प्रबल रहेको सहजै देख्न सकिन्छ ।
कविता सङ्ग्रह पढिसकेपछि सङ्ग्रहमा मातृका पोखरेलको कवि प्रतिभा र स्तरलाई परिचय गराउने कविताहरू मात्र समावेश हुन सकेका भए कति राम्रो हुन्थ्यो भन्ने जिज्ञासा स्वाभाविक रूपमा उत्पन्न हुन्छ । ‘क्रमभङ्ग’, ‘छोङ्पाङ तिमीले कस्तो सपना देख्यौ -’, ‘कालो र्सप’, ‘भिमान जंगलको यात्रा’, आफ्नै जस्तो लाग्यो’ जस्ता सुन्दर कविताका हाराहारीमा हर्ेर्ने हो भने कतिपय कविता केही पछि परेका देखिन्छन् । उनको कवितात्मक उचाइलाई दृष्टिगत गर्दा कवितामा आरोहअवरोह परेका देखा पर्दछ । त्यसैले आफ्नो सृजनकार्यको विभासमा उनी बढी गम्भीर बन्नु आवश्यक देखिन्छ ।
कवि पोखरेलले आफ्ना कवितालाई अझ बढी प्रभावकारी एवम् शक्तिशाली बनाउनका निम्ति ध्यान दिनुपर्ने यथार्थवादी रचना पद्धतिको चयनात्मक प्रवृत्ति, कविताका विशेष लक्षणहरू, साहित्यमा जनतासँगको घनिष्ट सम्बन्धलाई परीक्षण गर्ने वस्तुगत मापदण्डहरू, कवितामा सामाजिक तत्वको महता, लोकप्रियता सम्बन्धी साहित्यिक मान्यता, निजत्व विषयवस्तुको विस्तार र साहित्यकारको आत्म रुपान्तरण जस्ता महत्वपुर्ण सवालहरूमा उनका कवितालाई दृष्टिगत गरी चर्चा गर्नु प्रासंगिक हुनेछ ।
नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा केही व्यक्तिहरू जीवन र यथार्थका केही अंशहरू समावेश हुनासाथ त्यो साहित्य यथार्थवादी भइहाल्दछ भन्ने नितान्त गलत धारणा राख्ने गर्दछन् – उनीहरूका दृष्टिमा यथार्थको कुन पक्ष चित्रण गरिएको छ, कसरी चित्रण गरिएको छ र किन चित्रण गरिएको छ भन्ने प्रश्नले कुनै महत्व राख्दैन । उनीहरूको दृष्टिमा सङ्ग्रहमा समाविष्ट ‘साक्षी’ कविता उत्कृष्ट यथार्थवादी रचना ठहरिनेछ । २०४६ सालको जनआन्दोलनको क्रममा घरपरिवार, नाता कुटुम्ब, साथीभाइ र आन्दोलनकारी शक्तिहरूले थाहै नपाई परिचयहीन अवस्थामा कतिपय युवाहरू पञ्चायती दमनकारीहरूद्वारा सहिद बनाइएका छन्, यो कटु यथार्थ हो । त्यतिकै ज्वलन्त यथार्थ के पनि हो भने त्यस्ता युवाहरूले डाँडामाथि डुब्न लागेको जुन जस्ता आमाबाउ, भरखर मात्रै जीवन बुझ्न थालेका कलकलाउँदा बहिनीहरूको पारिवारिक दायित्व, निजी स्वार्थ आदिलाई चटक्क तिलाञ्जली दिएर मृत्युलाई हत्केलामा राख्दै सङ्घर्षमा आफूलाई समर्पित गरेका छन् । आन्दोलनमा सहिद भएका युवाहरूको मूल्याङ्कन गर्दा निश्चय नै उनीहरूको महान् विचार र बलिदानी भावना, उनीहरूको अलपत्रे बेवारिसे मृत्युको तुलनामा कता हो कता मूल्यवान् र प्रमुख पक्ष ठहरिन्छ । मूल्यवान् मृत्यु मर्ने सहिदको अलपत्र स्थिति हुनु हुँदैन थियो भन्ने कविको आशय आफैमा अनुचित होइन । तर आन्दोलनमा लाग्दा कन्तबिजोक हुने रहेछ भन्ने जुन प्रभाव कविताले छाड्दछ, त्यो भने यथार्थपरक र सही प्रस्तुति होइन । यहीँनेर आएर साहित्यमा के चित्रण गरिएको छ, कसरी चित्रण भएको छ र कुन उद्देश्यका लागि चित्रण भएको छ भन्ने सवालले ठूलो महत्व दिन्छ । तर जीवनसत्यको प्रतिविम्बनको प्रक्रिया न सरल हुन्छ न त संघटनाको सार विशुद्ध रूपमा नै देखा पर्दछ । जीवन जटिल, बहुपक्षीय र अन्तर्विरोधी भएकाले जीवनको सत्यनिष्ठ चित्र उतार्न चाहने इमान्दार साहित्यकारका लागि आफ्ना वरिपरि जे जति देखा पर्दछन्, तिनलाई जस्ताको तस्तै उतार्नु पर्याप्त हुँदैन, उसले त्यसबाट सत्य के हो खोज्ने प्रयत्न गर्नै पर्दछ । सामान्य रिकर्ड गर्नासाथ वा सोझो फोटो खिच्नासाथ सत्य फेला पर्छ भन्ने होइन । यथार्थभित्र प्रवेश गरेर सत्य पत्ता लगाउन साहित्यकारले निश्चित दर्शनलाई अँगालेर यथार्थहरूका बीच चिन्तनपूर्ण महासम्बन्ध स्थापित गर्ने, संघटना र तथ्यहरूलाई अन्य संघटना र तथ्यहरूसँग राखेर हेर्ने, घटनाका प्रवाहहरूबाट मुख्य, महत्वपुर्ण र नेतृत्वदायी प्रवृत्तिहरूलाई ग्रहण गर्ने र तिनले लिने दिशालाई सङ्केत गर्ने एउटा प्रक्रिया पार गर्नु पर्दछ र यथार्थको चौतर्फी विश्लेषण गर्दै तिनबाट आवश्यक तथ्य चयन गर्न सक्नुपर्दछ । वास्तवमा साहित्य आन्तरिक स्वभावैले चयनपूर्ण हुन्छ । यथार्थ संघटना, विषय, सामग्री र रूपलाई साहित्यकारले उद्देश्यपूर्ण रूपमा चयन नगरी उत्कृष्ट साहित्यको सिर्जना नै हुन सक्तैन । कवि मातृका पोखरेल निश्चय नै यथार्थको जुनसुकै पाटो, प्रस्तुतिको जुनसुकै विधि र जस्तोसुकै उद्देश्यलाई पनि यथार्थवादी दृष्टि र विधि मान्ने साहित्यकार होइनन्, यस अर्थमा उनी माथि सङ्केत गरिएको सोच राख्ने साहित्यकार भन्दा एकदमै भिन्न छन् । तथापि, यथार्थको प्रमुख र गौण पक्ष छुट्याउनमा, यथार्थको नकारात्मक पक्षको चित्रण गर्दा समेत सकारात्मक पक्षलाई बल पुग्ने गरी प्रस्तुत गर्नमा र यथार्थवादी विधिको चयनात्मक प्रकृतिमाथि सचेत दृष्टि पुर्याउनमा उनले ध्यान दिनु लाभदायक हुने देखिन्छ ।
लयात्मकता, अननुवाद्यता, अतार्किकता, गैर प्रतीकात्मकता मुर्त र घनीभूत कलात्मक प्रभावशीलतालाई प्रख्यात मार्क्सवादी चिन्तक तथा लेखक क्रिष्टोफर कडवेलले सम्पुर्ण साहित्यबाट कवितालाई छुट्याउने कविताका विशिष्ट लक्षणका रूपमा उल्लेख गरेका छन् । ‘सेतो दरबारको छेउबाट’ मा सङ्कलित कविताहरूलाई दृष्टिगत गर्दा कवि पोखरेलले कडवेलले कविताको अन्तिम लक्षणमा उल्लेख गरेको घनीभूत कलात्मक प्रभावशीलतामाथि विशेष ध्यान दिनु आवश्यक लाग्दछ । धनीभूत कलात्मक, प्रभावशीलताको व्याख्याको सर्न्दर्भमा कडवेलको के भनाइ रहेको छ भने गैर सौन्दर्यात्मक प्रभाव सामूहिक र सामाजिक अनुभवमा आधारित नभएर व्यक्तिगत हुन्छ र सौन्दर्यात्मक प्रभाव चाहिँ सहचार्यमा बाँधिएका व्यक्तिहरूमा विशेष रूपमा पाइने आवेगहरूलाई जागृत गर्दछ । ‘क्रमभङ्ग’, ‘कालो र्सप’, ‘छोङपाङ् तिमीले सपना देख्यौ -’, ‘भिमान जंगलको यात्रा’ जस्ता कविताहरूलाई आधार बनाउने हो भने युवा कवि पोखरेललाई घनीभूत कलात्मक प्रभावशीलतालाई उपेक्षा गरेको भनी दोष दिन मिल्दैन । तथापि, सङ्ग्रहमा समाविष्ट केही दिनुपर्ने माग राख्नु अनुचित हुनेछैन । परम्पराका सकारात्मक पक्षहरूबाट शिक्षा ग्रहण गर्दै विम्ब, प्रतीक, अर्न्तर्वस्तुचयन र प्रस्तुतिलाई आफ्नोपन दिन सकेको खण्डमा नै कविले नितान्त आफ्नो निजत्व कवितामा स्थापना गर्न सक्दछ । समकालीन कविका कविताहरूसँग के कुरामा आफ्ना कविताले साम्य राख्दछ, के कुरामा फरक छ र आफ्नो कविताको स्थान कहाँनिर छ भनी लेखाजोखा गर्ने कविका लागि आफ्नो मौलिकता विकसित गर्न कठिन हुने छैन ।
यस सङ्ग्रहमा सङ्कलन गरिएका उन्नाइसवटा कविताहरूले उन्नाइसवटै भाव र विषयहरूलाई प्रस्तुत गर्न सकेको भए कवि मातृकाको विषयवस्तुको विस्तारलाई निकै नै राम्ररी परिचय दिन सक्दथ्यो । कवि कुन कुन विषयबाट बढी संवेदित भएका छन् भन्ने तथ्यलाई माथि नै सङ्केत गरिसकिएको छ । कवि खास विषयबाट संवेदित हुनु एउटा कुरा हो भने उनका रचनाहरूमा सीमित विषयवस्तुले ठाउँ पाउनु अर्कै कुरा हो । जीवन र यथार्थका विभिन्न पाटाहरूमा बढी भन्दा बढी जिज्ञासा राख्ने, तिन भित्र प्रवेश गर्न खोज्ने र तिनलाई राम्ररी अवलोकन गर्न चाहने, व्यापक जीवनानुभव र व्यापक जनसर्म्पर्कबाट सम्पन्न हुन प्रयत्न गर्ने रचनाकारले नै विषयवस्तुको विपुलता प्रदान गर्न सक्तछ । कवि पोखरेलले यस प्रश्नतिर पनि ध्यान पुर्याउँदा उचित नै हुने म देख्दछु ।
जर्मनीका महान् साहित्यकार ब्रेख्तले लोकप्रियता र यथार्थवादलाई परिभाषित गर्ने क्रममा जे विचारहरू प्रस्तुत गरेका छन् त्यसबाट साहित्यकारले आफ्नो क्षेत्रमा र्सवहारा वर्गको आवयविक बुद्धिजीवी बन्नु अनिवार्य हुन्छ भन्ने एउटै मात्र निष्कर्षनिस्कन्छ । आवयविक बुद्धिजीवी भनेको आफ्ना वर्गका विचार र आकांक्षाहरूको संगठनकर्ता, ती विचार र आकांक्षाको निर्माता र दिशा निर्देशक समेत बन्नु हो । हामी जस्ता निम्न पूँजीवादी पृष्ठभूमि, परिवेश र संस्कारबाट आएका कवि लेखकहरूका निम्ति र्सवहारावर्गसँग गहिरो सर्म्पर्क स्थापित गर्दै आत्मालोचना र आत्म सङ्र्घष्ाको माध्यमबाट आफूलाई रुपान्तरण गर्ने प्रक्रियामा अघि नबढी यस्तो गर्नु सम्भव छैन । यो प्रक्रिया जति कठिन छ त्यत्तिकै अवश्यक पनि छ । यसो गर्न सकेको खण्डमा नै कविको विकासशीलताले गति लिन सक्नेछ र कविताहरू बढी जन समस्याबाट ओतप्रोत पनि हुने छन् । कवि मातृका पोखरेलले आफूलाई अझ बढी यस दिशातिर लैजान ध्यान पुरयाउने छन् भनी विश्वास गर्नु अनुचित हुनेछैन ।
कवि मातृका पोखरेलले आफ्ना कविताका माध्यमबाट युवा सन्ततिमा आफ्नो पहिचान र व्यक्तित्व स्थापित गरिसकेको तथ्यलाई कविता सङ्ग्रह आपैFmले प्रमाणित गरिसकेको छ । युवा कवि मातृकाको कवितात्मक प्रतिभा र सकारात्मक पक्षलाई पनि प्रमुख पक्षको रूपमा ‘सेतो दरबारको छेउबाट’ ले राम्ररी नै परिलक्षित गरेको छ । यिनै सकारात्मक पक्षहरूलाई संरक्षण र सर्म्बर्द्धन गर्दै गएको खण्डमा गौण तत्वका रूपमा देखा परेका केही कमी कमजोरीमाथि उनले सहजै विजय पाउने छन् र आफ्नो कवित्व प्रतिभालाई राम्ररी नै उजिल्याउन सक्षम हुने छन् भन्नेमा म विश्वस्त छु । कविको साहित्यिक उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना सहित ।
सानेपा, ललितपुर
२०५६/१०/२७

कविता क्रम

१. अजम्बरी कविता
२. साक्षी
३. आकाश तिमीलाई निम्ता छ
४. कालो सर्प
५. खै यात्रीहरू उठेकै छैनन्
६. म देश पढ्दैछु
७. सूर्य उदाउ अब
८. दरबारमार्गमा शहीदका रगत रूँदैछन्
९. क्रम भङ्ग
१०. भिमान जंगलको यात्रा
११. ४६ चैतको सडक
१२. त्यो दिन पर्खिएका रातहरू
१३. सेतो दरबार
१४. मरूभूमि, शिखर र आस्था
१५. छोङपाङ ! तिमीले कस्तो सपना देख्यौ
१६. आज पनि उनै आए
१७. फरक फरक छातीहरू
१८. अभिशप्त पर्खाल
१९. आफ्नै जस्तो लाग्यो

अजम्बरी कविता
उसले कवितालाई
महलको एउटा गमलामा रोप्यो
र मलार्इ भन्यो
कवितालार्इ यसरी फुलाउनुपर्छ
मैले बाटाका किनारहरूतिर
छाप्राका आँगनहरूतिर
उसलाई रंगिबिरंगी कविताहरू देखाएँ
र भनें
यी पनि राम्रा कविताहरू हुन्
यिनीहरूलाई हुर्काउनुपर्छ
ऊ मसँग रिसायो
मुन्टो बटार्यो
र पछिल्तिर फर्क्यो

भोलिपल्ट मैले
मेरो कविताको बस्तीबाट
ऊतिर फर्केर हेरें
गमलामा उसले एकदिन पानी हाल्न बिर्सेछ
ऊसको कविता मतिर फर्केर रोयो ।

पर्सिपल्ट
मरेके कविता बोकेर
ऊ फेरि सडक किनारमा
मेरा कविताहरू हेर्दै हेर्दै अ.यो
र मसँग मात्र एउटा जिउँदो कविता माग्यो
मैले उसलार्इ
खेतहरूतिर आफना कविता देखाएँ
निरूत्तर उसले मेरा कविताहरू हेरिरह्यो ।

त्यसैले यो बस्तीमा
म सगौरव घोषणा गर्छु
कुनै छाप्राको भट्खारोमा भए पनि
गल्लीका कुनाकाप्चाहरूमा
हुनेखाने भुँडिवालहरूले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।
मेरा कविता अजम्बरी हुन्

जनएकता, वर्ष ४, अंक ४८, २०५६ असार ७ गते

साक्षी

साठी वर्षे बृद्ध बा र आमाको
चाउरी परेको गालाको मुस्कान ऊ
बीर अस्पतालको आँगनमा
गोलीले छिया छिया पारेको
रगत सुकेर कक्रिएको कमिज
धर्के आकृति मात्र देखिन्छ
यसलार्इ हेर्न भीड लाग्नेहरू भन्दै थिए
“पोस्टमार्टम हुन सकेको छैन”
सायद यसका यहाँ कोही छैनन्
उसले चिनेका पनि कोही छैनन्
यसलार्इ चिन्ने पनि कोही छैनन्
बीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको साक्षी बनेर उभिएको छ ।

पच्चीस वर्षसम्म रातदिन
रगत र पसिनाले हुर्काएकी
आमालार्इ उसको मृत्यु थाहा छैन
छोराको अनुहार हेरेर
भोक टार्न बानी परिसकेको
बुढो बाउलार्इ उसको मृत्यु पछिका
रातहरू बितेको थाहा छैन
साथीहरूले राम्रा घाँघर लाएको देख्दा
उमेरको मन, दाजु सम्झेर बुझाउने बहिनीहरूलार्इ
उसको मृत्युपछिका
जंगलमा बितेका दिनहरू थाहा छैनन्
न त बाल्यकालमा थुम्की चौरमा,
सँगसँगै डण्डीवियो खेल्ने,
रामेलार्इ नै उसको मृत्यु थाहा छ ।
न त दुधकोशीका बगरहरू र
वरिपरिका ऐंसेलुका पोथ्राहरूलार्इ
मूल्यवान् उसको मृत्यु थाहा छ ।

ऊ आज ती कसैका माझमा छैन
यहाँ उसलार्इ चिन्ने फुर्सद पनि कसैलार्इ छैन
सडक जुलुस र नारामा व्यस्त छ
बीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको साक्षी बनेर उभिएको छ ।

• नेपाली साहित्य, वर्ष १६, अंक १, २०५४ वैशाख―असार

आकाश ! तिमीलाई निम्ता छ

आकाश ! ओर्ल
कालो पोखिइरहेको यस धर्तीमा
बनाउ सुन्दर क्षितिजका द्वारहरू
आकाश ! तिमीले त हेरेको छौ हगि
यस धर्तीमा काला बादल मडारिएर
देखाएका चरित्रहरू
कति देख्यौ पनि होला
ताराहरूका राता रगतका भलहरू
कोठाका सिसाबाट र पर्दाका प्वालहरूबाट
कुमारी हृदयका बलात्कृत पीडाहरू
र सुन्यौ पनि होला स्वरहरू
आकाश ! तिमीलार्इ ताराहरूको निम्ता छ ।

आकाश ! तिमीलार्इ इतिहासको पनि निम्ता छ
आकाश ! तिमीले त देखिसकेका छौ
राक्षसहरूका दृष्टिदोषमा
कति आलोकित ध्रुवताराहरू भिमानका जङ्गलमा निभे
क्षितिजपारिका
काला गाउँहरूमा निभे
तर, उनीहरू झन् झन् चम्किरहे
आकाश ! तिमीलाई ताराहरूको निम्ता छ
आकाश ! तिमीलाई इतिहासको पनि निम्ता छ ।

वेदना, पूर्णाङ्क ४५―४७, २०४६

कालो सर्प

हिजोआज कालो सर्प ढसमस्स सुतेको छ
सायद ! उसलार्इ अजीर्ण भएको छ
उसका पेटका भागहरू नागार्जुन पर्वत झैं
डम्म फुलेका छन्
र ऊ अहिले पचाउन लाग्दैछ
उसको एक वखत बाँच्ने आस हराइसकेको थियो
तर अहिले भर्खरै
शरीर चलाउन थालेको छ
यतिबेला जिब्रो लब्र्याकलुब्रुक चलाउँदैछ ।
आँखा वरिपरि घुमाउँदै पल्याकपुलुक हेर्दैछ ।

मेरी आमा विपनामा मात्र होइन
सपनामा पनि झस्किनु हुन्छ
अबुर्इ कालो सर्प !
मरेको छैन फेरि जिब्रो चलाउँदैछ
यसले मेरो कान्छो छोरो डसेको छ
मेरो कान्छी छोरीलार्इ खेदेको छ
गुहार ! गुहार ! ! मार्नै पर्छ ।

बेला बेलामा यसले
पल्ला गाउँको रामेलार्इ पनि खेदेको थियो
पल्लाघरेको छोरालाई पनि डसेको थियो
तर उनीहरू,
अब यसले डस्दैन भन्छन्
मान्छेको रगत लागेको जिब्रोमा–
दूध खुवाउनु पर्छ
रगतको दागको सेतो तरले मेटिन्छ भन्छन्
आफ्ना छोराछोरीलार्इ नभर्इ नभर्इ
कालो गार्इको दूधले नुहाई दिन्छन्
कालो सर्प दूधको पोखरीमा पौडी खेल्दै छ ।

घाँस दाउरा जाने दिदी बहिनीहरू
अझै पनि कालो सर्पको आँखाबाट छलिने गर्छन्
उनीहरूलार्इ विश्वास छैन
मेरा आफन्तहरूलार्इ पनि विश्वास छैन
दूध ख्वाएर कालो सर्पको जिब्रोले
रगत खाँदैन भन्ने हल्लामा
मेरा बाउलार्इ पनि विश्वास छैन
बाउ बेला बेलामा कहालिनु हुन्छ
दूध खाएको सर्पको विष झन् कडा हुन्छ
लौ न ! अब यो चटपटाउने बेला भयो
एक छिनपछि हिंड्न थाल्छ
सबैले घरका हतियार झिक,
विषालु कालो सर्प मार्नै पर्छ ।

खै ! यात्रीहरू उठेकै छैनन्

लामो यात्राका यात्री दाजुभाइहरू
अब त हिंड्लान भनेर
उज्यालो भुइँमा नखस्दै
बाटाभरिका घुम्ती र गल्छेडाहरूमा
दिदी बहिनीहरू,
फूलमाला लिएर पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्रीहरू उठेकै छैनन् ।

कठिन बाटोका उकाली र ओरालीहरूमा
झुल्के घाम एक हात माथि ननाघ्दै
यात्री छोराहरूको भोकलार्इ सम्झँदै
आमाहरू भात कुरिरहेका छन्
तर खै ! लामो यात्राका यात्री छोराहरू ब्युँझेकै छैनन् ।

सोझा मानिसहरूलार्इ टोक्न पल्किएका
विषालु गोमन सर्पहरू
र हज्जारौंका रगतले मात्तिएका
बाघ र चितुवाहरूले नङ्ग्र्याएका घाउमा
चौतारी र पौवाहरूमा
बुढा बाहरू, मलम लगाइदिन पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्रीहरू ब्युँझेकै छैनन् ।

यात्रा शुरू हुने क्षणमा
भोका र नाङ्गा भाइबहिनीहरू
भविष्यको सुखद अनुभूति
सिम्सार आँखाहरूमा सँगाल्दै
हात हल्लाउँदै बिदाइ गर्न
लाम लागेर पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्री दाजुहरू उठेकै छैनन् ।

म देश पढ्दैछु

म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।
देशलार्इ पढ्दै जाँदा –
अक्षरहरू भित्रका पनि अक्षरहरू पढ्दैछु
सजिएका शान्तिका अक्षरहरू भित्र
किरिङ मिरिङ
अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।
न्यायका शब्दहरू पढ्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरू पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।
इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा
राष्ट्रभक्ति जस्ता शब्दहरूभित्र
कोशी र जङ्गल बेचिएका
सहिछापहरू पनि देख्दैछु
देशलार्इ बनधकमा राखेका
सम्झौताका आला अक्षरहरू पनि देख्दैछु
जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।

समीक्षा, वर्ष, ३१, अंक ३४, २०४६

सूर्य ! उदाउ अब

कैयौं वर्षदेखि
जाडाले कठ्याङ्ग्रिएका शरीरहरू
शीतले भिजेका अनुहारहरू
तिम्रै आशामा
निर्धक्कसँग बाँचिरहेका छन्
त्यसैले, तिनीहरूको उद्धार गर्न
सूर्य ! तिमी उदाउ अब ।

कैयौं वर्षदेखि
भोकभोकै परेका
जिउभरि पसिनाले भिजेका
हाड र छाला मात्रका मानिसहरू
तिम्रै आशामा
बिस्कुन सुकाउन प्रतिक्षा गरिरहेछन्
तिमीलार्इ बादल हटाउन
तिनीहरूले नै साथ दिनेछन्
त्यसैले तिनीहरूको मर्म बुझ्न
सूर्य ! तिमी उदाउ अब ।

एउटा नयाँ शिशुलार्इ
जन्म दिएकी आमा
सडकमा थकित भएर बसेकी
जसले मार्क्स जन्माएकी छन्
उनको शिशुलार्इ स्याहार गर्न
सूर्य ! तिमी उदाउ अब ।

समीक्षा, वर्ष २९, अंक ५०, २०४५ साल

दरबारमार्गमा शहीदका रगत रूँदैछन्

रातको तेस्रो प्रहर छ,
आकाशमा मात्र खुर्पे जून लागेको छ,
सल्लाको रूखमुनि पहेंलो विरूवाको अंकुर टुप्लुक्क उम्रिएको छ ।

केही मान्छेहरू लेख्दैछन्
बिहानी झलमल्ल घाम लागिसक्यो भनेर
भाषण गर्नेहरू पसिना बगाउँदै कुर्लँदै छन्
ढकमक्क फूल फूलिसक्यो भनेर
वर्तमान लेख्ने शहीदका रगतहरू सोद्धैछन्
बाटोको पेटीमा सुतेर माघको ठण्डीमा हुर्कने मान्छेको
हिउँले खाएर सकिएको शरीरमा कहाँ घामको झुल्को परेको छ ?

ढकमक्क फूल त के
विरूवाको अंकुरमाथि भमरो बसेको छ
वरिपरि झुसिले कीराका बथानहरू छन्
केही मान्छेहरू
परालको आगो तापेर
गाँजाको मातमा झुल्लिंदै
प्रजातन्त्रको भजन गाउँदैछन्
हत्यारालार्इ प्रजातन्त्रको प्रमाणपत्र दिँदैछन् ।

फेरि अर्को जमात बढ्दैछ
त्यहाँ खान नपाउनेहरू छन्
घर नभएकाहरू छन्
बेचिनेहरू छन् ।
उनीहरू बहुलठ्ठी प्रजातन्त्रको जुठेल्नोमा
मसाल सल्काउने योजना गर्दैछन्
उनीहरू भन्दैछन्
यहाँ खुर्पे जून अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ
अहिले दरबारमार्गमा शहीदका रगतहरू रूँदैछन्
यहाँ ढकमक्क फूल फुल्न लाग्दा
शहीदका रगतहरू
ताली बजाउँदै विजयका गित गाउँछन् ।

आलोचना त्रैमासिक, वर्ष १, अंक १, २०४७ पौष

क्रम–भङ्ग

काले कामीलाई
रातदिन/साँझ बिहान घोटिँदा पनि
एकछाक खान धौ–धौ पर्न थाल्यो
जब ऊ आफ्नो खलाँतीसँगै
एकछिन् आफू पनि थकाइ मार्यो
र निधार खुम्च्याएर सोच्यो
हो, पक्कै त्यस दिनदेखि
तिम्रो प्रजातन्त्र पनि खतरामा पर्यो ।

आफ्नो बाजेको पालादेखि
हली बनेको राना कान्छो
खेतमा गोरू मात्र जोत्दैन
आफू पनि बेलाबेलामा जोतिन्छ
उसलार्इ के घाम/के हुरी/के झरी
न रात/न दिन
सधैंभरी एकनासले भिड्नुपर्छ
त्यही पनि कहिले काम नगर्ने
साहूको छोराले जस्तो
किताब बोकेर
आफ्नो छोराले स्कूल टेक्न पाएन
माटो हिलो/कोदालो र झम्पल
उसको पनि आफ्नै जस्तो
वंशानुगत जीवनसाथी बन्यो

यो बिडम्बनालाई बुझ्न
राना कान्छो
अनौ समाउन छाडेर
एकछिन डिलनिर बसेपछि
तिम्रो प्रजातन्त्र पनि खतरामा पर्यो ।

खेतका बाँझा गरा झैं
चरचरी फुटेका पाइताला बोकेर
ठूली
जंगल, पँधेरा, गाइगोठ
प्रत्येक दिन दोहोरिन्छ उसको जीवनमा
आराम ! उसको जीवन तालिकामा पर्दैन
औषधीको नाम
बनमारा/तितेपाती
ऊ राम्ररी चिन्दछे
जब कुनै एउटा दिन
यो कुरूप क्रमलाई बुझ्न
उसले घाँसको भारी
कुनै गल्छेडातिर बिसाएपछि
त्यस दिनदेखि
तिम्रो प्रजातन्त्र पनि खतरामा पर्यो ।

खतरालाई तिमी जे सुकैले रोक
बन्दुकले रोक या बमले रोक
सीमा पारीबाट गुहार माग
या सात समुन्द्र पारीबाट
या मान्छे भित्रको चेतनालाई
छानी छानी चपाउ
या संभावनाहरूलाई
मकै भुटे झैं भुट
कुनै वसन्तमा झरी रोकिएपछि
जब कुनै घामको झुल्को देखिन्छ
बारीबाट छिचिमिरा निस्केको
यदि देखेका छौ भने
सोच! राम्ररी सोच
थुप्रै काले कामीहरू निस्कन्छन्
थुप्रै राना कान्छाहरू निस्कन्छन्
र ठुलीहरू निस्कन्छन्
भन ! तिमी कुन प्वाललाई थुन्छौ ?
जमीनलाई कुन हत्केलाले थुन्छौ ?

धेरै कुरालाई रोक्न सकिन्छ
र रोक्दा नसकिने
थुप्रै कुराहरू हुन्छन्
तिमी आँधीबेरी कसरी रोक्छौ ?
नदीको भेललाई कसरी थुन्छौ ?
कुनै माटोको डल्लाले
या ढुङ्गाले थुन्छौ !
त्यस्तै यो पनि एउटा नियम हो
अझ निष्ठुर नियम हो
इतिहासको एउटा नियम हो
भन ! यो खतरालाई कसरी रोक्छौ ?
यो सत्यलाई कसरी थुन्छौ ?

जनादेश साप्ताहिक, वर्ष ८, अंक ४३, २०५६ भाद्र १५ गते

भिमान जंगलको यात्रा
(शहीद ऋषि देवकोटालार्इ हत्या गरिएको ठाउँ हेरेपछि)

परिवर्तनका बाटाहरू छिचोल्दै
मृत्युभेदी काँडाहरू पन्छाउने जमर्को गर्दा
तिम्रो उद्देश्यमाथि कतिले
दुस्साहसको गीत गाएका थिए
कतिले सुखद भविष्यको सपना साँचेका थिए
आजाद ! कति थिए तिमीसँग साहसहरू ?

झोडाका सुकुम्बासी बस्तीहरू
प्रत्येक अन्नको गाँस सँगसँगै
तिमीलार्इ सम्झँदा रहेछन्
प्रत्येक मंसीरमा घुर्यानका धानका बालाहरूमा
तिम्रो अनुहार देख्दा रहेछन्
तिम्रो बाटोमा साथै हिँड्ने सहयात्रीहरूको
दरिलो मुस्कान रहेछ ओठमा
शरीरमा नशाहरूको
जीवन्त धड्कन चलिरहेछ
निर्झर जङ्गलमा तिम्रो हत्या गर्ने कायरहरू
अहिले भिमान जङ्गलको नाम सुन्दा
डरले काँप्दा रहेछन्
न तिमीलार्इ मृत्युसँग डर थियो
तिम्रो उद्देश्य जीवन बाँच्नसँग मात्र थिएन
परिवर्तनको बाटोमा ढाल्नु पनि थियो
आजाद ! कति लामा थिए तिम्रा उद्देश्यका यात्राहरू ?

कमलाका फाँटहरूमा मात्र हैन रहेछ
सुनकोशीको गड्तीर तिर पनि तिम्रो पसिना पोखिएछ
मरिनका किनारतिर पनि तिम्रो आस्था छरिएछ
तावा स्वरूङ्गका सुसेलीमा पनि
तिमीले मुक्तिका संगीत भरेछौ
भिमानको जङ्गलले बाटो हिंड्ने यात्रीलार्इ
तिम्रो आस्थाको कथा सुनाउँदो रहेछ
आजाद ! तिम्रो आस्थाको शिखर कति अग्लो थियो ?

वर्तमान साहित्य, अंक ३, २०५२ साल

४६ चैत्रको सडक

ज्योतिषीले लेख्ने चिन्हाको लामो कागजमा
चित्रकारले रातो रङ पोखेजस्तो
सायद सिकारू चित्रकार होला
ठाउँठाउँमा मसीका छिटा लत्पतिए जस्तो
४६ चैत्रको मेरो देशको सडक ।

मुक्तिको खोजीमा त्यही बेला
मेरा शहरका सडकका खोपिल्टाहरूमा
रगतहरू उम्लनछन्
मेरा जदुकुवाहरू तातेपछि
पाँच छोराछोरीका पैंतीस वर्षे बाबुहरू
स्वतन्त्रताको कठिन यात्रामा हिंड्छन्
हो, त्यतिबेलै
सचेत दाजुहरूलार्इ
गोली लागेको अन्त्येष्टि सकेर
मुक्तिगीत गाउन सडकमा जान हतारो छ
अमाहरूलार्इ त्यतिबेलै
मीत छोराको शोक मनाउन नपाउँदै
झ्यालमा गोली लागेर लडेकी छोरीलार्इ
अस्पतालमा लान हतारो छ
कति व्यस्त छ,
४६ चैत्रको मेरो देशको सडक ।

सवारीका आतंकित संकेतहरू दिँदै
सडकमा जनता धपाउनेहरू
कतै देखिएनन्
सायद उनीहरू
कुनै नमीठो विपनाको
भविष्यवाणी गर्दै थिए
जीवनको यो खण्डमा
गौरव र स्वतन्त्रताको उक खुड्किलो बनेको
४६ चैत्रको मेरो देशको सडक ।

जनएकता साप्ताहिक, वर्ष १, अंक ३९, २०५२ चैत्र २६

सेतो दरबार

सेतो दरबार
प्रत्येक रात
हेलम्बूको वैंशलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्नै चाहँदैन
आठ वर्ष अघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आफ्नो अलिकति रूप देखायो
हो त्यो दिन,
सेतो दरबारले कर्फ्युको घोषणा गर्यो ।

त्यो दरबारमा
मान्छेका करङ्का सारङ्गीहरू
कुनै चाडपर्वमा/कुनै उत्सवमा
बेसुरसँग बजाइन्छन्
खै ! कतिलार्इ थाहा छ ?
त्यहाँ मान्छेको रगतको पूजा चल्छ
बालकका ओठहरू
स्वादिष्ट भोजनमा गनिन्छ
अनि त्यो दरबार
आलो रगतको स्वीमिङ्पुल
सजाएर राखिएका पूर्वजका खप्परहरू
अज्ञात धुम्रकेतु र उल्कापिण्डका चित्रहरू
यही हो त्यहाँभित्रको सुन्दरता ।

अदालतका प्रत्येक मिसिलहरूमा
हामीहरू सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरू सर्जिमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि नियाल्छ
हाम्रो बस्तीको बीचमा
उसको चलन बेग्लै छ ।
उसको व्यवहार बेग्लै छ ।

• योजना साप्ताहिक, वर्ष १६, अंक ७, २०५५ जेठ १४ गते

मरूभूमि, शिखर र आस्था

उसले मलाई
मरूभूमिबाट औंलाले देखाउँदै भन्यो
“त्यो ठाउँ पुग्न कठिन छ”
बाटो बनाउँदै जानुपर्छ
त्यसमा पनि नङ्ग्रा जस्ता ढुंगाहरू छन्
तैंले नाङ्गा खुट्टा बोकेर जानुपर्छ
बाघ, भालु, चितुवा र गोमनहरू
वरिपरि लुकेर बस्छन्
उसले अझ भन्यो
आइज, मरूभूमिमै शहर बसाउनु पर्छ ।

हामी उसको आस्थाको मैदान डुल्यौं
उसको बस्ती हेर्यौं
देख्यौं थुप्रै बच्चाहरू
प्यासले छट्पटाउँदै थिए
भीडमा ठेलमठेल गर्न नसक्ने
थुप्रै अशक्त मान्छेहरू
भोकले जीर्ण र सुकेका थिए
तर,
पत्याउनै नसकिने एउटा कुरा थियो
मरूभूमिमा पनि उसको पोखरी थियो ।

मैले उसलाई भनें
र टाढै बाट देखाएँ
ऊ त्यो शिखरमा पानीको मुहान छ
प्रकृति सुन्दर छ
र मलिलो छ
मात्रै एकपटक बाटो बनाउन कठिन छ
उसले मात्र मसँग डरलाग्दा कुराहरू गर्यो
भूतको कुरा गर्यो, प्रेतको कुरा गर्यो
उसले मसँग यस्तै यस्तै कुरा गर्यो ।

उसको अगाडि मैले
भोका मान्छेको सहयोग मागें
प्यासले छट्पटाएकाहरूको सहयोग मागें
र हामी बिस्तारै शिखर उक्लन थाल्यौं
उसले बिदाइका लागि हात पनि हल्लाएन
मात्र हामीसँग रिसायो
हामी सल्लाह गर्दै शिखर चढ्यौं
उसले बिदाइका लागि हात पनि हल्लाएन
मात्र हामीसँग रिसायो
हामी सल्लाह गर्दै शिखर चढ्यौं
हामी बाटो खोस्रँदै शिखर चढ्यौं ।

हामीले एउटा शिविरमा पुगेर हेर्यौं
उसको बस्ती उजाड थियो
त्यो साँच्चै मरूभूमि थियो
त्यहाँ फेरि हामीले कसम खायौं
उसको आस्था मरूभूमि हो
ऊ त्यहीं रमाउँछ
हाम्रो आस्था शिखर हो
आफ्नो बाटो रोज्नैपर्छ ।

नयाँमोर्चा साप्ताहिक, वर्ष ६, अंक ४०, २०५६ साउन

छोङ्पाङ् ! तिमीले कस्तो सपना देख्यौ ?

पहिले पहिले म सानै छँदा
तिमी मलाई भन्ने गर्थ्यौ
भाइ ! फोकल्याण्डलाई के दुख्यो होला र !
मलार्इ जति दुखेको छ
बरू ! युद्धको धुँवाभित्रै भए पनि
फोकल्याण्ड राती निदायो होला
हामी कहाँ निदाउँछौं र !
सरोकार जति नै राखे पनि
लण्डन चीरनिद्रामा सुत्दो हो
हाम्रो बस्ती रातभर जाग्राम बस्ने गर्छ
नपत्याए आउ र हाम्रो बस्तीलाई हेर
बुढी आमाहरूको आँखा हेर
र बाबुहरूको खङ्ग्रङ्ग उडेको अनुहार हेर
हो साँच्चै,
त्यसबेला छोङपाङ
रेडियोको कुनै दुर्घटित समाचार सुन्न
प्रत्येक दिन
अनिंदो बसेर पर्खन्थ्यो ।

मात्र केही दिन अस्ति
मैले फेरि छोङपाङलार्इ हेरें
र उसको वर्तमान छामें
जतिबेला कोसोभो
चिहानमा अनुवाद हुँदै थियो
त्यतिबेला पनि छोङपाङ
मुटुको कुनै कडा बिरामीझैं
छटपटाइरहेको देखें
तर टेलिभिजन खोलेर हेर्दा
अमेरिका शान्त थियो
कुनै बुद्धको मूर्ति जस्तो,
लण्डन पनि अविचल देखिन्थ्यो ।

मैले हिजो पनि छोङपाङलार्इ हेरें
र उसको भविष्य खोजें
कारगिलमा बिछ्याइएका बमहरू
उसको छातीमै पड्किंदा रहेछन्
त्यसदिन छोङपाङ
धेरै जोडा टुहुरा आँखाहरू बोकेर
अस्तु पर्खिरहेको थियो
र मैले उसलार्इ सोधें
भूगोलमा यति टाढा भएर पनि
तिमीलार्इ किन फोकल्याण्ड दुख्छ ?
यसरी कोसोभो घाउ बनेर टन्किन्छ
र कारगिलमा सुल बनेर बिझ्छ ?
ऊ निरूत्तर भयो
र निधार खुम्च्याएर मलाई हेर्यो ।

अब छोङपाङले बुझ्नु पर्छ
र छोङपाङहरूको देश नेपालले बुझ्नु पर्छ
के हामी फोकल्याण्डको लागि जन्मिएका हौं ?
कि कारगीलको लागि हुर्किएका हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ !
तिमी आफ्नै अस्तित्वका लागि लड्छौ
कि अर्काको लागि लड्छौ ?
छोङपाङ हामी सबैको बस्ती हो
संसारका कुनै भागमा
तुच्छ स्वार्थका लागि लडिने युद्ध
के छोङपाङले नै लड्नुपर्छ ?
भन छोङपाङ !
आउँदो भविष्यको निम्ति
तिमीले कस्तो सपना देख्यौ ?
• समकालीन नेपाली कविता, प्रकाशक–अखिल नेपाल जनसाँस्कृतिक सँघ, २०५७ पुस

आज पनि उनै आए

अस्ति उनी
विकासका योजना लिएर आउँथे
पारि पाखामा
कुलोको खाँचो छ भन्दै आउँथे
यो गाउँका निम्ति
यति मिटर पाइप चाहिन्छ भन्दै
फुलबुट्टा भरेर आउँथे
उनी भोट माग्थे
माननीय बन्थे
मन्त्री बन्थे
पाँच वर्षपछि फेरि आउँथे ।

यसरी
पारी पाखामा फापर फलाउनेहरू
धान फलाउने सपना
भोट बनाउँदै बाकसमा खसाउँथे
दुर्इ कोसको पँधेरा धाउने दिदीबहिनीहरू
आँगनमा गाग्रो भर्ने कल्पना
उनैको बाकसमा भर्थे
उनी पाँच बर्षपछि आउँथे
झन् सुकिला बनेर आउँथे
खाइलाग्दा बनेर आउँथे ।

गाउँहरू ढाँटिए
देश लुटियो
मानिसले चाल पाए
उनीहरू अत्याचारका निम्ति लडे
छोराहरू मारिए
छोरीहरू बलात्कृत भए
तर छोराको बलिदानको कथा सुनाउँदै
छोरीको त्यागको मन्त्र जप्दै
नयाँ प्रजातन्त्रको आँगनमा
खै ! आज पनि फेरि उनै आए ।

• वेदना, पूर्णाङ्क ५४, २०५२ वैशाख―असार

फरक फरक छातीहरू

उसको जीवनमा
स्थिरता खोज्ने हो भने
ऊ रूख हो/पहाड हो
जे पनि भन्न सकिन्छ
उसको गति खोज्ने हो भने
ऊ नदी हो/हावा हो
त्यो पनि भन्न सकिन्छ
मैले उसको छातीमा कठोरता खोजें
र भेटें इस्पात
मैले उसको छातीमा कोमलता खोजें
र भेटें तरल ।

मैले उसको छातीमा
अनुभूतिका डोबहरू खोजें
र भेटें करोडौं
गरिबीका आला यादहरू
परिवारजनसँग विछोडहरू
घरजग्गा लुटिएका पीडाहरू
र भेटें एकैसाथ
करोडौं खुशीका क्षणहरू ।

उसलाई एक्लै भेटिन सकिँदो रहेनछ
वर्तमानमा मान्छेका साझा खुशीहरूमा
उसको रगत अनुवाद भएछ
वर्तमानमा मान्छेका साझा स्वतन्त्रताहरूमा
उसको चाहना अनुवाद भएछ
ऊ सिङ्गो युग थियो आफैंमा
ऊ थियो हाम्रो शहीद !

अभिशप्त पर्खाल
पिता पुर्खाले बनाइदिएको
शत्रुले सदादिन आँखा लगाएको
इतिहासको जिम्मेवारी बोकेको
हाम्रो एउटा सानो घर
आज फेरि उसले बार्यो ।
एउटा पर्खाल लगायो ।

हिजो हामीले बीचको पर्खाल भत्काउँदा
सँगसँगै भोज खायौं
हामी सँगै रमायौं र
बेलुनहरू अकाशमा उडायौं
हामीले नारा पनि लगायौं
अस्ति पर्खाल लाउन गल्ति थियो
गल्तिबोधले आपस आपसमा
क्षमा साटासाट गर्यौं
विजयका सुन्दर गीतहरू गायौं र
हिजो एक साँझ त्यसै त्यसै बितायौं ।

रातको प्रथम प्रहर बित्दा नबित्दा
उसले घर पछाडि जुठेल्नोमा
इँट्टा र माटाका डल्लाहरू थुपार्यो
विजयोत्सवले खुशी साथीहरू
मस्त निदाएको बेलामा
उसले घरभित्र पर्खाल लगायो
ती पर्खाल लगाउने सामानहरूले
जग बनाउनु पर्थ्यो
सानो घरलार्इ बलियो बनाउनु पर्थ्यो
साहारा खोजेर हिंडैका
भोका र नाङ्गा टुहुराहरूलार्इ
ओत लाग्ने फराकिलो ठाउँ दिनुपर्थ्यो ।

आकाश धुमिलिएकै छ
झन्झन् कालो बादल मडारिँदै छ
यो इतिह